कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

अमेरिकी चुनावमा हार-जितका निर्णायक एजेन्डा

भाद्र १७, २०८१

किशोर पन्थी

किशोर पन्थी अमेरिकाबाट समसामयिक, अन्तर्राष्ट्रिय मामिला र राजनीतिक विषयमा लेख्छन् ।

अमेरिकी चुनावमा हार-जितका निर्णायक एजेन्डा

Highlights

  • अध्यागमनका विषयमा मतदाताले ट्रम्पलाई बढी पत्याएका छन् भने गर्भपतन अधिकार सन्दर्भमा ह्यारिसलाई बढी विश्वासगरेका छन् । अमेरिकामा राष्ट्रपति चुनाव जित्न भावनात्मक कुराले भन्दा शीर्ष एजेन्डाले महत्त्वपूर्ण भूमिका खेल्छन् । ती एजेन्डामा उम्मेदवारले लिएको अडानले चुनावी परिणामसमेत बदल्न सक्ने तागत राख्छ ।

अमेरिकामा महिलालाई पनि मतदानको अधिकार प्रदान गरेको १ सय ४ वर्षपछि एसियन–अफ्रिकन मूलकी कमला ह्यारिस पहिलो महिला राष्ट्रपति बनेर नयाँ इतिहास रच्ने दौडमा छिन् । पहिलो महिला उपराष्ट्रपति बनेर इतिहास बनाइसकेकी उनले यस पटक नयाँ इतिहास रच्न सक्ने/नसक्ने निधो भने आगामी नोभेम्बर ५ मा हुनेछ ।

तर एक अश्वेत महिलाले सिकागोमा भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय अधिवेशनमा राष्ट्रपति चुनावमा उम्मेदवारका लागि नोमिनेसन स्वीकार गरेको परिघटनाले नै अमेरिकामा इतिहास रचिसकेको छ ।

महिलाहरू हाँसेको, चर्को बोलेको वा राजनीतिको शीर्ष स्थानमा पुगेको देख्दा छटपटी हुने र मन नपराउने समाज नेपालमात्र मात्र होइन अमेरिकामा पनि छ । अहिले पनि ह्यारिसको हाँसोलाई लिएर अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प लगायतका रिपब्लिकनले मजाक गरेको पाइन्छ । जीवनभर राजनीतिमा समर्पित श्वेत महिला हिलारी क्लिन्टन राष्ट्रपति बन्न असफल भएको अमेरिकामा ह्यारिसका लागि राष्ट्रपति बन्न त्यति सहज छैन । तर, उनले रोजेको बाटोले अमेरिकामा आप्रवासी समुदायका दोस्रो पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहेको छ । यद्यपि, अमेरिकामा राष्ट्रपति चुनाव जित्न भावनात्मक कुराले भन्दा चुनावका शीर्ष एजेन्डाले महत्त्वपूर्ण भूमिका खेल्छन् । ती एजेन्डामा उम्मेदवारले लिएका अडानले चुनावी परिणामसमेत बदल्न सक्ने तागत राख्छ ।

अमेरिकामा राष्ट्रपतिको चुनावमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल मत ल्याउन आवश्यक हुन्छ । हरेक राज्यका लागि इलेक्टोरल मतभार फरकफरक तोकिएको हुन्छ । चुनावमा मतदान गर्न योग्य अमेरिकी नागरिकले इलेक्टोरल कलेजका सदस्यका लागि मतदान गर्छन् । त्यस्ता इलेक्टरहरूले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने प्रतिबद्धता जनाइसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्छन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मत आवश्यक पर्छ । ५० वटा राज्य र वासिङ्टन डीसीबाट जनसंख्याको अनुपातका आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।

अमेरिकामा अधिकांश राज्यमा विगतको इतिहास र पार्टीको प्रभावका आधारमा चुनाव कसले जित्छ भन्ने लगभग सुनिश्चित जस्तै हुने गर्छ । डेमोक्रेटिक र रिपब्लिकन पार्टीका जर्बजस्त प्रभाव रहेका रेड र ब्लु स्टेट भनेर चिनिने ती राज्यमा हरेक राष्ट्रपति चुनावमा लगभग उस्तै परिणाम आउने भए पनि चुनावमा विभिन्न ९ राज्यले पटकपटक आफ्नो चुनावी परिणाम बदल्ने गरेका छन् । ब्याटलग्राउन्ड राज्य भनेर चिनिने यी राज्यमा केही हजार मतले मात्र परिणाम बदल्न सक्ने तागत राख्ने भएकाले स्विङ भोटरलाई प्रभाव पार्न बेलाबेला उम्मेदवारहरू बढी केन्द्रित हुने गरेका छन् ।

२०२० को चुनावी परिणाम र अहिलेको मत सर्वेक्षण हेर्दा ९ वटा राज्य मिनेसोटा, भर्जिनिया, विसकन्सिन, पेन्सिलभेनिया, मिसिगन, नर्थ क्यारोलिना, एरिजोना, जर्जिया र नेभाडामा सबैको ध्यान केन्द्रित भएको छ । त्यसमा पनि विसकन्सिन, मिसिगन, पेन्सिलभेनिया, एरिजोना र जर्जिया अझ शीर्षमा छन् । मिसिगनमा १५, पेन्सिलभेनियामा १९, विसकन्सिनमा १०, एरिजोनामा ११ र जर्जियामा १६ इलेक्टोरल मत रहेको छ । तर यी राज्यमा जित्नका लागि मतदाताको मन परिवर्तन गर्न सक्ने चुनावी एजेन्डाले नै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । जसमध्ये सीमा सुरक्षा र अध्यागमन, गर्भपतनको अधिकार, ट्याक्सलगायतका विषयलाई मुख्य विषयका रूपमा हेरिँदै आएको छ ।

गर्भपतनको अधिकार

गर्भपतन अधिकारको विषयलाई डेमोक्रेटिक पार्टीले आफ्नो चुनावी सबलताका रूपमा लिँदै आएको छ । यो विषय डेमोक्र्याटहरूका लागि यति शक्तिशाली मुद्दा हो कि राष्ट्रपति चुनावमा लगातार २० वर्षदेखि रिपब्लिकन उम्मेदवारले जित्दै आएको केन्टकीमा गर्भपतन अधिकारको पक्षमा उभिँदा डेमोक्रेटिकका एन्डी बेसियरले गभर्नरको चुनाव जितेका थिए । बलात्कार र नाताभित्रैको यौनसम्बन्धमा बसेको गर्भलाई समेत पतन गर्न नपाउने कानुनविरुद्धको डेमोक्रेटिक अडान ह्यारिसका लागि पनि फलदायी साबित हुन सक्छ ।

डेमोक्रेटिक अधिवेशनमा पनि गर्भपतन प्रतिबन्धका कारण स्वास्थ्य हेरचाह अस्वीकार गरिएका, सौतेनी बुवाबाट बलात्कृत भएकाहरूको अनुभव प्रस्तुत गरिएको थियो । ह्यारिसले लामो समयदेखि गर्भपतनमा महिलाको अधिकारलाई समर्थन गरिरहेकी छन् । उनले २०२४ को चुनावमा गर्भपतनको अधिकारलाई केन्द्रबिन्दु बनाउन प्रमुख भूमिका खेलेकी छन् भने लामो समयदेखि राष्ट्रव्यापी प्रजनन अधिकारलाई समेट्ने कानुनको वकालत गरिरहेकी छन् । उनले अधिवेशनमा आफ्नो नोमिनेसन स्वीकार गर्दा पनि प्रजनन स्वतन्त्रता पुनःस्थापना गर्ने कानुनमा हस्ताक्षर गर्ने प्रतिबद्धता दोहोर्‍याएकी छन् ।

ट्रम्पले गर्भपतनको अधिकार उल्टाउने सर्वोच्च अदालतको फैसलाको श्रेय गर्वका साथ लिँदै आएका छन् । किनभने उनले सर्वोच्चमा नियुक्त गरेका तीन रुढिवादी न्यायाधीशहरूका कारण नै गर्भपतनलाई अपराध नमान्ने सन् १९९३ मा भएको फैसलालाई २०२२ मा उल्टाइएको थियो । राष्ट्रपति भएका बखत पनि उनले २० हप्ताभन्दा माथिको गर्भपतन गर्न नपाइने कानुनको पक्षमा समर्थन जाहेर गरेका थिए । गर्भपतनको अधिकारसम्बन्धी पुरानो ऐतिहासिक निर्णयलाई उल्टाउने सर्वोच्चका न्यायाधीशहरू नियुक्त गरेकामा आफूलाई कुनै पछुतो नभएको बताउँदै आएका ट्रम्पले पछिल्लो समय आफूलाई गर्भपतन अधिकारका पक्षमा देखाउन प्रयत्न गर्दै आएका छन् ।

गर्भपतनमा संघीय प्रतिबन्ध लगाउने बिल पारित भएमा त्यसलाई आफूले भिटो प्रयोग गरेर अस्वीकार गर्ने उनको भनाइ छ । यही मुद्दाका कारण आफ्नो राजनीतिक भविष्य जोखिममा पर्न सक्ने राम्रोसँग बुझेका उनले गर्भपतनको अधिकारका सन्दर्भमा नरम भनाइ सार्वजनिक गरिरहेका छन् । बलात्कार, नाताभित्रको यौनसम्बन्ध लगायतका कारण रहेको गर्भलाई पतन गराउनका लागि छुट प्रदान गरिनुपर्ने अडानमा उनी देखिन्छन् । तर, समग्रमा गर्भपतनको अधिकार सन्दर्भमा वकालतको ट्र्याक रेकर्ड हेर्दा डेमोक्र्याट्सहरूकै पल्ला भारी रहेको छ ।

सीमा सुरक्षा र अध्यागमन

सीमा सुरक्षा र अध्यागमनको विषय डेमोक्र्याटहरूका लागि सबैभन्दा ठूलो टाउको दुखाइको विषय भएको छ । सीमा क्षेत्रमा आएको अराजकता र बिनाभिसा सीमा क्षेत्रबाट आप्रवासीको अमेरिका प्रवेशदरमा आएको उच्च वृद्धिका कारण बाइडेन–ह्यारिस प्रशासनको चर्को आलोचना हुँदै आएको छ । पछिल्लो समय सीमा क्षेत्रमा शरण प्रतिबन्ध लगाउने बाइडेनको नीतिका कारण बिनाभिसा अमेरिका प्रवेश गर्नेको संख्यामा उल्लेख्य गिरावट आए पनि सीमा सुरक्षामा प्रभावकारी कदम चाल्न नसकेको विषयले मतदातको मनस्थिति र चुनावी परिणाममा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने देखिएको छ ।

आफूमाथिको राजनीतिक आक्रमणलाई कमजोर पार्ने प्रयास गर्दै ह्यारिसले क्यालिफोर्नियाको महान्यायाधिवक्ता छँदा लागूऔषध र मानव तस्कर गिरोहलाई सफलतापूर्वक कारबाही गरेको अनुभव सुनाए पनि ट्रम्प र शीर्ष रिपब्लिकनहरूले अमेरिका–मेक्सिको सीमा अवस्थाका लागि ह्यारिसलाई नै दोष दिँदै आएका छन् । द्विदलीय सिनेट सम्झौतामा शरणका मापदण्डलाई कडा बनाउने, सीमा सुरक्षा एजेन्ट, अध्यागमन न्यायाधीश र शरण अधिकारी थप्ने विषयलाई आफूहरूले समर्थन गरेको भन्दै ह्यारिसले आफूमाथिको आक्रमण मत्थर पार्ने प्रयास गरिरहेकी छन् । उनले अमेरिकामा रहेका कागजपत्रविहीनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने व्यापक अध्यागमन सुधारलाई समर्थन गरेकी छन् । तर बाइडेन–ह्यारिस प्रशासनले यस विषयमा अगाडिका प्रतिबद्धता पूरा गर्न असफल भएकाले मतदाताले यसलाई पत्याइहाल्न सक्ने अवस्था सिर्जना भएको छैन ।

ट्रम्पले आफू राष्ट्रपति भएका बखत सीमा क्षेत्रमा कडा मापदण्ड अपनाउनुका साथै पर्खाल लगाउनसमेत सुरु गरेका थिए । पुनः निर्वाचित भएमा उनले कागजपत्रविहीनलाई व्यापक कारबाही गर्ने र सीमा क्षेत्रको प्रकोप बन्द गर्ने वाचा गरेका छन् । सीमा क्षेत्रमा क्याच–एन्ड–रिलिज अन्त्य र शरणमा भएको जालसाजी टुंग्याउनेसमेत उनको प्रतिबद्धता छ । विदेशी गिरोहका सदस्य र अपराधीलाई द्रुत रूपमा देशनिकाला गर्न नेसनल गार्ड परिचालन गर्ने ट्रम्पको एजेन्डा छ । आफ्नो पहिलो कार्यकालमा लागू गरेका नीति फिर्ता ल्याउने, यात्रा प्रतिबन्धलाई पुनर्जीवित र विस्तार गर्ने, विचारका आधारमा अमेरिका प्रवेशमा रोक लगाउने, विद्रोहीप्रति सहानुभूति राख्नेलाई देश निकाला गर्ने, आमाबुबाको कानुनी स्टाटसबिना जन्मेका व्यक्तिका लागि जन्मसिद्ध नागरिकता समाप्त गर्नेलगायत अध्यागमनसम्बन्धी कडा एजेन्डाका कारण ट्रम्प रिपब्लिकनमाझ लोकप्रिय बनेका छन् । तर मतदाताहरू सीमा सुरक्षा र अध्यागमनबारेका यी विषयमा विभाजित देखिन्छन् ।

पछिल्लो ग्यालप सर्वेक्षणअनुसार अधिकांश अमेरिकीहरू बालबालिकाका रूपमा ल्याइएका आप्रवासी र कागजात नभएका आप्रवासीलाई निश्चित प्रक्रिया पूरा गरेमा अमेरिकी नागरिक बन्ने बाटोमा अगाडि बढाउनुपर्ने, सीमा क्षेत्रमा शरण लिनेको संख्या अत्यधिक वृद्धि भएको खण्डमा शरण प्रतिबन्ध लागू गर्नुपर्ने पक्षमा देखिएका छन् । यी विषय खासगरी डेमोक्र्याटका एजेन्डा हुन् । सीमा सुरक्षाका लागि गस्ती एजेन्टको संख्या बढाउनुपर्ने एजेन्डा दुवै दलको रहेको छ भने यो एजेन्डाका पक्षमा पनि अधिकांश अमेरिकी मतदाता रहेको सर्वेक्षणले देखाएको छ ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल निर्माणको कामलाई विस्तार गर्नुपर्ने रिपब्लिकनको एजेन्डाका पक्षमा पनि अधिकांश अमेरिकी छन् । सर्वेक्षणअनुसार कागजपत्रविहीनलाई देशनिकाला गर्नुपर्ने ट्रम्पको एजेन्डाका पक्षमा बहुमत अमेरिकी नरहे पनि ४७ प्रतिशत छन् । २०१९ सम्म सीमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने पक्षमा जम्मा ४० प्रतिशत अमेरिकी रहेकामा अहिले यो प्रतिशत ५३ पुगेको छ । डेमोक्र्याटहरूले विगतमा प्रतिबद्धता पूरा नगरेको ट्र्याक रेकर्डसहित समग्रमा हेर्दा सीमा सुरक्षा र अध्यागमनका विषयमा ट्रम्पको पल्ला भारी देखिएको छ ।

अर्थतन्त्र र ट्याक्स

अर्थतन्त्र र ट्याक्स अमेरिकीहरूको दैनिक जीवनलाई प्रभाव पार्ने महत्त्वपूर्ण विषय हो । यस सन्दर्भमा ह्यारिसको अडान कामदार वर्गका पक्षमा देखिएको छ भने ट्रम्पको अडान धनी व्यापारीहरूतिर ढल्किएको देखिन्छ । ३ मिलियनसम्म योग्य अमेरिकीका लागि ७ बिलियन डलरको मेडिकल ऋण रद्द गर्न काम गर्ने र योग्य परिवारका लागि हरेक बच्चाका लागि प्रदान गरिने ३६ सय डलरसम्मको बाल कर क्रेडिट स्थायी बनाउने पक्षमा ह्यारिस छिन् । उनी नवजात बच्चा भएकाहरूका लागि ६ हजार डलरको नयाँ कर क्रेडिट प्रस्ताव गर्न चाहन्छिन् । उनी फ्रन्टलाइन कामदारका लागि र सस्तो हेरचाह ऐनद्वारा सिर्जना गरिएको स्वास्थ्य सेवा योजनाहरूमा कर कटौती गर्न चाहन्छिन् । पहिलो पटक घर खरिद गर्नेहरूका लागि कर क्रेडिट विस्तार गर्ने र पहिलो पटक घर किन्ने पहिलो पुस्ताका आप्रवासीलाई २५ हजार डलरसम्म अनुदान दिने ह्यारिसका योजना पनि आप्रवासी र मध्यमवर्गीयका लागि आकर्षक रहेका छन् ।

तर, कर्पोरेट करको दर २८ प्रतिशतसम्म बनाएर मध्यम र निम्नवर्गीय अमेरिकीका लागि थप रकम लगानी गर्ने ह्यारिसको योजनाले मध्यमवर्गीय व्यापारीमा भने मिश्रित भावना पैदा गरेको छ । ट्रम्पले आफू राष्ट्रपति हुँदा कर्पोरेट करको दर ३५ प्रतिशतबाट २१ प्रतिशतमा झार्ने कानुनमा हस्ताक्षर गरेका थिए भने स्टान्डर्ड डिडक्सन र चाइल्ड ट्याक्स क्रेडिटलाई दोब्बर बनाएका थिए । राष्ट्रपतिमा पुनः निर्वाचित भएमा यो कर कटौती विस्तार गर्नेमात्र होइन, कर्पोरेट करको दरलाई १५ प्रतिशतमा झार्ने ट्रम्पको योजनाले उच्च वर्गका मात्र होइन, मध्यम वर्गका व्यापारीलाई पनि आकर्षित गरेको छ ।

त्यस्तै, बाइडेन प्रशासनले गरेका अन्य कर वृद्धिलाई घटाउने र टिप्सबाट भएको आम्दानीमा कर हटाउनेसमेत ट्रम्पले वाचा गरेका छन् । करका सन्दर्भमा ट्रम्पले लिएका एजेन्डाले धनी र व्यापारी वर्गलाई आकर्षित गरेको छ भने ह्यारिसले लिएका एजेन्डा मध्यम र कामदार वर्गको पक्षमा देखिन्छ । उम्मेदवारका यस्ता प्रतिबद्धता र अडानलाई चुनावी परिणाम प्रभाव पार्न सक्ने मुख्य एजेन्डाका रूपमा हेरिएको छ । किनभने ट्याक्स बारेका एजेन्डा ब्याटलग्राउन्ड राज्यका स्विङ भोटरलाई प्रभाव पार्ने मुख्य विषयमध्ये एक हो ।

यीबाहेक अन्तर्राष्ट्रिय सम्बन्ध, युक्रेनलाई अमेरिकी सहयोग, इजरायल–गाजा युद्ध, स्वास्थ्य सेवा, अपराध नियन्त्रण, बन्दुकसम्बन्धी कानुन, जलवायु परिवर्तनलगायतका विषयमा ह्यारिस र ट्रम्पका अडानलाई पनि चुनावी कसीमा राखिएको छ । एबीसी समाचार, वासिङ्टन पोस्ट र इप्सोसको एक सर्वेक्षणअनुसार अर्थतन्त्र र मुद्रास्फीतिको विषयलाई मतदाताले सबैभन्दा धेरै प्राथमिकता दिएका छन् भने यसमा ट्रम्पलाई बढी विश्वास गरेका छन् ।

त्यस्तै, मतदाताको प्राथमिकतामा रहेका स्वास्थ्य, लोकतन्त्रको संरक्षण जस्ता विषय ह्यारिसले राम्रोसँग सम्हाल्न सक्ने मतदाताको विश्वास छ । अध्यागमनको विषयमा मतदाताले ह्यारिसको तुलनामा ट्रम्पलाई बढी पत्याएका छन् भने गर्भपतन अधिकारको सन्दर्भमा ह्यारिसलाई बढी विश्वास गरेका छन् । इजरायल हमास–युद्धका सन्दर्भमा पनि ट्रम्पको पल्ला भारी छ भने बन्दुक नियन्त्रणसम्बन्धी अडानमा धेरैले ह्यारिसको समर्थन गरेका छन् ।

ह्यारिसले आफ्नो उपराष्ट्रपति उम्मेदवारका रूपमा टिम वाल्जलाई छानेर अर्को चलाखी गरेकी छन् । उदार नीतिहरूका कारण चर्चामा आएका ६० वर्षीय वाल्जको उम्मेदवारीले अमेरिकाको मध्यपश्चिम क्षेत्रमा स्पटलाइट बदलेको छ । गभर्नरका रूपमा वाल्जको कार्यकारी अनुभव र भुक्तान बिदा, बन्दुक नियन्त्रण, प्रजनन अधिकार र निःशुल्क विद्यालय खाजालगायतमा नीतिगत अडानका कारण उनी लोकप्रिय छन् भने मध्यपश्चिमी ब्याटलग्राउन्ड राज्यहरूमा मतदातालाई अपिल गर्ने एक सशक्त उम्मेदवार बनेका छन् ।

प्रगतिशील नीतिहरूको च्याम्पियनका रूपमा हेरिने वाल्जले संसद्मा हुँदा २००७ देखि २०१९ सम्म मिनेसोटाको पहिलो कंग्रेसनल डिस्ट्रिक्टको प्रतिनिधित्व गरेका थिए । सन् २०१६ मा डोनाल्ड ट्रम्पले १५ अंकले जितेको डिस्ट्रिक्टमा वाल्जले संसद्मा चुनाव जितेका थिए । अर्थात् उक्त डिस्ट्रिक्टमा मतदाताले एउटै मतपत्रमा राष्ट्रपतिमा रिपब्लिकन ट्रम्प र सांसदमा डेमोक्रेटिक वाल्जलाई मतदान गरेका थिए ।

गर्भपतन, श्रम, कृषिलगायतमा वाल्जको अडानले स्वतन्त्र मतदातालाई आकर्षित गरेको छ । यद्यपि, त्यसले ह्यारिसलाई इतिहास रच्न मद्दत गर्ने वा नगर्ने निर्क्योलका लागि भने आगामी नोभेम्बरसम्म प्रतीक्षा गर्नैपर्छ ।

प्रकाशित : भाद्र १७, २०८१ ०७:१७
x
×