कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

कान्दाहार हाइज्याक ‘काठमान्डु इज नट गुड न्युज’ 

भाद्र २२, २०८१
कान्दाहार हाइज्याक ‘काठमान्डु इज नट गुड न्युज’ 

Highlights

  • नेटफ्लिक्सको विमान अपहरण–सिरिज ‘आईसी–८१४’ मा भनिएको छ– भारत र चीनको सीमानजिक रहेकाले नै काठमाडौं जासुसहरूको केन्द्र बनेको हो, त्यसैले अपहरणकारीले काठमाडौं रोजेका हुन् । सिरिजको एउटा संवाद छ, ‘काठमान्डु इज नट गुड न्युज’ ।
  • विमान अपहरणपछि बनेको उच्चस्तरीय छानबिन समितिका सदस्य तथा पूर्वगृह सचिव खेमराज रेग्मीको किताब ‘जोधाहा राष्ट्रसेवक’ मा लेखिएको छ– त्यसबेला भारतीय सञ्चार माध्यमहरूले नेपालविरूद्ध जेहाद नै छेडेका थिए ।

कठ्याङ्ग्रिँदो पुसको मधुरो घाम अस्ताउने तरखरमै थियो । घडीका सुईले एक सय बीस डिग्रीको कोण बनाएका थिए– २०५६, पुस ९ गते (१९९९ डिसेम्बर २४) । देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलको चहलपहल सामान्य देखिन्थ्यो ।

रनवेमा कुदिरहेको इन्डियन एयरलाइन्सको ‘आईसी–८१४’ विमानले हेर्दाहेर्दै जमिन छाड्यो । भारतीय राजधानी नयाँदिल्लीका लागि उडान भरेको विमानमा थिए– चालक दलका ११ सदस्य र १७९ यात्रु । विमानका ‘पाइलट इन कमान्ड’ थिए– देवी शरण । राजिन्दर कुमार ककपिटको सेकेन्ड इन कमान्ड थिए भने अनिल कुमार जग्गिया इन्जिनियर ।

त्रिभुवन विमानस्थलबाट उडेको विमान १ घण्टा ४५ मिनेटमा नयाँदिल्ली उत्रने तय थियो । त्यसैको प्रतीक्षामा थिए यात्रुहरू । तर, विडम्बना त्यो समय व्यतित हुनुअघि नै नयाँदिल्ली उडिरहेका यात्रुहरूले अप्रिय खबर सुन्नुपर्‍यो– विमान अपहरणको । करिब ४ बजेर ३९ मिनेटमा विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरेसँगै अपहरणकारीले नियन्त्रणमा लिए ।

‘आईसी–८१४’ विमानलाई पाकिस्तानमा रहेर कश्मीर स्वतन्त्रताका लागि संघर्षरत सशस्त्र समूह हर्कत–उल–मुजाहिद्दिनले अपहरण गरेको थियो । पाँच जनाको प्रत्यक्ष संलग्नतामा गरिएको अपहरणको मुख्य उद्देश्य थियो– भारतीय जेलमा रहेका हर्कत–उल–मुजाहिद्दिनका मौलाना मोहम्मद महसुद अजहरको रिहाइ ।


अढाई दशकअघिको त्यो घटना अधिकांशको विस्मरणमा पुगिसकेको थियो । तर, भारतीय निर्देशक अनुभव सिन्हाले त्यसलाई सम्झाइदिएका छन् वेभसिरिज ‘आईसी ८१४–द कान्दाहार हाइज्याक’ मार्फत । ओटीटी प्लाटफर्म नेटफ्लिक्समा अगस्ट २९ मा सार्वजनिक सिरिज अपहरणमा परेको विमानका क्याप्टेन देवी शरण र पत्रकार श्रीन्जोय चौधरीले लेखेको पुस्तक ‘फ्लाइट इन्टु फियर : द क्याप्टेन्स् स्टोरी’ मा आधारित छ । सिरिजको कथा भने अड्रियन लेभी र त्रिशान्त श्रीवास्तवले लेखेका हुन् ।

२५ वर्षअघिको विमान अपहरण र त्यसपछिका घटनाक्रमका विषयमा विभिन्न फिल्महरू बनिसकेका छन् । तीमध्ये कतिपय व्यापारिक रूपमा निकै सफल पनि भए । तर, ६ एपिसोडको क्राइम थ्रिलर सिरिज ‘आईसी ८१४–द कान्दाहार हाइज्याक’ ले चर्चासँगै विवाद पनि बटुल्यो ।

भारतका हिन्दुवादीहरूले फिल्मको निकै विरोध गरे । कतिपयले प्रदर्शन रोक्नुपर्ने आवाज पनि उठाए । त्यसको कारण हो, अपहरणकारीको नाम । सिरिजमा दुई जना अपहरणकर्तालाई ‘भोला’ र ‘शंकर’ नाम दिइएको छ । मुस्लिम अपहरणकारीलाई हिन्दु नाम दिइएको भन्दै विरोध सुरु भयो । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) आईटी सेल प्रमुख अमित मालवीयले त विमानका अपहरणकर्ता ‘खतरनाक आतंकवादी’ भए पनि आफ्नो मुस्लिम पहिचान लुकाउन सफल भएको दाबी गरे ।


वास्तवमा ती नाम अपहरणकारीले आफूबीच कुराकानी गर्न प्रयोग गरेका थिए । अपहरणकारीले विमानभित्र एकअर्कालाई ‘चिफ’, ‘डाक्टर’, ‘बर्गर’, ‘भोला’ र ‘शंकर’ का नामले बोलाउने गरेका थिए, जसका कारण सिरिजमा पनि तिनै नाम प्रयोग गरिएको छ । त्यसैले सिरिज निर्माण पक्ष र ओटीटी प्लाटफर्म नेटफ्लिक्सले विवादको सामना गर्नुपर्‍यो ।


सन् २००० जनवरीमा भारतको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि विमानभित्र र बाहिर सञ्चार गर्नका लागि अपहरणकारीहरूले कोड नाम प्रयोग गरेको उल्लेख थियो । अपहरित विमानमा यात्रा गरेका अमेरिकी कम्पनीको व्यापार हेर्ने कोल्लाटु रविकुमारले सन् २००० मा ‘रेडिफ’ न्युज पोर्टलमा प्रकाशित गरेको लेखमा पनि ती अपहरणकारीहरूले आफूहरूलाई छद्म नामबाट चिनाएको उल्लेख गरेका थिए । ‘हामीलाई निगरानी गरिरहेका पाँच जना अपहरणकारीमध्येका नेताको नाम ‘बर्गर’ थियो,’ उनले भनेका थिए, ‘बर्गर नामका ती व्यक्ति बेलाबेला ठूलो स्वरमा बोलिरहन्थे । बर्गरले बोलाउँदा मैले अरूको नाम भोला, शंकर र डाक्टर भएको याद गरेको थिएँ ।’

हवाई टिकट र विमानस्थलमा अध्यागमन फारम भर्दा देखाएको परिचयपत्र र सन् २००० मा भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार विमान अपहरणमा अहमद ए शेख, सन्नी अहमद कजी, सइद अख्तर सैयद, मिस्त्री जहुर इब्राहिम र राजेश गोपाल बर्मा गरी पाँच जना संलग्न रहेको पुष्टि भएको थियो । तर, उनीहरूको कोड नाम क्रमशः, ‘चिफ’, बर्गर, डाक्टर, भोला र शंकर थियो । सिरिज विवादमा परेसँगै भारतको सूचना र प्रसारण मन्त्रालयले ‘आईसी ८१४– द कान्दाहार हाइज्याक’ को विषयमा नेटफ्लिक्स भारत प्रमुख मोनिका सेर्गिलसँग सोधपुछ गर्‍यो । त्यसपछि सिरिजको ‘डिस्क्लेमर’ मै अपहरणकर्ताको नाम र कोड राखिएको छ । ‘आईसी ८१४–द कान्दाहार हाइज्याक’ मा नसरुद्दिन शाह, पंकज कपुर, विजय शर्मा, दिया मिर्जा, अरविन्द स्वामी, आदित्य श्रीवास्तव, पत्रलेखा पल, दिब्यन्दु भट्टाचार्यलगायत कलाकारले अभियन गरेका छन् ।

सिरिजमा भारत र चीनको सीमानजिक रहेकाले पनि पछिल्लो समय काठमाडौं जासुसहरूको केन्द्र बनेको उल्लेख गरिएको छ । त्यसकारण अपहरणकारीले काठमाडौं रोजेको दाबी सिरिजको छ । सिरिजको एउटा संवाद नै छ, ‘काठमान्डु इज नट गुड न्युज’ । त्यस्तै, सिरिजमा पाकिस्तानी जासुसी संस्था ‘इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आईएसआई)’ र तालिबानलाई पनि ‘जुम्ल्याहा’ का रूपमा चित्रित गरिएको छ ।

नियन्त्रणमा लिएसँगै अपहरणकारीले विमान अफगानिस्तानको काबुल पुर्‍याउने र आफ्ना माग पूरा गर्न भारत सरकारलाई दबाब दिने योजना बनाएका थिए । त्यसैबीच विमानका क्याप्टेन देवी शरणले नेपाल नजिकैको वाराणसी विमानस्थलको एअर ट्राफिक कन्ट्रोल (एटीसी) सँग सम्पर्कको प्रयास गरेका थिए । तर, अपहरणकारीले त्यसको भेउ पाएपछि भने विमान काबुल लैजान चेतावनी दिएका थिए ।

एकातर्फ विमानमा इन्धन सकिँदै थियो, अर्कोतर्फ अपहरणकारीले आफूलाई सहज हुने स्थानमा विमान अवतरण गरेर सौदाबाजी गर्न चाहन्थे । त्यसका लागि उनीहरूले पाकिस्तानको लाहोर विमानस्थल रोजे । तर, लाहोर विमानस्थलले अवतरणको अनुमति दिएन ।

पाकिस्तानमा विमान अवतरण हुँदा पाकिस्तानी सरकारलाई नै अपहरणमा संलग्न रहेको आरोप आइलाग्ने अधिकारीहरूको चासो थियो ।


यसै पनि भारतसँगको तनावपूर्ण सम्बन्ध थप चर्किने निश्चित थियो । त्यसमाथि भारतले अन्तर्राष्ट्रिय मञ्चहरूमा पाकिस्तान सरकारविरुद्ध आवाज उठाउने मौका पनि पाउँथ्यो । त्यसैले पाकिस्तानले अपहरित विमान आफ्नो देशभित्र अवतरण गर्ने अनुमति दिएन । इन्धन कम हुँदै गएपछि भारतले अमृतसरमा विमान अवतरण गर्न अनुमति दियो । अमृतसरमा स्थानीय समयअनुसार करिब ७ः१५ बजे विमान अवतरण भयो । त्यसपछि विमानमा इन्धन भर्ने र अन्य देश जाने योजना बनाए अपहरणकारीले ।

विमानमा इन्धन नभरिदिए यात्रुहरूको हत्या गर्ने धम्की दिएपछि भारत सरकारले माग स्वीकार गर्‍यो । तर, भारतीय अधिकारीले इन्धन भर्न ढिलाइ गरेपछि अपहरणकारी सशंकित भए । कतिपय समाचारमा लेखिएको थियो– भारतीय अधिकारीले प्राविधिक समस्या देखाउँदै विमानलाई इन्धन ट्यांकर नजिकै लैजानुपर्ने बताएका थिए । भारतले आफूविरुद्ध कमान्डो कारबाही तयारी गरेको आशंकापछि अपहरणकारीले क्याप्टेनलाई आपत्कालीन उडान भर्न आदेश दिए । खासमा भारतले अमृतसरमा कमान्डो परिचालन गरी अपहरणकारीविरुद्ध कारबाही गर्ने तयारी गरिसकेको थियो ।

चालक दलले इन्धन कम रहेको कारण देखाउँदै विमान उडाउन नसक्ने अडान लिएपछि भने अपहरणकारीले विमान यात्रुहरू जर्मन नागरिक सत्नम सिंह र रूपिन कत्यालमाथि चक्कु आक्रमण गरे । अनि जति इन्धन छ, त्यसैको भरमा विमान उडाएर लाहोर लैजान चेतावनी दिए । यात्रुलाई यातना दिइएपछि इन्धन कम भएकै विमान पनि उडाउन क्याप्टेन देवी बाध्य भए ।


जुनसुकै अवस्थामा पनि अपहरणकारी अमृतसरबाट विमान उडाउने तयारीमा रहेको सूचना प्राप्त भएपछि भारत सरकारले नै पाकिस्तानी सरकारलाई लाहोरमा विमान अवतरणको अनुमति दिन आग्रह गर्‍यो । भारतको आग्रहपछि केही समयका लागि मात्रै विमान अवतरणको अनुमति दिन पाकिस्तान तयार भयो । त्यसपछि अमृतसरबाट उडेको विमान ८ः१५ मा लाहोर पुगेको थियो ।

सिरिजमा भने यसलाई बढी नै सनसनीपूर्ण बनाइएको छ । लाहोर एटीसीले अनुमति नदिए पनि क्याप्टेनले विमान अवतरणको तयारी गरेपछि लाहोर विमानस्थलका सम्पूर्ण बत्ती निभाइएको सिरिजमा देखाइएको छ । त्यसपछि भने क्याप्टेनले ‘फोर्स ल्यान्डिङ’ गर्ने जनाएपछि अवतरणको अनुमति दिइएको दृश्य सिरिजमा छ । लाहोरमा इन्धन भरेपछि चालक दललाई विमान काबुल लैजान भनियो । तर, काबुल विमानस्थलमा राति उडान भर्ने सुविधा नभएकाले अपहरणकारीको योजना तत्कालका लागि विफल भयो । त्यसपछि उनीहरूले विमानलाई संयुक्त अरब इमिरेट्स (यूएई) स्थित दुबई विमानस्थलमा अवतरण गर्न भनेका थिए ।

दुबईस्थित अल मिनहाद सैनिक हवाई अड्डामा विमान अवतरणको अनुमति दिइयो । यूएईका अधिकारीहरूले विमानमा इन्धन भर्न महिला र बालबालिका छाड्नुपर्ने सर्त राखे । त्यसपछि अपहरणकारीहरू २७ यात्रुलाई रिहा गर्न राजी भए । त्यसमध्ये अमृतसरको आक्रमणमा घाइते भएका कत्याल र सिंहलाई पनि रिहा गरियो । गम्भीर घाइते २५ वर्षीय कत्यालको ज्यान गयो । उनी हनिमुनका लागि पत्नीसहित नेपाल आएका थिए । दुबईमा रहेका बेला भारतीय पक्षले सुरक्षा कारबाही गरी यात्रुहरूको उद्धार गर्ने प्रस्ताव गरेको थियो । तर, यूएईका अधिकारीले त्यो प्रस्ताव अस्वीकार गरेका थिए । विमानलाई दुबईमै रोकिराख्न यूएईका अधिकारीले प्रयास गरेका थिए । तर, अपहरणकारीको दबाबपछि क्याप्टेन देवी विमान उडाउन बाध्य भए ।

काठमाडौंबाट उडेको विमान भोलिपल्ट बिहान अफगानिस्तानको कान्दाहार पुर्‍याइयो । अफगानिस्तानमा तालिबान शासन थियो । विमान कान्दाहारमा अवतरण भएपछि अपहरणकारीसँग कुरा गर्न भारतले तालिबानलाई सम्पर्क गर्नुपर्ने अवस्था आयो । तर, त्यसअघि कुनै सम्पर्क नभएको र तालिबान सरकारलाई मान्यता नदिएका कारण भारत अलमलमा पर्‍यो । त्यसमाथि ‘तालिबानले समन्वय नगर्ने हुन् कि’ भन्ने आशंका पनि छँदै थियो, जसका कारण भारतले पाकिस्तानको इस्लामावादस्थित उच्च आयुक्तको कार्यालयका अधिकारीलाई कान्दाहार पठायो । त्यसका साथै, संयुक्त राष्ट्रसंघले पनि वार्ता टोली खटाएको थियो । विमानलाई सशस्त्र तालिबान सदस्यहरूले घेरेका कारण उनीहरूको नियतप्रति पनि शंका पैदा भएको थियो । तालिबानले बन्धक यात्रुको सुरक्षाका लागि अपहरणकारीलाई दबाब सिर्जना गर्न त्यसो गरेको दाबी गरेको थियो । तर, केहीको दाबी थियो– यात्रु उद्धारका लागि भारतीय सेनाको कारबाही रोक्न तालिबानले सुरक्षा दिएको हो ।


त्यसपछिको दुई दिन भारत आन्तरिक छलफलमै व्यस्त देखियो । उता विमानभित्र रहेका मानिसलाई रातको समयमा चिसोबाट बचाउन र उज्यालोका लागि विमानको इन्जिन निरन्तर चलाएर राखिएको थियो । भारतीय गृहमन्त्री लालकृष्ण आडवाणीले बन्धक रिहाइका लागि कुनै पनि कैदी नछाड्ने बताए । त्यसपछि विदेशमन्त्री जसवन्त सिंहले चाहिँ अपहरणकारीसँग भारतले वार्ता गर्ने बताएका थिए । अन्ततः डिसेम्बर २७ मा भारत सरकारले गृह मन्त्रालयका सहसचिव विवेक कट्जुको नेतृत्वमा अजित डोभल र सीडी सहायको वार्ता टोली पठाएको थियो ।


तालिबानका सशस्त्र सदस्यहरूले विमान घेरेको अवस्थामा भारतीय टोली र अपहरणकारीबीचको वार्तामा कुनै प्रगति हुन सकेन । तर, पछि वार्ता सुरु भयो । अपहरणकारीले विमान र यात्रुको बदलामा भारतीय जेलमा रहेका मौलाना मोहम्मद महसुद अजहरसहित ३५ जनाको रिहाइ र २० करोड अमेरिकी डलर रकम माग गरेका थिए । साथै, सज्जाद अफगानीको ‘शव’ मागेका थिए । तर, भारतले ६ महिनाअघि नै उनको दाहसंस्कार गरिसकिएको बताएको थियो । पछि तालिबानको आग्रहपछि अपहरणकारीले पैसा र अफगानीको शवको माग त्यागेका थिए ।

कान्दाहारमा वार्ता चलिरहेका बेला डिसेम्बर ३० मा अपहरणकारीले सबैलाई मार्ने धम्की दिएका थिए । पत्नीको उपचारका लागि सोही उडानबाट भारत जाँदै गरेका जनकलाल श्रेष्ठले बीबीसीलाई बताएअनुसार, ती अपहरणकारीले ‘अब कुरा मिलेन म एकएक गरेर सबैलाई मार्छु, ईश्वरको नाम लिऊ,’ भनेका थिए ।

तर, पछि विमान र बन्धक बनाइएका यात्रु छुटाउन भारत सरकार जैस–ए–मोहम्मदका तीन नेता रिहा गर्न तयार भएको थियो । त्यसपछि तीन अलग–अलग जेलमा रहेका मौलाना महसुद अजहर, ओमार सइद शेख र मुस्तक अहमद जरगरलाई आफूसँगै लिएर भारतीय विदेशमन्त्री जसवन्त सिंह कान्दाहार पुगेका थिए । तीनै जना नेतालाई तालिबानको उपस्थितिमा कान्दाहारमा रिहा गरिएको थियो । त्यसपछि दक्षिणी अफगानिस्तानको कान्दाहार विमानस्थलमा बन्धक बनाइएका बाँकी सबै यात्रु रिहा भएका थिए । ३१ डिसेम्बर, १९९९ को रात सबै बन्धकलाई विशेष विमानबाट भारत ल्याइयो ।

विमान अपहरणपछि वार्ता चल्दै गर्दा भारतीय सञ्चार माध्यमहरूले भने विभिन्न विवादास्पद समाचारहरू सम्प्रेषण गरेका थिए । विमान अपहरणसम्बन्धी उच्चस्तरीय छानबिन समितिका सदस्य तथा पूर्वगृह सचिव खेमराज रेग्मीले पनि हालै प्रकाशित पुस्तक ‘जोधाहा राष्ट्रसेवक’ मा भारतीय सञ्चार माध्यमहरूले नेपालको विरुद्धमा जेहाद छेडेका उल्लेख गरेका छन् ।

भारतीय न्युज च्यानल ‘जीन्युज’ ले विमान अपहरणमा नेपाली नागरिक जमिम शाह पनि संलग्न रहेको समाचार सम्प्रेषण गरेका थिए । समाचारमा अपहरणमा संलग्न पाकिस्तानी र कश्मीरीलाई नेपालमा सेल्टर दिएको, योजना बनाउन सहयोग गरेको र नेपाली अधिकारीसँग सहज सम्बन्धको दुरुपयोग गरेर हतियारसहित विमानसम्म पुग्न अपहरणकारीलाई जमिम शाहले सहयोग गरेको दाबी गरिएको थियो । तर, त्यो कहिल्यै पुष्टि भने भएन । पछि २०६६, माघ २६ मा काठमाडौंमै गोली हानी जमिमको हत्या गरियो ।

शाहको हत्यापछि भारतीय सञ्चारमाध्यमले ‘पाकिस्तानी जासुस’ को गोली हानी हत्या गरिएको भन्दै समाचार प्रसारण गरेका थिए ।


त्यस्तै, भारतीय सञ्चार माध्यमहरूले नेपाली नागरिक अपहरणकारीको मतियार भएको भन्दै समाचारहरू प्रकाशन गरेका थिए । विमान अपहरणको चार दिनपछि पक्राउ परेका युसुफ नेपालीलाई उक्त आरोप लगाइएको थियो । सिन्धुपाल्चोक घर भएका युसुफले हिन्दु धर्म त्यागेर मुसलमान बनेका र उनको खास नाम भूपाल दमाई भएको थाहा भएको थियो । तर, अपहरणकारीसँग उनको कुनै पनि संलग्नता भने पुष्टि भएन । पटियालास्थित केन्द्रीय जेलमा १४ वर्ष बिताएपछि उनी निर्दोष सावित भएका थिए ।

यद्यपि, विमान अपहरणमा त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था भने फितलो रहेको तथ्यहरू सार्वजनिक भएका थिए । विमान अपहरण हुनुभन्दा दुई दिनअघि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको एउटा गोप्य रिपोर्टमा ‘देशमा मुस्लिम कट्टरपन्थी नेता ओसामा विन लादेनका समर्थकहरू र कश्मीरी समूह ‘लस्कर–ए–तोइवा’ का गतिविधि बढ्दै गएका र विमान अपहरण पनि हुन सक्ने संकेतहरू मिलेको’ उल्लेख गरिएको थियो । राष्ट्रिय अनुसन्धान विभागले पनि अपहरणको केही समयअघि त्रिभुवन विमानस्थलमा कडा सतर्कता अपनाउनुपर्ने जनाएको थियो ।

यसबारे गत असारमा सार्वजनिक भएको पूर्वगृह सचिव खेमराज रेग्मीको पुस्तक ‘जोधाहा राष्ट्रसेवक’ मा पनि उल्लेख गरिएको छ । इन्डियन एयरलाइन्सको विमान अपहरणबारेको उच्चस्तरीय छानबिन समितिका सदस्य रेग्मीले छानबिनका क्रममा विमानस्थलमा खटिएका नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्डयन प्राधिकरण प्रमुखले जिम्मेवारी निर्वाहमा कमजोरी भएको स्विकारेको उल्लेख गरेका छन् । समितिले उनीहरूलाई केही समय निलम्बन गरी विभागीय कारबाही गर्न सिफारिससमेत गरेको थियो । पछि सरकारले उनीहरूलाई तीन/तीन महिना निलम्बन गरी विभागीय कारबाहीसमेत गरेको रेग्मीले पुस्तकमा उल्लेख गरेका छन् ।

पर्यटन सहायक मन्त्री नारायणसिंह पुनले पनि ‘आफूले विमान अपहरणबारे साढे तीन महिनाअघि नै सम्भावित दुर्घटनाबारेमा सूचना पाएको’ बताएका थिए । त्यसबारे रेग्मीले ‘प्रतिवेदनमा विमान अपहरण हुन सक्ने पूर्वसूचना पाएर पनि सम्बन्धित राजनीतिक नेतृत्वले सो सम्बन्धमा आवश्यक गम्भीरता देखाएको पाइएन’ भन्ने वाक्यांश लेख्न अड्डी कसेका थिए ।

तर, समितिका अध्यक्ष पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंह र अन्य एक सदस्यले नमानेपछि ‘राजनीतिक नेतृत्व’ को सट्टामा ‘नीति निर्माणमा संलग्न नेतृत्व तह’ लेखिएको रेग्मीले पुस्तकमा उल्लेख गरेका छन् । समितिमा गुप्तचर विभागका पूर्वप्रमुख विष्णुराज पन्त र पूर्वजर्नेल तेजेन्द्रजंग थापा सदस्य र सदस्य सचिवमा पर्यटन सचिव वरुणप्रसाद श्रेष्ठ थिए ।

समितिले सुरक्षाकर्मीहरू चनाखो र सक्रिय नहुने, उपकरणहरू पुराना भएका, विमानसेवालाई खाना पुर्‍याउने ‘भ्यान’ को राम्रोसँग जाँच नगरिने गरेको औंल्याएको थियो । त्यस्तै, विमानस्थलमा ‘पास’ दिने चलन पनि सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण हुने जनाइएको थियो । तर, त्यस्ता सुझाव भने कार्यान्वयन भएको देखिन्न ।

उता, वार्ता सफल भएसँगै तालिबानले अपहरणकारीलाई अफगानिस्तान छाड्न १० घण्टाको अल्टिमेटम दिएको थियो । तीन अगुवा रिहा भएसँगै अपहरणकारीहरू हातहतियारसहित विमानबाट उत्रिएका थिए र विमानस्थलमा उनीहरूलाई पर्खिरहेको गाडी चढेर हिँडेका थिए । उनीहरूले आफ्नो सुरक्षाको ग्यारेन्टीका लागि तालिबानका एक अधिकारीलाई नियन्त्रणमा राखेका थिए । टिकटमा राष्ट्रियता भारतीय उल्लेख गरेका भए पनि अपहरणकारी दुई जना पाकिस्तानी र तीन जना कश्मिरी रहेको खुलेको थियो । मौलानाका भाइ इब्राहिम अख्तरको योजनामा विमान अपहरण गरिएको थियो ।

कान्दाहार अपहरण प्रकरणमा आतंकवादीहरूसामु झुकेको भन्दै भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी नेतृत्वको सरकारको निकै आलोचना भएको थियो । तर, बाजपेयीले नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्नो सरकारले अपहरणकारीको मागलाई धेरै हदसम्म कम गरेको र यात्रुहरूलाई मुक्त गर्न सफल भएको भन्दै सरकारको बचाउ गरेका थिए ।

हरकत–उल–मुजाहिद्दिनमा आबद्ध अजहर स्वतन्त्र कश्मीर अभियानका प्रभावशाली नेता थिए । भारतमै गोप्य योजनामा सक्रिय रहेका बेला भारतीय सुरक्षाफौजले उनलाई सन् १९९४ मा पक्राउ गरेको थियो । सन् १९९९ मा रिहा भएलगत्तै उनले जैस–ए–मोहम्मदको स्थापना गरेका थिए । त्यसपछि त्यस समय सक्रिय रहेका हरकत–उल–मुजाहिद्दिन र हरकत–उल–अन्सार आदि उग्रवादी संगठनहरू उक्त समूहमा गाभिएका थिए ।

स्थापनाको दुई महिनाभित्रै जैस–ए–मोहम्मदले सन् २००० मा कश्मीरको श्रीनगरस्थित भारतीय सेनाको स्थानीय मुख्यालयमा आत्मघाती बम आक्रमण गरेर जिम्मेवारी लिएको थियो । त्यो उग्रवादी समूहलाई विगतमा भारतीय भूमिमा भएका कतिपय घटनाहरूका लागि जिम्मेवार मान्ने गरिएको छ ।

जैस–ए–मोहम्मदले सन् २०१९, फेब्रुअरीमा कश्मीरको पुलवामामा अर्धसैनिकलाई लक्षित गरी आत्मघाती आक्रमण गरेको भारतको दाबी छ । त्यस्तै, २०१६ को जनवरीमा पन्जाबको पठानकोटस्थित वायुसेनाको अखडा र २००१ डिसेम्बर १३ मा भारतको संसद् भवनमा पनि उक्त संगठनले आक्रमण गराएको ठानिएको छ । संसद्मा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच झन्डै लडाइँ भएको थियो ।

सन् २००२ देखि पाकिस्तानमा प्रतिबन्धित समूह जैस–ए–मोहम्मदलाई भारत, अमेरिका, बेलायत र संयुक्त राष्ट्रसंघले आतंकवादी संगठन भनेका छन् । अजहर पाकिस्तानको पन्जाब प्रान्तको बहावलपुर क्षेत्रमा सक्रिय रहेको बताइन्छ । अजहर सुम्पिन भारतले पाकिस्तानसमक्ष राखेको मागलाई इस्लामाबादले प्रमाणको अभाव भन्दै अस्वीकार गर्दै आएको छ । त्यस्तै, रिहा गरिएका अहमद ओमार सइद शेख पश्चिमी देशका पर्यटकहरूलाई अपहरण गरेको आरोपमा सन् १९९४ मा भारतमा पक्राउ परेका थिए । सन् १९९९ मा उनी रिहा भए । त्यसको तीन वर्षपछि उनले ‘वाल स्ट्रिट जर्नल’ का रिपोर्टर ड्यानियल पर्लको हत्या गरेका थिए । बेलायतको लन्डनमा जन्मिएका सइद शेख अमेरिकामा आतंकवादी आक्रमणको योजना बनाउनेमध्येका एक भएको बताइन्छ । उनलाई अपहरण र हत्याको आरोपमा पाकिस्तानी प्रहरीले सन् २००२ मा पक्राउ गरेको थियो ।

त्यस्तै, मुस्तक अहमद जरगर विभिन्न हत्या आरोपमा सन् १९९२, मे १५ मा पक्राउ परेका थिए । सन् १९९९ मा रिहा भएका उनी पाकिस्तानी प्रहरीद्वारा २००२ मा पुनः पक्राउ परेका थिए । सन् २००७ मा मुजफ्फरवादमा रहेका उनी त्यसयता भने सार्वजनिक छैनन् ।

प्रकाशित : भाद्र २२, २०८१ १२:११
x
×