पाँचथर — मंगलबार सखारैदेखि फिदिम–४ का ९३ वर्षीय पदमप्रसाद चापागाईंको आँगनमा छुट्टै चहलपहल थियो । केही महिला दोपहर (पुवा) बनाउन व्यस्त थिए भने केही दुनाटपरी गाँस्दै थिए । ९ बजेतिर नौमती बाजा बजाउँदै एक टोली आइपुग्यो । टोलीका नाइकेलाई फेटा लगाइदिएर पदमप्रसादले सबैलाई फूलका गुच्छा दिएर स्वागत गरे ।
यो कसैको बिहे, व्रतबन्धको चटारो थिएन । पदमप्रसादले धान रोपाइँका लागि नौमती बाजा बजाएर बेठी लगाउन लागेका थिए । २०५२ अघि नियमित बेठी लगाएर रोपाइँ गर्ने परम्परा माओवादी सशस्त्र द्वन्द्वपछि हुन छोडेको थियो ।
‘युवा जतिले गाउँ छोड्दै गए, खेती गर्ने जनशक्तिको अभाव हुन थालेपछि रोपाइँ नै हुन छोड्यो, बेठी लगाउनु त परको कुरा भइहाल्यो, खेतीयोग्य जमिन बाँझिँदै गयो,’ पदमप्रसादले भने, ‘त्यही परम्परालाई हराउन दिनु हुँदैन भनेर फेरि सुरु गराएको हुँ ।’
उनले नौमती बजाउने टोलीसहित रोपाइँका लागि ५ हल गोरु, २९ रोपाहार, २१ बाउसे र ७ जना ब्याडेको पनि जोरजाम गरिसकेका थिए । सबै टोलीलाई खाना खुवाएर पदमप्रसादले बेंसी खेततर्फ ओराले । २९ वर्षपछि हुन लागेको बेठी हेर्न स्थानीय रमितेसहितको लर्को १५ मिनेटपछि फिदिम–५ स्थित मताने बेंसी पुग्यो ।
नौमती घन्कन थालेसँगै रोपाहार धानको ब्याडतिर बीउ काढ्न लागे, बाउसेहरू आली ताछ्न र लगाउन खटिए भने केही दाँते र फ्याउरी चलाएर हिलो सम्याउन जुटे । पदमप्रसादका छोरा लक्ष्मीले सिमे, भूमे र देवीदेवता पुकार्दै फसल राम्रो होस् भन्ने कामना गर्दै धानको बीउ चढाए । त्यसपछि सुरु भयो, हिलो छ्याप्दै, नौमतीको तालमा नाच्दै, गाउँदै रोपाइँ ।
रमितेका भीडले खेतका आली, कान्ला भरिभराउ भए । अपराह्न साढे २ बजेतिर सबै भेला भएर गाउँदेखि बोकेर ल्याएको दोपहर दुनाटपरीमा राखेर खाजा खाए । केहीबेरको आरामपछि पुनः त्यही क्रम चल्यो । साँझसम्मै खेत रोपाइँको रौनक चलिरह्यो ।
‘अहिलेको पुस्ताले पनि बेठी परम्परा जानोस् भनेरै जेनतेन खर्चपर्च जुटाएर यति गरें,’ यसका लागि पदमप्रसादले आफ्नो ज्येष्ठ नागरिक भत्ता खर्चेको बताउँदै थपे, ‘अर्को वर्षदेखि छोराहरूलाई पालो बाँधिदिन्छु, बाँचुन्जेल बर्सेनि बेठी लागेको हेर्ने रहर छ ।’ स्थानीयका अनुसार फिदिमका १, २, ३, ४ र ५ वडामा पहिले–पहिले बेठी लगाएर मात्र रोपाइँ गरिन्थ्यो ।
मंगलबार बेठी लाग्दा रमिता हेर्न आएका ज्येष्ठ नागरिक आफ्ना पालामा गरेको रमाइलो सम्झँदै थिए भने युवासँगै केटाकेटी अनौठो मानेर रमाइरहेका थिए । अधिकांश युवा पुस्ताका लागि बेठी पहिलो अनुभव थियो । ‘बेठीका विषयमा सुनेका त थियौं, हेर्न पाएका थिएनौं, आज प्रत्यक्ष सहभागी हुन पाइयो, खुब रमाइलो भयो,’ स्थानीय यामनाथ नेपालले भने । रोपाहार विष्णुदेवी भट्टराई पनि विवाह गरेर फिदिम आएको २४ वर्षपछि पहिलो पटक बेठीसहित रोपाइँमा सहभागी हुन पाएकामा खुसी थिइन् ।
बेठी हेर्न फिदिम आसपासका सर्वसाधारण मात्रै नभई स्थानीय जनप्रतिनिधि पनि आएका थिए । फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले बेठीसहित रोपाइँ गराएका पदमप्रसादलाई धन्यवाद दिए ।
लोप हुनै लागेको बेठी संस्कृतिको संरक्षण गर्दै मनोरञ्जनसहित किसानमा सामूहिक भावना जागृत गराएकामा नगर प्रमुख पदमप्रसादसँग खुसी थिए । नौमती बजाएर गोरु जोत्दै रोपाइँ गर्दा धान उत्पादनमा पनि वृद्वि हुने पदमप्रसादको विश्वास छ । भन्छन्, ‘धेरै मान्छे र गोरुले टेकेको हिलोमा धान सप्रिने भएकाले यसपालि उत्पादन पक्कै बढ्छ ।’
प्रकाशित : श्रावण ९, २०८१ ०६:४३