कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

विस्मृत विद्रोहको पुनःस्मरण र वर्तमानको विमर्श

आश्विन ३, २०८१
विस्मृत विद्रोहको पुनःस्मरण र वर्तमानको विमर्श

कान्तिपुरमा बुधबार प्रकाशित नियमित स्तम्भकार सीके लालको ‘विस्मृत विद्रोहको वार्षिकी’ शीर्षकको लेखले नेपालका राजनीतिक, सामाजिक र पर्यावरणीय विषयहरूमा महत्त्वपूर्ण दृष्टिकोण प्रस्तुत गरेको छ । यसमा जलवायु परिवर्तन, माओवादी द्वन्द्व र नेपालको वर्तमान संघीय संरचनालाई समीक्षात्मक हिसाबले पुनरावलोकन गर्दै विभिन्न समस्या र चुनौतीको विश्लेषण छ । यो लेखले नेपालको विगत र वर्तमानमा भएका महत्त्वपूर्ण घटनाको स्मरण गराउँछ । तर, कतिपय पक्षमा गहिराइ र तथ्यको अभाव खड्किँदा दाँतमा ढुंगो लागेको अनुभूति हुन्छ ।

लेखले जलवायु परिवर्तनसँग सम्बन्धित पर्यावरणीय चुनौतीको गहिरो विश्लेषण गरेको छ । मध्यपहाडदेखि मधेशसम्मको भू–परिस्थिति, वायु प्रदूषण, हिमताल पग्लिनु र बाढीको समस्यामार्फत लेखकले नेपालले सामना गरिरहेको विकराल समस्यालाई चित्रण गरेका छन् । यो सन्दर्भमा सरकारको तात्कालिक प्रतिक्रिया प्रणालीलाई सशक्त ढंगले औंल्याएर लेखकले दीर्घकालीन रणनीतिको अभावलाई प्रस्ट्याएका छन् ।

यसले नेपालको वातावरणीय अस्थिरता र त्यसको सामाजिक–आर्थिक प्रभावमाथि गहिरो ध्यान खिच्न सफल भएको छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको माओवादी विद्रोह र त्यसपछिको राजनीतिक परिवर्तन हो । डेढ दशकपछि माओवादी नेतृत्वकै राजनीतिक विचलन, उनीहरूको वैचारिक संकट र सत्तामा पुगेपछि क्रान्तिको औचित्य गुमाएको बहसले नेपालको वर्तमान राजनीतिक नेतृत्वको असफलतालाई उजागर गर्छ ।

लेखकले माओवादी विद्रोहको ऐतिहासिक योगदान र विद्रोहपछिको राजनीतिक वास्तविकताको तुलना गर्दै क्रान्तिकारी दृष्टिकोणमा आएको विचलनलाई मिहिन ढंगले लिपिबद्ध गरेका छन् । खासगरी माओवादी नेतृत्वले नीतिगत तहमा आशातीत परिवर्तन ल्याउन नसकेको र नयाँ विचारधाराको विकासमा समेत असफल भएको दृष्टान्तले पाठकलाई सोच्न बाध्य बनाउँछ ।

लेखमा धेरै सशक्त पक्ष हुँदाहुँदै पनि केही ठाउँमा गहिराइको अभाव र तथ्य–तथ्यांकको कमीले विश्लेषणलाई सतही बनाएको छ । उदाहरणका लागि माओवादी विद्रोहपछिको समयमा भएका विभिन्न सामाजिक आन्दोलन जस्तैः नागरिक आन्दोलन, महिला सशक्तीकरणको प्रयास र आदिवासी–जनजाति आन्दोलनलगायतका मुद्दालाई पर्याप्त स्थान दिइएको छैन । यी मुद्दाले नेपालको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको भए पनि लेखकले यी पक्षको गहन अध्ययन र निष्पक्ष विश्लेषण प्रस्तुत गर्न कन्जुस्याइँ गरेका छन् ।

यसले गर्दा सचेत पाठकलाई लेख अधुरो र अपूरो भएको महसुस हुन्छ । अर्कातिर मधेश विद्रोहको सन्दर्भमा गरिएको चर्चा महत्त्वपूर्ण भए पनि लेखकले त्यसको जरा र राजनीतिक असफलताको गहिरो समीक्षामा जाने आँट गरेका छैनन् । मधेश आन्दोलनको प्रभाव र संघीयताको कार्यान्वयनमा आएको समस्याको विश्लेषण ठिकै भए पनि यसले नागरिक अधिकार, आर्थिक असमानता र सामाजिक न्यायका मुद्दालाई पर्याप्त प्राथमिकता दिएन भन्ने गुनासोलाई समेटिएको छैन ।

त्यसो गरिएको भए लेखको सन्दर्भ अझै व्यापक, विस्तृत र समावेशी बन्ने थियो । समग्रमा लेखले नेपालको वर्तमान सामाजिक, राजनीतिक र पर्यावरणीय अवस्थाको गम्भीर समीक्षा गर्दै पाठकलाई नयाँ सोच र विमर्शका लागि प्रेरित गरेको छ ।
– टेकेन्द्र अधिकारी, विराटनगर

प्रकाशित : आश्विन ३, २०८१ ०७:३२
×