कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

मानव तस्करीको आरोपमा उपसभामुख रानामगरमाथि छानबिन गर्न सांसदहरुको माग

श्रावण ९, २०८१
मानव तस्करीको आरोपमा उपसभामुख रानामगरमाथि छानबिन गर्न सांसदहरुको माग

काठमाडौँ — सांसदहरुले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरमाथि छानबिन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले उपसभामुख रानामगरमाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानबिन गर्न माग गरेका हुन् ।

सांसदहरुले उपसभामुखमाथि गम्भीर आरोप लागेपछि प्रतिनिधिसभाको गरिमामाथि नै प्रश्न उठ्ने भन्दै तत्काल छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् ।

बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु लज्जास्पद विषय भएको बताइन् । उनले उपसभामुखमाथि प्रश्न उठ्नुले सांसदहरुको शिर निहुरिएको धारणा राखिन् । छानबिन गरी निर्दोष भए दोषबाट मुक्त गराउनुपर्ने र दोषी देखिएमा कानूनी कठघरामा उभ्याउनुपर्ने उनको भनाइ थियो ।

उनले भनिन्, 'यो निकै लज्जास्पद विषय हो । वास्तवमा हामी सांसदहरुले शिर निहुराउनुपर्ने अवस्था भएको छ । देशको सम्मानित पदमा बसेको व्यक्तिले गर्नुभयो कि गर्नुभएन थाहा छैन । तर यसको छानबिन हुनुपर्छ कि पर्दैन ? गर्नुभएको छैन भनेपनि उहाँ त्यो दोषबाट मुक्त हुनुपर्छ । हामीलाई हेर्ने बाहिरको देशले नेपालको उपसभामुख मानव बेचबिखनको धन्दामा यसरी अग्रसर भएको छ भनेर बाहिर नभनोस् । यदि त्यसमा हुनुहुन्न भनेपनि छानबिन होस् र दोषबाट मुक्त होस् । मैले भन्दै गर्दा मेरो देशको उपसभामुखलाई यो चार्ज लागेको थियो तर होइन रहेछ भन्न पाउँ । हो भने उहाँ कठघरामा उभिनुपर्छ । उपसभामुख भनेर उहाँले त्यसबाट उन्मुक्ति पाउनु हुँदैन ।’

नेकपा एमालेका सांसद रघुजी पन्तले उपसभामुख रानाको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी समेत आएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएर समितिले कदम चाल्नुपर्ने बताए । उनले कानूनी र राजनीतिक पक्षलाई समेत हेरेर विषय अगाडि बढाउनुपर्ने धारणा राखे ।

समितिको काममाथि प्रश्न नउठ्ने गरी उपसभामुखमाथिको यस प्रकरणमा समितिले काम गर्नुपर्नेमा उनको जोड थियो । 'उपसभामुखको विषयमा हामी कहाँ निवेदन पनि आएको छ । यसलाई के गर्ने ? यसको कानूनी, राजनीतिक सबै पक्षहरुलाई गम्भीरतापूर्वक हेरेर के गर्न मिल्छ ? फेरि हामीले गरेको काममाथि प्रश्न पनि कतै बाट नउठोस् । उपसभामुख हुनुहुन्छ, किन यसरी गरियो भन्ने प्रश्न पनि नउठोस् । कानूनी र वैधानिक रुपले पनि हामीले केही गर्छौ भने कुनै कदम चाल्छौँ भने त्यसको आधार हुनुपर्छ,' उनले भने ।

प्रकाशित : श्रावण ९, २०८१ १५:११
x
×