कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सांसद पौड्याल भन्छिन्- छिमेकीसँग युद्ध भए टिक्न सकिँदैन‚ ९० हजार सेना किन चाहियो ?

सांसद पौड्याल भन्छिन्- छिमेकीसँग युद्ध भए टिक्न सकिँदैन‚ ९० हजार सेना किन चाहियो ?

काठमाडौँ — राष्ट्रपतिबाट मनोनीत सांसद तथा पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपाली सेनाको संख्या घटाउनुपर्ने बताइन् । उनले देशभित्र लडाइँ नभएको र छिमेकीसँग युद्ध भएमा टिक्न नसक्ने भन्दै ८०-९० हजार सेना नचाहिने बताएकी हुन् । 

विनियोजन विधेयक, २०८० को विभिन्न मन्त्रालय शीर्षकमाथि राष्ट्रिय सभा बैठकमा मंगलबार बोल्दै सांसद पौड्यालले सेनाले सीमाको रक्षा गर्न नसक्ने र युद्ध लड्न नसक्ने भएकाले संख्या घटाउनुपर्ने बताएकी हुन् ।

'हाम्रो देशको स्वार्थ रक्षा गर्न नसक्ने रक्षा मन्त्रालयलाई यति धेरै ८० हजार कि, ९० हजार सेना चाहिन्छ कि चाहिँदैन ? पुनरावलोकन गरौं । हाम्रो देशभित्र लडाइँ छैन, अनि छिमेकीसँग युद्ध हुने सम्भावना देखिँदैन । भइहाले पनि हामी टिक्न सक्ने अवस्था देखिँदैन,' उनले भनिन्, 'सीमा सुरक्षा गर्नका लागि राम्रोसँग कम्युनिकेट गर्न सक्दैन, सुरक्षा गर्ने त परै जाओस् । यस्तो मन्त्रालयलाई पाल्ने कि नपाल्ने ? ८०-९० हजार सेना हामीलाई चाहिन्छ कि चाहिँदैन ?'

रक्षालगायतका मन्त्रालयको खर्च कटौतीका लागि प्रस्ताव राख्ने क्रममा सांसद तथा पूर्वपरराष्ट्रमन्त्री पौड्यालले सेनाले सीमा सुरक्षा पनि गर्न नसकेको बताइन् । 'सीमा सुरक्षा भएको छ ? अतिक्रमणका सूचना दिनदिनै आएका छन् । सीमा सुरक्षामा परराष्ट्र र रक्षा मन्त्रालयको ठूलो हात हुन्छ । दुईबीचको समन्वय नभएर हाम्रा चासो व्यक्त गर्न पनि डराउँछौं,' उनले भनिन् । रक्षा मन्त्रालयमा विदेशीको पैसा लिएर भ्रमण हुने र विदेशीको पैसामा 'असाध्यै धेरै चलखेल' हुने गरेको उनले भनिन् ।

प्रकाशित : असार २६, २०८० १३:१२
×