कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

प्रविधिमैत्री हुलाक सेवा प्रदान गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको निर्देशन

आश्विन २, २०८१
प्रविधिमैत्री हुलाक सेवा प्रदान गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको निर्देशन

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई चुस्त, छरितो र विश्वसनीय बनाउन प्रविधिमैत्री हुनुपर्ने बताएका छन् ।

डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको बुधबार निरीक्षण गर्दै मन्त्री गुरुङले सबैभन्दा संवेदनशील सेवा भएकाले सेवाग्राहीमैत्री एवं विश्वसनीय भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

यो वर्ष राष्ट्रिय हुलाक नीति बनाएर हुलाकसँग सम्बन्धित अधिकांश समस्या समाधान गर्ने विश्वास दिलाउँदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले हप्ताको एक दिन ट्रकमार्फत डाँक सेवा प्रदान गर्दैै आएकामा अबदेखि दैनिक रुपमा ट्रक डाँक सेवा सञ्चालन गर्न निर्देशन दिए।

'किन हप्ताको एक दिन सेवा दिने ? सहजीकरण गर्न मन्त्रालय तयार छ । तर, दैनिक रुपमा ट्रक डाँक सेवा सञ्चालन गर्नुहोस्,' उनले भने, 'अहिलेको समयमा जतिसक्दो चाँडो सेवा दिन जरुरी छ ।'

हुलाक कार्यालयका सबै गतिविधिलाई डिजिटल बैंक (इसेवा, क्युआर) बाट भुक्तानी गर्ने व्यवस्थामा लैजानुपर्नेमा जोड दिँदै उनले विश्व हुलाक सङ्घसँग सम्झौता गरिएकाले सङ्घको मापदण्डअनुसार हुलाक कार्यालयको संरचना बन्नुपर्ने धारणा राखे ।

सञ्चार तथा सूचना मन्त्रालयका सचिव राधिका अर्यालले विसं १९३५ मा ‘नेपाल हुलाक घर’ को नामबाट सेवा सुरु गरेको गोश्वारा हुलाक आफैँमा ऐतिहासिक महत्त्व रहेको बताए । समयानुकूल प्रविधिमैत्री हुलाक बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै उनले आमसर्वसाधारणको पहुँचसम्म हुलाक सेवा पुर्‍याउने रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिए ।

प्रकाशित : आश्विन २, २०८१ १९:२६
x
×