कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बर्खे विकासको विकृति

असार २८, २०८१

कान्तिपुरमा बिहीबार ‘सरकारी खर्चमा बेथिति, बर्खासँगै बग्यो पौने दुई खर्ब’ शीर्षकका समाचार पढेर मन साह्रै खिन्न भयो । पत्रिकाका अनुसार वर्षान्तमा खर्च गर्नकै लागि असार १४ देखि २५ सम्ममा मन्त्रिपरिषद्बाट निर्णय गरी ३० अर्ब रुपैयाँ रकमान्तर गरिएको छ ।

कुल पुँजीगत खर्चको करिब २२ प्रतिशत अर्थात् ३७ अर्ब ६४ करोड ५५ रुपैयाँ असारको २६ दिनमा खर्च भएको छ । अर्थविद् डिल्लीराज खनाल लेख्छन्, ‘आफैंले बनाएको कानुनको परिपालना नगर्दा पनि दण्डित नहुने प्रवृत्तिलाई मलजल गरिरहेको परिणाम हो यो ।’

नेपालमा बजेट सक्ने एक मात्र लगन भनेको यही असार जस्तो भएको छ । यो महिना आर्थिक वर्षको अन्त्य पनि भएकाले बजेट खर्च गर्दा सायद निगरानी कहींकतैबाट हुँदैन । यस्तो अनियमितता सबैले सधैंजसो बुझिरहे पनि नबुझेजस्तो गरेको देखिन्छ । यसमा जिम्मेवार व्यक्तिहरूले प्रोत्साहन गरिरहेका हुन्छन् ।

हेर्नुहोस् त, बेलायतमा भएको आम निर्वाचनको परिणामबाट तत्कालीन प्रधानमन्त्री ऋषि सुनकको दलले नराम्रो पराजय भोग्यो, सुनकले तुरुन्तै पदबाट राजीनामा दिए र सरकारी क्वार्टर पनि छोडिहाले । ‘यो गल्ती सबै मैरै कारणले हो’ भनेर जनताको नाममा स्पष्टीकरण प्रस्तुत गर्दै नैतिकताको अब्बल उदाहरण दिए ।

नेपालमा भने ठूला दलहरू भन्दा पनि ससाना दलहरूले सरकार चलाउने दाउ हेरिरहेका हुन्छन् । गोहीले आहारा खान बाटो कुरेजस्तो भ्रष्टाचारीका नाइके बिचौलियाहरूले राजनीतिक आड र भरोसामा देशको ढुकुटी दोहन गर्न असारे विकास पर्खिरहेका हुन्छन् र माथि भनिएजस्तै वर्षभरि चुप लागेर असार आएपछि जथाभाबी खर्चमा जुट्छन् । जिम्मेवार नेताहरूलाई लाज लाग्नुपर्ने होइन र !
– खिमराज गिरी, काठमाडौं

प्रकाशित : असार २८, २०८१ ०६:०९
×