कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

तीजलाई प्रश्नहरूले नपोलोस् 

भाद्र १७, २०८१
तीजलाई प्रश्नहरूले नपोलोस् 

Highlights

  • यावत् संघर्ष र तनावका बीच सबै ठीकै हुन्छ भन्ने झिनो आशा लिएर अघि बढिरहेकाहरूलाई तीज रमाउने बहाना हो । पीडितले सधैं पीडा देखाएर बाँच्नुपर्छ भन्ने मानसिकता राख्ने समाजले महिला हाँसेको स्विकार्न सक्नुपर्छ ।

हरितालिका तीज नजिकिइरहेको छ । तीजका गीत एक महिनाअघिबाटै घन्किन सुरु भए पनि अब भने झपक्कै गाउँसहरमा महिलालाई यो पर्वले छोपिसकेको छ । सामाजिक प्राणी भएर नै होला अरूको चियोचर्चा नगरी बस्न पनि नसक्ने अनौठो स्वभाव छ, मानवमा ।

त्यसमाथि महिलालाई त संस्कारी, चरित्रवान्, ज्ञानी, सुन्दर र कोमल जस्ता उपमा दिइने समाजमा अलि फरक बन्न खोजे, थोरै ठूलो स्वर गरे नकारात्मक टिप्पणी सुरु भइहाल्छ ।

महिलाहरू शताब्दीदेखि बन्देजको चौघेरामै सीमित थिए । लैंगिकताले नै हरेक परिबन्ध सिर्जना गरेको समाजलाई स्विकार्दै सती प्रथामा पनि लीन भए । श्रीमान्को मृत्यु हुनु भनेको श्रीमतीको जीवन समाप्त हुनु हो भन्ने तत्कालीन मानसिकताले श्रीमान्सँगै चितामा जले । स्त्री जातिप्रति क्रूर इतिहास बोकेको नेपाली समाजलाई महिला बाठो, टाठो, स्वतन्त्र र खुसी भएको अझै पनि अजिब लाग्छ ।

१९१० सालमा जंगबहादुर राणाले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी सती प्रथा केही हदसम्म कमी ल्याउन प्रयास गरेका थिए । पापी समाजलाई उनकै निर्णय चित्त नबुझेर होला उनको निधन हुँदा उनका केही रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्य भेटिन्छन् । जंगबहादुरले १६ वर्षभन्दा मुनिका विधवा र ९ वर्षभन्दा साना उमेरका सन्तान भएका महिलालाई सती जान रोक लगाएका थिए । पूर्ण बन्देज नलगाए पनि अन्ततः १९७७ मा चन्द्रशमशेरको शासनकालमा सती प्रथा अन्त्यको घोषणा गरियो । सती प्रथा उन्मूलन त भयो तर अहिलेको युगमा पनि श्रीमान्को निधनपछि हाँस्ने, नाच्ने, रमाउने महिलाप्रतिको दृष्टिकोण बदलिएको छैन ।

कोभिडमा श्रीमान् गुमाएकी एक महिलाले तीन वर्षपछि तीजमा रातो साडी लगाएर सामाजिक सञ्जालमा तस्बिर राख्दा परिवार र आफन्तले असह्य तथानाम गाली बर्साए । बैंकको जागिरले छोरी र आफ्ना आधारभूत आवश्यकता पूरा गर्दै आएकी उनी श्रीमान्को निधनपश्चात् घरबाट निकालिइन् । हाल उनी आफ्नो र छोरीको अंश हकका लागि कानुनी उपचारको बाटोमा छिन् । सगोलको सम्पत्तिबाट अंश हकजस्तो नैसर्गिक अधिकार मेटाउने सामर्थ्य कसैले राख्दैन भन्ने बुझेकी उनी एकल भएकै कारण आफ्नो चरित्र, व्यवहार र जीवनशैलीलाई विपक्षीले प्रश्न गर्दा मानसिक रूपमा भने कमजोर हुन्छिन् ।

मुलुकी (देवानी) संहिता २०७४ को अंशबन्डासम्बन्धी व्यवस्थाको दफा २०९ को उपदफा (२) मा अंश नहुँदै पति वा बाबुआमा मरेमा निजले पाउने अंश निजका पत्नी वा छोराछोरीले पाउने व्यवस्था छ । समय फेरिए पनि महिलालाई पतिको निधनपछि अंश दिन कन्जुस्याइँ गर्छ यो समाज । श्रीमान्को निधनपछि निश्चय नै एकल जीवन सहज हुँदैन । त्यसमाथि सन्तानको जिम्मेवारी पूरा गरिरहेका महिला तीज आउँदा सबै पीडा र असहज परिस्थितिलाई भुलेर नाचगान र भेटघाटमा रमाउँछन् ।

स्वैच्छिक निःशुल्क कानुन व्यवसायीका रूपमा काम गर्दा सयौं महिलाका कथाव्यथा नजिकबाट नियालेकी छु । विभिन्न मुद्दाको फिरादपत्र, निवेदनपत्र, प्रतिउत्तरपत्र वा पुनरावेदनलगायत जुनसुकै लिखत तयार गर्दा उनीहरूले त्यसमा अटाइनेभन्दा बढी संघर्ष र पीडा भोगेका विषय सुनाउँछन् । महिलाहरू विवाह दर्ताको अभावमा कानुनी लडाइँ लड्न असमर्थ छन् । सन्तानको जन्मदर्ता हुन नसक्दा भौंतारिरहेका छन् । अनौपचारिक क्षेत्रमा बाध्यात्मक रूपमा श्रम गरिरहेका छन् ।

घरभित्र दैनिक बिनापारिश्रमिक, बिनाबिदा बाह्रै महिना श्रम गरिरहेका छन् । श्रमको मूल्यांकन हुनुपर्छ भनेर बुझ्दिने कसले ? समाजमा कमजोर अवस्थामा रहेका एकल महिला, आर्थिक अवस्था कमजोर भएका र दलित महिलाहरूले भोग्नुपरिरहेको हिंसा न्यूनीकरणमा कसैको ध्यान जाँदैन । बोक्सीको आरोपमा अहिले पनि महिलालाई नै मलमूत्र खुवाइन्छ, घर निकाला गरिन्छ, शारीरिक र मानसिक पीडा दिइन्छ । कति महिलाले त कुरीति र कुसंस्कारको नाममा ज्यान नै गुमाउनुपरेको छ । लिंगका आधारमा हुने हिंसा सहज स्विकार्ने मनोविज्ञान भएकाहरूमा महिलाहरू पिल्सिनुपर्छ, निहुरिनुपर्छ र दबिनुपर्छ भन्ने मेट्नै नसकिने छाप परेको छ । तिनलाई यस्ता घटना सामान्य लाग्न सक्छ ।

आफ्ना हकअधिकार र कानुनबारे अज्ञानताका कारण महिला अझै हिंसा सहेर बाँचिरहेका छन् । यावत् संघर्ष र तनावका बीच सबै ठीकै हुन्छ भन्ने झिनो आश लिएर अघि बढिरहेकाहरूलाई तीज पर्व रमाउने बहाना हो । पीडितले सधैं पीडा देखाएर बाँच्नुपर्छ भन्ने मानसिकता राख्ने समाजले दुःख भुलेर महिला हाँसेको स्विकार्न सक्नुपर्छ । भदौ १३ गते गृह मन्त्रालयले नै तीज पर्व मनाउनेसम्बन्धी जरुरी सूचना सार्वजनिक गर्‍यो । महिलालाई अनावश्यक तडकभडक र खर्चिलो कार्यक्रम आयोजना गरी तीज मनाएमा कानुनबमोजिम कारबाही हुने सूचनाले सरकारलाई समेत महिलाको भेटघाट, नाचगान र रमाइलोले टाउको दुखेको साबित गरेको छ । अन्याय र अत्याचार सहेर घर र थरका लागि सम्झौता गरिरहेका महिलाले एकमहिने तीज मनाए पनि विरोध गर्नुपर्ने तात्पर्य छैन ।

बिरामी नभई अस्पताल नधाएझैं अत्याचारको बिन्दु चरम नभएसम्म महिलाहरू न्यायको पहुँचमा पुग्नै खोज्दैनन् । घरेलु हिंसालाई श्रीमान्–श्रीमतीबीचको घरभित्रको झगडा त हो नि भनी सामान्यीकरण गर्नुले महिलाहरू प्रताडित हुने क्रम बढ्दो छ । नाच्नुलाई संसारमै नैराश्य र दुःख बिर्सने सबैभन्दा अचुक उपायका रूपमा लिइन्छ । तर नाच्न पनि त बहाना चाहिन्छ, जुन तीज र तीज आउनुपूर्वको रौनकले दिएको छ । हजुरआमा पुस्ताले तीजमा गाउने गरेका महिला वेदना, धार्मिक भावनाका गीत मात्र तीजमा गुन्जनुपर्छ भन्ने हाम्रो मानसिकता परिवर्तन गर्न आवश्यक छ ।

आधुनिक समाजमा केही चाडबाडको अस्तित्व छ र एकअर्कासँग भेट्ने मौका जुराएको छ । अरू महिनाभन्दा फरक अनुभूतिका साथ दैनन्दिनको भागदौडबाट समय छुट्याई निस्फिक्री उफ्रीउफ्री नाच्न पाइएको छ । फेसबुक, इन्स्टाग्राम र एक्सभन्दा बाहिर युट्युब वा अन्य माध्यममार्फत गीत सुन्न पाइन्छ । रातो, हरियो वा पहेंलो आफूलाई मन पर्ने रङका वस्त्रमा सजिएर सुन्दर अनुभूति गर्न पाइन्छ । दुःख र पीडा भुलेर स्वच्छन्द रमाउने माहोलमा तीजका भाका हुन् कि अन्य गीत, रोज्ने जिम्मा महिलालाई दिऔं । २१ औं शताब्दीको समाजमा महिला हिंसा शून्य हुनुपर्ने हो तर पनि तीजमा महिलाले ढुंगे युगमा झैं विरहका पीडाका भाका पोखेको मन पराउने समाज जीवित हुनुले के दर्शाउँछ ?

महिलालाई कसैको छोरी, कसैको श्रीमतीका रूपमा मात्र नभई उनीहरूको स्वतन्त्र अस्तित्व स्वीकार गरी स्वतन्त्र मानवका रूपमा समान व्यवहार गरे मात्र समतामूलक समाजको निर्माण हुन्छ । त्यसैले तीज एक महिनाअघि मनाए पनि, तीजमा आधुनिक गीतमा नाचे पनि प्रश्न गर्न छाडौं । तीजका दर विशेष कार्यक्रममा कसैलाई करकाप गरिँदैन । जो पुग्छन् रमाउँछन् । उनीहरू पक्कै आफ्ना काम र दायित्व निर्वाह गरेर नै समय निकालेर तीज मनाउँछन् ।

आइटम गीत ‘बिस्तराले पोल्यो’ तीजको नजिक सार्वजनिक भयो भन्दैमा तीज गीतकै उपनाम दिइयो । तीजको मौलिक परम्परामाथि प्रहार गरेको, धर्म, संस्कृति र सिंगो संगीत क्षेत्रलाई ठूलो क्षति पुर्‍याउने भन्दै प्रतिबन्धसम्मको अवस्थामा पुर्‍याइयो । गायिका शान्तिश्री परियारको डेढ दशक लामो गायन यात्रालाई मूल्यांकन नगरी नकारात्मक टिप्पणीसहित औंला ठड्याइयो । अन्ततः उनले विज्ञप्ति नै जारी गरी नगरेको गल्तीका निम्ति क्षमायाचना गर्नुपर्‍यो । जबकि त्यो गीतको युट्युब भिडियोमा कतै तीजको भाव वा नाम उल्लेख गरिएकै छैन । कुन गीतमा नाच्ने, कुन सुन्ने, कुन नसुन्ने त्यो त दर्शकश्रोताले नै छान्न पाउनुपर्ने हो । हामीले यो भन्दा चौगुना उद्दण्ड खालका आइटम गीत स्विकारेका हौंला । सुनेका छौं, नाचेकै छौं नि होइन र ? सबै आइटम गीत तीजका गीत होइनन् भनेर बुझ्ने चेतनासमेत हामीमा नहुनु विडम्बना हो ।

महिलालाई यो हप्ता स्वतन्त्रताको बिगुल फुक्न दिनुस् । घरधन्दा, कार्यालय, बच्चा सबै व्यवस्थापनका बावजुद तीज मनाइरहेकालाई बिस्तराले पोलोस् कि नपोलोस् तपाईंको प्रश्नले नपोलोस् ।

– खड्का स्वतन्त्र पत्रकार तथा अधिवक्ता हुन् ।

प्रकाशित : भाद्र १७, २०८१ ०७:०८
x
×