कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

यचुरीको नेपाल साइनो : नाकाबन्दीविरुद्ध भारतीय संसद्‍मा प्रतिवाद

भाद्र २८, २०८१
यचुरीको नेपाल साइनो : नाकाबन्दीविरुद्ध भारतीय संसद्‍मा प्रतिवाद

Highlights

  • भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको बिहीबार ७२ वर्षको उमेरमा निधन

काठमाडौँ — नेपालका राजनीतिक घटनाक्रममा भारतीय नेताहरूको चासो, प्रभाव र कतिपय अवस्थामा साथ सहयोग इतिहासदेखि चल्दै आएको छ । विभिन्न कालखण्डमा यस्ता नेताहरूको नेपालमा चर्चा र सम्झना हुने गर्छ । यस्तैमध्येका एक चर्चित भारतीय नेता थिए– भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी ।

तीनै नेता यचुरीको बिहीबार ७२ वर्षको उमेरमा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारका क्रममा निधन भएको छ ।

२०६२/०६३ को जनआन्दोलनपछिको राजनीतिक संक्रमणकाल र संविधान जारीपछिको भारतीय नाकाबन्दी यी दुई कालखण्डको इतिहासमा नेपालमा सबैभन्दा बढ्ता सम्झिने पात्रमा पर्छन्, यचुरी । उनी नेपालका राजनीतिक घटनाक्रम र नेपाल–भारत सम्बन्धका सवालमा पटक–पटक नेपाल आवतजावत र नेपाली नेताहरूसँग परामर्श गर्थे । उनले भारतमा रहेर तत्कालीन संस्थापन पक्षले लगाएको नाकाबन्दीको त्यहीं बसेर कडा प्रतिवाद गरे ।

नेपालमा समेत कतिपय नेताहरूले नाकाबन्दी भन्न अप्ठेरो मानिरहेका बेलामा उनले भारतको संसद् र सांसदहरूसमक्ष नाकाबन्दीको मुद्दालाई बहसमा ल्याएका थिए । उनले संसद्मा विशेष बैठक राख्न भूमिका खेलेका थिए ।

संसद्को विशेष परामर्श बैठकमा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव एस जयशंकरसहितका साउथ ब्लकका पदाधिकारीसामु यचुरीलगायत दर्जन भारतीय सांसदले नेपालसँगको चिसिँदो कूटनीतिक सम्बन्धबारे प्रश्न गरेका थिए ।

भारतले नाकाबन्दी गरेको होइन भने किन नेपालमा दैनिक जीवन अस्तव्यस्त र अभावग्रस्त छ भन्दै यचुरीले तत्कालीन संस्थापनलाई प्रश्न गरेका थिए । भारतले नाकाबन्दी हटाएपछि २०७२ मंसिर दोस्रो साता उनले कान्तिपुरलाई दिएको अन्तर्वार्तामा ‘नाकाबन्दीले भारतको इमेज बिग्रिएको र भारतको सबैभन्दा ठूलो ‘कूटनीतिक गल्ती’ भएको बताएका थिए ।

‘नेपालमाथि लगाइएको यो नाकाबन्दी भारतीय सरकारको सबैभन्दा ठूलो कूटनीतिक गल्ती हो । एकातर्फ सम्बन्ध र सहयोगको सरोकारमा ‘छिमेकी प्रथम’ को नीति अघि सार्दै अर्कातिर निकटस्थ छिमेकमा नाकाबन्दीसम्मको रणनीति तय गर्नु आफैंमा विरोधले भरिएको कुरा हो । यतिखेर नेपालमाथि लगाइएको नाकाबन्दीका कारण भारतको अन्तर्राष्ट्रिय इमेजसमेत बिग्रिएको अवस्था छ,’ येचुरीले भनेका थिए ।

लोकसभाभित्रको विशेष परामर्श बैठकमा तत्कालीन विदेशमन्त्री स्वराजले ‘नेपालमाथि भारतले ब्लकेड (नाकाबन्दी) गराएको छैन, यो मधेसी समुदायले सीमानाकामा गरेको अवरोधका कारण उब्जिएको कठिनाइ हो’ भनेकी थिइन् । स्वराजको भनाइको प्रतिवाद गर्दै येचुरीले सिमानाका बाधा–अवरोध नभए सामान आपूर्ति सहज किन नगरिएको भन्ने प्रश्न गरेका थिए । त्यसमा विदेशमन्त्री स्वराजले स्पष्ट जवाफ दिन सकिनन् ।

भारतले नेपालमा हिन्दु राष्ट्र हटेको लगायतका विषयमा राखेको असन्तुष्टिहरूबारे पनि स्पष्ट बोलेका थिए । उनले नेपालको सार्वभौम अस्तित्वमाथि प्रश्न गर्ने अधिकार भारतलाई नरहेको बताएका थिए ।

‘नेपाल देशभित्रको आन्तरिक मामिलाजस्तै कहिले हिन्दु राष्ट्रको कुरा, कहिले संविधान संशोधनको मुद्दामा यहाँ (दिल्ली) धेरै बहस अल्झिएको मैले देखेको छु । एउटा प्रश्न म सधैं गरिरहेको हुन्छु, एउटा सार्वभौम छिमेकीको संविधानसहितको आन्तरिक प्रक्रियामा प्रश्न गर्ने हामी को हो ? कुनै स्वतन्त्र मुलुकका बारेमा प्रश्न गरिरहने तरिका हाम्रा लागि सुहाउने कुरा हो ? नेपालबारे निर्णय नेपाल आफैंले लिन्छ । न हामीले हस्तक्षेप गर्न मिल्छ, न नचाहिँदो प्रभाव देखाउनै मिल्छ ।’

त्यसबेला नेपालसँगको सम्बन्धका बारेमा येचुरीले भारतीय प्रधानमन्त्रीले आफ्नो खुलापनको उदाहरण दिँदा प्रयोग गर्ने ५६ इन्च छातीको कुरा पनि गरेका थिए । नाकाबन्दीबाट चिसिएको सम्बन्ध सुधारका लागि येचुरीले भनेका थिए– ‘हाम्रा प्रधानमन्त्री मोदी सधैं ५६ इन्चको छातीको कुरा गर्नुहुन्छ । यो छाती हाम्रो सबै अर्थको सम्बन्ध सहजीकरण गर्नमा पनि सर्वस्वीकार्य बनोस् भन्ने हाम्रो कामना छ ।‘

भाकपा मार्क्सवादीका महासचिव येचुरी २०६२/६३ को जनआन्दोलन सफल भएर संविधानसभाको निर्वाचन र त्यसपछिको संक्रमणकालमा पनि सहमति विकल्प लिएर नेपाल आएका थिए । पहिलो संविधानसभा निर्वाचनपछि उत्पन्न राजनीतिक अप्ठ्यारो फुकाउने सूत्र लिएर येचुरी नेपाल आएको ‘विकिलिक्स’ ले समेत खुलासा गरेको थियो । निर्वाचनबाट माओवादी ठूलो राजनीतिक शक्तिका रूपमा उदय भए पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहज रूपमा सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेपछि राजनीतिक संकट उत्पन्न भएको थियो । येचुरीले त्यतिखेर कोइरालालाई आलंकारिक भूमिकाको अन्तरिम राष्ट्रपतिका रूपमा स्विकार्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका थिए । तर कोइरालाले राष्ट्रपति र कमान्डर इन चिफ बन्ने इच्छा येचुरीसँग प्रकट गरेका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने कोइराला राष्ट्रपति भए उनले सेना प्रयोग गरी शक्ति बलियो बनाउन सक्ने र त्यसले द्वैधशक्ति केन्द्रको अवस्था सिर्जना गर्ने तर्क गरेको येचुरीले नेपालस्थित अमेरिकी अधिकारीहरूसँग बताएको विकिलिक्सले सार्वजनिक गरेको केबलमा उल्लेख थियो । येचुरीले त्यतिबेला नै कंग्रेसलाई राष्ट्रपति, माओवादीलाई प्रधानमन्त्री र एमालेलाई संविधानसभाको अध्यक्ष पद दिए राजनीतिक समीकरण सन्तुलित हुने सुझाव दाहाललाई दिएका थिए । उनले प्रधानमन्त्री पदमा दाहाल जानुभन्दा बाबुराम भट्टराईलाई पठाउन उपयुक्त हुने सुझाव दिएको पनि खुलासा भएको थियो ।

येचुरी विद्यार्थी आन्दोलनबाट पार्टी राजनीतिमा प्रवेश गरेका थिए । भारतमा अहिंसात्मक विद्यार्थी आन्दोलनलाई स्थापित गराउन उनको अहंभूमिका रहेको थियो । उनी भारतीय विद्यार्थी महासंघ (एसएफआई) का तर्फबाट लगातार तीनपटक जवाहरलाल नेहरू (जेएनयू) विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापति चुनिएका थिए । जेएनयूमा विद्यार्थी नेताका रूपमा उनी इन्दिरा गान्धी शासनकालमा १९७५ देखि १९७७ सम्म लगाइएको संकटकालको समयमा नागरिक अधिकार र वामपन्थी विचारधाराको पक्षमा क्रियाशील थिए ।

येचुरी भारतका वामपन्थीहरूमध्ये व्यावहारिक नेताका रूपमा चिनिन्थे । उनको प्रायः सबैजसो राजनीतिक दलहरूसँग हार्दिक सम्बन्ध थियो । उनी भारतमा गठबन्धन राजनीतिका सूत्रधारका रूपमा पनि चिनिन्छन् । सन् १९९६ को एचडी देवगौडा र सन् १९९६ को इन्द्रकुमार गुजराल सरकार निर्माणमा येचुरीको अहंभूमिका थियो । पछि सन् २००४ मा मनमोहन सिंह नेतृत्वको सरकार बनाउन पनि उनको विशेष पहल थियो ।

यद्यपि मार्क्सवादीसहितको वाममोर्चाले भारत–अमेरिका परमाणु सम्झौताको विरोध गर्दै मनमोहन सरकारको कार्यकाल पूरा नहुँदै समर्थन फिर्ता लिएका थिए । वाममोर्चाको उक्त निर्णय विवादमा परेको थियो । त्यसको एक वर्षपछि भएको लोकसभा निर्वाचनमा वाममोर्चाले नराम्रो हार व्यहोर्नुपरेको थियो । येचुरीले पछि मनमोहन सरकारबाट बाहिरिने निर्णयलाई राजनीतिक गल्तीको संज्ञा दिएका थिए । येचुरी २००५ अगस्ट १९ देखि २०१७ अगस्ट १८ सम्म भारतको माथिल्लो सदन राज्यसभाका सदस्य थिए । भारतमा हिन्दुत्वको मुद्दा बोकेर मोदीको उदयपछि कांग्रेससमेत रक्षात्मक बनेको बेलामा हाल भारतीय लोकसभामा उनको दलका चार जना सांसद छन् ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् । उनका जेठा छोरा आशिषको कोभिड संक्रमणका कारण सन् २०२१ मा निधन भएको थियो । श्रीमती चिश्ती भारतीय अंग्रेजी अनलाइन द वायरकी सम्पादक हुन् ।

प्रकाशित : भाद्र २८, २०८१ ०५:२८
×