कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

टोकियोबाट सुरु भएको यात्रा, पेरिसमा प्राप्त हौसला

भाद्र १७, २०८१

सम्पादकीय

कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

टोकियोबाट सुरु भएको यात्रा, पेरिसमा प्राप्त हौसला

Highlights

  • पलेशाले दोस्रो ओलम्पिक सहभागितामा पदकसँगै नेपालीको खुसी पनि ‘रेकर्ड’ गराएकी हुन् । यो सफलताले नेपाली खेलाडीको विश्वका प्रमुख प्रतिस्पर्धामा पदक जित्न सक्ने आत्मविश्वासलाई बढाउनेछ ।

ओलम्पिक यात्राको ६० वर्षपछि पहिलो पदक जितेर नेपालले नयाँ यात्राको सुरुवात गरेको छ । नेपालले सन् १९६४ मा टोकियोबाट ओलम्पिक र सन् २००४ मा एथेन्सबाट पाराओलम्पिक यात्रा सुरु गरेको हो । तर पेरिसमा आयोजित पारा ओलम्पिकमा शुक्रबार राति पलेशा गोवर्धनले तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा सर्बियाकी मरिजा मिचेभविरुद्ध १५–८ स्कोरको नतिजासहित कांस्य जितेकी हुन् ।

पलेशाले दोस्रो ओलम्पिक सहभागितामा पदकसँगै नेपालीको खुसी पनि ‘रेकर्ड’ गराएकी हुन् । यो सफलताले नेपाली खेलाडीको विश्वका प्रमुख प्रतिस्पर्धामा पदक जित्न सक्ने आत्मविश्वासलाई बढाउनेछ । पलेशाले बाटो देखाएकी छन्, अब त्यही बाटोबाट उनी स्वयं अझै अगाडि बढ्न र अन्य खेलाडीले पछ्याउन सक्ने आधार निर्माण भयो भने नेपाली खेल जगत् उज्यालो भविष्यतिर अगाडि बढ्ने निश्चित छ ।

राज्यको उपेक्षा, लगानी तथा तालिमको अभाव र नेतृत्वको होडबाजीजस्ता प्रतिकूलता चिरेर जन्मिन्छन्, पलेशाहरू । जो आफूलाई प्राप्त सानासाना अवसर र प्रोत्साहनबीच पनि अन्तर्राष्ट्रिय मञ्चमा चम्किन्छन् । पलेशा गोवर्धनको जन्मँदै बायाँ हातको नाडीदेखि तलको भाग थिएन । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी उनी स्कुलमा पढ्दादेखि नै अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थिन् । जब नेपाल तेक्वान्दो संघले पारा कमिटी गठन गरी खेलाडी पहिचान थाल्यो, उनी स्वतः अगाडि आइन् । त्यसपछि नै उनको व्यावसायिक यात्रा सुरु भएको हो ।

सन् २०१६ देखि पारा तेक्वान्दोको राष्ट्रिय टिममा आबद्ध उनले २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गरिन् । २०१८ मा भियतनाममा सम्पन्न चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेर अन्तर्राष्ट्रिय पदकको यात्रा पनि थालिन् । त्यस्तै, टर्की, बहराइन, यूके, जोर्डन, जापान, टर्की जस्ता देशमा आयोजित प्रतियोगिताहरूमा उनले सहभागिता मात्र जनाएकी छैनन्, पदक पनि जितेकी छन् । शुक्रबार पेरिसमा कांस्य जितेपछि उनको सन्देश छ, ‘मैले १० वर्षको छँदा तेक्वान्दो सिकेर २१ वर्षको उमेर यो सफलता पाएँ । मिहिनेत र धैर्य गर्नुपर्छ सफलता पाइन्छ ।’ उनको यो सन्देशलाई जुनसुकै विधाका खेलाडीले पनि व्यक्तिगत रूपमा मनन गर्न र आफूलाई उत्प्रेरित गराउन सक्छन् ।

उत्साहित खेलाडीको तेजोबध गर्न हाम्रो प्रणाली अभ्यस्त छ । नेपाली खेलकुदसँग जोडिएका हरकोही असन्तुष्ट छन् किनकि खेलका लागि राज्यको भूमिका सधैं प्रतिकूल छ । यसै पनि समग्र खेल क्षेत्रमै लगानी अत्यन्त कम छ । गत वैशाखमा तत्कालीन खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले ‘खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ’ भनेर दिएको अभिव्यक्ति यथार्थभन्दा पर छैन । बजेटकै कमीले खेलकुद पूर्वाधारको विकास र मर्मत सम्भार गर्न नसकिएको, ठूला प्रतियोगिता आयोजना गर्न नसकिएको, दीर्घकालीन योजनाहरू तय गर्न नसकिएको गुनासो यस क्षेत्रका सबैजसो सरोकारवालाहरूको हुने गर्छ । यो विषय देशका प्रधानमन्त्रीहरूले पनि पटकपटक दोहोर्‍याउँदै आएका छन् । तर, हस्तक्षेप गर्न भने कोही पनि अग्रसर भएका छैनन् ।

समग्र खेलकुद क्षेत्रमै प्रतिकूलता रहेकाले पारा खेलकुद फस्टाउन नसक्नु अस्वाभाविक होइन । किनकि, आर्थिक र भौतिक लगानी उसै पनि कम हुने नै भयो । अपांगता भएका खेलाडीहरूको यो खेलको विकासका लागि छुट्टै बजेटको व्यवस्था छैन । साथसाथै, घरेलु प्रतियोगिता पनि पर्याप्त हुँदैनन् । पारा खेलकुदका संस्थागत संरचना पनि अत्यन्त न्यून छ । पारा खेलकुदमा विभिन्न विधासँग जोडिएका खेलाडीले व्यावसायिक अवसर पाउन सकेका छैनन् । अन्तर्राष्ट्रियस्तरका एकेडेमीमा प्रशिक्षण लिने वातावरण दुर्लभ छ । व्यक्तिगत, पारिवारिक, सामाजिक, राज्यस्तर वा खेलकुदसँग जोडिएका संरचनाबाट पाउनुपर्ने प्रोत्साहनको कमी छ । मुख्यतः सबैजसो विधाका खेलाडी जस्तै उनीहरूको आर्थिक भविष्य सुनिश्चित छैन ।

अनौठो के छ भने, नेतृत्वका लागि भने नेपालमा दुई थरी पारा कमिटी छन् । सूर्यकुमारी गुरुङ नेतृत्वको नेपाल पारा ओलम्पिक कमिटीलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छ भने र राधा घले नेतृत्वको राष्ट्रिय पारा ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीबाट मान्यता प्राप्त गरेको छ । दुई कमिटीबीच सार्वजनिक कार्यक्रममै जति ठूलो विवाद छ, खेलकुदको विकासप्रतिको चासो भने उत्तिकै कमजोर छ । साँच्चै खेलकुद र खेलाडीको हितमा प्रतिबद्धता हुने हो भने दुई दुई थरी कमिटी बनाएर द्वन्द्व बढाउने रहर कुनै पनि पक्षलाई हुने थिएन ।

खेलकुदको विकासका लागि सरकारको पर्याप्त आर्थिक लगानी नै पहिलो सर्त हो । सरकारले गर्ने लगानी पूर्वाधार निर्माण, खेलाडीको भविष्यको सुरक्षा, व्यवस्थित र व्यावसायिक वातावरण निर्माणमा परिणत हुनुपर्छ । साथसाथै, खेल क्षेत्रको विकासका लागि व्यक्तिगत र संस्थागत पहलको पनि उत्तिकै खाँचो छ । तर यस्ता पहलकदमी पदक विजेता खेलाडीलाई गरिने तजबिजी पुरस्कारमा मात्रै सीमित हुनु हुँदैन । बरु संस्थागत विधि विकासमा योगदान गरिनुपर्छ । त्यसले मात्रै खेलाडीहरू जन्माउन, टिकाउन र पदक ल्याउन सक्षम बनाउन सक्छ । तबमात्र अरू ‘पलेशा’ हरू जन्मन सक्छन्, नेपाली खेलकुदका लागि नयाँ–नयाँ ‘रेकर्ड’ बन्न सक्छन् ।

प्रकाशित : भाद्र १७, २०८१ ०७:००
x
×