कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

भाद्र १६, २०८१

भैरहवा — तालिममा सहभागी गराउने जनाएर होटेलमा पुर्‍याएर सामूहिक बलात्कारको आरोपमा प्रहरीले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवालाई पक्राउ गरेको छ । स्थानीयका अनुसार डेढ साताअघि गाउँकै तीन व्यक्तिले ती किशोरीलाई तालिममा सहभागी गराउने भन्दै होटलमा पुर्‍याएका थिए । 

युवतीका आफन्तका अनुसार झुक्याएर होटलमा पुर्‍यााएपछि बन्धक बनाएर तीन जनाले बलात्कार गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मनोहर भट्टले शनिबार पीडितको जाहेरी प्राप्त भएपछि आरोपित तीन जनालाई पक्राउ गरिएको जनाए । ‘जाहेरी प्राप्त भएपछि हामीले घटनाको अनुसन्धान अगाडि बढाइसकेका छौं,’भट्टले भने, ‘पीडितलाई जिल्ला प्रहरी बोलाएका छौं, थप बुझेर घटनास्थल यकिन गरेपछि कारबाही थाल्छौं ।’

स्थानीयका अनुसार गत भदौ ५ गते कोटहीमाई–५ का मुकेशकुमार चौधरीले तालिममा सहभागी गराउने भन्दै युवतीलाई मोटरसाइकलमा राखेर होटेलमा पुर्‍याएका थिए । त्यसपछि भैरहवानजिकै बनगाईमा रहेका कोटहीमाई–५ का मनाेहर चौधरी र कोटहीमाई–३ का शैलेशकुमार पाण्डे पनि उक्त होटेलमा पुगेका थिए । युवतीका आफन्तले ती युवाले लुम्बिनीको एक होटेलमा पुर्‍याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएका छन् । होटेलमा पुर्‍याएपछि अरु सहभागी नदेखेर युवतीले घर फर्किने जनाएपछि युवाहरूले अन्य सहभागी आउँदै भनेर अल्झाएको युवतीका आफन्तले बताए ।

भदौ ६ गते बिहान मुकेशले नै युवतीलाई गाउँनजिक ल्याएर छाडेका थिए । ‘लोकलाजले गर्दा घटना लुकाएकी रहिछन्,’कोटहीमाईका एक स्थानीयले भने,‘दुई दिनअघि मात्रै गुप्ताङ्गबाट धेरै रगत बगेपछि घटना खुल्यो, अहिले युवतीको उपचार गराइएको छ ।’

घटना खुलेपछि युवतीका दाइले मुकेशलाई भेट्न बोलाएका थिए । त्यसक्रममा आरोपितमाथि कुटपिट भएको थियो । त्यसपछि अन्य दुई जनाको सहभागिताबारे खुलेको ती व्यक्तिले बताए । स्थानीयका अनुसार मनोहर कोटहीमाई गाउँपालिकाका शिक्षा प्राविधिक सहायक हुन् ।

प्रकाशित : भाद्र १६, २०८१ १२:१६
x
×