कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संसद्‌को गरिमा बचाउन उपसभामुखले राजीनामा दिनुपर्छ : सांसद गिरी

भाद्र २५, २०८१
संसद्‌को गरिमा बचाउन उपसभामुखले राजीनामा दिनुपर्छ : सांसद गिरी

काठमाडौँ — सत्तारुढ नेकपा (एमाले)का सांसद पदम गिरीले संसद्‌को गरिमालाई बचाउनका लागि उपसभामुख इन्दिरा रानामगरले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्

प्रतिनिधिसभा बैठकको विशेष समयमा मंगलबार बोल्दै सांसद गिरीले उपसभामुख रानाले संसद्‌ बाहिरका व्यक्तिहरुलाई अमेरिका लान आफ्नो लेटरप्याड प्रयोग गरी दूतावासमा पत्र लेख्नुले संसद्‌को गरिमामा आँच पुगेको बताए । उपसभामुखको कदमले सांसदहरुको शिर निहुराएको र लज्जित बनाएको उनको भनाइ छ ।

उनले उपसभामुखले पदीय मर्यादाअनुरुप काम गर्न नसकेको भन्दै पदबाट राजीनामा दिन आग्रह गरे ।

संसद्‌को मर्यादा कायम राख्नका लागि उपसभामुखको राजीनामा आउनुपर्ने उनको तर्क छ । ‘उपसभामुखले यो संसद्‌को गरिमालाई बचाउनका निम्ति पनि आफ्नो पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्दा यो संसदको गरिमा उँचो हुन्छ । सिंगो संसद्‌को मर्यादाको निम्ति उहाँले यो कदम चाल्नुपर्छ,’ उनले भने ।

अमेरिकाको न्युयोर्क सहरमा महिलाहरुको एउटा कार्यक्रममा जानको निम्ति वैदेशिक रोजगार व्यवसायीहरुको मिलेमतोमा संसद् बाहिरका ४/५ जना मान्छेहरुलाई आफ्नो लेटरप्याड प्रयोग गरेर दूतावासमा पत्र लेखेर उपसभामुख रानामगर दूतावास धाउने कुराले सिगो संसद्को गरिमामा आँच आएको उनको भनाइ थियो ।

उपसभामुख रानामगरको राजीनामा माग्नु कुनै प्रतिशोधको कुरा नभएको सांसद गिरीले दाबी गरे ।

प्रकाशित : भाद्र २५, २०८१ १७:०८
×