कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

लेखा समिति सभापति फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेरौं : बाँस्कोटा

लेखा समिति सभापति फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेरौं : बाँस्कोटा

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद गोकुल बाँस्कोटाले सार्वजनिक लेखा समितिको सभापति परिवर्तन गर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि परिवर्तन गर्नुपर्ने बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरू अमनलाल मोदी र लेखनाथ दाहालले सार्वजनिक लेखा समिति सभापति परिवर्तन गर्नुपर्ने बताएका थिए । कांग्रेस सांसद अर्जुननरसिंह केसीले पनि सार्वजनिक लेखा समिति सभापति प्रतिपक्षलाई दिने संसदीय अभ्यास रहेको बताएका थिए ।

सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा एमाले सांसद बास्कोटाले भने सभापति परिवर्तन गर्ने हो भने राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेरिनुपर्ने तर्क गरेका हुन् । सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल छन् । राष्ट्रिय सभा अध्यक्षमा राष्ट्रपतिबाट मनोनित नारायणप्रसाद दाहाल छन् । उनी माओवादी केन्द्रका नेता थिए ।

सार्वजनिक लेखा समितिको सभापति परिवर्तन गरी प्रतिपक्षी दललाई दिनुपर्ने माग उठेको विरोध एमालेका सांसदहरूले गरिरहेका छन् । 'सार्वजनिक लेखा समितिको सभापति फेर्ने भए राष्ट्रिय सभाको अध्यक्ष र प्रतिपनिधिसभाको उपसभामुख पनि फेरौं । फेर्ने कुरा सहमति बनाएर फेर्नुस्, अनि कुरा गरौंला,' उनले भने ।

बास्कोटाले सार्वजनिक लेखा समिति मात्रै नभई अन्य समितिका सभापति पनि परिवर्तन गर्नुपर्ने तर्क गरेका छन् । माओवादी केन्द्रकी सांसद विमला सुवेदी प्रतिनिधिसभाको कानुन,न्याय तथा मानवअधिकार समिति सभापति छन् भने प्रतिपक्षमा रहेको राप्रपाका सांसद दीपकबहादुर सिंह विकास समिति सभापति छन् । एमालेको नेतृत्वमा संसद्को ठूलो दल कांग्रेस पनि सरकारमा रहेको छ ।

एमाले सांसदहरूले विगतमा पनि सभापति सत्तापक्षमा रहेको बताउँदै अब पनि सत्तापक्षमा राख्दा प्रतिपक्षले आपत्ति जनाउन नहुने तर्क गरेका छन् ।

अघिल्लो प्रतिनिधिसभामा कांग्रेसका भरत शाह लेखा समिति सभापति हुँदा एमालेले बैठक बहिस्कार गरेको थियो । त्यतिबेला संसद् अदालतले पुनर्स्थापना गरेको विरोधमा समिति बैठक बहिष्कार गरेको बास्कोटाले बताए ।

प्रकाशित : भाद्र ९, २०८१ १५:५६
x
×