कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सेयर बजार : भ्रम र यथार्थ

भाद्र १२, २०८१
सेयर बजार : भ्रम र यथार्थ

Highlights

  • सेयर बजार संवेदनशील क्षेत्र भएकाले यससँग जोडिने अभिव्यक्ति पनि संवेदनशील हुन्छन् । अल्पकालीन लगानीकर्ताले सार्वजनिक अभिव्यक्ति आएपछि बजारले कसरी प्रतिक्रिया दिन्छ, सोको अनुमान गरी लगानी निर्णय लिनु उपयुक्त हुन्छ ।

विगतका केही वर्ष शिथिल देखिएको सेयर बजार नयाँ सरकार गठनसँगै दिनानुदिन रेकर्ड राख्ने दौडमा छ । यसको पक्ष–विपक्षमा विभिन्न धारणा, अभिव्यक्तिहरू आउन थालेका छन् । सेयर बजारमा देखिएको बढोत्तरीमार्फत लगानीकर्ताले नयाँ सरकारमाथि आशा, भरोसा र विश्वास देखाएका छन् ।

यद्यपि, केही विश्लेषक हालको यस्तो बढोत्तरीलाई अर्थतन्त्र र कम्पनीको अवस्थाले प्रतिनिधित्व नगर्ने भएकाले सचेत भएर लगानी गर्नुपर्ने सुझाव पनि दिइरहेका छन् ।

यसैबीच, नेपालमा उच्च पदस्थ व्यक्तिले सेयर बजारप्रति दिने अभिव्यक्ति पनि चर्चामा आएका छन् । सरकार भने बजारको बढेको मनोबललाई उपयोग गर्दै शिथिल रहेको अर्थतन्त्रलाई गतिशील बनाउने र लक्षित आर्थिक वृद्धिदर हासिल गर्ने दिशामा उभिएको देखिन्छ । यस आलेखमा खासगरी उच्च पदस्थ व्यक्तिले सेयर बजारबारे दिने अभिव्यक्ति, बबलमा नियामकको भूमिका, सेयर बजारको मूल्यका साथै यसको बहुआयामिक भूमिकाबारे चर्चा गरिएको छ ।

अभिव्यक्तिले बजार प्रभावित हुन्छ ?

केही उदाहरण हेरौं । सन् १९९० मा अमेरिकामा डटकम बबल हुँदा फेड (अमेरिकन केन्द्रीय बैंक) का चेयरम्यान एलन ग्रिनस्पान थिए । उनले एक कार्यक्रममा स्टक मार्केटमा ‘इरेस्नल एक्जुबरेन्स’ हुन्छ भन्ने भाषण दिँदा जापानको स्टक मार्केटमा तत्कालै तीन प्रतिशतको गिरावट आयो, जुन गिरावटलाई संसारका अधिकांश स्टक मार्केटले पछ्याए ।

पछि सन् २००० मा अमेरिकाको येल युनिभर्सिटीका प्रोफेसर रोबर्ट सिलरले इरेस्नल एक्जुबरेन्स (न्युयोर्क टाइम्स बेस्टसेलर) नामक पुस्तक नै लेखे । पुस्तकमा आधारभूत पक्षहरूलाई बेवास्ता गर्दै लगानीकर्ताले मूल्यवृद्धिमा देखाउने व्यापक उत्साहलाई व्याख्या गर्न ग्रिनस्पानले इरेस्नल एक्जुबरेन्स शब्दको प्रयोग गरेको खुलासा गरिएको छ ।

फेड चेयरम्यान पावल पनि अर्थतन्त्रका अन्य क्षेत्र निष्क्रिय रहेका बेला स्टक मार्केटमा मात्र देखिने बढोत्तरीले बेरोजगारी बढाउने र अनुत्पादक हुने धारणा राख्छन् । यसकारण स्टक मार्केटमा मात्र बबल देखिएका बेला विशेष सचेत रहनुपर्ने जिकिर गर्दै उनी समग्र अर्थतन्त्रको सन्तुलित विकास हुनुपर्नेमा जोड दिन्छन् (न्युयोर्क टाइम्स, २०२२ नोभेम्बर ७) । अमेरिकामा भाबी राष्ट्रपतिको दौडमा रहेका डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा आगामी वर्ष मन्दीको सम्भावना रहेको उल्लेख गर्दै आफू हर्बट हुभर (जो सन् १९३० को मन्दीताका अमेरिकाका राष्ट्रपति थिए) जस्तो हुन नचाहेको बताएका थिए । ब्याजदरको संरचना र भविष्य बताउने यिल्ड कर्भको हालैको संरचना र विश्व सेयर बजारको चालले पनि ट्रम्पले आशंका गरेजस्तो मन्दीका सम्भावनाहरू मडारिन थालेको जस्तो पनि देखिन्छ ।

माथिका परिदृश्य हेर्दा सार्वजनिक अभिव्यक्तिभित्र केही सत्यता भने लुकेका छन् । यद्यपि, अभिव्यक्ति दिने व्यक्तिको अध्ययन, विश्लेषणको गुणस्तरले अभिव्यक्तिको वजन निर्धारण गर्छ । सार्वजनिक अभिव्यक्तिलाई पूर्ण रूपमा शून्य बनाउन सकिँदैन, न यसलाई नियन्त्रण नै गर्न सकिन्छ । बबलको समयमा मूल्यलाई हेरेर सार्वजनिक अभिव्यक्ति दिनुको साटो बजारमा अनुचित गतिविधि भएका छन् कि छैनन् भनी अनुसन्धान गर्ने जिम्मेवार निकायलाई परिचालन गर्नुपर्छ । र, मन्दीको समयमा लगानीकर्ताको मनोबल उकास्ने गरी नीति निर्माण गर्नु श्रेयष्कर हुन्छ ।

कम्पनीको वास्तविक अवस्था तथा अर्थतन्त्रको अवस्थाअनुसार सेयरको मूल्य तल–माथि हुनु राम्रो पक्ष हो । तर कहिलेकाहीँ बजारले यो सिद्धान्तमात्र समातेर बस्दैन । लगानीकर्ताले भविष्यको अनुमान, आशा, अपेक्षाका आधारमा पनि लगानी निर्णय लिने भएकाले सेयरको मूल्यमा विगत, वर्तमान र भविष्य सबै जोडिएको हुन्छ । बजारको प्रभावकारितासम्बन्धी सिद्धान्तले लगानीकर्ता विवेकशील भएका खण्डमा सेयरको वास्तविक मूल्य र बजार मूल्य बराबर भएको अवस्थामा मात्र बजार प्रभावकारी हुने कुराको वकालत गर्छ ।

अर्थशास्त्री युजिन फामाले प्रतिपादन गरेको यस सिद्धान्तले डटकम बबलपश्चात् उच्च आलोचना खेप्नुपर्‍यो । पछि अर्थशास्त्री रिचार्ड थेलरले बिहेवरल फाइनान्सको अवधारणा ल्याए, जसले लगानीकर्ताको मनोविज्ञान तथा व्यवहारले बजारको गतिलाई बढी निर्देश गर्छ भन्ने बताए । यसकारण पनि तरकारी बजार या कुनै पसलको सामान तथा रेस्टुरेन्टका खानाको मूल्य निर्धारण तथा परिवर्तन भए जस्तो सेयरको मूल्य तय हुँदैन ।

बबलमा चासो

बजारमा एसेट बबल (उच्च मूल्यवृद्धि) दुई कारणले हुन्छ । पहिलो, ऋण परिचालन र दोस्रो, इरेस्नल एक्जुबरेन्स । ऋणका कारण सिर्जना भएको बबल बढी खतरनाक र जोखिमपूर्ण हुन्छ । सन् १९२९ मा अमेरिकामा देखिएको वाल स्ट्रिट क्र्यास र सन् २००७–०९ मा देखिएको विश्व वित्तीय संकटले ल्याएको असर गहिरो थियो, जुन ऋणका कारण भएको थियो । तर, सन् १९९० ताका देखिएको डटकम बबल्स भने त्यति भयानक थिएन । यो बबल ऋणभन्दा पनि लगानीकर्तामा देखिएको इरेस्नल एक्जुबरेन्स बढी हाबी भएको अध्ययनले देखाएका छन् ।

विश्वका वित्तीय संकटको अध्ययन गर्ने हो भने बबलपछि आउने ब्रस्ट (गिरावट) ले अर्थतन्त्रमा धेरै नै नकारात्मक प्रभाव पारी अर्थतन्त्र मन्दीतर्फ धकेलिएको देखिन्छ । यसकारण पनि बबलको समयमा सरकार, नियमन निकाय तथा नीति निर्माता बढी सजग हुनुपर्छ । विश्वमा विभिन्न समयमा देखिएका संकटले पनि यही पाठ सिकाएको छ । मन्दी तथा शिथिलतामा रुमल्लिएको अर्थतन्त्रलाई माथि उठाउने कर्तव्य तथा जिम्मेवारी त फेरि पनि सरकार र सम्बन्धित निकायको नै हो, जुन विगतमा विभिन्न समयमा भएका थिए ।

नियामक निकायले खेल्ने प्रभावकारी भूमिकाले बजारको दिगो विकास र स्थायित्वको सुनिश्चितता गर्छ । यो भनेको व्यस्त सडकको बीचमा ट्राफिक प्रहरी उभिएजस्तै हो । बजार अर्थतन्त्रमा पनि नियमन किन आवश्यक हुन्छ र नियामक किन स्वायत्त र अधिकारसम्पन्न हुनुपर्छ भन्ने विषयमा गहन अध्ययन, अनुसन्धान तथा बहस हुने गरेका छन् । यस्ता अध्ययन तथा बहसले नियमनको आवश्यकता, स्वायत्तता र अधिकार सम्पन्नताको पक्षमा वकालत गरेको देखिन्छ ।

दुईदलीय व्यवस्था रहेको अमेरिकामा रिपब्लिकनका रूपमा चिनिएका एलन ग्रिनस्पानलाई पछि डेमोक्रेट राष्ट्रपतिहरूले पनि पटक–पटक फेडको चेयरम्यानमा नियुक्ति गरेको इतिहास छ । यसलाई नियमनकारी निकायको स्वायत्तता र स्वतन्त्रताको परिमाणको मात्रा कस्तो हुनुपर्छ भनेर उदाहरणका रूपमा लिन सकिन्छ । उता टर्कीमा ब्याजदर वृद्धि र मुद्रास्फीति नियन्त्रणको रस्साकसीमा केन्द्रीय बैंक र सरकारबीच भएको टकरावले अर्थतन्त्र उच्च मुद्रास्फीतिबाट गुज्रिएको सबैका सामु छर्लंग छ ।

वित्तीय प्रणालीमा नियामकको स्वायत्तता महत्त्वपूर्ण पक्ष हो । सञ्चालन स्वायत्तता, कानुन तथा नीति निर्माणमा स्वायत्तताले नियामकको प्रभावकारिता अभिवृद्धि भई सोको लाभ वित्तीय प्रणालीले नै प्राप्त गर्छ । यद्यपि नियामकको स्वायत्तता कानुनले मात्र निर्धारण गरेर पुग्दैन । यसका लागि नियामकको कामकारबाहीको प्रभावकारिता, पारदर्शिता र सर्वसाधारणको स्वीकार्यता पनि प्रमुख विषय हुन्छ ।

मूल्यको खेल मात्र होइन

सेयर बजारमा लगानीकर्ताले भविष्यका लागि देखाएको आशा, अपेक्षा, डर आदिको सम्मिश्रणबाट एउटा मनोविज्ञान तयार हुन्छ, जुन लगानीकर्ताको व्यवहार तथा निर्णयमार्फत सेयरको मूल्यमा प्रतिबिम्बित हुन्छ । लगानीकर्ताले विगतभन्दा पनि भविष्यमा के हुन्छ भन्ने अनुमानमा लगानी गर्छन् । यस्तो मूल्यले लगानीकर्ताको सम्पत्तिको मूल्यांकन हुने भएकाले सबैको यसमा चासो हुनु स्वाभाविक हो । तर, सेयर बजार भन्नेबित्तिकै केवल मूल्यको मात्र चर्चा गर्नु अन्यायपूर्ण र अनुचित हुन्छ । यसले सेयर बजारको क्षमता, भूमिका तथा सम्भावनालाई साँघुरो बनाउँछ ।

नेपालसँगै आर्थिक उदारीकरणको ढोका खोलेको भारतले विदेशी लगानी भित्र्याउन पुँजी बजारको भरपूर उपयोग गरी लोभलाग्दो सफलता हासिल गरेको छ । यस्तै, दिगो विकासका लक्ष्य हासिल गर्न सस्टेनेबल फाइनान्स, हरित वातावरणका लागि ग्रिन बन्डका साथै ईएसजी (वातावरण, सामाजिक र सुशासन) लाई समेत प्रवर्द्धन गर्ने गरी पुँजी बजारलाई नयाँ, फरक र प्रभावकारी संयन्त्रका रूपमा उपयोग गर्न थालेको छ ।

नेपालमा पनि यस्तो अभ्यासको सुरुवात हुन थालेको छ, तर यसलाई तीव्रता दिनु आवश्यक भइसकेको छ । संविधानले राखेको लक्ष्य र सरकारको उद्देश्यअनुसार दिगो आर्थिक विकास हासिल गर्न उत्पादन र रोजगारी अभिवृद्धि गर्नुपर्छ । जसलाई प्राथमिक बजारमार्फत हुने पुँजी परिचालनले सहयोग गर्छ भने यस्तो परिचालनलाई उत्प्रेरणा भर्ने काम दोस्रो बजारले गर्छ । तर, मूल्य बढोत्तरी मात्र देखिने पुँजी बजार एक्लैले राज्यको लक्ष्यअनुरूप पूरा काम गर्न सक्दैन ।

यसर्थ, हालसालै प्राथमिक बजार र मुद्रा बजारमा देखिएका शिथिलतालाई चाँडै समाधानतर्फ लैजाने आवश्यकता टड्कारो रूपमा देखा परेको छ । अन्यथा चालु आर्थिक वर्षमा नेपाल सरकार र मौद्रिक नीतिले लिएका लक्ष्य प्राप्तिमा चुनौती देखापर्ने निश्चित छ । अर्को महत्त्वपूर्ण कुरा मूल्यलाई मात्र केन्द्रमा राखेर बनाइने नीति नियमले बजारमा तीव्र उतारचढाव ल्याउँछ, जसले बजारको दिगो, सन्तुलित विकास गर्ने र स्थायित्व कायम गर्ने उद्देश्य प्राप्तिमा चुनौती थप्छ । हाल सरकारले पुँजी बजारलाई प्राथमिकता दिएको अभिव्यक्ति आइरहेका छन् । यस क्रममा मूल्यलाई उत्प्रेरणाका रूपमा लिँदै अन्य महत्त्वपूर्ण कार्यहरू तदारुकतासाथ तत्काल अगाडि बढाउन आवश्यक छ, जसले मूल्यलाई टेवा दिन्छ । अन्यथा, यस्तो मूल्य भविष्यमा पासो पनि बन्न सक्छ ।

निष्कर्ष के हो भने, सेयर बजार संवेदनशील क्षेत्र भएकाले यससँग जोडिने अभिव्यक्ति पनि संवेदनशील हुन्छन् । यद्यपि यस्तो अभिव्यक्तिले पार्ने असर क्षणिक मात्र हुन्छ । यसको प्रभाव दीर्घकालीनभन्दा पनि अल्पकालीन लगानीकर्तामा बढी पर्छ । तर अल्पकालीन लगानीकर्ता बढी जोखिम बहन गर्न सक्ने, उच्च पुँजी क्षमता भएका र विश्लेषण गरी छिटो छरितो निर्णय लिने सक्ने हुन्छन् भन्ने मान्यता राखिन्छ ।

यसर्थ, अल्पकालीन लगानीकर्ताले सार्वजनिक अभिव्यक्ति आएपछि बजारले कसरी प्रतिक्रिया दिन्छ, सोको अनुमान गरी लगानी निर्णय लिनु उपयुक्त हुन्छ । यस्तै, वित्तीय क्षेत्रका नियामक निकायले पनि साक्षरता अभिवृद्धि कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउँदै लैजाने र प्रभावकारी सुपरिवेक्षणमा समेत ध्यान दिन आवश्यक छ ।

सेयर बजारमा भाबी परिदृश्यको अनुमान भनेको तास खेल्दा बादशाह आउँछ कि आउँदैन भनेर अनुमान गरेजस्तो होइन । यो त विशुद्ध रूपमा तथ्य, तथ्यांकहरूका आधारमा विश्लेषणका विधि प्रयोग गर्दै भविष्यका बारेमा अनुमान गरिने बौद्धिक कला प्रयोग हुने ठाउँ हो । यसर्थ, लहलहैमा अरूको भरमा लगानी नगरी तथ्यपरक विश्लेषण हुने र बौद्धिकता प्रयोग हुने ठाउँका रूपमा बजारलाई पहिचान दिनु सबैको कर्तव्य पनि हो । आफूसँग विश्लेषणको क्षमता नभएमा संस्थागत लगानीकर्ता जस्तोः म्युचुअल फन्ड, पोर्टफोलियो लगानी व्यवस्थापन सेवामार्फत पनि सेयर बजारमा लगानी गर्न सकिन्छ ।

(प्रस्तुत विचार लेखकका निजी हुन् ।)

प्रकाशित : भाद्र १२, २०८१ ०७:०१
x
×