कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

उपसभामुख रानालाई पद छाडेर मार्गप्रशस्त गर्न सत्तारुढ दलले आग्रह गर्ने

भाद्र २५, २०८१
उपसभामुख रानालाई पद छाडेर मार्गप्रशस्त गर्न सत्तारुढ दलले आग्रह गर्ने

काठमाडौँ — सत्तारुढ दलहरूले पदीय आचरणको विवादमा परेकी उपसभामुख इन्दिरा राना मगरलाई पद छोडेर मार्गप्रशस्त गर्न आग्रह गर्ने भएका छन् । उनलाई सुरुमा पद छाड्नका लागि आग्रह गर्ने नमानेको अवस्थामा उनीविरुद्ध पदीय आचरणको अनुकूल काम नगरेको भन्ने महाभियोग प्रस्ताव अघि बढाउने तयारी गरेका छन् ।

कांग्रेस र एमालेका शीर्ष नेताहरूको आइतबार र सत्ता समर्थक दलहरूको सोमबारको बैठकमा उपसभामुखको विषयमा कुरा उठेको थियो । प्रधानन्यायाधीशलगायतका संवैधानिक नियुक्तिमा अप्ठेरो हुने भयो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानालाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

कांग्रेसका एक नेताका अनुसार सुरूमा उनलाई आग्रह गर्ने आग्रह नमानेको अवस्थामा प्रस्ताव अघि बढाउने तयारी छ । मंगलबारको संसद्को बैठकमै पनि यो कुरा उठाउने ती नेताले बताए ।

उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो । संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो ।

त्यही कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई आफूसँग लाने प्रक्रिया अघि बढाएकी थिइन् ।

आफूसँगै ६ जना यो कार्यक्रममा जान लागेको भन्दै उनले भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर पत्र लेखेकी थिइन् ।जबकि, संसद्का पदाधिकारी, सांसद र कर्मचारीको भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत परराष्ट्रय मन्त्रालयले गर्छ ।

तर, अनधिकृत व्यक्तिको भिसा प्रक्रिया अघि बढाएकाले उपसभामुख आफैंले पत्र लेखेकी थिइन् । उपसभामुखमा निर्वाचित हुनुअघि रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद थिइन् । तर, यस विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समेत गुपचुप राखेको थियो ।

प्रकाशित : भाद्र २५, २०८१ १३:१३
x
×