कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सार्वजनिक यातायातको भाडादर समायोजन गर्न छलफल भइरहेको छ : मन्त्री दाहाल

आश्विन २, २०८१
सार्वजनिक यातायातको भाडादर समायोजन गर्न छलफल भइरहेको छ : मन्त्री दाहाल

Highlights

  • चाडपर्वमा यातायात सेवालाई सहज बनाउन र अग्रिम टिकटको व्यवस्था गर्न मन्त्री दाहालको निर्देशन

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताएका छन् । बुधबार मन्त्रालयमा चाडपर्वलक्षित सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धी छलफलमा मन्त्री दाहालले यस्तो बताएका हुन् । उनले भाडादर समायोजनका लागि छलफल भइरहेको बताए ।

मन्त्री दाहालले अहिले भाडा समायोजनको विषय मुख्य रहेको भन्दै छिट्टै निर्णय लिने बताए । उनले इन्धनको मूल्य घटबढ भएअनुसारको अटोमेटिक समायोजन गर्नेबारेमा पनि छलफल भइरहेको बताए । मन्त्री दाहालले सार्वजनिक यातायातको भाडादर समायोजन प्याकेजमै गर्नुपर्ने आवश्यकता रहेको भन्दै चाडपर्वलक्षित यातायात सेवालाई सहज बनाउन अग्रिम टिकट खोलेर सहजता प्रदान गर्न पनि सम्बन्धित निकायहरुलाई निर्देशन दिए ।

उनले सवारी चालक अनुमतिबारे बाँकी रहेका करिब २१ लाख लाइसेन्स संघीय सरकारले नै छापेर दिने र बाँकी प्रदेश सरकारले गर्ने बताए । उनले लाइसेन्सको समस्या समाधानका लागि कोशी प्रदेश सरकारले अस्थायी कार्डको व्यवस्था गरी काम सुरु गरिसकेको भन्दै अन्य प्रदेशमा तत्कालका लागि अस्थायी कार्डको व्यवस्था गर्नेगरी सरकार अघि बढिरहेको बताए ।

उनले भने, ‘भाडा समायोजनको विषय अहिले मुख्य कुरा हो । यसमा हामी छिट्टै निर्णय गर्नेछौँ । अहिले अब ठ्याक्कै एक हातमा लिने र अर्को हातमा दिने काम नगरौँ । तर यसमा हामी गम्भीर छौँ । यसमा अटोमेटिक समायोजनको कुरा छ । इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्ने भन्ने पनि छ । समायोजन नभएको दुई, तीन वर्ष भइसक्यो । यो एउटा प्याकेजमै समायोजन गर्नुपर्छ ।' भौतिकमन्त्री दाहालले बढीभन्दा बढी यात्रुलाई सुविधायुक्त ढंगले यातायात सञ्चालन गर्नेगरी सरकारले काम गरिरहेको बताए ।

प्रकाशित : आश्विन २, २०८१ १७:०६
x
×