बहराइनमा एकैपटक ९ जना नेपाली कोरोनाबाट संक्रमित

चैत्र २२, २०७६

होम कार्की

काठमाडौँ — बहराइनमा एकैपटक ९ जना नेपाली कामदार कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमित भएका छन् । यसअघि बहराइनमा ३ जना नेपालीमा कोरोना देखिएको थियो । 

बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको हो । ‘बहराइनको सल्मावादस्थित एक क्याम्पमा कार्यरत विदेशी कामदारलाई कोरोना देखिएको थियो । त्यो क्याम्पमा नेपाली सहित ४ सय जना बस्दथे । सबैलाई क्याम्पमै क्वारेन्टाइनमा राखिएको हो’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने, ‘स्वास्थ्य परीक्षणको क्रममा ९ जना नेपालीलाई पोजिटिभ देखिएको हो ।’ 


उनीहरुको अवस्था स्थिर छ । त्यस क्याम्पमा अझै कति नेपाली छन् भन्ने खुलेको छैन । 


बहराइनको स्वास्थ्य मन्त्रालय अनुसार शुक्रबारसम्म १२ नेपाली सहित २ सय ८६ जनाको उपचार भइरहेको छ । ३ सय ८२ जना भने निको भएर अस्पतालबाट घर वा क्याम्प फर्किसकेका छन् । ४ जनाको मृत्यु भएको छ । हालसम्म ३७ हजार ९ सय ९६ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ।


राजदूत सुन्दासले बहराइनमा उपचार भएर घर फर्किनेको संख्या खाडीमा सबैभन्दा बढी रहेको बताए । उनले बहराइनले संक्रमण नियन्त्रणलाई उल्लंघन गर्नेलाई तीन महिना जेल र एकदेखि १० हजार दिनार जरिवाना तोकिएको भन्दै सचेत रहन नेपाली समुदायलाई आग्रह गरेका छन् । 


ज्वरो आउने, खोकी लाग्ने र श्वास फेर्न गार्‍हो भएमा तुरुन्त ४४४ मा फोन गर्नको लागि अनुरोध गरिएको छ । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully