लेखा समिति सभापति फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेरौं : बाँस्कोटा

भाद्र ९, २०८१

कान्तिपुर संवाददाता

If the Chairman of the Accounts Committee is to be changed, then the Speaker and Deputy Speaker of the National Assembly should also be changed: Baskota

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद गोकुल बाँस्कोटाले सार्वजनिक लेखा समितिको सभापति परिवर्तन गर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि परिवर्तन गर्नुपर्ने बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरू अमनलाल मोदी र लेखनाथ दाहालले सार्वजनिक लेखा समिति सभापति परिवर्तन गर्नुपर्ने बताएका थिए । कांग्रेस सांसद अर्जुननरसिंह केसीले पनि सार्वजनिक लेखा समिति सभापति प्रतिपक्षलाई दिने संसदीय अभ्यास रहेको बताएका थिए । 

सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा एमाले सांसद बास्कोटाले भने सभापति परिवर्तन गर्ने हो भने राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख  पनि फेरिनुपर्ने तर्क गरेका हुन् । सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल छन् । राष्ट्रिय सभा अध्यक्षमा राष्ट्रपतिबाट मनोनित नारायणप्रसाद दाहाल छन् । उनी माओवादी केन्द्रका नेता थिए । 

सार्वजनिक लेखा समितिको सभापति परिवर्तन गरी प्रतिपक्षी दललाई दिनुपर्ने माग उठेको विरोध एमालेका सांसदहरूले गरिरहेका छन् । 'सार्वजनिक लेखा समितिको सभापति फेर्ने भए राष्ट्रिय सभाको अध्यक्ष र प्रतिपनिधिसभाको उपसभामुख पनि फेरौं । फेर्ने कुरा सहमति बनाएर फेर्नुस्, अनि कुरा गरौंला,' उनले भने । 

बास्कोटाले सार्वजनिक लेखा समिति मात्रै नभई अन्य समितिका सभापति पनि परिवर्तन गर्नुपर्ने तर्क गरेका छन् । माओवादी केन्द्रकी सांसद विमला सुवेदी प्रतिनिधिसभाको कानुन,न्याय तथा मानवअधिकार समिति सभापति छन् भने प्रतिपक्षमा रहेको राप्रपाका सांसद दीपकबहादुर सिंह विकास समिति सभापति छन् । एमालेको नेतृत्वमा संसद्को ठूलो दल कांग्रेस पनि सरकारमा रहेको छ ।

एमाले सांसदहरूले विगतमा पनि सभापति सत्तापक्षमा रहेको बताउँदै अब पनि सत्तापक्षमा राख्दा प्रतिपक्षले आपत्ति जनाउन नहुने तर्क गरेका छन् । 

अघिल्लो प्रतिनिधिसभामा कांग्रेसका भरत शाह लेखा समिति सभापति हुँदा एमालेले बैठक बहिस्कार गरेको थियो । त्यतिबेला संसद् अदालतले पुनर्स्थापना गरेको विरोधमा समिति बैठक बहिष्कार गरेको बास्कोटाले बताए । 

कान्तिपुर

Link copied successfully