कामदारलाई छुट्टी दिँदै होटल

ठमेलमा सयदेखि साढे दुई सयसम्म कोठा रहेका २ सयभन्दा बढी होटल रेस्टुरेन्ट छन् 
प्रशान्त माली

काठमाडौँ — ठमेलस्थित होली हिमालय होटलका रिसेप्निस्ट हुन् रिपु मर्दन । होटल मालिकले उनलाई कोभिड–१९ कारण होटलमा आउने पर्यटकको संख्या उल्लेखनीय मात्रामा घटेपछि गोलढुंगास्थित कृषि फार्ममा काम गर्न जान आग्रह गरे ।

कामदारलाई छुट्टी दिँदै होटल

अहिले उनी के गर्ने भन्ने दोधारमा छन् । उनले भने, ‘नजाऊ जागिर गुम्ने डर । जाऊ घर छोड्न नमिल्ने समस्या छ ।’ उनका अनुसार होटलमा ६० जना कर्मचारी छन् । ‘सञ्चालकले केहीलाई बिदा दिने तयारी गरेका छन्,’ उनले भने ।होटल केटुका सञ्चालकले भने पाँच जना कर्मचारीलाई ४५ दिनका लागि छुट्टी नै दिइसकेका छन् । केटुका सञ्चालक एकराज अधिकारीले होटल शून्य भएपछि बाध्य भएर यसो गर्नुपरेको बताए ।


ठमेल पर्यटन विकास परिषद्का वरिष्ठ उपाध्यक्ष राजुमान डंगोलले व्यापारमा कमी आएका कारण केही होटल सञ्चालकले करारमा कार्यरत कर्मचारीलाई ५० प्रतिशत तलब दिएर केही दिनका लागि छुट्टीमा पठाएको बताए । ‘यस्तै स्थिति रहेमा अन्य मजदुर पनि निश्चित समयका लागि बिदा दिएर पठाउनुपर्ने अवस्था हुन सक्छ,’ उनले भने, ‘अहिले बाँकी रहेका १०/१५ प्रतिशत पर्यटक पनि स्वदेश फर्कने क्रममा छन् ।’ सरकारको आह्वानमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटन व्यावसायीले ऋण गरेर पर्यटनमा लगानी गरे पनि सुनसान हुँदा पीडित भएको उनले बताए


ठमेल क्षेत्रमा सयदेखि साढे दुई सयसम्म कोठा भएका दुई सय बढी होटल रेस्टुरेन्ट छन् । पाँच हजार भन्दा बढी व्यवसायी छन् । होटलमा मात्रै पाँच हजार कर्मचारी कार्यरत छन् ।


अधिकांश होटलमा स्वदेशीभन्दा बढी विदेशीले भरिभराउ हुन्थे । ठमेलमा हिमाल, पहाडी र तराईका सबै क्षेत्रमा बनाइने हस्तकलाका सामग्री पाइन्छ । मंगलबार ज्याठास्थित राजा पेपर क्राफ्टलगायतका हस्तकलाका सामग्री बिक्री गर्ने पसल पनि सुनसान देखिन्थे । सामान्य अवस्थमा यहाँ ७० प्रतिशत होटल पूरा हुने गर्छन् । बेलाबखत कोठा नपाएर अर्को होटलमा खोजिदिनुपर्ने अवस्था आउने गरेको होटल व्यवसायी बताउँछन् । ठमेल पर्यटन विकास परिषद् ज्याठा ठमेल उपसमितिका पूर्वमहासचिव राजाराम तण्डुकारका अनुसार नेपाल आउने पर्यटकमध्ये ७० प्रतिशत ठमेल पुग्ने गरेका छन् ।


‘यहाँ सरदर दैनिक तीन हजार पर्यटक पुग्छन्,’ उनले भने, ‘अहिले आउने पर्यटकको संख्या ठप्प भएको छ ।’ उनले कहिले नसुत्ने र बन्द नहुने डिस्को, डान्सबार पनि क्रमशः सुनसान हुने क्रममा रहेको बताए । ‘भाइरसरका कारण विदेशी मात्र नभई आन्तरिक पर्यटकसमेत घटेका छन्,’ उनले भने ।


रिक्सा मजदुर पनि मर्का


नुवाकोटका रामबहादुर तामाङ, शेरबहादुर तामाङ, काभ्रेका कृष्ण मगर र हर्कबहादुर तामाङलगायत रिक्सा चालकको अहिले लुडो खेलेर दिन बिताउने गरेका छन् । कोभिड–१९ का कारण ठमेल क्षेत्रमा आउने पर्यटकको संख्यामा कमी आएपछि रिक्सा मजदुर प्रभावित बनेका हुन् । ‘यो महिना पर्यटक आउने सिजन हो । तर सुनसान छ,’ ठमेल चोकमा भेटिएका रिक्सा चालक रामबहादुर तामाङले भने, ‘गतवर्ष यो मौसममा १५ सय हुन्थ्यो ।’ नयाँ बजारमा भाडामा बस्ने उनले यस्तै स्थिति लामो समयसम्म चलिरहे राजधानीमा छोराछोरी पढाउने त कुरै छोडौं खाना बस्न समेत धौधौ हुने बताए ।


काभ्रेका कृष्णले आफ्नै खल्तीबाट साहुलाई दैनिक एक सय ५० रुपैयाँ रिक्सा भाडा तिर्दै आएको एक साता भइसकेको बताए । ‘बिहानदेखि बेलुकासम्म पर्यटक कुर्दा पनि नभएपछि खाली हात घर फर्कनुपर्ने अवस्था छ,’ उनले भने, ‘पोहोर दसैमा डेंगुले खायो । यसपालि भाइरसले ।’ रिक्सा चलाएर २२ वर्ष बिताइसकेका उनले नाकाबन्दीमा पनि यस्तो प्रभाव नपरेको बताए । रिक्सा चढेर वसन्तपुर दरबार क्षेत्र, असन, इन्द्रचोक, ठहिटी, बाङ्गेमुढा रस्वयम्भू घुम्न रुचाउँछन् ।


चन्द्रशमशेरको पालामा काठमाडौंमा रिक्सा भित्रिएको इतिहास छ । भाइरसका कारणले दैनिक कमाइ गरेर गुजारा चलाउनुपर्ने मजदुर बढी मर्कामा परेका छन् । काठमाडौंमा रिक्सा मजदुरको संख्या चार सय ७३ छ । यहाँ फागुनदेखि जेठ र भदौंदेखि मंसिरसम्म बढी पर्यटक आउने गर्छन् । अखिल नेपाल रिक्सा मजदुर संघ ठमेल इकाई अध्यक्ष हर्कबहादुर तामाङका अनुसार ट्राफिकले रिक्सा दरबार मार्ग, सिंहदरबार, लाजिम्पाट क्षेत्रमा बिहान ८ बजेपछि र बेलुका ७ बजेअघि चलाउन दिँदैन । ‘ललितपुर र भक्तपुर पनि जान दिँदैन,’ उनले भने, ‘जताजतैबाट मजदुर मारमा परेका छन् ।’

प्रकाशित : चैत्र ६, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?