कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सिमलताल दुर्घटनाले देखाएको उद्धार संयन्त्रको ऐना

श्रावण १, २०८१

सम्पादकीय

कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

सिमलताल दुर्घटनाले देखाएको उद्धार संयन्त्रको ऐना

Highlights

  • खोजी कार्यमा सुरक्षाकर्मीको व्यक्तिगत मिहिनेत प्रशंसनीय छ । तर उपलब्ध प्रविधि र मानवीय प्रयत्नले मात्रै नतिजा दिन नसक्ने पुष्टि भइसकेको छ । त्यसैले थप मिहिनेत र पूरक विधिको खोजी अनिवार्य बनेको छ ।

चितवनको सिमलताल क्षेत्र यति बेला आँसु रित्तिएकाहरूको कोलाहल र त्रिशूली नदीको बहावले अशान्त छ । शुक्रबार बिहान साढे ३ बजेतिर पहिरोले दुईवटा बस बगाएपछि बेपत्ता भएका यात्रुका आफन्त त्यस क्षेत्रमा पुगेर पीडा साटासाट गरिरहेका छन्, बिलौना गरिरहेका छन् । गाडीसँगै बेपत्ता भएका आफन्तजन जीवितै भेटिएलान् भन्ने आशा धेरैलाई छैन तर शव नै भए पनि छिटो भेटियोस् भन्ने अपेक्षा छ । सरकारको खोजीशैली भने उनीहरूलाई चित्त बुझेको छैन । 

त्रिशूलीमा बगेकामध्ये काठमाडौंबाट गौर जाँदै गरेको बसमा ३८ र वीरगन्जबाट काठमाडौं आउँदै गरेको बसमा २७ गरी ६५ जना रहेको विवरण चितवन प्रशासनले सार्वजनिक गरेको छ । त्यसमध्ये तीन यात्रुले पौडिएर ज्यान जोगाए । बाँकी ५७ मध्ये सोमबार अबेरसम्म १३ जनाको शव फेला परेका छन् । सरकारका तर्फबाट खोजी कार्य जारी छ । घटनालगत्तै उद्धारमा सुरक्षाकर्मी परिचालन भएका थिए । सशस्त्र प्रहरीको गोताखोर टोली र सेनाको टोली पनि खटिएका छन् । सोमबारसम्म आइपुग्दा गोताखोरका अतिरिक्त मोटरबोट, र्‍याफ्टिङ बोट, चुम्बक, वाटर ड्रोन, सोनारा क्यामरा र ‘पाइपलाइन इन्सपेक्सन सिस्टम’ को प्रयोग भइरहेको छ । यस्ता प्रविधि विदेशतिर निकै प्रभावकारी मानिने भए पनि त्रिशूलीको उर्लिंदो भेल र धमिलो पानीमा कामयाब हुन सकेको छैन । खोजी कार्यमा सुरक्षाकर्मीको व्यक्तिगत मिहिनेत प्रशंसनीय छ । तर उपलब्ध प्रविधि र मानवीय प्रयत्नले मात्रै नतिजा दिन नसक्ने पुष्टि भइसकेको छ । त्यसैले थप मिहिनेत र पूरक विधिको खोजी अनिवार्य बनेको छ ।

नेपालमा प्राकृतिक विपद्बाट सिर्जना भएका प्रायः ठूलो दुर्घटनापछि उद्धार र राहत कार्यमा ढिलाइ हुने गरेको छ । हाम्रो भौगोलिक अवस्थिति, विशिष्ट खालका दुर्घटनाको जटिलता तथा हामीसँग उपलब्ध प्रविधिका कारण त्यस्तो हुने गरेको छ । सिमलताल दुर्घटनाले विपद्पछि उद्धार कार्यलाई परिणाममुखी बनाउन दीर्घकालीन रणनीति बनाउनुपर्ने खाँचो औंल्याएको छ । त्यसका लागि उच्च गुणस्तरको अत्याधुनिक प्रविधिको जोहो गर्न आवश्यक छ । तर सरकारले नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा त्यस्ता विषयलाई कम मात्रै प्राथमिकता दिने गरेको देखिन्छ । किनकि यस्ता दुर्घटना हाम्रा नियमित आकस्मिकता हुन् । त्यसकारण पनि पर्याप्त बजेट व्यवस्थापन गर्ने, प्रविधि प्रयोगका लागि दक्ष जनशक्ति तयार गर्ने, जोखिममा खट्ने सुरक्षाकर्मीको मनोबल उच्च राख्न वृत्तिविकासमा ध्यान दिने जस्ता उपाय अपनाउन जरुरी छ ।

मुग्लिन–नारायणगढ अत्यधिक सवारी दुर्घटना हुने सडक खण्ड हो । त्रिशूलीमा खसेका कतिपय गाडी नदीमै हराउँछन्, कैयन् मानिसको शव भेटिँदैन । यसपालि सिमलताल दुर्घटनामा परेका व्यक्तिको शव टाढा–टाढा फेला परिरहेको छ । आइतबार मात्रै झन्डै ५० किलोमिटर पर गोलाघाट क्षेत्रमा शव फेला परेको थियो । गैंडाकोट, गण्डक नहर र सुस्तामा पनि शव फेला परेका छन् । त्यसैले खोजी कार्यको दायरालाई भौगोलिक क्षेत्र, प्रविधि र जनशक्ति परिचालनको दृष्टिकोणबाट अझै बढी फैलाउनुपर्ने आवश्यकता छ । खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीबीच समन्वय अझै प्रभावकारी बनाउनुपर्छ ।

सोमबार मात्रै कार्यभार सम्हालेका गृहमन्त्री रमेश लेखकले सिमलताल घटनाका सन्दर्भमा अध्ययन गर्नका लागि सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर पनि गरेका छन् । प्राकृतिक प्रकोपले उत्पन्न गरेको विषम परिस्थितिलाई सम्बोधन गर्ने आफ्नो पहिलो दायित्व रहेको अभिव्यक्ति पनि उनले दिएका छन् । नवनियुक्त मन्त्रीले यस्ता दुर्घटनामा आफू संवेदनशील रहेको संकेत दिएका छन्, अब यो व्यवहारमा देखिनुपर्छ । विपद्को जोखिम न्यूनीकरण र विपद्पछि उद्धार, राहत र पुनःस्थापनाका सन्दर्भमा ठोस कदमहरू चाल्नुपर्छ । यस्ता दुर्घटनामा तत्कालै उद्धार गर्न सकियो मात्रै भने पनि धेरैको ज्यान जोगिन सक्छ ।

सडक निर्माणको शैलीमा पनि पुनर्विचार गर्न आवश्यक छ । पहिरोको जोखिमलाई न्यूनीकरण गर्दै सडकलाई सुरक्षित बनाउनेतिर लाग्नुपर्छ । किनकि, मुग्लिन–नारायणगढ सडक खण्ड विस्तार गर्दा पहिरोको जोखिम न्यूनीकरणमा पर्याप्त ध्यान नदिइएको भनेर आलोचना हुने गरेको छ । ठूला राजमार्गसँगजोडिने स्थानीय सडक बनाउँदा पनि विशेष ध्यान दिनुपर्छ । किनकि, सिमलतालमा माथिल्लो भागमा रहेको मानव बस्तीलाई राजमार्गसँग जोड्न बनाइएको सडककै कारण भलबाढी र पहिरो आएको आकलन गरिएको छ । यसबारे विस्तृत र आधिकारिक विवरण अध्ययनले खुलाउन सक्छ । अन्यत्रका सडकको पनि गुणस्तर सुनिश्चित गर्नुपर्छ । सडक निर्माण र सम्भारमा जति बढी ध्यान दिइन्छ, त्यति नै जनधनको क्षतिलाई कम हुन सक्छ ।

प्रकाशित : श्रावण १, २०८१ ०६:५०
x
×