कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न सकिँदैन : सिटौला

भाद्र २९, २०८१
जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न सकिँदैन : सिटौला

काठमाडौँ — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न नसकिने बताएका छन् । 

जननायक विश्वेश्वरप्रसाद कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा संवाद केन्द्रले शनिबार गरेको ‘लोकतान्त्रिक समाजवाद र आजको परिस्थिति’ विषयक अन्तरक्रियामा उनले बिपी कोइरालाले भनेजस्तै जनताको शासन सत्तामा प्रत्यक्ष पहुँच भए मात्र लोकतान्त्रिक समाजवादको कल्पना पूरा हुने बताए ।

'आवधिक निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि रोज्ने र प्रतिनिधिमार्फत शासन चलाउने हो, जनताले प्रतिनिधिमार्फत आफ्नो शासन गर्ने हो, लोकतान्त्रिक शासन पद्धति भनेको यही हो,' उनले भने । कांग्रेस र कम्युनिष्टबीच लोकतान्त्रिक समाजवादका बारेमा भिन्दाभिन्दै व्याख्या रहेको उनको भनाइ थियो ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले विसं २०४६ देखि कम्युनिष्टलाई शान्ति र लोकतन्त्रको बाटोमा हिँडाउन कांग्रेसले नेतृत्व गरेको बताए । उनले बिपी कोइराला गतिशील विचार भएको नेता भएको बताए । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले कांग्रेसको विधानले बिपी कोइरालालाई स्पष्ट रुपमा चिनेको बताइन् । बिपी कोइरालाले दिएको विचार र आदर्शबाट पार्टी अहिले अगाडि बढेको उनको भनाइ थियो ।

वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्माले बिपी कोइरालाले अगाडि सारेको लोकतान्त्रिक समाजवादको नीतिका कारण संविधानमा हरेक जातजाति र समुदायको प्रतिनिधित्व भएको उल्लेख गरिन् । कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेले बिपीले देखेको लोकतान्त्रिक समाजवादको सपना कांग्रेसले पूरा गर्दै लगेको बताए ।

प्रकाशित : भाद्र २९, २०८१ १८:३१
×