कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो : प्रधानमन्त्री ओली

भाद्र २९, २०८१
नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो : प्रधानमन्त्री ओली

ललितपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति देशको सांस्कृतिक वैभव भएको बताएका छन् । शनिबार ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभामा प्रधानमन्त्री ओलीले नेवाः संस्कृतिकै कारण मुलुक सांस्कृतिक रुपमा वैभवशाली बनेको बताए । 

प्रधानमन्त्री ओलीले नेवार समुदायका खानाका अनेकौँ परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यताका परिचायक भएका बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौँ वर्षमा पनि बनाउन नसकिने उल्लेख गरे ।

'राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिन्छ । संस्कृति र सभ्यता बिग्रिएमा फेरि त्यसलाई पुरानै स्वरुपमा बनाउन सकिँदैन,' प्रधानमन्त्रीले ओलीले भने, 'हाम्रो संस्कृति र सभ्यता अमर रहोस् भनेर ज्येष्ठ नागरिकहरुले कामना गरिरहनुभएको छ । संस्कृति र सभ्यतालाई युवा पुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो । '

प्रधानमन्त्री ओलीले १०५ वर्षीया मनमाया महर्जनले कला–संस्कृतिको संरक्षणमा मार्ग निर्देश गरेकामा आभार प्रकट गर्दै उनको दीर्घायुको कामना गरे। साथै उनले समाजका विविध क्षेत्रमा योगदान गरेका व्यक्ति तथा माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई सम्मान गरेका थिए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मुलुकको कला, संस्कृतिको संरक्षणमा अहं भूमिका निर्वाह गरेको बताए । बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले ज्यापू समाज र संस्कृति नेपाली सभ्यताको धरोहर भएको बताए ।

महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ज्यापू समाजले आफ्नो परम्परा, भाषा, कला, संस्कृति संरक्षणमा उल्लेखनीय सहयोग पुर्‍याएको भन्दै समाजको सहयोगका कारण रातोमच्छिन्द्रनाथको रथयात्रा व्यवस्थित हुने गरेको बताए । ज्यापू महागुथिका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र महर्जनले यो समाजले आगामी दिनमा आफ्नो समुदायका अधिकार स्थापित गर्नेतर्फ लाग्नुपर्ने बताए ।

प्रकाशित : भाद्र २९, २०८१ १७:३४
×