कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

युवाले छाड्दै गरेको देश

भाद्र १३, २०८१
युवाले छाड्दै गरेको देश

Highlights

  • देश भनेको केवल ढुंगा, माटो र सिमाना मात्रै होइन, आकांक्षाहरू फल्ने फुलाउने ठाउा पनि हो । देश भनेको मूलतः पौरख र संघर्ष गर्न पाउने ठाउँ हो । ‘करिअर’ का लागि पौरख र संघर्ष गर्ने अवसरबाट युवालाई बाहिर पारिएपछि उनीहरूलाई देश कसरी मन पर्छ ?

राजनीतिक परिवर्तनका हिसाबले नेपाल द्रुत गतिमा अगाडि बढेको हो । २०१७ सालमा राजा महेन्द्रले बलात् पञ्चायत व्यवस्था लागू गरे पनि २०४६ को आन्दोलनले नयाँ परिवर्तनको ढोका खोल्यो । त्यसपछि द्रुत गतिमा चलेको राजनीतिक गाडीले गणतन्त्र हुँदै संघीय लोकतन्त्रमा ल्याइपुर्‍यायो, राज्य व्यवस्थालाई खुला र उदार बनायो भनियो ।

तर, युवा यो राज्य व्यवस्थाभित्र अटाउन सकेनन् । राज्य व्यवस्थाका कारणले देशभित्रै अटाउन सकेनन् । किन ? ठूलो प्रश्न छ । लोकतान्त्रिक मान्यताका परम्परागत सूचकभित्र हेर्ने हो भने मुलुकमा लोकतान्त्रिक पद्धति छ । तर, यो लोकतान्त्रिक पद्धतिको ढाँचामा युवा छैनन् । युवाले मुलुकप्रति कुनै सहजता अनुभूति गर्नै सकेनन् ।

युवाविहीन दलभित्रको लोकतन्त्र

लोकतन्त्रमा राज्य व्यवस्थालाई हाँक्ने राजनीतिक दलहरूले हो । तर दलहरूप्रति युवाको आकर्षण किन छैन ? युवा स्वभावले विद्रोही हुन्छन् । अलिकति स्वतन्त्रता र खुलापनको अभ्यास गर्न खोज्छन् । तर, अहिलेका राजनीतिक दलहरू नोकरशाही प्रकारका छन् । ठूलो र सानोको भारीले थिचिएका छन् । जब नोकरशाहीपन हुन्छ, ठूलो र सानोको धेरै ठूलो महत्त्व हुन्छ । त्यो युवाका लागि रुचिकर हुँदैन ।

सुरुमा दैनिक राजनीतिमा देखिने पात्रहरूको एकरूपताले युवालाई वैराग बनाउँछ । राजनीतिमा देखिने बुढ्यौली अनुहारले युवालाई अपिल गर्नै सक्दैन । त्यसमाथि नेताहरूको बोली, गाली गलौज, स्वार्थकेन्द्रित भनाइसँग युवाको कुनै सपना जोडिएको हुँदैन । कुनै दैनिकी जोडिएको हुँदैन । नेताहरूबीच एकले अर्कोलाई गालीबाहेक अरू कुरा कम हुन्छन् । भविष्यमा समाजलाई राजनीतिले कता लैजान खोजिएको हो, नेताहरूको मन्तव्यबाट कुनै छेकछन्द पाइँदैन । युवाको दृष्टिकोणमा ती गन्थन मात्रै हुन् ।

दलहरू लोकतान्त्रीकरण हुन सकेकै छैनन् । युवाको आवाजले दलभित्र हस्तक्षेप गर्ने ठाउँ नै छैन । दलभित्रको लोकतन्त्रको कुरा गर्दा कम्युनिस्टहरूलाई बढा सजिलो छ, जनवादी केन्द्रीयता । यसअनुसार निर्णय गरिसकेपछि एक रूपमा सबै लाग्ने भन्ने हुन्छ । तर, निर्णय गर्ने कसले र कसरी हो, व्यावहारिक अभ्यास हुन सकेन । शक्तिको केन्द्रीकरणले जनवादी केन्द्रीयता कर्णप्रिय मात्रै भयो । यति वर्ष सदस्यता लिनुपर्ने, यति वर्ष काम गरेपछि केन्द्रीय कमिटी सदस्य हुन पाइनेजस्ता प्रक्रियाले युवाले पार्टी नेतृत्वमा पुग्नै नपाउने भयो ।

क्षमता र तागतका आधारमा नेतृत्वमा उदय हुने र हुर्कने ठाउँ नै छैन । कांग्रेसभित्र आन्तरिक लोकतन्त्र भनेपछि सबै खेल खत्तम । कांग्रेसले आफूलाई ‘मासबेस’ पार्टी देखाए पनि यो कम्युनिस्ट शैलीमा छ । बाहिर उदार देखिए पनि सांगठनिक मामिलामा तहगत अप्ठ्यारा छन् । गगन थापा—विश्वप्रकाश शर्माले नेपाली कांग्रेसमा तहगत अप्ठ्यारो भत्काए भनिए पनि उनीहरू लगभग ५० को हाराहारी नेतृत्वमा आइपुगे । त्यो नीतिगत परिवर्तनले होइन, व्यक्तिगत पहल र सन्दर्भले ।

यस दृष्टिकोणबाट विश्लेषण गर्दा पार्टीहरूले राज्य सञ्चालन गर्छन् तर पार्टीमा युवाका लागि ठाउँ नै छैन । राज्य व्यवस्थाले युवालाई समेट्न सक्ने, युवामैत्री बाटोमा जान सक्ने नै देख्दैन । त्यसले युवा राजनीतिबाट बाहिर हुन्छन् । राजनीतिबाट बाहिर भएपछि जीवनयापन आनन्द र सजिलो भएको ठान्ने हो भने एउटा कुरा भयो । नत्र जहाँ भविष्य देख्छन्, त्यहीँ जान्छन् । अहिलेको दल र राज्य मिलेर युवालाई पलायनका लागि बाध्यकारी बनाइएको हो । कहिलेकाहीँ युवालाई नै दोष दिन खोजिन्छ— देशप्रति संवेदनशील छैनन् । गाउँ—समाजप्रति उत्तरदायी छैनन् । यो भनाइले झन् उनीहरूलाई विदेशिन प्रेरित गर्छ । यो भनाइको अन्तर्य के हो भने राज्य व्यवस्था पनि ठीक छ, नेता पनि ठीक छन्, दल पनि ठीकै छन् । बेठीक युवा मात्रै हुन् । यस्ता मान्यताले झन् युवालाई देश रुचिकर लाग्नै सक्दैन ।

राज्य, दल र नेताको यही प्रवृत्ति रहेसम्म युवाले देश मन पराउन कठिन छ । देश भनेको केवल ढुंगा, माटो र सिमाना मात्रै होइन, आकांक्षाहरू फल्ने फुलाउने ठाउँ पनि हो । देश भनेको मूलतः पौरख र संघर्ष गर्न पाउने ठाउँ हो । ‘करिअर’ का लागि पौरख र संघर्ष गर्ने अवसरबाट युवालाई बाहिर पारिएपछि उनीहरूलाई देश कसरी मन पर्छ ? राज्य व्यवस्थाका नीति कार्यक्रमहरू परम्परागत ढंगमा छन् किनभने यी परम्परागत व्यक्तिका विचारहरूबाट आएका छन् ।

नयाँ राजनीतिक व्यवस्था भए पनि यसभित्र झन्झटहरू छन् । अति नोकरशाही प्रणाली छ । विकासको प्रक्रियामा युवाका आकांक्षाहरू समेटिँदैनन् । दल र राज्य व्यवस्थाप्रति युवा सकारात्मक हुन सक्दैनन् । जसले गर्दा उनीहरूलाई देशै मन पर्दैन ।

युवालाई यस्तो लागिरहेका बेला राजनीतिक नेतृत्वले भने बलिदानीको भाष्य अगाडि सार्छ । कोही राजनीति गरेको पचास वर्ष भयो भन्छन् । कोही लामो अवधि जेल बसेको प्रमाण पेस गर्छन् । कोही जीवन नै जोखिममा पारेर जनयुद्ध गरेको दलिल पेस गर्छन् । यी सबै कुरा सही नै छन् । हिजो कुनै बेला उनीहरूले योगदान गरेकै हुन् । उनीहरूको सबै दलिलले के भन्छ भने राजनीतिमा उनीहरूको ठूलो योगदान छ, त्यसैले बाँचुञ्जेल नेता भइरहनुपर्छ । तर, उनीहरूले बुझेका छैनन्, २०६२/०६३ पछि जन्मिएका मानिस अहिले २० वर्ष पुग्न लागे ।

यो समूहले बुढ्यौली नेताहरूले यसबीचमा गरेको कुनै योगदान देखेका छैनन् । देखेका छन् त केवल आलोपालो सत्तामा बसेको, त्यस क्रममा देशमा आर्थिक संकट आएको, युवा बेरोजगार भएको, समाजमा युवाको सम्मान नभएको, नेताहरूको बेग्लै वर्ग भएको, नेता र जनताको जीवनशैलीमा अतुलनीय खाडल भएको, नेताहरूको पजेरोले आफ्नो जीउमा हिलो छ्यापिएको । युवाको देखाइ यस्तो छ तर नेताहरू आफ्नो विगतको योगदान भजाउन छोड्दैनन् । युवालाई राजनीतिमा झन्झट यहीँनेर छ । वर्तमानका समस्यासँग जुध्न नसक्ने नेतृत्वको इतिहास जतिसुकै महान् भए पनि वर्तमानलाई त्यसले धान्न सक्दैन ।

युवा पलायन र शिक्षा

हामीले हाम्रो देश सुन्दर, शान्त र विशाल भएको पढ्दै आयौं । त्यसका आयामहरूको विश्लेषण गर्नेभन्दा पनि हामीले सुगा रटाई गर्‍यौं । हाम्रो औपचारिक शिक्षाले हाम्रा देशका गौरवहरूलाई शिक्षाका माध्यमबाट समाजमा लैजान सकेन । शिक्षा केवल घोक्नु भयो । त्यसैले राजा–महाराजाको इतिहास घोक्यौं । शिक्षा आफ्नो परिवेश विश्लेषण गर्न, सन्दर्भ विश्लेषण गर्न, अवसर र चुनौतीहरूको लेखाजोखा गर्ने ढाँचामा भएन । शिक्षाको मूल मुद्दा पढ्नु र जागिर खानु भयो । दैनिक जीवनका समस्याहरूसँग शिक्षाले जुध्न सिकाएन ।

पञ्चायती व्यवस्थाभर शिक्षा पञ्चायत टिकाउन, राजतन्त्र टिकाउन, हिन्दुकरण गर्न र समाजलाई एकरूपताको डालोमा लैजान प्रयोग भयो । विद्यालयहरू व्यवस्था टिकाउने औजारमा रूपान्तरित भए । बहुदलीय व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा शिक्षामा पुनःसंरचना भएन । शिक्षाले सीपविहीन र दृष्टिकोणविहीन जनशक्तिको उत्पादन गर्‍यो । जब सीप र दृष्टिकोण पुग्दैन, तब जीवनयापन कठिन हुन्छ । अहिले युवालाई भएको एउटा उकुसमुकुस यही हो, जसले युवालाई देश छोडेर बाहिर जान बाध्य बनाएको छ ।

हाम्रो शिक्षा युवालाई देशमै राखेर युवाको सक्रियता बढाउने दिशामा भएन । युवाले सिर्जनात्मक काम खोज्छन् । राज्यका पर्यावरण सिर्जनात्मकतालाई स्थान दिँदैन । पुरानै चलनचल्तीअनुसार ठूलाबडाहरूको चाकरी गरेर स्थान खोज्न युवा सक्दैन । स्वभावैले युवालाई नयाँ क्षेत्रमा करिअर निर्माणको स्पेस चाहिन्छ । युवासँग अलिकति पहिचानको लोभ हुन्छ । सजिलो जीवन बाँच्ने सोच हुन्छ । तर, हाम्रो शिक्षाले यस्तो वातावरण बनाउन सकेन । ताजुबलाग्दो छ, राजनीतिक परिवर्तन पनि शिक्षा क्षेत्रमार्फत स्थापित हुन सकेको छैन । यसमा नेतृत्वको चरित्र, सोच र दृष्टिकोण अनौठो छ ।

गणतन्त्र कसरी आयो ? गणतन्त्रले के गर्‍यो ? के गर्नुपर्थ्यो ? संघीयता कस्तो राज्य व्यवस्था हो ? शिक्षा क्षेत्रमा पाठ्यक्रमका रूपमा यो पसेकै छैन । भएको परिवर्तनको अहिलेको २० वर्षको युवाले स्वामित्व लिनै सक्दैन । राज्य व्यवस्थाको परिवर्तनपछि शिक्षाको पुनःसंरचना नहुनु आफैंमा अनौठो हो । निजी विद्यालयहरू विदेशी इतिहास पढाएर बसेका छन् । सामुदायिक विद्यालयहरू पुरानै ढाँचामा छन् । अहिलेको शिक्षामा सबै विद्यार्थीले उत्कृष्ट अंक ल्यायो भने पनि हुने के होला ? जति बेलासम्म शिक्षालाई आफ्नो परिवेश विश्लेषण गर्ने, भविष्यमा आउने चुनौतीहरूसँग जुध्ने, मानव शक्तिका रूपमा निर्माण गर्ने दिशातिर लगिँदैन, त्यति बेलासम्म युवालाई देश रुचिकर हुँदैन । जसरी खाली पेटले देश प्रेम बुझ्न सक्दैन, त्यसैगरी प्रमाणपत्रका चाङले युवा सन्तुष्ट हुन सक्दैन ।

समाज र युवा

लोकतान्त्रिक राजनीतिक प्रक्रियाको एउटा ठूलो अभीष्ट समाजको लोकतान्त्रीकरण हो । यसको अर्थ समाजमा उँच, निच, ठूलो, सानो तहगत संरचना घटाउँदै लैजानु हो । हाम्रो राजनीतिक आन्दोलनले राज्य व्यवस्था परिवर्तन गरे पनि समाजको संस्कृति परिवर्तन धेरै गर्न सकेन । समाजको संस्कृति भनेको समाजले सोच्ने तरिका हो । यसमा धेरै परिवर्तन गर्न सकेन । दलित तथा महिलाका दृष्टिकोणबाट सोच्ने तरिकामा जसरी तात्विक परिवर्तन भएको छैन, युवाका हकमा पनि यही कुरा लागू भएको छ । समाजले जति बेलासम्म बहस, विवाद, छलफलको संस्कृति लिन सक्दैन, त्यति बेलासम्म समाज युवाका लागि रुचिकर हुँदैन । अहिले कतिपय

विदेश जाने युवा घरमा लोकतन्त्र नहुँदा आत्तिएर गएका छन् । कुरा समाजको मात्रै होइन, पारिवारिक लोकतन्त्रको पनि उत्तिकै महत्त्व छ । राज्य व्यवस्था परिवर्तन हुने तर सामाजिक व्यवस्था र पारिवारिक शासन पद्धति परिवर्तन नहुनुले पनि युवालाई आफ्नो देश मन नपराउन सहजीकरण गरेको छ । खुलापन, उदारता, छलफल र बहस घरपरिवार र समाजमा नपुग्दा पनि युवालाई उकुसमुकुस भएको छ ।

हिजो एउटा बेला थियो, अनुभवबाट ज्ञान आर्जन हुन्थ्यो । समाज अनुभवद्वारा आर्जित ज्ञानमा अडिएको छ । अहिले युवाका ज्ञानका दायरा फरक र फराकिला छन् । भाषा र प्रविधिको पहुँचले आजको विश्व कहाँ छ ? के हुँदै छ ? युवालाई मेसो छ । तर, अनुभवद्वारा थिचिएको ज्ञानले अनुभवलाई छिचोलेर बाहिर हेर्न सक्दैन । यहीँनेर सामाजिक प्रवृत्तिसँग युवाको संघर्ष छ । युवालाई अनुभवको कसीले घोटेर हुँदैन, सिर्जनात्मक थर्मोमिटरले नापेर बुझ्न र विश्लेषण गरिन जरुरी छ ।

हाम्रा केही सामाजिक मान्यताहरू नै खराब ठाउँमा छन् । अलिकति आर्थिक बन्दोबस्त गरेपछि समाजले महत्त्व दिन्छ । तर, आर्थिक बन्दोबस्तको प्रक्रिया के छ, समाजले खोज्दैन । जुनसुकै प्रक्रियाबाट आर्थिक बन्दोबस्त गरे पनि समाजले मान्यता दिन्छ । यस अर्थमा हाम्रो राजनीतिले समाजलाई भ्रष्टीकरण गरेको छ । अझ युवालाई आफ्नै थाकथलोमा केही गर्दा केही गर्न नसकेको अभियोग आउँछ । त्यो अभियोगबाट जोगिन युवा थाकथलोबाट टाढिन पर्छ । बसाइँसराइको प्रक्रियामा जानुपर्छ । सहरी केन्द्रहरूमा घर बनाउनुपर्छ । तब मात्र समाजले पौरखी ठान्छ । अप्रत्यक्ष रूपमा अहिलेको हाम्रो सामाजिक मान्यताले बसाइँसराइलाई प्रवर्द्धन गरेको छ । गाउँ उजाड हुनुमा हाम्रा सामाजिक मान्यताहरू आकर्षित छन् । प्रौढहरूले एक प्रकारले आफ्नो संघर्ष गरे । तर, समाजले युवालाई ‘मेनु’ दिएको छ– पढ्नु, जागिर खानु, छोराछोरीलाई निजी विद्यालयमा पढाउनु, सहरी केन्द्रमा घर बनाउनु, एउटा गाडी किन्नु । युवाका आफ्ना आकांक्षा र समाजको ‘मेनु’ बीच ठूलो अन्तरविरोध छ । युवा कुनै कारखानाले बनाएका वस्तुजस्ता होइनन्, एउटै ‘मेनु’ मा हिँड्ने । यो अन्तरविरोधले पनि युवालाई देश रुचिकर बनेको छैन ।

अन्वेषण, उद्यम र युवा

खासमा युवालाई पौरख गर्ने ठाउँ दिन हाम्रो राज्य र समाज तयार हुनुपर्छ । एकरूपतामा होइन, विविधतामा । युवाका आकांक्षाहरू विविधतापूर्ण छन् । खोजमूलक अन्वेषणको पर्यावरण अहिले राजनीति र समाजमा छैन । युवालाई नयाँ कुराप्रति रुचि हुन्छ । यसलाई स्वीकार गरेर जानुको विकल्प छैन । कसैको विज्ञान प्रविधिमा रुचि होला, कसैको कृषिमा । कसैलाई साहित्य कलामा रुचि लाग्ला, कसैलाई चित्रकलामा । तर, अहिले अप्रत्यक्ष रूपमा युवाको रुचिमाथि प्रतिबन्ध छ । युवालाई त्यो थाहा छ । आफ्नो रुचिलाई दमन गरिएबापत उनीहरूले विद्रोह गरेका छन् । तर, राज्य र समाजले यो बुझ्न सकेको छैन ।

अब रोजगारीबाट उद्यममा रूपान्तरित गर्नुपर्छ । अलिकति वातावरण बनाइदिने हो भने उद्यम स्वतन्त्र पेसा हो । युवाका लागि रुचिकर हुन सक्छ । खासमा युवाले आफ्नो संघर्ष, पौरख, उद्यम, अन्वेषणमार्फत पहिचानको खोजी गरेका छन् । पहिचान प्रवर्द्धन गर्न राज्य र समाज जिम्मेवार बन्नुपर्छ । खासगरी यो गरेको ठीक र यो गरेको बेठीक भन्ने मान्यता युवाका लागि स्वीकार छैनन् । युवाले हृदयंगम गरेका मान्यताहरूलाई घर, समाज र राज्यले स्वीकार गरेको दिन देश युवामैत्री भइहाल्छ ।

प्रकाशित : भाद्र १३, २०८१ ०७:४१
x
×