कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल

आश्विन २, २०८१
अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन् । बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री पौडेलले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए । उनले अहिले समाजको मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिएको बताए।

मन्त्री पौडेलले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको उल्लेख गरे । उनले निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको बताए । उनले यस्तै रुपमा अघि बढ्ने हो भने नेपालमा अबको २० वर्षभित्र ५० वर्ष भन्दा माथिको संख्या बढी हुने दाबी गरे। खाद्य स्वास्थ्यको मुख्य विषय भएपनि स्वास्थ्यसँग जोड्न नसकिएको बताए ।

उनले भने, ‘हाम्रो कस्तो छ भने को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिन्छ । उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको छ, चासो पनि अलि बढी छ । तर निरोधात्मक पद्धतिमा प्रिभेन्सनको पाटोमा केही काम भएको छ आजसम्म ? यसरी नै जाने हो भने नेपालमा सबैभन्दा बढी २० वर्षभित्र नेपालमा ५० वर्ष भन्दा माथिको संख्या बढी हुन्छ । त्यो एक्टिभ पनि हुन सक्दैन, त्यो निरोगी पनि हुन सक्दैन । अब मलाई कति साथीले यस्तो कुरा नबोल्न भन्छन्, अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन । त्यसैले मान्छेलाई रोग लाग्न नदिने कुरामा हामीले केही गर्न जरुरी छ ।'

मन्त्री पौडेलले खाद्य स्वास्थ्यको मुख्य विषय भएको भन्दै त्यो स्वास्थ्यसँग जोड्न नसकिरहेको बताए । 'क्यान्सर किन भयो, किड्नीमा समस्या किन आयो ? हामीले के खाइरहेका छौँ, हाम्रो फुड ह्याबिट कस्तो छ ? खाने वस्तु कस्तो छ र ? कति खाइरहेका छौँ ? चाहिने जति छ की, धेरै खाइरहेका छौँ, थोरै खाइरहेका छौँ की ? थोरै खानु पनि समस्या हो, धेरै खानु पनि समस्या हो,' उनले भने ।

मन्त्री पौडेलले अस्पतालहरुले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेको बताए । उनले देशमा कुनैपनि कुरामा अनुसन्धान नहुने भन्दै भइरहेका अध्ययन संस्थानमा पनि अनुसन्धान नहुने गरेको बताए ।

प्रकाशित : आश्विन २, २०८१ १४:४७
x
×