कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

मुलुकको भौगोलिक अखण्डता र सीमा रक्षा गर्न सेना पूर्ण प्रतिबद्ध छ : रक्षामन्त्री खड्का 

मुलुकको भौगोलिक अखण्डता र सीमा रक्षा गर्न सेना पूर्ण प्रतिबद्ध छ : रक्षामन्त्री खड्का 

काठमाडौँ — उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना भौगोलिक अखण्डता र सीमाको रक्षा गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । उनले नेपालको भौगोलिक रक्षामा सेनाको भूमिकालाई लिएर शंका नगर्न आग्रह गरेका छन् । 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा उपप्रधानमन्त्री खड्काले रक्षा मन्त्रालयको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा भने, 'सृष्टि रहेसम्म हाम्रो देश रहन्छ, हाम्रो मुलुक संसार रहेसम्म रहन्छ । त्यतिबेलासम्म हाम्रो मुलुक रक्षाका लागि, मुलुकको भौगोलिक अखण्डता, सीमा रक्षाका लागि हामी नेपाली र नेपाली सेना पूर्णरूपमा प्रतिबद्ध छ ।'

राष्ट्रपतिबाट मनोनीत सांसद तथा पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपाली सेनाले सीमा रक्षा गर्न नसक्ने र छिमेकीसँग युद्ध भएमा टिक्न नसक्ने भन्दै ८०-९० हजार सेना नचाहिने भन्दै संख्या कटौती गर्नुपर्ने बताएकी थिइन् । उनले रक्षा मन्त्रालयमा विदेशी पैसाले चलखेल हुने गरेको पनि आरोप लगाएकी थिइन् । जवाफमा मन्त्री खड्काले नेपालको संविधानले गरेको व्यवस्था, सरकारको निर्णय र आदेशअनुसार चल्न सेना प्रतिबद्ध रहेको बताए ।

'नेपाली सेनाको संगठनको प्रबन्ध नेपालको संविधानले गरेको हो । संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरुप सीमा सुरक्षा एवं भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा नेपाली सेना सदैव क्रियाशील रहेको छ,' उनले भने ।

मन्त्री खड्काले नेपाली सेनाको अहिलेको संख्या दरबन्दी ९६ हजार ४ सय ७७ रहेको जानकारी दिँदै अहिले कायम रहेको नेपाली सेनाको संख्या ८१ हजार २ सय ७७ भएको बताए । जसमध्ये ७४ हजार ५०५ पुरुष र ६ हजार ७ सय ७२ महिला कार्यरत रहेको उनले जानकारी दिए । नेपाली सेनाले शान्ति सेना, भौतिक पूर्वाधार निर्माण, वातावरण रक्षालगायतका कार्य पनि गरिरहेको उनले जानकारी दिए । नेपाली सेनालाई मुलुकको आवश्यकता र परिवेशअनुसार सरकारको निर्णय र आदेशबमोजिम ती काममा लगाइएको खड्काले बताए ।

रक्षा मन्त्रालय र नेपाली सेनाभित्र विदेशी चलखेल भइरहेको भन्ने कुरा पनि रक्षामन्त्री खड्काले अस्वीकार गरेका छन् । उनले भने, 'वैदेशिक तालिमसँग जोडिएर गरिएका कुराहरूमा कहींकतै पनि विदेशको अथवा विदेशीको अथवा कहींकतैको नकारात्मक प्रभाव वा हाम्रोमा प्रक्रियामाथिको हस्तक्षेपको गुञ्जायस छैन, कल्पना नै छैन । त्यो कल्पना पनि गर्न सकिँदैन ।'

नेपाली सेनालाई परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर विदेशमा तालिममा पठाउने गरिएको जानकारी मन्त्री खड्काले दिएका थिए । विदेशी सेना पनि नेपालमा तालिमका लागि आउने गरेको त्यसले मुलुकलाई विविध क्षेत्रमा सहयोग पुगिरहेको उनको भनाइ थियो । 'परराष्ट्र मन्त्रालयसँग समन्वय गरी विदेशी तालिममा सहभागी गराउने व्यवस्था रहेको छ । मित्रराष्ट्रका सेनालाई नेपालका शिक्षण संस्थाहरूमा सहभागी गराउँदै आएका छौं । त्यसले सिप, ज्ञान र मित्र राष्ट्रहरूसँगको सम्बन्ध विस्तारमा सहयोग पुग्दै आएको छ,' उनले भने ।

नेपाली सेनाको संख्यालाई लिएर छलफल हुने गरेको भन्दै खड्काले थपे, 'कुनै पनि राष्ट्रको सेनाको संख्या त्यस देशो भौगोलिक अवस्था, राष्ट्रिय आवश्यकता, अन्तर्राष्ट्रिय परिवेश, बेलाबेलामा मुलुकको आवश्यकताअनुसार निर्धारण हुने गर्दछ । नेपाली सेनाको संख्या सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकारको निर्णयबमोजिम हुन्छ ।'

सेनालाई कतिपय सन्दर्भमा बजेट थप हुनुपर्ने आवश्यकता रहेको बताए । उनले सेनाको संख्यालाई अत्यन्त उपयुक्त तरिकाले मुलुकको हितमा, राष्ट्रिय सुरक्षा, विकासलगायतको रूपमा उपयोग गरिरहेको बताए । उनले नेपाली सेनाको संख्या घटाउने सोचाइ सरकारको नभएको प्रस्ट पारे ।

प्रकाशित : असार २८, २०८० १८:१२
x
×