कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेस र कम्युनिष्टले देशको विकास गर्दैनन् : यादव

भाद्र २९, २०८१
कांग्रेस र कम्युनिष्टले देशको विकास गर्दैनन् : यादव

तिलोत्तमा — जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टले देशको विकास नगर्ने दाबी गरेका छन् । उनले यी दुई पार्टीले जनतालाई अधिकार दिन नचाहेको आरोप लगाए । 

जसपा नेपाल लुम्बिनी प्रदेशले शनिबार भैरहवामा गरेको ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’ अन्तर्गत अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्टमा अन्तर नभएको बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले जसपा नेपालले मुलुकमा परिवर्तन ल्याउन सक्ने बताए । मधेशी जनअधिकार फोरम नेपाल हुँदै जसपा नेपालले महिला, दलित, मधेशी, मुस्लिम, जनजाति तथा सम्पूर्ण उत्पीडित समुदायको लागि लडेको उनको भनाइ छ । 'जनता जागरुक र संगठित भए कुनै परिवर्तन असम्भव छैन,' उनले भने, 'देश र जनताको भविष्य निर्माण हाम्रो मिसन र लक्ष्य हो ।'

उनले संविधान संशोधन आफूहरुको सुरुदेखिको माग रहेको समेत बताए । कांग्रेस–कम्युनिष्टले जनताको आवाज दबाउन खोजेको भन्दै उनले शासक वर्गले आफ्नो लागिमात्र संविधान बनाएको बताए ।

प्रकाशित : भाद्र २९, २०८१ २१:११
×