कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

चीनसँग गरिएका सम्झौता कार्यान्वयनमा जोड

आश्विन २, २०८१
चीनसँग गरिएका सम्झौता कार्यान्वयनमा जोड

Highlights

  • बीआरआई परियोजनालाई अनुदानमा बदल्न चीनलाई आग्रह गर्नुपर्ने धारणा

काठमाडौँ — चीनका राष्ट्रपति सी चिङफिङले नेपाल भ्रमण गरेको ५ औं वर्षगाँठको अवसरमा बुधबार काटमाडौंमा आयोजित एक कार्यक्रममा वक्ताहरुले चीनसँग राष्ट्रपति सी को भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् ।

साथै उनीहरुले बीआरआई परियोजनालाई अनुदानमा बदल्न चीन सरकारलाई आग्रह गर्दै कार्यान्वयनमा जानुपर्ने बताए । राष्ट्रपति सी को भ्रमणका बेला भएका कतिपय सम्झौताका योजनाहरु पुरा हुन नसकेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालस्थित चिनियाँ दूतावासका कार्यवहाक राजदूत वाङ सी, कांग्रेस सांसद शंकर भण्डारी, एमाले नेता तथा पूर्वमन्त्री आनन्द पोखरेल, राप्रपा सांसद धुव्रबहादुर प्रधान लगायत वक्ता थिए ।

तिमिल्सिनाले राष्ट्रपति सीको भ्रमणका बेला भएका सम्झौताहरु कार्यान्वयन गरेर नेपाल र चीनले लाभ लिनुपर्ने बताए । सम्झौता गरेपछि त्यसलाई लागु गरेर थप विश्वसनियता कायम गर्नुपर्ने उनले बताए । उनले चीनले अघि सारेको बीआरआई परियोजनाबाट समेत नेपालमा लाभ लिन सक्नुपर्ने जनाए ।

बीआरआई अर्न्तगत प्राप्त हुने रकमलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह समेत गर्नुपर्ने उनको भनाई थियो । ‘नेपालले चीन, भारतबाट मात्रै होइन ।, सबैबाट सहयोग लिएर अघि बढ्नुपर्छ,’ उनले भने । उनले लुम्बिनी र पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्नेमा समेत जोड दिए ।

‘चिनियाँ पर्यटकको संख्या नेपालमा वृद्धि गर्न सकिने सम्भावना अत्यन्तै धेरै देखिएको छ,’ तिमिल्सिनाले भने, ‘त्यसका लागि अन्तराष्ट्रिय विमानस्थलहरु सञ्चालन सँगसँगै पर्यटक ल्याउन सडक, होटल लगायतका पूर्वाधार निर्माण गर्न सरकारले ध्यान दिनुपर्छ ।’

चीनबाट सामान मात्र भन्दा पनि नेपालबाट त्यसतर्फ समान पढाउन पनि सरकारले योजना बनाउनुपर्ने उनले सुझाव दिए । ‘चीनमा मासु, तरकारी र फलफुल पढाउन सकिने सम्भावना छ ।, त्यस तर्फ पनि अध्ययन र योजना बनाउनुपर्छ,’ उनले भने ।

कांग्रेस सांसद भण्डारीले चीनबाट भएको उच्चस्तरीय भ्रमणका बेला भएका सम्झौता र तीनका कार्यान्वयनको अवस्थाको समीक्षा गर्ने बेला आएको जनाए । ‘गरिब मुलुकलाई सबैको सहयोग चाहिन्छ तर त्यो दलिय स्वार्थ र सत्ता प्राप्तिको लागि मात्र हुनुहुदैंन । सिङ्गो देश र जनताको हितका लागि हुनुपर्छ,’ उनले भने । भण्डारीले बीआरआई परियोजनाको नाम उल्लेख नगरि बिदेशीबाट ऋण भन्दा पनि अनुदान मात्र लिन सकिने बताए ।

‘भूराजनीतिक दृष्टिकोणले नेपाल संवेदनशिल र सम्भावना दुवै भएको भूमि हो,’ उनले भने, ‘नेपाल समक्ष हुँदा चीन र भारत दुवैलाई सहयोग पुग्छ ।’ एमाले नेता तथा पूर्वमन्त्री पोखरेलले भने बीआरआई परियोजना कार्यान्वयन गरिनुपर्ने जनाए । उनले नेपालको हितका लागि सबैबाट लगानी भित्र्याउनुपर्ने जनाए । ‘एउटै बिषयलाई हेर्ने असमान दृष्टिकोण नेपालमा व्याप्त छ,’ उनले भने, ‘विदेश नीतिमा साझा धारणा बनाउन आवश्यक छ ।, बीआरआईलाई फरक/फरक ढंगले हेर्ने गरिएको छ ।’ एकथरीले बीआरआइबाट नेपाललाई लाभ पुग्न र अर्को थरीले ऋणको चपेटामा परिन्छ भन्ने दृष्टिकोण बनाएको उनले बताए । ‘बीआरआईबाट ऋणको चपेटामा परिन्छ भन्ने कुरामा दृष्टिदोष छ,’ उनले भने, ‘चीन सरकारलाई लगानीलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै कार्यान्वयनमा जानुपर्छ ।’

राप्रपा सांसद धुव्रबहादुर प्रधानले बीआरआईबारे नेपालमा स्वनिर्णय लिनसक्नुपर्नेमा जोड दिए । ‘हाम्रा कतिपय निर्णयहरु अरुमा निर्भर हुने गरेको छ ।, बीअराआईबारे त्यस्तो हुनुहुँदैन,’ उनले थपे, ‘नेपालले चीन र भारत दुवै छिमेकीसँग समान सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्छ । चीनबाट राजनीतिक स्थायीत्व सिक्नुपर्छ ।’

कार्यक्रममा कार्यवहाक राजदूत वाङले सन् २०१९ मा राष्ट्रपति सीको भ्रमणपछि नेपाल चीन सम्बन्ध झनै मजबुत हुँदै गएको प्रष्टाए । त्यतिबेला भएका सम्झौताहरु कार्यान्वयन भइरहेको र कार्यान्वयन नभएकाहरुको हकमा प्रयत्न भइरहेको जनाए । चीन नेपालको उद्योग र कृषि क्षेत्रमा काम गर्न इच्छुक रहेको उनले बताए । ‘कृषि र उद्योगको क्षेत्रमा नेपालमा काम गर्ने योजना चीन सरकारको छ ।, त्यसका लागि सर्वेहरुको काम पनि चलिरहेको छ,’ उनले भने, ‘त्यसकै तयारी स्वरुप चितवनमा कृषि अनुसन्धान केन्द्र खोलेको छौं ।’

वाङले गरिबी न्यूनीकरण र स्वास्थ्यको क्षेत्रमा पनि नेपालमा थप काम गर्न लागिएको जनाए । ‘सरकारी अस्पतालहरुमा चिनका चिकित्सहरु आएर ज्ञान, सिप आदानप्रदान गर्ने काम भइरहेको छ,’ उनले भने, ‘पछिल्लो पटक काठमाडौंको सिभिल अस्पतालसँग पनि त्यस्तो सम्झौता भएको छ ।’

कोभिड पछि नेपाल आउन चिनियाँ पर्यटक घटेपनि अब बढ्ने सम्भावना रहेको उनले उल्लेख गरे । गतवर्ष केरुङ र तातोपानी भन्सार नाका खोलेको, यसवर्ष थप १४ वटा सिमा नाका सञ्चालनमा ल्याएको उनले स्मरण गरे । काठमाडौं चक्रपथको दोस्रो चरणको निर्माणको काम, अरनिको राजमार्ग र मुस्ताङ नाका स्तरझउन्नतिको कामले पनि प्राथमिकता पाउने उनले जनाए ।

प्रकाशित : आश्विन २, २०८१ १९:३७
x
×