कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्यालेस्टाइनी सडकमा बच्चीको डायरी 

भाद्र १५, २०८१
प्यालेस्टाइनी सडकमा बच्चीको डायरी 

Highlights

  • प्यालेस्टाइनीहरू मध्यपूर्वका हरिया खजुरका बोटहरूझैं जीवनको शुष्क धरातलमा चर्को घाममुनि उभिइरहेका छन्

प्यालेस्टाइनीको मनले चाहेजस्तो, मस्तिष्कले सोचेजस्तो केही भइरहेको छैन । देशैभरि शरणार्थी शिविरहरूको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । सबतिर रोग, भोक र शोक व्याप्त छ । कसैले पनि एउटा सुन्दर भविष्यको सपना देख्दै परिवारजनसित ढुक्कसित बस्न पाएका छैनन् ।

तर, उनीहरू समयको यस त्रासदीमा पनि घरी घरी एउटा फिनिक्स चराझैं आफ्नै विनाशको खरानीको थुप्रोबाट उठ्दै छन् । मध्यपूर्वको हरिया खजुरका बोटहरू झैं जीवनको शुष्क धरातलमा चर्को घाममुनि उभिइरहेका छन् । उनीहरूमा गज्जबको मनोबल छ । उनीहरू एउटा जल्दोबल्दो उदाहरण हुन्– देशप्रेमको । उनीहरूका दिलमा व्यथाको ठूलो सागर उर्लिन्छ, तर पनि संघर्षले बलियो जरा गाडेर उभिएको छ । यस अवस्थामा उनीहरूको भावनालाई सम्मान गर्नु भनेकै हामीभित्रको दया, माया र मानवता मरेको छैन भन्ने प्रमाण पेस गर्नु हो ।

हालै, अक्टोबर ०७, २०२३ का दिन प्यालेस्टाइनी समूह हमासले इजराइलको दक्षिणी भागमा आक्रमण गरेको थियो । यो सन् १९४८ को अरब–इजराइल युद्धपछिको पहिलो ठूलो आक्रमण थियो, जसमा लगभग १,१३९ मान्छे मारिएका थिए । हमासका लडाकुहरूले २४० जना इजरायलीलाई बन्दी बनाएर लगेका थिए । हमासको उद्देश्य इजरायली जेलहरूमा बन्दी बनाइएका प्यालेस्टाइनीलाई छुटाउनु थियो । हमासले गरेको यस आक्रमणपछि इजरायलले पनि गाजामाथि लगातार हमला गरिरहेको थियो । डिसेम्बर ०६, २०२३ को आक्रमण यसैको परिणाम थियो । यस हमलामा ४४ वर्षीय प्यालेस्टाइनी कवि तथा प्रोफेसर रेफात अलारिरको मृत्यु भयो । उनले केही साथीसित मिलेर ‘वि आर नट नम्बर्स’ नामको संगठन स्थापना गरेका थिए । त्यस संगठनले अग्रज प्यालेस्टाइनी लेखक तथा नवलेखकलाई जोड्ने काम गरिरहेको थियो । उनको लेखन तथा यस्ता क्रियाकलापले गर्दा रेफात अलारिरलाई इजरायली सेनाले ‘टार्गेट’ गरिरहेको थियो ।

प्यालेस्टाइनी सर्जकहरूले यसरी दुःख पाएको वा मृत्यु भएको घटना नयाँ होइन । प्यालेस्टाइनको संघर्ष थालिएको सुरुदेखि नै अनेक लेखकलाई देश छोड्न बाध्य पारिए, थुप्रै मारिए र धेरैलाई जेलमा कोचियो । प्यालेस्टाइनी कवितामा एउटा सम्मानित नाम हो– महमुद दर्विश । उनको जन्म पश्चिमी गलिलीमा मार्च १३, १९४१ मा एउटा जमिनदार परिवारमा भएको थियो । उनलाई प्यालेस्टाइनको राष्ट्रिय कविको रूपमा पनि चिनिन्छ । इजरायलमा राजनीतिक उथलपुथल चलिरहेको समयमा उनको गाउँ द्वन्द्वले तहसनहस भएको थियो, जसकारण उनको परिवार भागेर लेबनान जानु परेको थियो । आफ्नो प्रतिरोध कविताकै लागि दर्विश २६ वर्षसम्म विभिन्न देशहरूमा निर्वासित जीवन बिताउन बाध्य भए । अर्का कवि थिए– घसन कानाफानी । उनको पनि इजरायली गुप्तचर एजेन्सी मोस्सादले हत्या गरिदिएको थियो । यसरी लेखेको जुर्ममा आफ्नो ज्यान गुमाउनेमा अनेकौं प्यालेस्टाइनी कवि तथा लेखकहरू छन् । केही वर्षअघि मात्रै सामाजिक सञ्जालमा पोस्ट गरेको कविताबाट आतंकवादलाई प्रोत्साहन गरेको आरोपमा प्यालेस्टाइनी कवि देरिन तेटौरलाई अदालतले दोषी ठहर गरेको थियो । उनीभन्दा अघि नै मुइन बसिसो, फौजी अल–असमार, समिह अल–कासिम, तौफिक जयद, जस्ता कविहरू प्रतिरोधी कविता लेखेर पटक पटक जेलमा कोचिए ।

सन् १९४८ को प्यालेस्टाइनी समाज र राजनीतिमा जति महत्त्व छ उति नै महत्त्व प्यालेस्टाइनी साहित्यमा पनि छ । साहित्यमा यो परिवर्तन सामाजिक, राजनीतिक र आर्थिक उत्पीडनको उपज थियो । सन् १९४८ पछि प्यालेस्टिनी साहित्यले नयाँ साहित्यिक आन्दोलनको जग बसाल्न सफल भयो । यो साहित्यिक आन्दोलन त्यस समयको राजनीतिक परिवर्तनको एउटा उल्लेखनीय साक्षी बन्न सफल भएको छ । सन् १९४८ को युद्धपछिको प्यालेस्टाइनी कविताले जनताको राष्ट्रिय उत्साह झल्काउँछ ।

त्यो समयको कविहरूका कविता जीवनशक्तिले भरिएका थिए । महमुद दर्विश, फदवा तुकान, इब्राहिम तुकन, मोइन बेस्सिसो र कमल नासिर आदि आफ्ना प्रभावशाली प्रतिरोधी कविताका लागि विश्व प्रसिद्ध छन् । यी कवि–लेखकले घरबाट बेघर हुनुको पीडा, आफ्नो अस्तित्व बचाउन गर्नुपरेको संघर्ष, आफ्नो देशमा फर्केर आउने चाहना, विगतको सम्झना र आक्रमणकारीप्रतिको आक्रोशलाई आफ्ना सिर्जनामा प्रमुख स्थान प्रदान गरेका थिए ।

प्यालेस्टाइनीहरूको दुःखको आयतन धेरै ठूलो छ । उनीहरूमाथि रगत तात्ने गरी ज्यादती र बलमिच्याइँ भएको छ । प्यालेस्टाइनीहरूको दुःखलाई कसले महसुस गर्दैन होला ? र, त संसारैभरिका सचेत नागरिक उनीहरूको पक्षमा सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । गाजापट्टीमा बच्चा, युवा र वृद्धवृद्धा सबैको दिन शत्रुको प्रतिरोध गरेरै बितिरहेको छ ।

त्यहाँ जन्मिनेबित्तिकै बच्चाले हत्या, हवाई आक्रमण, बमबारी, रकेटको प्रहार र बाटोमा गुडिरहेका ट्यांकका प्रत्यक्षदर्शी बन्नु परेको छ । गृहणीहरूको दैनिकी तनावमा बित्छ कि घरबाट निस्केर गएका सन्तान र श्रीमान् सकुशल घर फर्किने हुन् वा होइनन् । बूढाबूढीहरू आफ्ना बुढ्यौली आँखाहरूमा यस नरसंहारको चित्र कोर्न बाध्य छन् ।

कवि लेना खलाफ तुफाहाको कविता ‘आइरहेको छ आदेश’ ले गाजामा खसाइएको बम र निर्दोष जीवनमाथि हानिएको हरेक गोलीको आवाज आकाशै गर्जिने गरी संसारलाई सुनाइरहेको छ । हनान मिखइल अशरावीको कविता ‘बच्चीको डायरी’ र रैमजी बारुदको कविता ‘जब म ठूलो हुनेछ’ ले टीभी र भिडियो क्लिपहरूमा देखिने बच्चाहरूको क्रन्दन र पीडालाई मनमुटु छेड्ने गरी संसारसामु पोख्दै छ । कवि मोसाब अबु तोहाको कविता ‘प्यालेस्टाइनी सडक’ मा ठुल्ठूला ट्यांकले मानव–समाजको मुटुलाई किच्दै हिँडिरहेको बताउँछ । यी कविताहरूमा प्यालेस्टाइनीका घरहरू मन दुखाउने गरी उजाडिएका छन् । यी कविताले उनीहरूले झेल्नुपरेको अपमान, छलकपट, उत्पीडन र अन्यायलाई सिर्जनात्मक रूपमा विश्वसामु ल्याएका छन् । यस्ता सिर्जनाले आजको प्यालेस्टाइनी साहित्यको विश्व साहित्यमा छुट्टै स्थान बनाइदिएको छ । यी कविता मातृभूमिप्रतिको अगाध माया र जनताले भोगेका उत्पीडनको विरोधमा जन्मेको संघर्ष र बलिदानको ऐना हो ।

यिनले हामीलाई आफ्नै परिवेश र समाजमा भइरहेका अन्यायहरूसित जुध्ने प्रेरणा दिन्छन् । ती प्यालेस्टाइनी एउटा शान्तिपूर्ण र सहअस्तित्वको बलियो जगमा उभिएको समाज निर्माणप्रति हाम्रो चाहनाको सुन्दर प्रतिविम्ब हुन् ।

(गुरुङको अनुवादमा प्यालेस्टाइनी कविहरूका कविता समेटिएको कविता–संग्रह ‘जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्’ प्रकाशित छ)

प्रकाशित : भाद्र १५, २०८१ ०८:४८
x
×