कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

कुल देवताका लागि जल लिन मानसरोवर हिँडेकालाई चिनियाँ अवरोध

कुल देवताका लागि जल लिन मानसरोवर हिँडेकालाई चिनियाँ अवरोध

Highlights

  • १२ दिन हिँडेर साइपाल हुँदै मानसरोवरका लागि हिँडेका जयपृथ्वी नगरपालिकाका स्थानीयको समूहलाई चीनको पुराङ काउन्टीबाट खटिएका सुरक्षाकर्मीले कठान चेकप्वाइन्टबाटै फर्काइदिए

काठमाडौँ — मस्टा देवीदेवतालाई चढाउने जल लिन बझाङको उरै नाका हुँदै मानसरोवर हिँडेका नेपालीलाई चिनियाँ प्रशासनले बीच बाटोबाटै फिर्ता पठाइदिएको छ । बझाङका विभिन्न गाउँबाट चिनियाँ बजार ताक्लाकोट हुँदै मानसरोवर जान भनेर हिँडेका नेपालीलाई ‘माथिको आदेश’ भन्दै चिनियाँ प्रशासनले कठानबाटै अघि बढ्न नदिएको हो ।

कठान उरै नाकाबाट नजिकै रहेको चिनियाँ स्थानीय प्रशासन ‘पुराङ काउन्टी’ अन्तर्गतको चेकप्वाइन्ट हो । उरैबाट प्रवेश गर्ने सबैको कठान चेकप्वाइन्टमा खानतलासी गरेर मात्रै अघि बढ्न दिइन्छ ।

बझाङको जयपृथ्वी नगरपालिका–१ कैलाशका चन्द्रबहादुर सिंहले आफूहरूको देवीदेवता र कुलपूजा गर्न मानसरोवरको जल चाहिने भएर त्यसतर्फ गएको तर चिनियाँ प्रशासनले फिर्ता पठाएको बताए । साउन ९ मा बझाङबाट हिँडेका सिंहसहितका स्थानीयलाई २२ गते कठानबाट फिर्ता पठाइएको हो । साउनमा मात्रै मानसरोवरका लागि हिँडेका कम्तीमा ३० जनालाई चिनियाँ प्रशासनले नाकाबाटै फिर्ता पठाएको छ ।

‘मस्टा देवीदेवताका लागि मानसरोवरकै जल चढाउनुपर्ने परम्परा छ, त्यसकै लागि मानसरोवर हिँडेका थियौं, तर चिनियाँ प्रशासनले बझाङको साइपालदेखि ३० किलोमिटर अगाडि चीनको कठान भन्ने ठाउँको चेकिङ प्वाइन्टबाटै फर्काइदियो,’ चन्द्रबहादुरले भने ।

‘हामीसँग भएका मोबाइलका कतिपय फोटाहरू पनि मेटाइदिए । त्यसपछि हुम्लाको हिल्सा नाकाबाट मानसरोवर जाने प्रयास गरे पनि अर्को जिल्लाबाट जारी भएको पासले प्रवेश नपाउने भन्ने थाहा पाएपछि घर फर्कियौं,’ उनले भने ।

उरै नाकाबाट हुम्लाको हिल्सा पुग्न एक दिन पैदल दूरी पर्छ । धार्मिक र सांस्कृतिक परम्पराअन्तर्गत मानसरोवरको जल मस्टा देवीदेवतालाई चढाउनैपर्ने तर मानसरोवर जान अवरोध हुनु दुःखद भएको चन्द्रबहादुरको भनाइ छ । प्रशासनले सहजीकरण गरिदिनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए ।

बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले नेपाल र चीनबीच सीमा क्षेत्रबाट ३० किलोमिटर मात्रै आउजाउ गर्न पाइने सहमतिअनुसार नै प्रशासनले पास जारी गर्दै आएको बताए । चिनियाँ पक्षले मानसरोवरका लागि नपठाउन भनेको कुरा पास लिन आउनेलाई जानकारी गराउँदा गराउँदै पनि अघि बढ्न खोज्दा स्थानीयले दुःख पाएको उनको भनाइ छ ।

‘बझाङ प्रशासनले ताक्लाकोटसम्मको मात्रै पास जारी गरेको थियो,’ प्रजिअ कुइँकेलले भने, ‘तर, प्रशासनले दिएको पासको दूरीभन्दा अगाडि बढ्न खोज्दा चिनियाँ प्रशासनले जान नदिएको हो ।’ चिनियाँ प्रशासनको अवरोधबारे गृह मन्त्रालयलाई जानकारी गराइएको प्रजिअ कुइँकेलले बताए । बझाङबाट ताक्लाकोटसम्म जान तिब्बतको पुराङस्थित काउन्टीले हरेक महिना ८ देखि ११ र २० देखि २३ तारिखसम्म ८ दिन स्वीकृति दिँदै आएको छ । प्रजिअ कुइँकेलका अनुसार चिनियाँ पक्षले प्रवेश अनुमति दिएको छेको पारेर पास जारी हुने गरेको छ ।

पछिल्लो समय चीनतर्फका १४ वटा नाका खुलाउन र यसबाट आउजाउ गर्न ५ वर्षे प्रवेश पासको प्रबन्ध मिलाउने गरी गृह मन्त्रालयले कार्यविधि नै जारी गरेको छ । यो कार्यविधि लागू भइसकेको छैन । हाल चिनियाँ प्रशासनसँग समन्वय गरेर उत्तरी सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयहरूले ३० किलोमिटर दूरीभित्र पर्ने चिनियाँ बजारसम्म जानलाई मात्रै पास जारी गर्ने गरेका छन् ।

प्रकाशित : भाद्र ९, २०८१ ०५:५७
x
×