गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृहका कम्प्युटर अपरेटर विष्ट पक्राउ

असार २७, २०८१

कान्तिपुर संवाददाता

Bishta, the computer operator of the home who forced to send the home minister and secretary abroad on a visit visa, was arrested

काठमाडौँ — गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्।

विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते (शुक्रबार) थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए।  

प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको थियो। गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते (मंगलबार) विष्टलाई सेवाबाट हटाएका थिए। 

मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी ओम रानाले विष्टलाई ब्यूरोको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताए । 'भिजिट भिसामा गैरकानूनीरुपमा पठाउनलाई मन्त्री र सचिवको समेत नाम जोडेर रकम असुलेको भन्दै उजुरी परेको थियो । त्यही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो,' उनले भने । 

जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई गृहमन्त्रीले बिहीबार मन्त्रालयबाटै पक्रन लगाएका हुन्। भिजिट भिसामा गैरकानूनी रुपमा मान्छे पठाउने काम गरिरहेको आशंकामा थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाएर पठाइएको छ।

विष्टलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो। विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए।

कान्तिपुर

Link copied successfully