कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

खाडीमा २२ जना नेपाली संक्रमित

चैत्र २३, २०७६
खाडीमा २२ जना नेपाली संक्रमित

काठमाडौँ — बहराइनमा एकैपटक नौ जना नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसअघि तीन नेपालीलाई देखिएको थियो ।


बहराइनस्थित नेपाली दूतावासका अनुसार सल्माबादस्थित एक श्रमिक क्याम्पमा बसेका कामदारलाई संक्रमण देखिएको थियो । त्यो क्याम्पमा नेपालीसहित चार सय जना बस्दथे । ‘चार सय जनामध्ये ६६ जनालाई कोरोना देखिएको हो । जसमा नौ जना नेपाली परे,’ बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कान्तिपुरलाई भने, ‘त्यो क्याम्पमा जम्मा त्यतिमात्रै नेपाली कामदार रहेछन् ।’


बहराइनमा एकैपटक ९ जना नेपाली कोरोनाबाट संक्रमित


संक्रमितहरूलाई क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको सुन्दासले बताए । त्यस क्याम्पमा एक जना भारतीय कामदारलाई संक्रमण भएको देखिएपछि बहराइनको स्वास्थ्य मन्त्रालयले क्याम्पमा बस्ने सबैलाई क्वारेन्टाइनमा राखेको थियो ।


बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म १२ नेपालीसहित २ सय ८६ जनाको उपचार भइरहेको छ । ३ सय ८२ जना भने निको भएर अस्पतालबाट घर र आफ्नो क्याम्प फर्किसकेका छन् । चार जनाको मृत्यु भएको छ । हालसम्म ३७ हजार ९ सय ९६ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ ।


बहराइनमा एकैपटक नौ जना नेपाली कामदारलाई संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार समकक्षी खालिफा विना सलमान अल खालिफालाई टेलिफोन गरी चासो राखेका थिए । प्रधानमन्त्री ओलीले बहराइनमा कार्यरत नेपालीको सुरक्षामा बहराइनबाट प्राप्त सहयोगप्रति धन्यवाद दिएका थिए ।


कुवेतमा कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित


बहराइनसहित यूएई र कुवेत मुलुकमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या २१ पुगेको छ । नेपाली कामदारको प्रमुख गन्तव्य रहेको कतार र साउदी अरबले भने कोरोना भाइरसको पोजेटिभ देखिएका बिरामीको राष्ट्रियता सार्वजनिक गरेका छैनन् । साउदी अरबमा शुक्रबारसम्म २ हजार २९ जनालाई पोजेटिभ देखिएको छ । जुन खाडीको उच्च संख्या हो । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले हालसम्म नेपाली संक्रमित भएको आधिकारिक विवरण प्राप्त नभएको बताए ।


बहराइनपछि बढी संक्रमित भएको संयुक्त अरब इमिरेट्स (यूएई) हो । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार आठ जना नेपाली कामदार संक्रमित भइसकेका छन् । दुई जना निको भएर काममा फर्किसकेका छन् ।


यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार ६ जनाको अवस्था स्थिर छ । ‘यूएईले उपचारमा कुनै विभेद गरेको छैन,’ उनले भने । यूएईमा १ हजार २ सय ६४ जनालाई पोजेटिभ देखिएको छ । १ सय ८ जना निको भइसकेका छन् भने नौ जनाको मृत्यु भएको छ ।

कुवेतमा दुई नेपाली कामदार संक्रमित छन् । कुवेतमा संक्रमितको सख्या ४ सय १७ देखिएको छ ।


कतारमा ९ सय ४९ जना संक्रमित भएका छन्, जसमा ठूलो संख्यामा आप्रवासी कामदार छन् । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धाजका अनुसार कतारले पनि बिरामीको राष्ट्रियता सार्वजनिक नगरेको बताए ।

नेपाली कामदार बसोबास गरेकै क्याम्पबाट कोरोना भाइरस संक्रमित व्यक्ति पहिचान गरेको हो । कामदार बसेको क्याम्पमा कोरोना देखिएपछि कतारले झन्डै ५० हजार नेपाली बसोबास गरेको सनैया क्षेत्रलाई संवेदनशील मान्दै सिल गरेको छ । संक्रमितको संख्या बढेपछि कतारले बिहीबारदेखि लागू हुने गरी निजी क्षेत्रका ८० प्रतिशत कामदारलाई घरबाटै काममा लगाएको छ । काम गर्ने अवधिलाई ६ घण्टामा कायम गरेको छ । बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै काम गर्ने समय तोकिएको छ । विभिन्न क्लिनिङ कम्पनीबाट घरको काम गर्न पठाउने कार्यलाई समेत रोकेको छ । कतारमा विभिन्न कम्पनीले महिलालाई घण्टा वा दिनभर घरेलु कामका लागि घरघरमा पठाउँदै आएको थियो । यसमा नेपाली महिलाको संख्या धेरै छ । कामदार बोक्ने बसले सिट क्षमताअनुसार कामदारलाई बोक्न पनि रोक लगाएको छ । त्यस्तो बसले सिट क्षमताको आधा मात्रै कामदार बोक्न पाइनेछ ।


उच्चस्तरीय संकट व्यवस्थापन समितिका प्रवक्ता लोलवाह विन्ट रसिद विन मोहम्मद अल खतिरले कतार र कामदारको सुरक्षाका लागि लकडाउनको अवधिलाई बढाइएको बताइन् ।

त्यो क्षेत्रमा कार्यरत कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कतारले निकै संवेदनशीलका रूपमा राख्दै आवतजावतलाई पूर्ण नियन्त्रण गरी कामदारको स्वास्थ्य परीक्षण गरिरहेको प्रवक्ता खतिरले बताइन् । यो क्षेत्रभित्र रहेका कामदारलाई खाद्यान्नको अभाव हुन नदिइएको र तीन ठाउँमा मोबाइल जाँच केन्द्र राखेर परीक्षण भइरहेको छ ।


मलेसियामा एक नेपाली कोरोना भाइरसबाट संक्रमित


मलेसियाको सेलाङगुरमा कार्यरत एक नेपाली कामदारलाई संक्रमण देखिएपछि सुङ्गाई बुल्व अस्पतालमा उपचार भइरहेको छ । उनी झापाका हुन् ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार उनको अवस्था सुधारोन्मुख छ । ‘उनीसँग नेपाली दूतावासले नियमित सम्पर्क गरिरहेको छ । स्वास्थ्यमा निकै सुधार आइसक्यो । बिरामी र परिवारबीच नियमित सम्पर्क भइरहेको छ,’ राजदूत पाण्डेले भने,‘यो नेपालीको पहिलो केस हो ।’


कोरोना भाइरसको लक्षण देखिएपछि उनलाई कम्पनीेले नै अस्पताल पुर्‍याएको थियो । मलेसियाले विदेशी र स्वदेशी नागरिकबीच उपचारमा विभेद नगरेको उनले बताए । कोरोना भाइरसको उपचार सरकारी अस्पतालमा मात्रै नि:शुल्क रूपमा भइरहेको छ ।

त्यस्तै एक जना नेपालीको परीक्षणका लागि पेनाङ अस्पतालमा भर्ना गरिएको छ । उनको जाँचको रिपोर्ट आइसकेको छैन ।


मलेसियाको स्वास्थ्य विभागका अनुसार शनिबार मात्रै नयाँ १ सय ५० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्म मलेसियामा संक्रमितको संख्या ३ हजार ४ सय ८३ जना पुगेको छ । ९ सय १५ जना निको भएका छन् भने ५७ जनाको मृत्यु भएको छ ।


मलेसियको अध्यागमन विभागले आवागमन बन्देज उल्लंघन गर्ने चार नेपालीलाई तीन महिना कैद र जनही १ हजार १ हजार रिंगेट जरिवाना गरेको छ । उनीहरू मेलक्कामा पक्राउ परेका थिए ।


मलेसियाले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न १८ मार्चदेखि १४ अप्रिलसम्म आवागमन नियन्त्रण आदेश जारी गरेको थियो । यो अवधिमा अत्यावश्यक र अनुमति प्राप्त कामदार मात्रै आउजाउ गर्न पाइने राजदूत पाण्डेले बताए ।

न्यायाधीश मोहम्मद नजरिन अलि रहिमको इजलासले ४४ वर्षीय पूर्णबहादुर लिम्बू, ३३ वर्षीय दुर्गाबहादुर सार्की, ३९ वर्षीय पुण्य तामाङ र २९ वर्षीय भरोसी सदालाई कैद र जरिवाना तोकेको हो । उनीहरूसँगै पक्राउ परेका अन्य विदेशी नागरिकलाई पनि सजाय भएको छ ।

प्रकाशित : चैत्र २३, २०७६ ०९:०४
x
×