कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रधानमन्त्री ओलीले कोलम्बिया र हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने

भाद्र २९, २०८१
प्रधानमन्त्री ओलीले कोलम्बिया र हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने

Highlights

  • प्रधानमन्त्री ओलीले असोज ७ मा कोलम्बिया र असोज ११ मा हार्वर्डमा सम्बोधन गर्नेछन्

न्युयोर्क — संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभामा भाग लिन आउन अमेरिका आउन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले न्युर्योकस्थित कोलम्बिया विश्वविद्यालय र बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने भएका छन् ।

ओलीको सम्बोधनको लागि परराष्ट्र मन्त्रालयमार्फत न्युयोर्कस्थित राष्ट्रसंघको लागि स्थायी नियोगमार्फत गृहकार्य भइरहेको छ । ‘दुवै विश्वविद्यालयमा सम्मानीय प्रधानमन्त्रीज्यूले सम्बोधन गर्ने गृहकार्य भइसकेको छ,’ एक कूटनीतिक अधिकारीले भने,’कोलम्बिया विश्वविद्यालयमा असोज ७ र हार्वर्ड असोज ११ मा सम्बोधन हुने कार्यक्रम रहेको छ ।’

भदौ २५ मा सुरु भएको ७९ औं महासभाको उच्चस्तरीय छलफलमा सम्बोधन गर्न प्रधानमन्त्री ओली असोज ५ मा न्युयोर्क आइपुग्दै छन् । उनले असोज १० मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसपटकको महासभाको मुख्य नारा ‘कसैलाई पनि पछाडी नछाड्ने :वर्तमान र भावी पुस्तालाई शान्ति, दिगो विकास र मानव प्रतिष्ठाको उन्नतिको लागि एकजुट भएर काम गर्ने’ रहेको छ । उक्त विशेषलाई केन्द्रमा राखेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

महासभालाई सम्बोधन गरेको भोलिपल्ट असोज ११ मा प्रधानमन्त्री ओली न्युयोर्कबाट बोस्टन उड्ने कार्यक्रम छ । बोस्टनमा असोज ११ मा सम्बोधन गरेपछि असोज १२ मा ओली त्यत्तैबाट नेपाल फर्कने छन् ।

त्यसअघि महासभाकै दौरानमा यसपटक ‘समिट अफ द फ्युचर’ मा पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम ६ र ७ मा यूएनकै मुख्यालयमा हुनेछ । समिट अफ द फ्युचर सम्मेलनको जर्मनी र नामिबिया सह-आयोजक हुन् । अहिलेको संकटग्रस्त विश्व परिस्थितिमा आगामी बाटो देखाउन महासचिव एन्टोनियो गुटेरेसको नेतृत्वमा सम्मेलन हुन लागेको हो ।

संयुक्त राष्ट्रसंघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणा (यूपीआर), दिगो विकासको लक्ष्यहरु (एसडीजी) २०३० एजेन्डा, जलवायु र सम्बन्धमा पेरिस सम्झौता र एसडीजी कार्यान्वयनको लागि अदिस अबाबा कार्य एजेन्डाजस्ता स्थापित ढाँचाहरूमा तयारी गर्दै समिट अफ द फ्युचरले हाम्रा साझा आकांक्षाहरू हासिल गर्न व्यावहारिक रणनीतिहरू खोज्ने यूएनको योजनाअनुसार कार्यक्रम हुन लागेको हो ।

१८ दिनसम्म चल्ने ७९ औं महासभा असोज १२ मा सकिने छ । प्रधानमन्त्री ओली २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आउन लागेका हुन् । ओली पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमणबाटै आफ्नो विदेश यात्रा थालेका थिए ।

तेस्रोपटक भने उनी तीन महिनामात्र प्रधानमन्त्री हुँदा कुनै पनि मुलुकको भ्रमण गरेनन् । ओली २०७२ सालमा पहिलो पटक, २०७४ सालमा दोस्रो पटक र २०७८ सालमा तेस्रो पटक प्रधानमन्त्री भएका थिए । चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हुनेछ ।

ओलीले पछिल्लो पटक सन् २०२० मा कोभिड–१९ महामारीका कारण भर्चुअल रुपमा भएको यूएनको ७५ औं महासभालाई सम्बोधन गरेका थिए । त्यसपछि सन् २०२१ को ७६ औं महासभामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाएका थिए । त्यसपछि ७७ औं महासभामा तत्कालीन प्रधानमन्त्री देउवाले परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाएका थिए । ७८ औं महासभामा भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर गएका थिए ।

प्रकाशित : भाद्र २९, २०८१ १९:५२
×