कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

उपसभामुख हटाउन खोजे माओवादीले प्रतिवाद गर्ने

भाद्र २५, २०८१
उपसभामुख हटाउन खोजे माओवादीले प्रतिवाद गर्ने

काठमाडौँ — सत्तारुढ दलले पदीय आचरणको विवादमा परेकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन खोजे माओवादीले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएकाे छ ।

सत्तारुढ दलले रानालाई मार्गप्रशस्त गर्न आग्रह गरेपछि उपसभामुख हटाउन खाेजेकाे भन्दै माओवादी सचिव एव‌ं सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा बैठकमा त्यसकाे प्रतिवाद गर्ने बताएका हुन् ।
‘उपसभामुखज्यूले सदनको कुनै पनि सदस्यको स्वीकृति लिएर भिसा प्राप्त गर्ने होइन । योभन्दा पहिले गएकाहरुले के के गर्नुभयो ? त्यो पनि हिसाबकिताब गर्न अनुरोध गर्न चाहन्छौ,’ पाैडेलले मंगलबार प्रतिनिधिसभामा भने, ‘उहाँलाई नैतिकताको प्रश्न उठाएर हृयुमिलेसन गर्न खोज्ने ? म उपसभामुखलाई भन्न चाहन्छु, हामी छौं तपाईंको साथमा । हामी प्रतिवाद गर्छौं । ढुक्क हुनुहोला ।’ जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्छु भनेर आएको नारीलाई अपमान नगर्न पनि पौडेलले चेतावनी दिएका छन् ।

सामाजिक सेवाबाट आएकी उपसभामुख रानालाई सत्तारुढ दलको दुईतिहाइको बलले हटाउन खोज्नु दुःखद भएको उनले बताए । ‘एक जना महिला जो सामाजिक सेवामा काम गरेर आउनु भएको छ, त्यस्ताे महिला उपसभामुखलाई दुईतिहाइ सरकारले हटाउन खोज्नु दुःखदायी छ,’ उनले भने, ‘यसले लोकतन्त्र अघि बढ्न सक्दैन । सहकार्यको प्रणाली सरकारले गम्भीरतापूर्वक सुनोस् । यदि हो भने यस्ताे काम नगर्नका लागि हामी खबरदारी पनि गर्न चाहन्छाै‌ं ।’
उनले कसैप्रति प्रश्न उठ्ने बित्तिकै राजीनामा दिने हो भने सरकारका धेरै मन्त्रीले पद छाड्नु पर्ने अवस्था आउने बताए । ‘प्रश्न उठेर राजीनामा दिने हो भने दसाै‌ं मन्त्रीका बारे प्रश्न उठेको छ । राजीनामा दिन तयार हुनुहुन्छ ?’ उनले भने, ‘लाउडामा प्रश्न उठ्यो, वाइडबडीमा प्रश्न उठ्यो । भुटानी शरणार्थीमा प्रश्न उठ्यो, बालुवाटार जग्गामा प्रश्न उठ्यो, गिरीबन्धु टी स्टेटमा प्रश्न उठ्यो । राजीनामा दिन तयार हुनुहुन्छ ? छानबिन होस् । एक जना सामाजिक सेवाबाट आएको उपसभामुखलाई शक्तिको प्रयोग गर्ने ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीलाई एक ‘राउन्ड किक’ ले ढलाएको प्रसंग उल्लेख गर्दै पौडेलले त्यो किक उपसभामुखविरुद्ध प्रयोग गरेको दाबी गरे । ‘प्रधानमन्त्रीको त्यही राउन्ड किक अहिले उपसभमुखमाथि प्रयोग हुँदैछ,’ उनले भने ।
उनले संविधान धर्मग्रन्थ नभएको भन्दै कांग्रेस र एमालेले राति १२ बजे दुई दल बसेर प्रधामन्त्री फेर्ने तुरुपको रुपमा प्रयोग भएको उल्लेख गरे । ‘यो संविधान ७० वर्षसम्म नेपाली जनताका छोरोछोरीहरु उत्पीडित जातजाति, मधेशी, आदिवासीले आँसु पसिना र रगतले लेखिएको हो । यसका चार खम्बा छन् । सघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी छन्,’ उनले भने, ‘चार खम्बामध्ये कुनले डिस्टर्ब गर्‍यो ? काम गर्ने कालु मकै खाने भालु ? जनताले लडेर संविधान ल्याउने, सत्ता फेर्ने तुरुपको रुपमा हुन सक्दैन ।’ उनले संविधान सशोधन गर्ने हो भने प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने प्रक्रियामा अघि बढ्न पनि चेतावनी दिए ।

प्रकाशित : भाद्र २५, २०८१ १५:४४
×