धावनमार्गसँगै इन्धन भण्डार, जोखिममा घनाबस्ती

आईकाओको मापदण्डअनुसार धावनमार्गबाट १७२.५ मिटर टाढा ‘ट्याक्सी–वे’ हुनुपर्छ, त्यसबाट पनि कम्तीमा ९० मिटर टाढा इन्धन भण्डारण हुनुपर्ने मान्यता छ, तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने धावनमार्गबाट ८० मिटरभित्रै ७६ लाख लिटर इन्धनको भण्डारण छ 

श्रावण २५, २०८१

राजु चौधरी, अंगद ढकाल

Fuel depots along runways, overcrowded at risk

काठमाडौँ — एक दशकमा तीन ठूला जहाज दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भए । २०७१ फागुन २० मा २ सय २३ यात्रुसहित टर्कीको इस्तानबुलबाट काठमाडौं आएको एयरबस ३२०–३०३ विमानस्थलभित्रै दुर्घटनामा परे पनि मानवीय क्षति भएन । २०७४ फागुन २८ मा भएको यूएस बांग्ला विमान दुर्घटनामा चालक दलसहित ५१ को ज्यान गयो । साउन ९ मा सौर्य एयरलाइन्सको जहाज विमानस्थलभित्रै दुर्घटना हुँदा १८ को ज्यान गयो ।

यी तीनमध्ये कुनै पनि जहाज सिनामंगलतर्फ भण्डारण गरिएको नेपाल आयल निगमका ६ वटा भर्टिकल ट्यांक र ८ वटा अन्डरग्राउन्ड ट्यांकतर्फ पुगेका भए यात्रु मात्रै होइन, आसपासका मानव बस्तीमा समेत ठूलो क्षति हुन्थ्यो । संयोगवश हालसम्म जोगिए पनि जोखिम कायमै छ । 

अति संवेदनशील मानिने हवाई इन्धनको डिपो त्रिभुवन विमानस्थलको धावनमार्ग (रन–वे) बाट करिब ८० मिटर दूरीमै छ । त्यस आसपास जहाज आइरहन्छन् । कहिलेकाहीँ जहाज चिप्लिएर निगमले राखेको हवाई इन्धन डिपोमा ठोक्किए के हुन्छ भन्ने प्रश्नमा नेपाल आयल निगम, हवाई इन्धन डिपो कार्यालय सिनामंगल प्रमुख प्रदीप यादव भन्छन्, ‘१० मिनेटभित्र असंख्य रूपमा मान्छेको हताहत हुन्छ ।’ 

Fuel depots along runways, overcrowded at riskजहाज दुर्घटना हुँदा यात्रुको मृत्यु प्रायः इन्धनकै कारण आगलागी भएर हुने गरेको छ । इन्धन छरिएर आगलागी हुने हुँदा दुर्घटनालगत्तै घटनास्थलमै प्रायःको ज्यान जान्छ । यस्तो अवस्थामा जहाज निगमका ट्यांकी नजिक परेर दुर्घटना परेमा मानव बस्तीमा समेत पस्ने निश्चित रहेको डिपो प्रमुख यादवको भनाइ छ । सिनामंगल डिपोमा राखिएका ६ वटा भर्टिकल ट्यांक र ८ वटा अन्डरग्रान्ड ट्यांकमा ७६ लाख ४० हजार लिटर हवाई इन्धन मौज्दात हुन्छ । ‘जहाज रन–वेबाट चिप्लिएर भर्टिकल ट्यांकीमा ठोक्किए सिनामंगलबाट वाग्मती करिडोरसम्म इन्धन बग्छ,’ यादवले भने, ‘सोच्दै नसोचेको मानवीय क्षति बेहोर्नुपर्छ ।’ 

Fuel depots along runways, overcrowded at riskयो जोखिमबारे अध्ययन गरी इन्धन भण्डारण सार्ने योजना सन् २०१८ देखिको हो । तर प्राधिकरण र निगमबीच ठेक्का तथा जग्गाको लेनदेन, ठेक्का लगाउँदा स्वार्थ समूहको चलखेल र अन्तरसरकारी समन्वय अभावका कारण प्रक्रिया सुरु हुन सकेको छैन । यादवका अनुसार टर्किस एयरलाइन्सको जहाज भर्टिकल ट्यांकीबाट करिब ३० मिटरमा दुर्घटनामा परेको थियो । 

‘सौर्यको जहाज दक्षिणतर्फबाट टेकअफ गर्दा दुर्घटनामा परेको थियो । त्यही जहाजले नर्थबाट साउथ टेकअफ लिएको भए निगमको ट्यांकीमा ठोकिन सक्थ्यो,’ यादवले भने, ‘त्यसकारण धावनमार्गबाट नजिकै रहेको इन्धन ट्यांकी विमानस्थल मात्रै नभई उपत्यकाकै लागि जोखिमयुक्त छ ।’ इन्धन भण्डारण अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डविपरीत छ । आइकाओको मापदण्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरु योजनाअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलभित्र पूर्वाधार विस्तारको काम गरिरहेको छ । अब विस्तार हुने ‘ट्याक्सी वे’ र हवाइ इन्धनको ट्यांकी नजिकै रहने छन् । 

Fuel depots along runways, overcrowded at riskनेपाल आयल निगम, हवाई इन्धन डिपो कार्यालय सिनामंगलका प्रमुख प्रदीप यादव

‘गुरुयोजनाअनुसार डिपो स्थानान्तरण गर्नुपर्छ नै । यसका लागि निगमलाई पटक–पटक पत्राचार गरेका छौं, तर निगमले चासो दिएको छैन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशक दीपेन्द्र श्रेष्ठले भने, ‘तर अहिले भइराखेको डिपोको जग्गा निगमको हो, त्यो जग्गा विमानस्थललाई छाड्नुपर्छ भनेर उसले आनाकानी गरेको देखिन्छ ।’ 

निगमको ३२ रोपनी जग्गामा ट्यांकी छ । हवाई ट्यांकी स्थानान्तरणका लागि प्राधिकरणले २०७९ साउनदेखि ४ पटक पत्र पठाए पनि सुनुवाइ भएको छैन । आईकाओको मापदण्डअनुसार रन–वेको केन्द्र रेखादेखि ट्याक्सी–वेबीचको दूरी १७२.५ मिटरको हुनुपर्छ । इन्धनको डिपो कति टाढा हुनुपर्छ भन्ने यकिन मापदण्ड नभए पनि ट्याक्सी–वेबाट कम्तीमा ९० मिटर टाढा रहनुपर्ने श्रेष्ठले बताए । तर अहिले रन–वेबाटै जम्मा ८० मिटरभित्रै ट्यांक छ ।

Fuel depots along runways, overcrowded at riskलामो समयदेखि ट्यांकी स्थानान्तरण गर्नेपर्ने निश्चित भए पनि ठेक्का व्यवस्थापनको जोखिमका कारण ढिलाइ भइरहेको हो । दुई वर्षअघि डिपो सार्ने प्रयास गरे पनि स्वार्थ समूहको चलखेलले अगाडि बढ्न सकेन । ‘अध्ययनले लागत ६ अर्ब देखाएको थियो, लागत बढाउन मन्त्रालयबाट दबाब आयो । यसमा ठेकेदारहरूको पनि चलखेल भयो,’ निगमका एक अधिकारीले भने, ‘त्यो देखेर निर्णय गर्ने अधिकारीहरू हच्किए, विवादमा आउन चाहेनन् ।’ निगमका अनुसार केही स्वार्थ समूहले ठेक्का हत्याउन ‘लबिइङ’ गर्दै आएका छन् । ती अधिकारीका अनुसार डिपो सार्ने ठेक्कामा भारतीय आयल निगम (आईओसी) ले पनि चासो राखेको छ । अर्को पक्ष भने नेपाली कम्पनीले नै बनाउनुपर्ने ‘लबिइङ’ मा छ । आईओसीलाई जिम्मा दिदा अर्बौं रुपैयाँ बाहिरिने हुँदा नेपाली कम्पनीले नै गर्नुपर्ने पक्षमा ऊ छ । 

Fuel depots along runways, overcrowded at risk२०८१ साउन ९ मा सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बल्ल डिपो स्थानान्तरको बहस तातेको छ । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले डिपो स्थानान्तरण गर्न निर्देशन दिएका थिए । त्यसको भोलिपल्ट शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, उद्योग सचिव कृष्णबहादुर राउत, वाणिज्य तथा आपूर्ति सचिव मधुसूदन बुर्लाकोटी, निगमका कार्यकारी निर्देशक चण्डिका भट्टलगायतको टोलीले जग्गा निरीक्षणसमेत गरेको थियो । लगत्तै प्राधिकरण र निगमबीच छलफल भइरहेको छ, सार्ने प्रक्रिया अघि भने बढेको छैन । निगमको सिनामंगल हवाई इन्धन डिपो प्रमुख यादवले साउन १ मा प्राधिकरणलाई पत्र लेखेर उच्च तह (महानिर्देशक र कार्यकारी निर्देशक) बीच छलफल आयोजना गर्न पत्राचार गरेका छन् । 

प्राधिकरणले पनि साउन ४ को समय दिएको थियो । त्यसपछि दुई निकायबीच छलफल अगाडि बढेको छ । निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले विमानस्थलको ‘ट्याक्सी–वे’ विस्तार गर्दा हवाई इन्धन डिपो धेरै नजिक आएको बताए । ‘डिपो सार्न प्राधिकरणले अध्ययन गराइसकेको र ठाउँ पनि छुट्याएको छ, अब हामीलाई उद्योग मन्त्रालयबाट कस्तो निर्देशन दिन्छ, त्यहीअनुसार अघि बढ्छौं,’ उनले भने ।

Fuel depots along runways, overcrowded at riskअहिलेको संरचनालाई जतिसक्दो चाँडो सुरक्षित स्थानान्तरण गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । ‘डिपो स्थानान्तरणबारे प्रधानमन्त्रीबाट पनि निर्देशन आएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट निगमलाई अध्ययन गर्न निर्देशन दिइसकेका छौं,’ भण्डारीले कान्तिपुरसित भने, ‘विमानस्थल विस्तार गर्ने क्रममा विमानस्थलको इन्धन डिपो सार्नुपर्ने प्राधिकरणको प्रस्ताव हो । नेपाली सेनाको पनि त्यस्तै प्रस्ताव छ । प्रधानमन्त्रीको निर्देशनपछि छलफल अगाडि बढाएका छौं ।’

हवाई इन्धन डिपो स्थानान्तरणका लागि प्राधिकरणले सन् २०१८ मा अध्ययन गरेको थियो । अध्ययनअनुसार हवाई इन्धन डिपो स्थानान्तरण गर्न ६ अर्ब रुपैयाँ लगानी चाहिन्छ । मूल्यवृद्धिका कारण लागत अझै बढ्ने अनुमान छ । त्यसका लागि अन्तर्राष्ट्रिय दातृनिकाय वा भारतीय आयल निगमको लगानीबारे पनि छलफल गरिने उनले बताए ।

Fuel depots along runways, overcrowded at riskआईकाओको मापदण्डअनुसार प्राधिकरणले जर्मनीको हंसा कन्सल्टेन्सीबाट हवाई इन्धन सार्नेबारे अध्ययन गराएको थियो । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा विमानस्थल विस्तार र डिपोको सुरक्षित स्थानान्तरका लागि अध्ययन गराएको थियो । ‘हंसाले विश्वमा १०० भन्दा बढी एयरपोर्टमा डिजाइन गरिसकेको छ, जसको अध्ययन निगमलाई दिएको छ,’ निगमका सिनामंगल डिपो प्रमुख यादवले भने, ‘अध्ययनले गुह्येश्वरीस्थित गल्फ कोर्सनजिकैको खाल्डो भएको क्षेत्र इन्धन भण्डारण सार्न उत्तम मानेको छ ।’

Fuel depots along runways, overcrowded at riskविमानस्थलको उत्तर र पश्चिमको कुना सबैभन्दा सुरक्षित हुने अध्ययनले देखाएको छ । प्राधिकरणले निगमलाई करिब ५० रोपनी जग्गा उपलब्ध गराउने सुनिश्चित गरिसकेको छ । प्रस्तावित डिपो विमानस्थलको रन–वेभन्दा करिब ५ सय मिटर टाढा रहेको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशक दीपेन्द्र श्रेष्ठले जनाए । जहाज चिप्लिएर ठोक्किए पनि अन्तर्राष्ट्रिय टर्मिनलमा ठोकिन्छ । डिपोसम्म पुग्दैन ।

Fuel depots along runways, overcrowded at riskप्रस्तावित इन्धन भण्डारणस्थलको अनुगमन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलगायत । 

‘जहाज दुर्घटना हुने भनेको ल्यान्डिङ र टेकअफमा हो, साउथबाट टेकअफ लिँदा जहाज कम्तीमा २ सय किलोमिटरको गतिमा हुन्छ । ५ सय मिटरदेखि १ किलोमिटर गुडेपछि जहाज टेकअफ हुन्छ । अहिले डिपो बीचमा पर्न आउँछ,’ यादवले भने, ‘जहाज रन–वेमा चिप्लिए पश्चिमतिर गए ट्यांकीमा ठोकिन्छ । डिपो सार्ने भनिएको संरचना खाल्डोमा छ, त्यसैले जहाज ठोक्किने सम्भावना कम हुन्छ ।’ 

Fuel depots along runways, overcrowded at riskसरकारको निर्देशनअनुसार नयाँ डिपो १५ देखि २० हजार किलोलिटर क्षमताको बन्छ । अहिले औसतमा १५ दिनलाई धान्ने क्षमता मात्र छ । अब नयाँ बन्ने डिपोको क्षमता १ महिनालाई पुग्ने हुनेछ । जहाजमा इन्धन भर्ने तरिकासमेत फरक पर्नेछ । हाल बाउजर (ट्यांकर) बाट जहाजमा इन्धन भरिन्छ । अन्तर्राष्ट्रिय प्रयोग भने ‘हाइड्रेन्ट सिस्टम’ हो । डिपो स्थानान्तरण गरिए नेपालमा पनि त्यही प्रणाली उपयोग गर्न सकिने डिपो प्रमुख यादव बताउँछन् । ‘मोटर चलाएपछि हवाई इन्धन सिधै जहाजमा लोड हुन्छ,’ उनले भने ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully