कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

भोजनको गलत भाष्य 

भाद्र ११, २०८१

अरुणा उप्रेती

डा. उप्रेति पोषणविद् तथा लेखक हुन् ।

भोजनको गलत भाष्य 

Highlights

  • कुनै पनि हालतमा पत्रु खानाले शरीरलाई फाइदा गर्न सक्छ भनेर विचार नै गर्न सकिँदैन । अमेरिकामा पत्रु खाना बनाउने कम्पनीविरुद्ध आवाज नै उठिरहेका छन् । खाना केवल भोजन मात्र होइन । यो संस्कृति, धर्म, जीवनशैलीसँग पनि जोडिएको हुन्छ ।

अहिले नेपालमा पोषण र भोजनबारे एउटा नयाँ भाष्य स्थापित गर्न खोजिँदै छ । ‘खाना भनेको खराब वा असल हुँदैनन्’, ‘कुनै पनि खाना मात्रा मिलाएर खाए हुन्छ’, ‘पत्रु खाना भन्ने नै हुँदैन, सबै खाना स्वस्थकर हुन्छन्’ आदि ।

एक खाद्य अनुसन्धान अधिकृतले त यतिसम्म भनेका छन् कि ‘चाउचाउमा उच्च क्यालोरी, नुन र चिनी भएकाले नेपालका गरिब, कुपोषित बालबालिकालाई दिए उनीहरूको शरीरमा क्यालोरी पुग्छ ।’ उता स्वास्थ्य मन्त्रालयले विद्यालयमा दिवा खाजामा ‘चाउचाउ र बिस्कुट’ नबनाएर ‘स्वस्थकर खाजा दिनू’ भनेर निर्देशन नै जारी गरेको छ ।

चुरोट बनाउने कम्पनीहरूले पनि ६०–७० को दशकमा ‘चुरोटले स्वास्थ्यमा फाइदा गर्छ’ भनेर विज्ञापन छपाउँथे । यतिसम्म कि डाक्टरहरूलाई ‘कुन ब्रान्डको चुरोट मन पर्छ ?’ भनेर पत्रिकामा विज्ञापन गर्थे । ‘अलिअलि खाए कुनै पनि भोजनले बेफाइदा गर्दैन’ भन्नेहरू पनि छन् । विशेषगरी बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर म भन्छु– शिशु र दुई वर्षका बालबालिकालाई बट्टाको अमिलो, गुलियो खानेकुरा अलिअलि दिए हुन्छ त ? के त्यसो भए ‘अलिअलि’ चुरोट र सुर्ती दिए बेफाइदा गर्दैन त ?

कुनै पनि हालतमा पत्रु खानाले शरीरलाई फाइदा गर्न सक्छ भनेर विचार नै गर्न सकिँदैन । अमेरिकामा पत्रु खाना बनाउने कम्पनीविरुद्ध आवाज नै उठिरहेका छन् । खाना केवल भोजन मात्र होइन । यो संस्कृति, धर्म, जीवनशैलीसँग पनि जोडिएको हुन्छ । मान्छे जन्मनुअघि आमाको पेटमा पनि भ्रूणलाई स्वस्थकर खानाको जरुरत हुन्छ । आमाले खराब/अस्वस्थकर खाना खाइन् र आमालाई कुपोषण, रक्तअल्पता भयो भने शिशु पनि कमजोर जन्मन्छ । त्यसैले त गर्भवतीले स्वस्थकर खाना खानुपर्छ भनिन्छ ।

विश्व स्वास्थ्य संगठनले ‘पत्रु खाना’ अर्थात् जंक फुड भनेको के हो भनेर परिभाषित गरेको छ । ‘ल्यानसेट’ नामक पत्रिका चिकित्सा विज्ञानको क्षेत्रमा प्रतिष्ठित नाम हो । यसले एउटा लेख प्रकाशित गरेको छ, ‘पत्रु खाना बनाउने कम्पनी, नीति र राजनीति जटिलता’ विषयमा । पत्रु खाना खुवाएको विज्ञापन आएपछि भारत, ब्राजिल, मेक्सिकोका बालबालिकाले कसरी त्यस्तै खानाको ‘माग’ गर्छन् भन्ने यसमा छ । अभिभावकले उनीहरूको माग पूरा गर्छन् ।

दुर्भाग्य, बालबालिकाको तौल बढ्ने, सानैमा मधुमेह हुने, कलेजोमा बोसो जम्ने समस्या देखिन्छ । रबर्ट लस्टिङ नामका एक बालरोग विशेषज्ञले त ‘पत्रु खाना’ बनाउने कम्पनीविरुद्ध एक प्रकारको ‘युद्ध’ नै छेडेका छन् । ती डाक्टरले पहिले विज्ञान पढे, अनि चिकित्साशास्त्र अध्ययन गरे । त्यसपछि २० वर्षसम्म बालरोग विशेषज्ञ भएर मोटोपन भएका, मधुमेह भएका, उच्च रक्तचापको सिकार भएका अमेरिकाका बालबालिकाको उपचार गरे । यसरी उपचार गर्दा उनलाई के अनुभव भयो भने बिरामीको उपचार होइन, बिरामी नै हुन नदिने काम गर्नुपर्‍यो ।

शरीरमा हुने अनेक रोगको मूल कारण ‘अस्वस्थकर पेट’ हो र जंक फुड अस्वस्थकर भोजन हो भन्ने तथ्यलाई प्रतिपादन गर्दै उनले ‘मेटाबोलिकल’ किताब लेखे । त्यहाँ उनले कसरी पत्रु खानाले हामीलाई स्वस्थ रहनबाट वञ्चित गर्छ भन्ने देखाएका छन् । उनी भन्छन्– ‘दीर्घ रोग हुँदा दिइने औषधिले रोग ठीक पार्दैन, लक्षण मात्र ठीक पार्छ । पत्रु खाना खाने बानी रक्सीजस्तै कुलत हो । पत्रु खाना बनाउने कम्पनी, ठूला औषधि कम्पनी र जनस्वास्थ्यको बेवास्ता गर्ने सरकार एकै थलोमा छन् ।’ अमेरिकाको पृष्ठभूमिलाई ध्यानमा राखेर लेखिएको यो किताब नेपाल, भारत जस्ता देशका लागि अति नै महत्त्वपूर्ण छ ।

त्यसैले हामीले भोजन गर्ने शैली बदल्नैपर्छ । यसका लागि समुदाय र व्यक्तिले सकेसम्म प्राकृतिक तरिकाले बनाएको भोजन गर्नु एक उपाय हो । यसले रोगसँग लड्ने शक्ति बढाएर कोभिडजस्ता महामारीसँग जुध्न मद्दत पुर्‍याउनेछन् । लस्टिङले किताबमा लेखेका छन्– ‘कोभिड महामारीका बेला डा. फाउचीले धेरै राम्रो काम गरे । तर उनीसँग एउटा कुरामा म रिसाएको छु । उनले कोभिडको संक्रमणसँग लड्न भोजनको के महत्त्व छ भनेर कहिल्यै पनि बोलेनन् । यदि उनले यसबारे बोलिदिएको भए समुदायमा निकै सकारात्मक प्रभाव पर्ने थियो ।’

प्रकाशित : भाद्र ११, २०८१ ०६:३४
x
×