कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

जगन्नाथदेवल, डिल्लीबजार र नख्खु कारागारका डेढ सय कैदी नुवाकोट स्थानान्तरण

भाद्र १५, २०८१
जगन्नाथदेवल, डिल्लीबजार र नख्खु कारागारका डेढ सय कैदी नुवाकोट स्थानान्तरण

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकाका तीनवटा कारागारबाट १ सय ५० जना कैदीलाई नुवाकोटमा निमाण गरिएको केन्द्रीय कारागारमा स्थानान्तरण गरेको छ । खासगरी हत्या, बलात्कार, लागूऔषध, ज्यानमार्ने उद्योगलगायत गम्भीर किसिमका अपराधमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका डेढ सय जना कैदीलाई नुवाकोटमा निर्माण भएको केन्द्रीय कारागारमा स्थानान्तरण गरिएको हो ।

नुवाकोटमा निर्माण सम्पन्न भइसकेका भवनमा कैदीबन्दी स्थानान्तरण गर्ने योजनाअनुसार पहिलो चरणमा डेढ सय कैदी उपत्यकाबाट स्थानान्तरण गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

निर्माण सम्पन्न भइसकेका ब्लकहरुमा १ हजार ३ सय ७० जना कैदी राख्न मिल्ने र अहिलेलाई डेढ सय जना स्थानान्तरण गरिसकिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले बताए ।

उनका अनुसार निर्माण सम्पन्न भइसकेका संरचनामा काठमाडौं उपत्यकाका विभिन्न कारागार र चाप हेरेर अरु कारागारबाट कैदी स्थानान्तरण गरिने र पहिलो प्राथमिकतामा काठमाडौंको चापलाई मध्यनजर गरेर स्थानान्तरण गरिने जनाइएको छ । जसअन्तर्गत काठमाडौंका कारागारबाट अरु थप ५ सय कैदी पनि लैजाने योजना छ ।

नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्प (चण्डीपोखरी) क्षेत्रमा सरकारले केन्द्रीय कारागार भवन निर्माण गरिरहेको छ । करिब ७ अर्ब रुपैयाँ लागतमा कारागार संरचना निर्माण गरिने गुरुयोजना बनेकोमा हालसम्म दोस्रो चरणसम्मको काम मात्रै सम्पन्न भएको छ ।

विभागका निर्देशक कमल पाण्डेका अनुसार करिब २ अर्ब रुपैयाँ लागतका संरचना अन्तर्गत १ हजार ३ सय ७० जना क्षमताका संरचना निर्माण भएको बताए । त्यसमध्ये निर्माण सम्पन्न भएको ब्लकमा उपत्यकाका तीनवटा कारागारबाट डेढ सयको संख्यामा कैदीलाई स्थानान्तरण गरिएको हो ।

बिभागका अनुसार महिलाका लागि एउटा र पुरुषका लागि ४ वटा ब्लक तयार भएको र त्यसमै कैदी राख्न काठमाडौंबाट कसुर, सजाय अवधि र कसुरमा संलग्न व्यक्तिका तिविधिलाई मुल्यांकन गरेर स्थानान्तरण हुने कैदीको संख्या तय गरिएको विभागले जनाएको छ ।

२०७० चैत २० को मन्त्रिपरिषद बैठकले उपत्यकाका कारागारमा कैदीबन्दीको चाप कम गर्न भन्दै विदुरमा कारागार निर्माण गरी त्यसलाई नै केन्द्रीय कारागारका रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । सुन्धारा (जगन्नाथदेवल)स्थित केन्द्रीय कारागार परिसरका महिला र पुरुष भवनमा कैदी/बन्दीको संख्या ३ हजार ६ सयभन्दा बढी छ ।

त्यसमध्ये अदालतबाट मुद्दाको अन्तिम किनारा लागेर सजाय भुक्तान गरिरहेका कैदीको संख्या २ हजार भन्दा बढी छ । डिल्लीबजारमा कूल कैदी/बन्दी करिब ७ सय ५० रहेकोमा मुद्दाको अन्तिम फैसला भई सजाय भुक्तानरत संख्या ३ हजार ४ सय ५० छ । यसैगरी ललितपुरको नख्खु कारागारमा कूल कैदीबन्दी १ हजार ५ सय ५० जना रहेकोमा मुद्दाको अन्तिम किनारा लागेर सजाय कटाइरहेकाको संख्या ८ सय ३३ छ ।

विभागका अनुसार सजाय भुक्तान अवधि, मुद्दाको किनारा लागेर सजाय ठेकिएका वा अदालतको आदेशमा रिहा हुनेको संख्या हरेकदिन तलमाथि हुने भएकोले कैदीबन्दीको संख्या दैनिक रुपमा तलमाथि पर्ने गरेको छ ।

काठमाडौंका कारागार जीर्ण र क्षमताभन्दा बढी संख्यामा राख्नुपर्ने बाध्यताले कैदबिन्दी कोचाकोच अवस्थामा बस्नुपर्ने बाध्यता थियो । नुवाकोट कारागारका सबै संरचना निर्माण भइसक्दा ७ हजार क्षमताको बनाउने सरकारी लक्ष्य छ । त्यसका लागि ६ सय २० रोपनी जग्गा कारागार परिसरमा समेटिएको छ ।

नुवाकोटमा कारागारको संरचना पूर्ण रुपमा निर्माण भइसकेपछि यो समस्या समाधान हुने र अहिलेलाई निर्माण भइसकेका ब्लकमा राख्ने गरी थोरै संख्यामा मात्रै कैदी स्थानान्तरण गरिएको बिभागका महानिर्देशक आचार्यले बताए । निर्माणाधीन कारागारका संरचनाहरुमा बन्दीगृह, डाइनिङ, वर्कसप, सुरक्षा निकायका ब्यारेक, कारागार कार्यालय, शौचालय, अस्पताल, विद्यालयसहित ३० वटा भवन छन् । जसमध्येबाट सुरक्षाकर्मीका आवास तथा कार्यालयसहितका संरचना ५ वटा छन् ।

०७१/७२ बाट कारागार निर्माणका लागि बजेट विनियोजन हुँदै आएकोमा २०७७ भित्रै संरचना बनाई कैदी स्थानान्तरणको काम अघि बढाइने सरकारी योजना थियो । तर, तोकिएको समयमा निर्माणको काम अघि नबढ्दा सम्पन्न अवधि धकेलिएकोमा अहिलेसम्म दोस्रो चरणको काम मात्रै सम्पन्न भइसकेको हो ।

प्रकाशित : भाद्र १५, २०८१ १४:२७
x
×