कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

म पनि त एक थान मानिस नै हुँ नि ब्रो !

भाद्र १५, २०८१
म पनि त एक थान मानिस नै हुँ नि ब्रो !

रङ्गहरुको यस संसारमा
म पनि त एउटा रङ्ग नै हुँ

कालो हुँला

पहेंलो हुँला

गहुँगोरो हुँला

हिउँगोरो हुँला

ध्वाँसे हुँला

चकलेट रङ्गको हुँला

तर हुन त म पनि एकथान

मानिस नै हु नि ब्रो !


अलिकति अल्लारे रङ्गको हुँला

थोरै अलबेला रङ्गको हुँला

केही खलबले रङ्गको हुँला

अग्घोरै ढुलमुले रङ्गको हुँला

बित्पातै चुलबुले रङ्गको हुँला

अत्यन्तै पाङ्मुङे रङ्गको हुँला

असाध्यै पाङ्दुरे रङ्गको हुँला

नजानिँदो सुकुलछाप रङ्गको हुँला

थोरबहुत सडकछाप रङ्गको हुँला

हल्का भुलक्कड रङ्गको पो हुँला

अलि–अलि उडन्ते रङ्गको पो हुँला

कमबेसी नकच्चरो रङ्गको पो हुँला

धेरथोर थेत्तरो रङ्गको नै हुँला

अलिक बढ्तै दागी रङ्गको नै हुँला

हुनसम्मको बागी रङ्गको नै हुँला

जेसुकै जस्तोसुकै किन न हुँ

म पनि एकथान मान्छे नै त हुँ नि ब्रो !


रङ्गहरुको यस संसारमा

म पनि खोज्दै छु ब्रो

उज्यालोको झलमल्ल रङ्गको ओत

शान्तिको शान्त रङ्गको बान्की

रगतको गाढा रङ्गको मात

सुन्दरताको सादा रङ्गको स्वाद–सौगात


म पनि खोज्दै छु

काठमान्डुका धुलाम्मे सुकुम्बासी बस्तीदेखि

चाडको चिहिरिँदै गरेका स्लमहरुसम्ममा

वर्षौंअघि मेरा बा–हजुरबाको पालादेखि हराएको

मानवताको रङ्ग


भियतनाम

अफगानिस्तान

प्यालेस्टाइन

इराक

इथियुपिया हुँदै

राष्ट्रसंघका गलियाराहरुसम्म

जताततै खोजी हिँड्दै छु

मान्छे हुनुको रङ्ग

विभेदै–विभेदका छेपारे छिर्बिरे

रङ्गहरुमाझ

असमानताका खरानी रङ्गहरुमाझ

कहाँ हराइपठाएँ ब्रो मैले मेरो

मान्छे भइटोपल्नुको निजी रङ्ग

म त्यही रङ्ग धुइँपत्ताल खोजिरहेको छु अहिले ।


त्यही रङ्ग

जुन रङ्ग मैले मेरो श्रमसित मिसाएर

युफ्रिटिजमा बगाएको थिएँ कुनै दिन

जुन रङ्ग पसिना बनाएर

ब्रह्मपुत्रमा मिसाएको थिएँ मैले कुनै दिन

जुन रङ्ग आफ्नो जाँगरसँगै

ह्वाङ्होको जंघारमा घोलेको थिएँ कुनै दिन

जुन रङ्ग आफ्नो साहसमा मथेर

एमाजोनमा अघ्र्य चढाएथें कुनै दिन

हो म त्यही रङ्ग

धुइँधुइँती खोजी हिँड्दै छु ब्रो !


मेरो बोहेमियन बेहोरा बुझेर

मेरो उरन्ठ्याउलो बानी देखेर

तपाईं बिच्किनु भएजस्तो छ ब्रो

तपाईं भित्रभित्रै भुङ्ग्रिनु भएजस्तो छ नि

मेरो गतिछाडा स्वच्छन्द स्वभाव चाल पाएर ब्रो !


तर, तपाईंजस्तै म पनि त उभिएको छु

हेर्नोस् त— विसङ्गतिहरुको बेढङ्गको जेब्राक्रसमा

विरोधाभासको पर्खालमाथि चढेर

तपाईंले जस्तै

मैले पनि त हेरिरहेको छु अचम्म मान्दै

सुपरमार्केट जस्तै–जस्तै बन्दै गइरहेको

यस दुच्छर दुनियाँलाई ।


तपाईं काठमान्डुमा बस्नोस् चाहे मनिलामा

हर्जगोभिनामा बस्नोस् चाहे चेर्नोबिलको

आणविक भट्टीको छेउछाउमा

केही फरक पर्दैन ब्रो

स्वैरकल्पनाले मृत्युवरण गरिरहेको यस २१ औं शताब्दीलाई

अनि पराउत्तरआधुनिक यस संशयग्रस्त समयलाई

कुनै फरक पर्दैन ब्रो !


रङ्गहरुको यस संसारमा

गरिबीको रूग्ण रङ्गले लेखिएको

अर्कै एउटा छुट्टै समाज पनि त छ

जहाँ एक छाक मीठोमसिनो खान, आङ ढाक्ने एक झुम्रो लाउन

र एक जिन्दगी बाँच्ने तरखर गर्दै गतिलो सपना देख्न

आफ्नो भएको एउटा जीउज्यानलाई नै

घरीघरी च्याँखे थापिरहनुपर्छ

हो, तपाईं र म दुवै

त्यही सीमान्त समाजका आदिवासी हौं ब्रो !


नरिसाउनोस् न त्यसरी मसित

बोहेमियन बेमिजासको हुँला म निःसन्देह

तर बदमास होइन है ब्रो पक्कै पनि ।


आफ्नो रङ्गहरु गुमाउँदै गइरहेको

यस संसारमा

रङ्गहरु खोज्दै हिँडिरहेको

तपाईंजस्तै एउटा काँचो कोकल्याँटो यात्रु हुँ

जसको अभ्यन्तर खोतलिहेर्दा

भेट्नु हुनेछ अन्ततः

कस्तूरी बिनाको सुगन्ध

सुगन्ध भाइचाराको

बन्धुत्वको

हातेमालोको

एउटा चोखो साजी सुगन्ध नि ब्रो !

तपाईंले

वा मैले

जुन दिन जसले जहाँ भेटे पनि

यही संसारलाई नै फर्काउने हो त्यो रङ्ग ब्रो !

मान्छे–मान्छेमाझ विभेदरहित

शोषणरहित, स्वाङरहित

भ्रातृत्वको रङ्ग

भाइचाराको रङ्ग

भलाकुसारीको रङ्ग

भावनाको रङ्ग

भलमनसाहतको रङ्ग

भूगोलको रङ्ग

भूगर्भको रङ्ग

अन्तरङ्गताको रङ्ग

प्रकृतिले बनाएको अन्तिम रङ्ग ।


रङ्गैरङ्गको यस संसारमा

म पनि एकथरी रङ्ग नै हुँ ब्रो !

अग्घोरै अलमले रङ्गको हुँला

केही अधबेस्रो रङ्गको हुँला

अलिकति आँडे–आँडे रङ्गको हुँला

धेरै उत्ताउलो रङ्गको हुँला

थोरै उच्छृङ्खल रङ्गको हुँला


हिप्पी रङ्ग

जिप्सी रङ्ग

नोम्याड रङ्ग

एस्किमो रङ्ग

रोमा रङ्ग

खानबदोस रङ्ग

घुमन्ते रङ्ग

फिरन्ते रङ्ग

आवारा रङ्ग

खाते रङ्ग

ट्यापे रङ्ग

गँजेडी रङ्ग

नसेडी रङ्ग

भ्रमको रङ्ग

भुइँमान्छेको रङ्ग


थरी–थरी रङ्गले बनेका मान्छेहरुमाझ

म पनि त एकथान

मान्छे नै त हुँ नि ब्रो !

प्रकाशित : भाद्र १५, २०८१ ०८:५९
x
×