कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

एमालेसँगको ७ बुँदे सहमति कार्यान्वयनमा कांग्रेस प्रतिबद्ध : महामन्त्री थापा

आश्विन २, २०८१
एमालेसँगको ७ बुँदे सहमति कार्यान्वयनमा कांग्रेस प्रतिबद्ध : महामन्त्री थापा

काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठनका लागि एमालेसँग गरिएको सात बुँदे सहमति कार्यान्वयनमा कांग्रेस शतप्रतिशत प्रतिबद्ध रहेको बताएका छन् । 

महामन्त्री थापाले एमालेसँगको सहमति कार्यान्वयनका लागि सिंगो पार्टी पंक्तिले पनि वातावरण बनाउनुपर्ने बताए ।

सानेपास्थित पार्टी मुख्यालयमा बुधबार आयोजित कार्यक्रममा महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

उनले सो सहमति कार्यान्वयनका लागि वातावरण निर्माण गर्ने कुरामा पनि पार्टी लाग्नुपर्ने बताए । महामन्त्री थापाले सोही सहमतिको आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गरिएको र छिट्टै सार्वजनिक हुने बताए ।

उनले भने, ‘एमाले र कांग्रेसबीच भएको ७ बुँदे सहमतिको आधारमा सरकार गठन भएको छ । केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार छ । २ वर्ष सरकार चलिसकेपछि हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ । यो समझदारीमा हामी शतप्रतिशत प्रतिबद्ध छौं । तर यसलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने सन्दर्भमा यसको वातावरण निर्माण गर्ने कुरामा जिल्ला तहमा तलपनि हामीले वातावरण बनाउनु पर्नेछ । यो सात बुँदे सहमतिको बारेमा आजै न्युनतम साझा कार्यक्रम पनि बन्छ, सार्वजनिक हुन्छ ।’

महामन्त्री थापाले स्थानीय तहमा हुने बेरुजु अन्त्यका लागि पनि पार्टीका जनप्रतिनिधिहरुलाई पहल गर्न निर्देशन दिए ।

प्रकाशित : आश्विन २, २०८१ १६:५०
x
×