पदीय दुरुपयोगको आरोपमा उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

श्रावण ४, २०८१

कान्तिपुर संवाददाता

Complaint against the Deputy Speaker Ranamargar on the charge of abuse of office in the state system of Parliament

काठमाडौँ — उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् ।

उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ । समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारेमा सभामुख देवराज घिमिरेलाई जानकारी गरेको बताए ।

'उपसभामुखले अनाधिकृत व्यक्तिलाई भिसा सिफारिस गरेको सम्बन्धमा सभामुखलाई जानकारी गराउँदै यसबारेमा छलफल गर्नुपर्ने आवश्यक छ,' उनले भने, 'यो संसद्‌‌को नियम र गरिमाविपरीत उपसभामुखबाट काम भएको देखियो ।'

उनले उपसभामुख रानामगरसमेत उपस्थित भएको संसद्‌को कार्य व्यवस्था परामर्श समितिमा यसबारे सभामुखसँग छलफल गरेको उल्लेख गरे । 'सभामुखज्यूले यो विषय गम्भीर भएकाले कार्य व्यवस्था परामर्श समितिको अर्को बैठकमा छलफल गर्न सकिने बताउनुभयो,' उनले भने ।   

उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो । संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो । त्यही कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई आफूसँग लाने प्रक्रिया अघि बढाएकी थिइन् । 

आफूसँगै ६ जना यो कार्यक्रममा जान लागेको भन्दै उनले भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर पत्र लेखेकी थिइन् । 

जबकि, संसद्का पदाधिकारी, सांसद र कर्मचारीको भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत परराष्ट्रय मन्त्रालयले गर्छ । तर, अनधिकृत व्यक्तिको भिसा प्रक्रिया अघि बढाएकाले उपसभामुख आफैंले पत्र लेखेकी थिइन् । उपसभामुखमा निर्वाचित हुनुअघि रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद थिइन् । तर, यस विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समेत गुपचुप राखेको थियो ।

यो पनि

उपसभामुखको पदीय आचरण विवाद

कान्तिपुर

Link copied successfully