कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

के लामिछानेले यत्तिकै उन्मुक्ति पाउलान् ?

भाद्र ९, २०८१
के लामिछानेले यत्तिकै उन्मुक्ति पाउलान् ?

सहकारी बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग १० घण्टा सोधपुछ गरेको समाचार आएको छ ।

तथ्य र प्रमाणसहित सोधिएका ५१ प्रश्नमध्येमा लामिछानेले लगभग सबै प्रश्नबाट आफू उम्कने प्रयास गरेका छन् । राप्रपा सांसद गीता बस्नेत उनकै जस्तो प्रकरणमा मुछिएकी थिइन् ।

सहकारीको रकम हिनामिना र ठगी अपराधमा उनीमाथि त मुद्दा नै दर्ता भइसकेको छ । प्रकरण एउटै भए पनि बस्नेतभन्दा लामिछाने धेरै सहकारीमा जोडिएका छन् । कोही व्यक्ति कुनै संस्था वा संगठनको नेतृत्वमा पुगेपछि उक्त संस्था वा संगठन उसैको नेतृत्वमा रहन्छ । लामिछाने आफैं गोर्खा मिडिया नेटवर्ककको प्रबन्ध निर्देशक हुँदा आफैंले गरेका कर्तुत आफूलाई थाहा नभएको भनेर अझै उम्कने प्रयासमा छन् ।
पार्टी नेतृत्वमाथि यत्रो आरोप लाग्दासमेत पार्टीका दोस्रो तहका नेताहरूले उनैको पक्षमा वकालत गर्नुले अझै संशय पैदा गराएको छ । संसदीय समितिले प्रतिवेदन बुझाएपछि मात्रै लामिछानेमाथि के हुने भन्ने टुङ्गो लाग्ला । यद्यपि संसदीय समितिमा राजनीतिक दल बाहिरका कोही सदस्य नभएका कारण र कुनै पनि दल कुनै पनि प्रकरणमा नमुछिएका कारण मिलीजुली रविलाई उन्मुक्ति दिने प्रतिवेदन लेखिने पो हो कि भनेर शंका उब्जिएको छ । त्यस्तो भयो भने भ्रष्टाचारको खेती अझै मौलाउने निश्चित छ । हजारौं सहकारीपीडितले न्याय नपाउने पक्का छ ।
सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

के रवि लामिछाने दोषी ठहर भए कारबाही होला त ? अहिले सर्वत्र चर्चा चलेको छ । प्रमाणहरूले भन्छन्, सहकारी ठगी प्रकरणमा उनको संलग्नता छ । गृहमन्त्रीबाट बाहिरिँदै गर्दा उनले भनेका थिए– मेरोबारेमा अनुसन्धान गर्नु, दोषी भए कारबाहीको भागीदार हुनेछु । हिजो लामिछाने गृहमन्त्री हुँदा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई पक्राउ परेनन्, अहिले सरकार नै फेरिएको छ तर के कारण पक्राउ परेका छैनन् गृहमन्त्रीज्यू ? सहकारीपीडित रोइकराइ हिँडेका छन्, सरकारले तिनको आवाज सुन्नुपर्छ । पैसा जम्मा गर्ने बेलामा अनेक लोभलालच देखाउने तर फिर्ता दिने बेलामा अनेक बहाना बनाउनेलाई कारबाही गर्नुपर्छ । लामिछाने जोडिएको प्रकरणमा छानबिन समितिले कत्तिको न्यायोचित निष्कर्ष निकाल्ला, जनता हेरिरहेका छन् ।
पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र ९, २०८१ ११:२४
x
×