कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

क्वियरका मनका कुरा 

भाद्र १५, २०८१
क्वियरका मनका कुरा 

Highlights

  • पहिचानको संघर्षमा छन् क्वियर । उनीहरूसँग छ– सामाजिक हेय, दुर्व्यवहार र विभेदका लामा शृंखला । क्वियरको शरीरमा होइन, समाजको नजरमा छ विकृति ।

भित्री मनको कुरा कसले बुझिदिने ? हातखुट्टा, अनुहार, शरीरको बाहिरी भागमा लागेको चोट सहजै देखिन्छ, जसको उपचारका लागि अस्पताल दौडाइन्छ तर मनभित्र लागेको घाउ–चोट कसले देख्ने ? कसले बुझ्ने ? कसले उपचार गरिदिने ?,’ आफ्ना पीडा, तनाव र दुःखका लस्कर सुनाइरहेकी छन् एरियना (नाम परिवर्तन) ।

भन्छिन्, ‘बाहिरबाट हेर्दा त म सद्दे नै देखिन्छु, तर मेरो शरीरभित्र पिल्लिएर बसेका घाउ–चोट निक्कै गहिरा छन् ।’

जन्मिएको थातथलो पूर्वी नेपाल छाडेर किशोरावस्थामै काठमाडौं छिरे उनी । परिवारका कान्छा छोरा भई जन्मिएका उनी ९–१० वर्षे उमेरदेखि नै टीका–गाजल, लाली, पाउडरमा रमाउन थाले, जुन उनको परिवार र समाजलाई पाच्य भएन । अन्ततः काठमाडौं छिरेपछि उनी पूर्ण रूपमा स्त्रीरूपी देखिने एरियनाका नामले चिनिन थाले । ‘मेरो जीवन मात्रै होइन हरेक पलमा शरीरको रूपरङ्ग, चालढाल र हाउभाउ बदलिएको छ । तर, समयसँगै यो समाजको सोच र व्यवहार बदलिएन । मूल कुरा मेरो शरीरमा आएको दृश्यात्मक परिवर्तनसँगै मस्तिष्कभित्र पीडाका पोकाहरूको पर्खालरूपी पहाड पनि अग्लिँदै गएको छ ।’

उनको मन सधैं अमिलो हुन्छ, मान्छेका व्यवहारको सम्झनाले, ‘संसारमा जन्मिएका हरेक मानवको जीवनमा सुखदुःख हुन्छन्, तर हामी यौनिक तथा लैंगिक अल्पसंख्यकका पीडा, जलन, कुष्ठा र दुःखको आकलन जोकोहीले गर्न सक्दैन ।’ यति हुँदाहुँदै पनि यी ट्रान्स–वुमनको अनुहार धपक्कै बलेको छ । संवादको समय प्रत्येक शब्दसँगै उनको ओठमा देखिएको मुस्कानले उनीभित्रको अटल आत्मबललाई प्रमाणित गरिरहेको छ ।

मूलतः यो समुदायका मानिसहरूमा पहिचानको संकट अर्थात् ‘आइडेन्टिटी क्राइसिस’ को समस्या व्यापक छ । त्यस अलावा छन्– पारिवारिक तथा सामाजिक हेय, दुर्व्यवहार लगायत राज्यले विविध विषयमा गर्ने विभेदका लामा कथाहरू, जसकारण आफूहरू मानसिक रोगको सिकार हुनुपरेको उनीहरू बताउँछन् ।

भैरहवाबाट करियर बनाउन राजधानी छिरेकी लोयला (नाम परिवर्तन) पनि परिवारले आफूलाई अस्वीकार गरेकै कारण घरबार र आफन्तविहीन हुनुपरेको सुनाउँछिन् । भन्छिन्, ‘छोरीका रूपमा जन्मिए पनि मेरो भित्री आत्माले कहिल्यै त्यो स्वीकार गरेन । महिनावारी हुँदा दिक्क लाग्ने, स्तन बढ्दै जाँदा आक्रोश र चिढ्चिढा हुने, रिस मात्रै उठिरहने, पुरुषको पहिरन मनपर्ने । मर्द हुँ भन्ने भाव आउने । यस्तो भएपछि घरमा समस्या भयो । कसैले मेरो भावना बुझेनन् । र, घर छाडेर हिँडे ।’ अहिले उनले सर्जरीमार्फत स्तन र पाठेघर फालिसकेकी छन् । उनलाई देख्ने सबैले भन्छन्– उनी पुरुष नै हुन् । तर, उनलाई उहिल्यै बनाएको नागरिकताले असाध्यै गाह्रो पारेको छ । उक्त नागरिकतामा दुईचुल्ठे कपाल बाटेकी केटीको फोटो छ । नागरिकता हेरेर उनको अहिलेको हुलिया नमिल्ने भएपछि एयरपोर्ट, सरकारी कार्यालय, जागिरका लागि जाने संघसंस्थालगायत जताततै समस्या आउने गरेको उनले बताइन् । ‘यस्ता कुराले पनि असाध्यै दिमाग खल्बलिने रहेछ । मूल कुरा त अहिले नागरिकता र समलिङ्गी विवाहको ठूलो समस्या छ । आफूले चाहेको नभएपछि खुसी हराउँदै जाँदोरहेछ ।’ उनी भन्छन्, ‘यसैका कारण जागिर खान समस्या, काम पाइहाले पनि यस्तो हो भन्ने थाहा पाएपछि जागिरबाट निकालिदिने, हेप्ने, अपशब्द सुन्नुपर्ने लगायतका व्यवहारले मस्तिष्क स्थिर हुँदैन, मन ठीक ठाउँमै रहँदैन ।’ यद्यपि जन्मदेखि ३० वर्षे उमेरसम्म हन्डर ठक्कर खाएर नारी हुँदै पुरुष जीवन बिताइरहेका उनी अटल र अदम्य देखिन्छन् । उनलाई लाग्छ रे, कमल हिलोमै फुल्छ, बिनासंघर्षको जीवन के जीवन ? ‘खल्लो कसलाई मनपर्छ र ?,’ उनले मन्द मुस्कान छर्दै भने ।

जेम र जायद (नाम परिवर्तन) सँगै बस्न थालेको ५ वर्ष पुगेको छ । उनीहरू दुवै पुरुष हुन् । परिवारबाट दुवैलाई विवाहको दबाब बढ्न थालेपछि र आफूहरू छुट्टिनै नसक्ने अवस्थामा पुगेपछि गुपचुप रूपमा लुकेर बसिरहेको उनीहरू बताउँछन् । ‘सजिलो छैन, परिवार र समाजले थाहा पायो भने के भन्ला भन्ने पीर, अर्को कुरा हामीबाट बालबच्चा हुँदैन, विवाह दर्ता पनि छैन,’ दुवैले एकै स्वरमा पीडा पोखे, ‘कतिपय कुरा त राज्य र कानुनले सुनिश्चित गरिदिए हुने भन्ने लाग्छ । केही सहज हुनेथियो कि !’ राज्यले आमनागरिकसरह आफूहरूलाई पनि निश्चित अधिकार प्रदान गरेको खण्डमा जीवन यत्ति धेरै अन्योल नहुने र आफ्नै लयमा बग्ने उनीहरूको तर्क छ । यस्ता कुराले मानसिक रूपमा अत्यन्तै गहिरो पीडा प्रदान गर्ने पनि उनीहरूले बताए ।

नेपालको संविधान २०७२ ले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई संवैधानिक अधिकार प्रदान गरेको छ । संविधानको धारा १२ ले लैंगिक पहिचान अनुसारको नागरिकताको व्यवस्था गरेको छ भने धारा १८ ले विभेद गर्न नपाइने व्यवस्था गरेको छ र पनि अझैसम्म यो समुदायको आफूहरू चरम विभेदको सिकार बनिरहेको दाबी छ । अधिकारकर्मी तथा नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङ भन्छिन्, ‘यो समुदायका लागि जेजति अधिकार दिइएको भन्ने छ, त्यो कागजमा मात्रै सीमित छ, व्यवहारमा लागू गर्न कठिन छ । मूल रूपमा समुदायभित्र अनगिन्ती मानसिक स्वास्थ्य समस्याहरू छन् । सामाजिक र पारिवारिक स्वीकार्यताको कमी, आर्थिक संकट र पार्टनरसँग अस्थिर सम्बन्धका कारण धेरै व्यक्तिहरू तनाव, एक्साइटी, डिप्रेसन, एन्सोमेनिया जस्ता मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् ।’

चार वर्षको अवधिमा यस समुदायका ८२ भन्दा बढी व्यक्तिले आत्महत्या गरेको र ७३ जनाले प्रयास गरेको पनि पिंकीले बताइन् । यसका पछाडि थुप्रै कारण छन् । लैंगिक तथा यौनिक अल्पसंख्यकमध्येका धेरैलाई मानसिक स्वास्थ्यबारे ज्ञान नै छैन, यद्यपि उनीहरू यस समस्याबाट दीर्घ रूपमै पीडित छन् । यतिसम्म कि उपचारका बारेमा समेत सूचना र ज्ञानको कमी छ । हजारौंलाई परामर्श दिइरहेकी गुरुङ भन्छिन्, ‘परिवार र साथीभाइको डरका कारण उनीहरू आफ्नो पीडा र समस्याबारे खुलेर बोल्न सकिरहेका छैनन्, जसले गर्दा उनीहरू बिनापरामर्श र बिनाउपचार आफैंलाई मार्छन् ।’

सबै मिलेर राज्य, समाज र समुदायभित्रको मानसिक स्वास्थ्य समस्याबारे चेतना अभिवृद्धि गराउनुपर्ने पिंकीको जोड छ । भन्छिन्, ‘सरकार र निजी क्षेत्रले जताततै मेन्टल हेल्थ सेवा बढाउनुपर्छ ताकि सबैले सहज रूपमा सेवा प्राप्त गर्न सकुन् । यो समुदायको स्वास्थ्य स्थितिको तथ्य पत्ता लगाउने अवस्था जान्न समुदायबीच अनुसन्धान गरिनुपर्छ ।’ मन भुलाउने बाटो खोज्दै जाँदा यो समुदायका कतिपय मानिस ड्रग सप्लायरको फन्दामा परेको तथ्यांक पनि उनीसँग छ ।

‘पहिचान’ नामक संस्थाले केही वर्षअघि गरेको अध्ययनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका युवाहरूमा ४ गुणा बढी ‘सेल्फ हार्म’ र ‘सुसाइडल थट्स’ आउने देखाएको छ भने ३८ देखि ६५ प्रतिशत टान्सजेन्डर व्यक्तिले आत्महत्या प्रयासको अनुभव गरेको बताइएको छ । २० देखि ३० प्रतिशत यस्ता व्यक्ति कुनै न कुनै दुर्व्यसनमा परेको र २५ प्रतिशतले मादक पदार्थ सेवन गर्ने गरेको तथ्यांक पनि यसैमा उल्लेख छ । सन् १९५० तथा ०६० को दशकमा ‘होमोसेक्सुआलिटी’ र ‘बायोसेक्सुआलिटी’लाई मानसिक रोग मानिने गरिए तापनि पछिल्लो समयमा यो सोचमा निक्कै परिवर्तन आएको पनि शोधमा उल्लेख छ । यद्यपि संयुक्त राष्ट्रसंघ अन्तर्गतको यूएनवुमनले सन् २०२३ मा गरेको शोधले नेपालमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका पक्षमा सकारात्मक कानुनी पहल भएको देखाएको छ । राज्य संरचनामा समान सहभागिताका विषयदेखि लिएर समलिंगी विवाहका कुरामा राज्य सकारात्मक देखिएको शोधमा उल्लेख छ, यद्यपि हाम्रो सामाजिक, सांस्कृतिक सोच र परम्पराका कारण कार्यान्वयनमा असहजता भएको त्यहाँ स्पष्ट उल्लेख छ ।

‘साइकोथेरापिस्ट’ विपिन थापाका अनुसार, विश्वव्यापी रूपमा सामान्य मानिसको तुलनामा यो समुदायका व्यक्तिहरू २५ प्रतिशतले बढी मात्रामा मदिराजन्य पदार्थ सेवन गर्छन् । साथै यो समुदायका व्यक्तिमा प्रमुख समस्याका रूपमा डिप्रेसन, चिन्ता, विकार तथा सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक विभेदका समस्या बढी मात्रामा देखिन्छ । ठूलो संख्यामा समुदायका व्यक्तिहरूलाई काउन्सिलिङ गरिसकेका थापा भन्छन्, ‘समुदायका १० देखि २४ वर्षका व्यक्तिहरूका लागि आत्महत्या मृत्युको प्रमुख कारणमध्ये एक हो । आफ्नो यौन झुकाव वा लैंगिक पहिचानको आधारमा कलंक, भेदभाव र पूर्वाग्रहको सामना गर्नुपर्छ भन्ने डर तथा दोहोरो चरित्रको जीवन जिउनुपर्ने बाध्यताका साथै समाज र परिवारबाट अपहेलित हुनुपर्ने सोचका कारण दिनरात आफू जो होइन, त्यो अप्राकृतिक जीवन जिउनु परेको अवस्था देखिन्छ । यस किसिमको मनोवैज्ञानिक समस्याका कारण मानसिक सु–स्वास्थ्यको अवस्थाहरू विरुद्धको सामाजिक पूर्वाग्रहको सामना गर्नुपर्ने, सधैं दुःखी भइराख्नुपर्ने तथा निराशापनको सिकार हुनुपर्ने देखिएको छ ।’

यस समुदायका मानिसहरूको मानसिक स्वास्थ्यको अर्को जोखम भनेको ‘अल्पसंख्यक तनाव’ भएको विपिनको धारणा छ । मानसिक स्वास्थ्य चुनौतीहरूमा भेदभाव र घरेलु हिंसा, विद्यालयमा खिल्ली उडाउने परिपाटी, नागरिक र मानवअधिकारको हनन, दुर्व्यवहार, उत्पीडन लगायतले आत्मबल कमजोर हुने अनि आत्मविश्वासको कमी हुने, प्यानिक अट्याक जस्ता चिन्ते रोगले उनीहरूलाई गाँजेको थापा बताउँछन् ।

लैंगिक तथा यौनिक अल्पसंख्यक अधिकारकर्मी भूमिका श्रेष्ठ यो समुदायले जीवनको कुनै न कुनै मोडमा हिंसा भोग्नै परेको बताउँछिन्, जसको तथ्यांक ८१ प्रतिशत रहेको पनि उनले खुलाइन् । तीमध्ये ७१ प्रतिशत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले भावनात्मक हिंसाको सिकार भएको तथ्यांक छ । उनी भन्छिन्, ‘धेरैजस्तो हाम्रो समुदायका व्यक्तिहरूले मानसिक हिंसा अर्थात् मानसिक स्वास्थ्यको आधारमा भेदभाव र विभेदको सिकार हुनुपरेको छ, उचित समयमा परामर्श नपाउँदा कैयौं साथीले आत्महत्याको बाटो रोजेका छन्, साथै आफ्नो लैंगिक पहिचान र यौनिकताबारे थाहा नहुँदा अन्योलमा बस्नुपरेको अवस्था छ । यसको मुख्य कारण भनेको घरपरिवार, समाज र राज्यद्वारा हुने भेदभाव हो । स्वास्थ्य सेवामा पहुँच नहुनु तथा उचित नीति र कानुन नबन्नु हाम्रो समुदायका लागि ठूलो समस्या हो । यौन तथा प्रजनन स्वास्थ्य र यौन स्वास्थ्यका कार्यक्रम बजेटहरूमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सम्बोधन गरिएको छैन । अब यो तत्काल जरुरी छ ।’

नेपालको सन् २०२१ को जनगणनाले नेपाली समुदायमा लगभग २ हजार ९ सय २८ जना लेस्बियन, गे, बायसेक्सुअल, ट्रान्सजेन्डर, अन्तरलिङ्गी वा अन्य विविध यौन वा लैंगिक पहिचानका व्यक्तिको पहिचान गरेको अनुमान छ ।

पद्मकन्या क्याम्पसका मनोविज्ञान संकायका प्राध्यापक डा.नरेन्द्र्र सिंह ठगुन्ना भन्छन्, ‘डिप्रेसन सबैमा एक सामान्य र गम्भीर चिकित्सा रोग हो, तर डिप्रेसन हुने दर ‘एलजीबीटीक्यूमा हेटेरोसेक्सुअल’हरूको तुलनामा १.५ देखि २.५ गुणा बढी हुन्छ जसले शारीरिक र भावनात्मक रूपमा असर गर्ने विभिन्न समस्याहरू निम्त्याउँछ ।’ यो समुदायका व्यक्तिमा डिप्रेसन ३० देखि ६० प्रतिशतसम्म बढेको उनी बताउँछन् ।

लेस्बियन, गे, बायसेक्सुअल, ट्रान्सजेन्डर र पोखराका क्वियरमा डिप्रेसनको व्यापकता मूल्यांकन गर्न नेपालमा एउटा अनुसन्धान गरिएको थियो । यस अध्ययनले २७ दशमलव ८ प्रतिशत उत्तरदातामा डिप्रेसन भएको देखाएको पनि ठगुन्नाले बताए । उक्त अध्ययनका सहभागीहरूले चिन्ता, अवसाद, आत्महत्या विचार र व्यवहारसहित पर्याप्त मानसिक स्वास्थ्य समस्याहरूबारे बोलेका थिए । यस्ता समस्या बढाउने कारकहरूमा पारिवारिक अस्वीकार, विखण्डन, धम्की, कलंक, भेदभाव र एचआईभी तथा अन्य यौन सञ्चारित संक्रमणहरूको डर समावेश भएको पाइयो । सहभागीहरूले मानसिक स्वास्थ्य जाँच उपकरण, डिजिटल परामर्श, हेल्पलाइन नम्बर, समुदायमैत्री प्रदायकहरूको डाइरेक्टरी, मानसिक स्वास्थ्य स्रोतहरू र सम्भावित समाधानका रूपमा साथीहरूको समर्थनका लागि छलफल फोरम जस्ता सुविधाहरूसहितको स्मार्टफोन एप उपलब्ध हुनुपर्ने सुझाएका थिए । सहभागीहरूले मोबाइल एपहरू सुरक्षित र पहुँचयोग्य छन् भनी सुनिश्चित गर्न गोपनीयता र यसको महत्त्वमाथि जोड दिएका थिए ।

समाजशास्त्री तथा पद्मकन्या क्याम्पस सामाजिक कार्य विभागीय प्रमुख सुक्रिता राई भन्छिन्, ‘यौनिकता मानव जीवनको केन्द्रीय घटक हो, तर नेपाली समाजमा यौनिकता र सेक्सुअल ओरियन्टेसनलाई मौनताको आधिपत्यमा ढाकिएको छ । यही कारणले यस समुदायका हरेक ५ युवामध्ये एक जना मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन् र १० देखि २४ वर्ष उमेर समूहका युवाहरूमा मृत्युदरको दोस्रो ठूलो कारण आत्महत्या भएको छ ।’

उनका अनुसार, फरक लिङ्गका रूपमा पहिचान गर्ने बालबालिका, लैंगिक र यौनिक अल्पसंख्यक किशोरकिशोरीहरूका लागि खतराहरू उल्लेखनीय रूपमा बढी छन् । लैंगिक र यौनिक अल्पसंख्यक किशोरहरूले सामान्य जनसंख्याको तुलनामा डिप्रेसनका लक्षणहरू अनुभव गर्ने सम्भावना ६ गुणा बढी हुन्छ । उनीहरूलाई नकारात्मक रूपमा अवाञ्छनीय र असामान्य रूपमा ‘स्टेरियोटाइप’ व्यवहार गरिएको छ, जसले गर्दा उनीहरूमा उत्पीडन हुन्छ, जुन घर र विद्यालयबाट सुरु हुने पनि उनको लामो शोध अनुसन्धानको अनुभवले बताउँछ । यौनिक र लैंगिक अल्पसंख्यकहरूमध्ये, बालबालिकाहरू वयस्कहरूभन्दा बढी जोखिममा रहेको र शक्ति गतिशीलताका कारण बालबालिकाहरू कम शक्तिशाली स्थितिमा रहेको पनि उनले तर्क गरिन् । उनीहरूमा दुर्व्यवहार गर्नेहरूविरुद्ध लड्ने सम्भावना कम हुने र तिनीहरू प्रायः यौन शोषण र मौखिक दुर्व्यवहारको लक्षित हुने तथ्य आफूले शोधक्रममा फेला पारेको उनको तर्क छ ।

लैंगिक तथा यौनिक अल्पसंख्यक बालबालिका र किशोरकिशोरीहरूमा दोष, लाज, सार्वजनिक शरम, धम्की, उत्पीडन र डरको भावनाले निराशा, क्रोध, असहाय चिन्ता, तनाव, आत्महत्याको विचार र प्रयास जस्ता मानसिक समस्या निम्त्याउनुका साथै लागूपदार्थ दुरुपयोगलाई अँगाल्न पुगेको पनि सुक्रिताले बताइन्, ‘भेदभाव र परित्यागका कारण उनीहरू आफैंले आफैंलाई सामाजिक रूपमा बहिष्कृत गर्न बाध्य भएको तथ्य सामान्य होइनन् ।’ यसले देखाउँछ– हाम्रो समाज कतातिर गइरहेको छ ? र, मुलुक बनाउने जनशक्ति कुन बाटोमा छन् ?

करिब दुई महिनाअघि नेपालस्थित जर्मन दूतावासको सहयोगमा धिमाल फाउन्डेसनले आयोजना गरेको सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियात्मक कार्यशालामा लैंगिक तथा यौनिक अल्पसंख्यकको मानसिक स्वास्थ्यका विषयमा व्यापक छलफल गरिएको थियो । विश्वव्यापी रूपमा हेर्दा पनि जबसम्म एउटा व्यक्ति स्वस्थ हुँदैन तबसम्म घरपरिवार, समाज र मुलुक स्वस्थ नहुने र यसको असर दीर्घकालीन रूपमै सबैतिर पर्ने छलफलको निष्कर्ष थियो । यद्यपि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू सबै दुःख, पीडा बिर्सिएर रमाउँदै, खुसी हुँदै आफूलाई आफ्नो करियर र कार्यरत क्षेत्रमा अब्बल बनाउँदै लैजाने गरेका सकारात्मक सन्देश प्रवाह गर्ने सूचना मात्रै होइन, भिडियोहरूसमेत त्यहाँ प्रस्तुत गरिएको थियो ।

नेपालमा पनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायभित्र डाक्टर, वकिल, राजनीतिज्ञ, व्यवसायी, अभियन्ता, कलाकार तथा मोडलहरूको संख्या उल्लेख्य रूपमा रहेको र आफ्नो कार्यक्षेत्रमा बेजोड प्रस्तुतिका साथ राष्ट्रलाई अतुलनीय योगदान दिइरहेकाको कथा त्यहाँ देखाइएको थियो । ती पात्रहरू नै अन्तर्क्रियामा सहभागी थिए ।

प्रकाशित : भाद्र १५, २०८१ ०९:२१
x
×