कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

ट्रेन्डिङमा ‘नेल आर्ट’

श्रावण १, २०८१
ट्रेन्डिङमा ‘नेल आर्ट’

काठमाडौँ — नङहरूमा ‘पेन्ट’ गर्ने, सजाउने, बढाउने र सुशोभित गर्ने रचनात्मक कार्य हो, ‘नेल आर्ट’ । यो एक प्रकारको कलाकृति हो, जुन हातगोडाका नङमा गर्न सकिन्छ । स्वास्थ्य, सौन्दर्य र फेसनसँग जोडिएको ‘नेल आर्ट’ नेपालमा भने डेढ दशकयता विस्तार भएको हो । पछिल्लो समय संसारभर प्रचलित र महँगो पेसा मानिएको ‘नेल आर्ट’का सेवाग्राही खासगरी व्यावसायिक महिला र सेलिब्रेटीहरू हुन् । 

ललितपुरको कुपन्डोलस्थित आर्डेन द ब्युटी पोइन्टकी ‘नेल टेक्निसियन’ प्रतीक्षा पोखरेलले ‘नेल आर्ट’को काम गर्दै आएको १२ वर्ष भइसक्यो । उनका अनुसार आर्डेनले ‘नेल आर्ट’का लागि यूकेका सामग्रीहरू प्रयोग गर्छ । पछिल्लो समय यो क्षेत्रमा पनि प्रतिस्पर्धा बढ्दै गएको उनी बताउँछिन् । ‘नेपालमा अहिले यो पेसामा प्रतिस्पर्धा पनि उत्तिकै बढ्दो छ,’ प्रतीक्षा भन्छिन्, ‘अहिले नेल तथा सौन्दर्यप्रति मात्र होइन, सेवा र मूल्यप्रति पनि मानिसहरू अत्यन्तै सचेत छन् ।’

अहिलेका मानिसले जीवनको महत्त्व बुझेका र हरेक क्षण आफूलाई ‘प्रिजेन्टेवल’ राख्न चाहने भएकाले पनि आम्दानीको केही अंश आफ्नो व्यक्तित्व विकासका लागि खर्चने उनको भनाइ छ । त्यसकारण पनि आजकल ‘नेल आर्ट’को बजार पनि विस्तार भएको हो । त्यसका साथै ‘नेल आर्ट’ले आत्मविश्वास बढाउने गरेको पनि कतिपयको अनुभव छ । त्यस्तै, यसले आफ्नो पेसा–व्यवसायमा थप अगाडि बढ्न सघाएको पनि कतिपय ‘सेलिब्रेटी’हरूको धारणा छ । ‘फरक तथा आकर्षक देखिन, आफ्नो व्यवसायमा फिट हुन, अनि रहरले पनि नेल आर्ट या एक्सटेन्सन गराउन आउनेको संख्या बढ्दै गएको हो,’ प्रतीक्षा भन्छिन्, ‘अहिले मानिसहरूले आफ्ना लागि पनि खर्च गर्ने कुरामा मन फुकाउँदै गएकाले यसमा आम्दानी पनि राम्रै छ ।’

विराटनगरमा विगतमा ६ वर्षदेखि ‘नेल आर्ट’ स्टुडियो सञ्चालन गर्दै आएकी बसन्ती गुरुङका अनुसार आजकलका हरेक विवाहमा दुलहीले ‘नेल’ बनाउने चलन अनिवार्य नै भएको छ । उनी भन्छिन्, ‘मुख्य त नेलबाट कमाइ हुने भनेकै विवाहको सिजनमा हो, अर्को यससम्बन्धी तालिम पनि हो । हरेक दुलहीले नेल बनाएकै हुन्छन् भने विदेश जाने ९० प्रतिशत महिलाले नेल आर्ट ट्रेनिङ लिएर जान्छन् ।’ बसन्ती ‘नेल आर्ट’ गरेरै मासिक २० देखि २५ हजार कमाइ गर्छिन् । यसअन्तर्गत ‘ब्लोन्ड, नेल आर्ट, हार्ड तथा सफ्ट जेलनेल, एक्रिक नेल, जेलनेल रिमुभ, नेल एक्सटेन्सन’ लगायतका काम पर्छन् ।

करिब एक दशकदेखि सौन्दर्य क्षेत्रमा सक्रिय बन्दना राउत ‘नेल टेक्निसियन’ हुन् । उनको अनुभवमा पनि पछिल्लो समय ‘नेल आर्टको ट्रेन्ड’ बढेको छ । ‘महिलाहरू व्यावसायिक हुँदै जानु, उनीहरू पनि कामका लागि विदेश जाने लहड बढ्नुका साथै विश्वभर बुम भइरहेको फेसन ट्रेन्डका कारण पनि यो बढेको हो ।’ कामका लागि विदेश जाने हरेक महिला ‘नेल आर्ट’ तालिम लिन आउने गरेको उनी बताउँछिन् । थुप्रै ‘सेलिब्रेटी’हरूको नङ बनाइसकेकी बन्दना भन्छिन्, ‘यसमा कमाइ मात्र होइन, नाम र इज्जत पनि राम्रो छ । अर्को कुरा महिलाका लागि यो क्षेत्र सहज र अनुकूल पनि छ । नङ पछिल्लो समय सुन्दरता र फेसनसँग जोडिएर आएको छ । मानिसको व्यक्तित्व बढाउन पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ ।’ उनका अनुसार एक हजारदेखि पाँच हजारसम्ममा सामान्यतया दुइटा हातको नङ बनाउन सकिन्छ । यसभित्र ‘नेल आर्ट, जेलनेल एक्सटेन्सन तथा थ्रीडी’ पर्छ । हातलाई सुन्दर र आकर्षक देखाउन पैसा खर्चिनेहरू बढ्दै गएको बन्दना बताउँछिन् ।

स्नातक अध्ययनरत मायरा प्रधान नङ व्यवसायप्रति आकर्षित भइरहेका युवा जमातको प्रतिनिधि पात्र हुन् । ‘सुरुमा त कक्षा १२ को अध्ययनपछि विदेश गइहाल्ने कि भन्ने सोचले कुनै न कुनै सीप सिकेर जानुपर्‍यो भनेर नेल आर्ट सिकें,’ यो पेसाप्रति आकर्षित हुनुको कारण बताउँदै मायरा भन्छिन्, ‘क्रमशः यसबारे बुझ्दै जाँदा यहीं पनि यसको राम्रो मार्केट रहेछ । पढ्दै काम गर्दै अझै आफूलाई निखार्ने इच्छा भयो । अहिले म फ्रिल्यान्सिङ नेल आर्टिस्टका रूपमा काम गरिरहेकी छु ।’ हाल उनको कमाइ पनि राम्रै छ । थप अध्ययनका लागि विदेश गइहालियो भने पनि यसमा दक्ष भएर जाँदा राम्रै कमाइ हुन्छ भन्ने सुनेको उनी बताउँछिन् । मायराले ‘नेल आर्ट, नेल एक्सटेन्सन, एक्रेलिक एक्सटेन्सन, स्टोन, नेल डिजाइन, थ्रीडी आर्ट’ गर्ने गरेकी छन् ।

किशोरकिशोरीदेखि वयस्कसम्मका जुनसुकै पेसा, व्यवसायमा आबद्ध मात्र होइन, गृहिणीसम्मले मन पराएको ‘नेल आर्ट’ नेपालमा पनि तीव्र रूपमा विस्तार हुनुको पछाडि के छ कारण ? मायरा भन्छिन्, ‘पहिलो कुरा त यो फेसनका रूपमा बुम भयो र ट्रेन्डिङमै गयो । दोस्रो, हाल ठूलो संख्याका महिलाहरू वर्कफोर्सका रूपमा बाहिर आइरहेका छन् । हरहिसाबले उनीहरू आफ्नो कन्फिडेन्स बढाउन चाहन्छन् । नेल आर्टले हात सुन्दर देखिने र त्यसले अरूका अगाडि आफ्नो आत्मविश्वास बढेको कुरा धेरै ग्राहकहरू बताउँछन् । कतिपयले सौखका लागि त कतिले सुन्दरताका लागि नेल आर्ट गर्छन् ।’

‘नेल आर्टको डिजाइन’, त्यसमा प्रयोग गरिने सामानको गुणस्तर र प्रकारअनुसार यसको मूल्य निर्धारण हुन्छ । महँगा सामग्री जस्तै : थ्रीडी आर्ट, बहुमूल्य स्टोन जडित नङ बनाउँदा समय र पैसा दुवै बढी लाग्छ । सामान्यता एक हजारदेखि ३० हजारसम्मको शुल्क तिर्दा जस्तोसुकै डिजाइन र सामग्री प्रयोग गरेर ‘नेल आर्ट, नेलडिजाइन, नेल एक्सटेन्सन’ गर्न सकिन्छ ।

लामो समयदेखि ‘नेल आर्टिस्ट’को काम गरेकी प्रविना नकर्मीले बसन्तपुरमा ‘ग्ल्याम बक्स बाइ प्रविना’ सञ्चालनमा ल्याएको ४ वर्ष भयो । उनी भन्छिन्, ‘यो क्षेत्रप्रति पहिल्यैदेखि नै रुचि थियो । त्यसैलाई मैले व्यवसायमा बदलें । नेपालमा यो ‘ग्रोइङ मार्केट’ हो । अहिले त युवतीदेखि वयस्कसम्म यसका सेवाग्राही छन् ।’ यो पेसामार्फत आफूलाई नाम, दाम, प्रतिष्ठा सबै मिलेको बताउँछिन् उनी । उनीकहाँ १२ सयदेखि २७ सयसम्मका ‘नेल आर्ट’सम्बन्धी सेवा उपलब्ध छन् । यसभित्र आफूले चाहेको ‘डिजाइन र जेल नेल एक्सटेन्सन’ पर्छ ।

यससम्बन्धी ७ दिने, १५ दिने, ३० दिने र ४५ दिने तालिम हुन्छ । जसको ५ हजार ५ सय, १२ हजार ५ सय, २२ हजार ५ सय र ३० हजार ५ सय शुल्क लाग्छ । प्रविनाका अनुसार विदेश जाने युवायुवतीले बढी मात्रामा यो तालिम लिन्छन् । ‘यो व्यवासयमा म सन्तुष्ट छु । खाली बस्नु पर्दैन । सिजनका बेला एक दिनमा ३ जना स्टाफले करिब २० जनासम्मको ‘नेल आर्ट गर्छन् ।’ प्रविनाले सुनाइन्, ‘हाम्रा ग्राहकमा विविधता छ । हरेक उमेर समूह र पेसाका महिलाले नेल आर्ट गर्न थालेका छन् । हातहरू सुन्दर बनाउन र बानी परेकाहरू पटक–पटक आउने गर्छन् । एक पटक बानी परेपछि उनीहरू ‘ह्याविच्युअल’ हुन्छन् । नगरी बस्न उनीहरूलाई असहज हुने गर्छ ।’

विगत २५ वर्षदेखि ‘मेहेन्दी डिजाइन’मा काम गर्दै आएका मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टर डिल्लीबजारका सञ्चालक कुलदीप गुप्ताले नेपालमा ‘नेल आर्टको स्कोप’ देखेर करिब ५ वर्षअघि सेवा दिन थाले । त्यतिमात्रै होइन, उनले ‘नेल आर्ट ट्रेनिङ’ दिनसमेत थाले । ‘मेहेन्दीको मात्रै काम गर्दा भन्दा अहिले नेल आर्ट सेवा र यसको तालिम थपेपछि ग्राहक दोब्बर बढेका छन्,’ उनी भन्छन्, ‘कमाइले पनि उचाइ लिँदै गएको छ । खासगरी हामीकहाँ विदेश जानेहरूले नेल आर्टको तालिम लिन आउँछन् ।’

नेल बनाउन आउनेहरू भने अधिकांश व्यावसायिक महिला रहेको उनले बताए । त्यसो त अहिले महिला मात्रै नभएर यौनिक तथा अल्पसंख्यक समुदायका मानिस पनि ‘नेल आर्ट’का ग्राहक हुन् । उनीहरू लुक्स परिवर्तन गर्न, सुन्दर र आकर्षक देखिन यसप्रति आकर्षित हुने गरेको ‘नेल आर्टिस्ट’हरू बताउँछन् ।

प्रकाशित : श्रावण १, २०८१ ०८:००
x
×