कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पदीय दुरुपयोगको आरोपमा उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

श्रावण ४, २०८१
पदीय दुरुपयोगको आरोपमा उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

काठमाडौँ — उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् ।

उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ । समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारेमा सभामुख देवराज घिमिरेलाई जानकारी गरेको बताए ।

'उपसभामुखले अनाधिकृत व्यक्तिलाई भिसा सिफारिस गरेको सम्बन्धमा सभामुखलाई जानकारी गराउँदै यसबारेमा छलफल गर्नुपर्ने आवश्यक छ,' उनले भने, 'यो संसद्‌‌को नियम र गरिमाविपरीत उपसभामुखबाट काम भएको देखियो ।'

उनले उपसभामुख रानामगरसमेत उपस्थित भएको संसद्‌को कार्य व्यवस्था परामर्श समितिमा यसबारे सभामुखसँग छलफल गरेको उल्लेख गरे । 'सभामुखज्यूले यो विषय गम्भीर भएकाले कार्य व्यवस्था परामर्श समितिको अर्को बैठकमा छलफल गर्न सकिने बताउनुभयो,' उनले भने ।

उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो । संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो । त्यही कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई आफूसँग लाने प्रक्रिया अघि बढाएकी थिइन् ।

आफूसँगै ६ जना यो कार्यक्रममा जान लागेको भन्दै उनले भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर पत्र लेखेकी थिइन् ।

जबकि, संसद्का पदाधिकारी, सांसद र कर्मचारीको भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत परराष्ट्रय मन्त्रालयले गर्छ । तर, अनधिकृत व्यक्तिको भिसा प्रक्रिया अघि बढाएकाले उपसभामुख आफैंले पत्र लेखेकी थिइन् । उपसभामुखमा निर्वाचित हुनुअघि रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद थिइन् । तर, यस विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समेत गुपचुप राखेको थियो ।

यो पनि


प्रकाशित : श्रावण ४, २०८१ १८:१७
×