कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

किसानको खेतीमा कसरी पुग्छ बजेट ?

भाद्र ९, २०८१

गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका सुरेन्द्रसिंह कुशवाहा व्यावसायिक किसान हुन् । उनले आफ्नो जीवन खेतीमै व्यतीत गरे । खेतीलाई रोजगारी माने ।

उनको दैनिकी माटो खेलाउँदै बित्छ । सुरेन्द्रको ६ जनाको परिवार धान्ने त्यही खेती हो । बिरामी पर्दा उपचार र छोराछोरीको शिक्षा पनि त्यही खेतीकै भरमा चल्छ । उनको श्रम र पसिनाले परिवार मात्र पालिएको छैन, अनाज नउब्जाउनेहरू पनि पालिएका छन् । तर सुरेन्द्रले किसान भएकै कारण कहिल्यै सम्मान पाएनन् । किनकि उनले उत्पादन गरेको तरकारीले बजार पाउँदैन । महोत्तरीको बर्दिबास, जलेश्वर, धनुषाको जनकपुरदेखि सर्लाहीको लालबन्दीसम्म उनी तरकारी पुर्‍याउँछन् । तर कहिले त गाडी भाडा पनि उठ्न मुस्किल पर्छ । सुरेन्द्रजस्तै धेरै किसानको हविगत उस्तै छ । ती किसानहरूले आफ्नो उत्पादनको भाउ कसरी पाउँछन् ?
सुरेन्द्रले टमाटर खेती गरे । हराभरा भयो । असाध्यै खुसी थिए । फूल र फल लाग्ने समयमा सिँचाइको व्यवस्था भएन । फल लागेन । रोग, किराको आक्रमण बढ्दै गयो । टमाटरको मात्र हैन सबै बालीको अवस्था उस्तै भयो । टमाटर उत्पादन गरी बेचेर छोराछोरी पढाउने, घर खर्च धान्ने उनको सपना तुहियो । अब बालबालिकाको पढाइ र घर खर्च कसरी धान्ने, उनमा चिन्ता थपियो । सरकारले वर्षैपिछे बजेट बनाउँछ । स्थानीय सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम ल्याउँछ । तर यस्ता कार्यक्रमले सुरेन्द्र जस्ता अन्न उब्जाउने किसानलाई छुँदैन । वास्तविक किसानहरूको गाउँको सिंहदरबारमा पहुँच छैन । राजधानीको सिंहदरबारमा त झन् कसरी पहुँच पुग्नु ? कसले सुन्ने सुरेन्द्रहरूको आवाज ?

सरकारले आर्थिक वर्ष २०८१/८२ मा कृषिका लागि ५७ अर्ब २९ करोड विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब कम हो । तर कृषिका लागि जति बजेट छुट्याए पनि वास्तविक किसानको खेतीमा पुग्दैन । पालिकाहरूको खर्चको हिसाबकिताब गर्ने हो भने कृषिको बजेट खर्च भएको पनि छैन । तब सरकारले कृषिका लागि छुट्याएको बजेट सुरेन्द्रजस्ता किसानको खेतीपातीसम्म कसरी पुग्छ ?

रानीकुमारी साह, गौशाला–१२, महोत्तरी

प्रकाशित : भाद्र ९, २०८१ ११:२७
x
×