आखिर के राखिएको छ नाममा ? 

मान्छेले नबुझ्दैमा परम्परादेखि चलिआएको स्थाननाम बदल्ने, फेर्ने, सच्याउने काम युक्तिसंगत नहुने मात्रै होइन, त्यो इतिहास मेटाउने घातक काम पनि हो । 

भाद्र १५, २०८१

वसन्त थापा

After all, what is in the name?

राजधानी काठमाडौंको जुन ठाउँमा मेरो एउटा सानो ओत छ, त्यस ठाउँलाई सामाखुसी भनिन्छ । यसको उत्तर–पश्चिम साँध गोंगबु कहलिने इलाकासित जोडिएको छ । त्यही भएर सामाखुसीले छोएको चक्रपथको चोकलाई गोंगबु चोक भन्ने गरिन्छ । एक किसिमले सामाखुसी र गोंगबुको दोसाँधको इलाकामा रहेको छ मेरो बसोबास । 

अड्तीस वर्षअघि त्यस ठाउँमा घडेरीको जोहो गर्दा म अन्जान थिएँ, यस ठाउँको नाम र भूगोलबारे । म त बसाइँ सरी आएको परें । तर, घर बनाउनुअघि माटो जँचाउन एक जना इन्जिनियरलाई ल्याउँदा ‘यो कुन ठाउँ हो ? यसको नाउँ के हो ?’ भनेर तिनले मसित प्रश्न गरेका थिए मानौं तिनी आफू सुदूर प्रदेशबाट आएका नवागन्तुक थिए । तर, तिनी निस्किए काठमाडौंको भोटाहिटीमै जन्मेर हुर्केका अनि यस इलाकामा भने कहिल्यै नआएका । चक्रपथ बनिसकेको भए पनि त्यो एकप्रकारले सीमान्त इलाका पर्थ्यो, मध्य दिउँसोमा समेत ट्याक्सी जान नमान्ने । चारैतिर पस्रेको थियो धान फल्ने खेतको फाँट अनि थिए एक्का दुक्का घरहरू । नेवार भाषामा गोंगबुको अर्थ ‘भाले (बास्ने) खेत’ भएको र सामाखुसीको खुसी शब्दले चाहिँ खोलो वा खोल्सो जनाउने कुरा यहीं आएपछि बोध भयो मलाई । 

नयाँ बसपार्क के बन्यो साविकको खेतका फाँटमा उम्रिए रातारात घरहरू । दस दिशाबाट ओइरिए सहस्र मानिसहरू । बाहिरबाट आउनेहरूको एक प्रकारले मूल गौंडा नै बन्यो नयाँ बसपार्क । मानिसहरूले ‘गोंगपुर’ भन्ने गरेको सुन्छु हिजोआज । जसले गोंगबु भन्छ, त्यसलाई उदेक मानेर हेर्छन् ‘गोंगपुर’ भन्ने नवागन्तुकहरू । सामाखुसी पनि उनीहरूका लागि ‘सामाकोशी’ भएको छ । उनीहरूले सुन्दै आएको कोशी हो, खुसी त उनीहरूका लागि बिरानो भयो । 

नेवार भाषामा बु (अझ खास त बुँ हो) प्रत्ययले खेत बुझाउँछ र त्यस्ता अरू पनि स्थाननाम छन् काठमाडौंमा जस्तैः खुसिबु, बलम्बु, सैंबु । अनि खुसी प्रत्ययले खोलो बुझाउँछ र खुसी जोडिएका अरू पनि स्थाननाम छन् जस्तैः भाचाखुसी, हिजा खुसी (धोबी खोलाको नेवारी नाम), चंखुँ चा खुसी आदि । यस तथ्यबाट अनभिज्ञ उनीहरूले जे सजिलो लाग्यो त्यही भन्न थाले । उनीहरूलाई बुझाइदिने पनि कोही भएनन् ।

यसरी अज्ञानतावश मूल नामलाई बंग्याएर बोल्दै जाँदा कालान्तरमा त्यही लोकबोली बन्न जान्छ र सद्दे नाउँको ठाउँ बिसद्दे नाउँले लिन पुग्छ, जसको कुनै छन्द र अर्थ हुँदैन । 

अज्ञानतावश कुनै ठाउँको नाउँलाई बिगारेर बोल्नु एउटा कुरा हो, प्रचलनमा रहेको स्थाननामलाई जानाजान बदल्न खोज्नु अर्को कुरा हो । काठमाडौंको हाँडी गाउँको नाउँ बदलेर त्यसलाई ‘हरिग्राम’ बनाउन विगतमा एकथरीबाट भएको प्रयास त्यसको एउटा उदाहरण हो । त्यहाँ बसोबास गर्ने केही भलादमीहरूलाई ‘कतै नभएको जात्रा’ हुने ‘हाँडीगाउँ’ नाम केही कारणले अप्रीतिकर लाग्यो होला र उनीहरूले एकप्रकारले संगठित अभियान नै चलाएका थिए त्यसलाई बदलेर ‘हरिग्राम’ राख्ने । उनीहरूले तर्क तेर्स्याएका थिए प्राचीन हरिग्राम बस्तीको नाम अपभ्रंश भएर बनेको हो हाँडीगाउँ । यसका अभियानकर्ताहरूले चिठी लेख्दा सिरानमा हरिग्राम लेख्ने, नामनामेसी र वतन खुलाउँदा हरिग्राम भनी उल्लेख गर्ने, लेख रचनाका माध्यमद्वारा पनि हरिग्राम नै हुनुपर्छ भन्ने तर्क अघि सार्ने आदि चलन थालेका थिए । उनीहरूका तर्कको तुलो भारी हुँदै गएको थियो र दिल्लीको गुडगाउँ गुरुग्राम भए जस्तै हाँडीगाउँ हरिग्राममा रूपान्तरित हुन पनि बेर थिएन । 

धन्न, विद्वान् वास्तुविद् सुदर्शनराज तिवारीले विशद अध्ययन र अनुसन्धानपछि हाँडीगाउँको इतिहासको गुत्थी फुकाउने पुस्तक निकालिदिए, जसमा हाँडीगाउँ लिच्छविकालमै स्थापित उच्च कला र संस्कृति सम्पन्न प्राचीन बस्ती भएको पुष्टि गरिएको छ । लिच्छविकालमा त्यस बस्तीलाई अण्डीपृङ्ग भन्ने गरिएको र कालान्तरमा त्यो अण्डीग्राम हुँदै वर्तमानकालमा हाँडीगाउँ हुन गएको डा. तिवारीको विश्लेषण रहेको छ । हाँडीगाउँकै रैथाने बासिन्दा डा. तिवारीले हाँडीगाउँको नाउँको उत्पत्तिको सन्दर्भमा निकालेको यस निष्कर्षबाट व्यर्थैमा हरिग्रामको नाउँ जप्ने भलादमीहरूको जोस अहिले ठन्डा भएको हुनुपर्छ । 

तर, मौलिकता कायम राख्ने मामिलामा सबै ठाउँ यसरी नै अडिग रहन सकेका छैनन् । काठमाडौं उपत्यकाभित्रै र यसको छोरमा रहेका दुइटा ठाउँले आफ्नो पुरानो नाउँ गुमाउन पुगेका छन् । त्यसमा एउटा हो– सीतापाइला नजिकको ‘भीडुङ्गादाम थोक’ जो अचेलभरि ‘भीमढुङ्गा’ हुन गएको छ । यस नयाँ नाममा अभ्यस्त भइसकेका नयाँ पुस्ताकालाई सम्भवतः यसको पुरानो नाउँबारे जानकारी पनि नहोला । आफू काठमाडौंभन्दा सुदूर पूर्वको स्थानमा जन्मे, हुर्केको र वयस्क भएपछि मात्र काठमाडौं प्रवेश गरेको भए तापनि ‘भीडुङ्गादाम थोक’ भन्ने नाम मैले संवत् २०१४ सालतिरै थाहा पाएको थिएँ । मलाई त्यसरी थाहा हुने एउटा सानो कारण र कथा छ । 

मेरा बा पहिलो पटक काठमाडौं आउनुभएको थियो, एक वर्षअघि मात्र बनेर तयार भएको ‘बाइरोडको बाटो’ हुँदै संवत् २०१४ सालमा । काठमाडौं बसाइको क्रममा उहाँको जम्काभेट भएको थियो आफ्नै सालीसित वसन्तपुरमा, जो नेपाली सेनाका जवानको प्रेममा परेर निकै वर्षअघि धनकुटाबाट उसबेलाको ‘नेपाल’ भासिएकी थिइन् । तिनको घर थियो भीडुङ्गादाम थोक । सालीको करबलले गर्दा उस बखतको अनकन्टार त्यस गाउँमा हिँडेर गएको कथा सुनाउनुहुन्थ्यो बा । त्यसैबेलादेखि मेरो बालमस्तिष्कमा उत्कीर्ण भएको थियो भीडुङ्गादाम थोक । तर, अचेल म देख्छु त्यस नामलाई ‘भीमढुङ्गा’ ले प्रतिस्थापित गरेको । थोक प्रत्यय लागेका धेरै स्थाननाम छन् । तिनैमध्ये एउटा काठमाडौंबाट धेरै टाढा छैन, जस्तो खरेल थोक । नजान्नेहरूले त लखनउलाई नखलउ भन्ने गरेको पनि सुनिन्छ यदाकदा । तर, यहाँ त अज्ञानीहरूको जिब्रोले बिगारेका कारणले नभई बकायदा औपचारिक तवरमै बिगारिएको छ मौलिक नाउँ र पारिएको छ ‘भीमढुङ्गा’ । 

अर्को ठाउँ हो हेलिकोप्टर दुर्घटनाका कारण हालसालै चर्चामा आएको नुवाकोट जिल्लाको सूर्यचौर, जो काठमाडौंको उत्तर–पश्चिम किनारमा अवस्थित छ । त्यस इलाकाका कुनै पनि रैथाने मानिसलाई सोध्नोस्, त्यसको असली नाउँ उनीहरू भन्नेछन् ‘सुइरे चौर’ । ध्वनिसादृश्यका कारण भ्रमवश कसैले सूर्य चौर भन्ने सुन्यो होला । तर, अहिले त त्यही नाउँमा ठप्पा लागिसकेको छ । हेलिकोप्टर दुर्घटनापछि त झनै देशव्यापी पो हुन पुग्यो त्यो नक्कली नाउँ ।

अब काठमाडौंदेखि अलिक टाढा पूर्व लागौं प्रदेश नम्बर एकमा रहेको मेरो साविकको जिल्ला सुनसरीतिर । ‘हरिनगरा’ नाउँको एउटा गाउँ थियो र अझै छ सुनसरी जिल्लाको दक्षिणी भागमा भारतसित सिमाना जोडिएको ठाउँनेर । खालि फरक के छ भने त्यसले अचेल ‘हरिनगर’ भन्ने परिवर्तित नाउँ ग्रहण गरेको छ औपचारिक तवरमै । गाउँपालिकाको नाउँ नै भएको छ हरिनगर । कसरी भयो होला र के कारणले भयो होला यस्तो परिवर्तन भनेर उदेक लाग्छ । के हरिनगरा भन्ने नाउँ अपरिष्कृत र अशुद्ध लागेर हो ? 

हरिनगराको उत्तर दिशातर्फ सप्तकोशीको किनारमा हुने गर्थ्यो चकरघट्टी नाउँको अर्को गाउँ । धरानको घोपाबाट माल ओसार्ने ‘न्यारो गेज’ को रेल पनि चल्थ्यो चकरघट्टीसम्म कोशी बराज बन्दै गरेको समयमा । असलमा चकरघट्टी छिचोलेर त्यो रेल पुग्थ्यो सिमानामा अवस्थित भीमनगरसम्मै, जहाँ त्यो बराज बनिरहेको थियो । ओहो, चक्रघट्टी पो अरे अहिले त ! बाटाघाटाका नामपाटीमा त्यही लेखिएको छ । सरकारी कागजपत्रमा त्यही छापिएको छ । कसको दिमागमा चलेको चक्रवातको परिणाम हो यो चक्रघट्टी ? 

झनै दिमाग खराब हुन्छ हामीले पहिले ‘पानमारा’ भन्ने गरेको ठाउँ अहिले ‘पानबारी’ नाउँमा रूपान्तरित भएको देखेर । कुनै डेढअक्कलीलाई लाग्यो होला छेउमा पत्रुङ्बारी छ पर्तिर केराबारी छ, त्यसैले यसको नाउँ हुनुपर्छ– पानबारी । यद्यपि ऐतिहासिक रूपमै पानको खेतीसित त्यस इलाकाको कुनै सम्बन्ध थिएन । त्यो इलाका त बरु खेतबारी थियो मैले थाहा पाउँदा । यहाँ पनि एउटा सानो कथा जोडिएको छ । संवत्को तेह्र–चौध सालमा हुँदो हो म पानमारा गएको थिएँ ठूलाबडाको पछि लागेर वर्षामा उर्लने सेउती खोलाको जोखिम मोल्दै । धेरै जना गएका थिए त्यहाँ धरानबजारबाट । खेतका आलीआलीमा राता झन्डा गाडिएका, बाउसेहरू खेत हिल्याइरहेका, रोपाहार धान रोप्दै गरेका पञ्चेबाजासहित । जनवादी रोपाइँ थियो क्यार त्यो । सायद आम किसानमा पल्हाउँदै गरेको संगठित राजनीतिक जागरणको सामूहिक प्रदर्शन । त्यसबेलादेखि चिनेको पानमारा बिना तुक र तर्क पानबारी भएको देख्दा उदेक लाग्नु स्वाभाविक हो । पानमारालाई पानबारी बनाउनेहरूलाई थारमारा, जोगीमारा, चोरमारा, बाहुनमारा जस्ता मारा प्रत्यय लागेर बनेका अन्य थुप्रै ठाउँका नाउँ छन् भन्ने थाहा भएन होला सायद । 

नेपालको पूर्वी सरहदको जिल्ला इलाममा रहेको सन्दकपुर गाउँपालिकाको नाउँ सुन्नुभएको होला । मैले पनि सुनेको छु, गएको भने छैन त्यहाँ । मैले सुनेको, जानेको र किताब पत्रपत्रिकामा पढ्दै आएको ठाउँ चाहिँ हो– सन्दकफु । ब्रिटिस वनस्पतिविद् जे डी हुकर पनि घुमेका ठाउँ हो त्यो । अरू अन्वेषकहरूको यात्रा विवरणमा पनि उल्लेख पाइन्छ त्यस ठाउँको । मेरो बुझाइमा सन्दकफु सिमानाको लगभग साँध बनेर रहेको अग्ला डाँडाको लामो सृङ्लाको नाउँ हो, जसको ठ्याक्कै पल्लोपट्टि भारतको सिङ्गलिला राष्ट्रिय निकुञ्ज अवस्थित छ । यो स्पष्टतः लेप्चा भाषाको शब्द हो । यसलाई भिन्नभिन्न स्रोतले भिन्नभिन्न तरिकाले अर्थ्याएका छन् । एउटा भनाइमा ‘बिखालु वनस्पति भएको लेक वा उचाइको पहाड’ हो यस शब्दको अर्थ । अर्थ भिन्नता होलान्, तर यो हो त लेप्चा भाषाको उत्पत्तिको शब्द । भारतको सिक्किम, दार्जिलिङ र नेपालको इलाम, ताप्लेजुङ इलाकालाई लेप्चा जातिको मूल थलो पनि मानिन्छ । त्यो मानिसकेपछि आधा भाग लेप्चा र आधा भाग संस्कृत भाषाको मिलाएर यो सन्दकपुर भन्ने वर्णशंकर नामको निर्माण किन गरेको होला ? समुच्चा र सद्दे नाउँ सन्दकफु राख्दा केही बिगार हुने थियो र ? 

अब चाहिँ काठमाडौंदेखि पश्चिम लागेर टाढा होइन, पाल्पा जिल्लासम्म पुगौं । पाल्पा एकताकाको बाह्र मगराँतअन्तर्गत पर्ने इलाका हो भन्ने कुरा इतिहासको जानकारी राख्ने सबैलाई थाहा भएकै तथ्य हो । अहिले पनि त्यो मगर बहुल इलाकामै गनिन्छ । त्यसैले त्यहाँका ठाउँहरूको नाउँमा मगर भाषाको छाप पर्नु अथवा मगर भाषाबाट गाउँठाउँको नामकरण हुनु कुनै अनौठो कुरा होइन । दी प्रत्यय लागेका नदी वा नदीसित सम्बन्धित नाम जस्तै मर्स्याङ्दी, दरौंदी, राम्दी आदि मगर भाषाबाटै आएका हुन् । आरे भञ्ज्याङ त्यस्तै एउटा नाउँ हो मगर भाषाबाट आएको । मगर भाषामा आरे भनेको लसुन हो । अर्थात् आरे भञ्ज्याङलाई लसुने भञ्ज्याङ भनेर बुझ्न सकिन्छ । तर, केही जान्नेसुन्नेलाई आरे शब्द पाच्य भएन र उनीहरूले यसलाई अर्थ्याए ‘आर्य’ भनेर । मगर भूमिमा आर्य ? यसपछाडि केही तुक वा तर्क छ ? आरे शब्दले केही खान मागेको थिएन र कसैलाई पीरपिराउ पनि गरेको थिएन । तर, त्यसलाई आर्य नबनाई कसै कसैलाई चित्त बुझेन । 

यस्तै उदाहरण देख्न पाइन्छ, पाल्पा जिल्लाको दक्षिण साँधको जिल्ला नवलपरासीमा । नारायणघाटबाट बुटवल जाने राजमार्गमा ‘आरूङ खोला’ र त्यही नामको सानो बजार हुने गर्थ्यो । अहिले त्यो बजार बढेर ठूलै भइसकेको छ र आरूङखोला पनि अरूण खोलामा परिणत भएको छ । त्यो बाटो आउजाउ गर्दागर्दै केही वर्षको अन्तरालमा त्यहाँको साइनबोर्डमा आरूङ खोलाको ठाउँ अरूण खोलाले लिएको देखेको छु । आरेजस्तै आरूङ पनि मगर भाषाको शब्द हो, जसको अर्थ ओदान हुन्छ नेपालीमा । पूर्वी पाल्पाबाट दक्षिणतिर बग्ने तीनवटा खोला मिलेर बनेको ओदानजस्तो स्थलबाट बग्ने हुनाले ‘आरूङ’ भनिएको बताउँछन् जानकारहरू । छँदाखाँदाको आरूङलाई अरूण बनाउने औचित्य र आवश्यकता के हो ? 

पहिलेदेखि चलिआएको गाउँठाउँको नाउँ झट्ट सुन्दा अर्थ न बर्थको लाग्न सक्छ । त्यस्तो लाग्ने कारण तिनको अर्थ नभएर होइन कि बुझ्नेको सीमित ज्ञान र साँघुरो दृष्टि भएर हो । विद्वान् लेखक कृष्णप्रकाश श्रेष्ठले ‘स्थाननाम कोश’ नाउँको ग्रन्थ लेखेका छन्, जसमा देशभित्रका विभिन्न ठाउँका नाउँहरूको नालीबेली तथा विवरण दिइएको छ । संवत् २०४४ मा तत्कालीन राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भएको त्यस कोशको प्राक्थनमा उनी लेख्छन्, ‘...स्थाननाम अर्थरहित चाहिँ अवश्य हुँदैनन्, यद्यपि तिनको अर्थ ठम्याउन हतपति सकिँदैन । जुनसुकै स्थाननामले पनि भौगोलिक अवस्थिति वा त्यस स्थानसित सम्बन्धित कुनै न कुनै ऐतिहासिक, सांस्कृतिक, धार्मिक, नृवंशात्मक, सामाजिक आदि तथ्यको संकेत दिएको हुन्छ ।’ उनी अझ थप भन्छन्, ‘अर्थ नलाग्ने जस्ता प्रतीत हुने स्थाननामहरू कुनै प्राचीन भाषाको अवशेषका रूपमा अस्तित्वमा रहेको हुन सम्भव छ ।’

त्यसैले आफूले नबुझ्दैमा परम्परादेखि चलिआएको स्थाननामलाई बदल्ने, फेर्ने, सच्याउने काम युक्तिसंगत नहुने मात्र होइन त्यो इतिहास मेटाउने घातक काम पनि हुन जान्छ । किनभने माथि उल्लिखित कोशको प्रकाशकीयमा कविवर माधव घिमिरे लेख्छन्, ‘कुनै पनि ठाउँको नामको आफ्नो इतिहास हुन्छ र त्यस इतिहाससँग देश र देशका बासिन्दाहरूको इतिहास पनि जोडिएको हुन्छ ।’ अनि थप प्रवृष्टिसहित ‘हिमाल’ किताबले संवत् २०६७ मा छापेको त्यस पुस्तकको परिवर्धित दोस्रो संस्करणको भूमिकामा विद्वान् लेखक तीर्थबहादुर श्रेष्ठले यस्तो लेखेका छन्, ‘कुनै एक स्थानको नाम स्थापना हुनलाई मानव सभ्यताको घटनाक्रमले सघाउँदै आएको हुन्छ । वस्तुतः कुनै पनि स्थाननामले त्यहाँको मानव सभ्यतासँग गाँसिएको कला, साहित्य, संस्कृति, भाषा, भूगोल, ज्ञान, विज्ञान र परम्पराको इतिहासलाई बोकेको हुन्छ ।’

हुन त नाउँको चर्चा चल्दा सेक्सपियरको ‘नाममा के राखिएको छ ?’ भन्ने प्रसिद्ध उक्तिको प्रसङ्ग आउँछ । तर, उनको त्यो भनाइ सम्भवतः गुलाफको फूलको हकमा मात्र लागू हुन सक्ला । माथि भनिए झैं संस्कृति, भाषा र परम्पराको इतिहासको हकमा लागू नहोला । किनभने गुलाफको सुगन्धभन्दा पर्तिर गएपछि नामको उपयोग संवेदनशील विषय बन्न जान्छ । 

यो आलेख कुनै विशद अनुसन्धानको परिणाम होइन । निजी अवलोकन र केही व्यक्तिहरूसितको वार्तालापमा आधारित रहेर केवल मनमा बिझेका कुरा अभिव्यक्त गरेको हुँ । तर, एकसरो अध्ययनबाट पनि स्थानको नामकरण वा नाम परिवर्तनमा एउटा प्रबल र आक्रामक प्रवृत्ति हावी हुँदै गएको भने प्रस्टै देख्न सकिन्छ । त्यो प्रवृत्ति भनेको रैथाने वा आर्येतर परम्परा र संस्कृतिलाई पन्छाएर हरेक नामलाई रामायण तथा महाभारतका मिथकीय पात्रहरू र हिन्दु देवदेवीसितै जोड्ने अनि हरेक शब्दको निर्वचन संस्कृतमै खोज्ने आग्रह । यस्तो आग्रह संविधानमा जाति, धर्म, संस्कृति, भाषी जस्ता शब्दमा ‘बहु’ उपसर्ग राखेर जसरी परिभाषित गर्न खोजिएको छ त्यस भावनाको अनुकूल हुँदैन । नेपाल नामक देश हरेक जातजाति र समुदायको समष्टिगत सहभागिताबाट निर्माण भएको छ भन्ने मान्यता बोक्नुपर्नेमा त्यसको विपरीत हुन जान्छ । 

त्यसैले हेक्का रहोस्, नाममा धेरै थोक राखिएको छ ।

वसन्त

Link copied successfully