कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कसैले उक्साएको भरमा सहकारी पीडितको आन्दोलन : लामिछाने

भाद्र २५, २०८१
कसैले उक्साएको भरमा सहकारी पीडितको आन्दोलन : लामिछाने

पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कसैले उचालेकै भरमा सहकारीपीडितले आन्दोलन गरेको आरोप लगाएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा आउने क्रममा उनलाई सहकारीपीडितले कालो झन्डा देखाएपछि उक्त प्रतिक्रिया दिएका हुन् । 

बैठकस्थल पोखराको विरौटामा रहेको ग्यालेक्सी बैंक्वेटमा प्रवेश गर्ने क्रममा मंगलबार सूर्यदर्शन सहकारीपीडितले नाराबाजी गर्दै उनलाई कालो झन्डा देखाएका थिए । बैठकलाई सम्बोधन गर्दै उनले सूर्यदर्शन सहकारी ठगीमा कसैले उचालिदिएका भरमा पीडित उचालिएको आरोप लगाए । ‘सहकारी पीडितका लागि लड्नुभएको भए मेरो साथ छ । सलाम छ । तपाईंहरूले गल्ती गर्नुभएको छ । जो मानिसले गल्ती गरेको छैन, जो मान्छे अपराधमा संलग्न छैन, उसैलाई दोषीझैं गरी कसैले उक्साएको भरमा तपाईंले जुन विरोध गरिरहनुभएको छ, तपाईंले विरोध नगरिदिनुभएको भए तपाईंको न्यायका लागि लड्ने मान्छेको अग्रपंक्तिमा रवि लामिछाने हुने थियो,’ उनले भने, ‘तपाईंले मौका गुमाउनुभएको छ ।’

सहकारीपीडितले गलत मान्छेलाई ‘टार्गेट’ गरेर अपराध गरेको समेत उनले बताए । ‘कस्तो संघर्ष समिति हो ? अपराध गर्दै हुनुहुन्छ साथीहरू । संघर्ष समितिको नाममा अपराध !,’ उनले भने, ‘लाखौं सहकारीपीडितमाथि अन्याय गर्दै हुनुहुन्छ । तपाईंले गलत मान्छेलाई टार्गेट गरेर ।’

उनले वास्तविक सहकारी ठगलाई छाडेर आफूमाथि केन्द्रित हुँदा विषय अन्तै मोडिएको जिकिर गरे । उनले भने, ‘लाखौं सहकारीको बचतकर्ताको रकम फिर्ता दिनुपर्ने विषय, त्यो आन्दोलनमा हामी पनि पनि अग्रपंक्तिमा आउनुपर्ने ठाउँमा गलत मान्छेलाई आरोप लगाएर विषय अन्तै मोड्नुभएको छ ।’

उनले आफू अझै पनि पीडितका पक्षमा लड्न तयार रहेको भन्दै आँखा खोल्न पीडितलाई आग्रह गरे । ‘म अझै भन्न चाहन्छु, साथी हो । कहाँ जाने लड्न ? म अझै पनि तयार छु,’ उनले भने, ‘तपाईंका अनेक मुर्दावाद, जिन्दावाद, कालो झन्डाबीच पनि म कालो मन होइन, सफा मन लिएर तपाईंको आन्दोलनमा अग्रपंक्तिमा लड्न चाहन्छु, आँखा खोल्नुस् ।’

आफूविरूद्ध प्रमाण ल्याए बैठकस्थलबाटै राजनीति त्याग्न तयार रहेको उनको दाबी थियो । ‘ममाथि केन्द्रित हुन पर्दैन । मलाई एउटा प्रमाण भए पुग्छ । चिन्ता तपाईंलाई सहकारी पीडितको हो भने पीडितका लागि लड्नुस् । मलाई बोलाउनुस् न,’ उनले भने, ‘अग्रपंक्तिमा कहाँ जिन्दावाद, कहाँ मुर्दावाद म भन्न तयार छु । खोयाबाट सुरू भएको यो काण्ड खोयामै टुंगिन्छ ।’ गत पुस ७ गते पोखराको अमरसिंह चौरमा भएको रास्वपाको सभामा उनीमाथि खोया प्रहार भएको थियो ।

प्रकाशित : भाद्र २५, २०८१ १८:१५
×