कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

निर्णयको ‘फ्रिडम अफ एक्सप्रेसन’

श्रावण २६, २०८१
निर्णयको ‘फ्रिडम अफ एक्सप्रेसन’

Highlights

  • असलमा र्‍याप के हो ? को हुन् र्‍यापर ? किन जन्मिन्छ र्‍याप संगीत ?
  • ‘हिपहप र र्‍यापमा फ्रिडम अफ एक्सप्रेसन’ छ, यो ग्याङस्टर र्‍यापबाट ज्यादा प्रभावित छ ।

र्‍यापरहरूको सम्झना मात्रैले हाम्रो मस्तिष्कमा केही बिम्ब ओहोरदोहोर गर्छ, जस्तो ‘फ्रस्ट्रेटेड’ शब्दहरूले भरिएका गीत–संगीत, ट्याटु हानेका र झोलाजत्रा लुगा लगाउने मान्छे...! तर, असलमा र्‍याप संगीत हो के ? अनि को हुन् र्‍यापर ? किन जन्मिन्छन् र्‍यापर र र्‍याप संगीत ? 

९० को दशकमा र्‍याप गाउन सुरु गरेका निर्णय श्रेष्ठ ‘एनएसके’ भन्छन्, ‘मनभित्र कुण्ठित भावना व्यक्त गर्ने सहज माध्यम र्‍याप संगीत हो, जसलाई म छर्लङ्ग समाज देखाउने ऐनाका रूपमा बुझ्छु । संसारैभर यो संगीतले प्रशस्त सकारात्मक परिवर्तन ल्याएको छ । र्‍यापमा अश्लील शब्द हुनैपर्छ भन्ने होइन । झोले कपडा लगाए मात्रै र्‍यापर भइन्छ भन्ने पनि होइन । समाज कतातिर गइरहेको छ ? समाजको विकृति कसरी रोक्नुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने सशक्त माध्यम हो– र्‍याप ।’

निर्णयका विचारमा हिप–हप संस्कृति चार तत्त्वले बनेको हुन्छ– ‘ग्य्राफिटी पेन्टिङ, ब्रेक डान्सिङ, डिजेइङ र र्‍यापिङ’ । यिनै माध्यमद्वारा करिब १९५०–६० तिर काला जातिमाथिको दमन र अत्याचारविरुद्ध अमेरिकाको न्युयोर्कबाट हिपहप संगीत सुरु भएको हो । तिनताका यस संगीतलाई आफूभित्रका कुण्ठा र दमित आवाज व्यक्त गर्ने माध्यम बनाइएको थियो । संसारको पहिलो र्‍याप गीत ‘र्‍यापर्स डिलाइट्स’ हो । उबेला डिजे कुल हर्क, ग्य्रान्ड मास्टर फ्लास लगायतका र्‍यापरले हिपहप मार्फत विद्रोही भूमिका खेलेका थिए ।

वीरगन्जमा जन्मिएका निर्णयको मूलघर बालुवाटार हो । सरकारी जागिरे बुबाको पोस्टिङका कारण बसाइँसराइ भइरहन्थ्यो । सोही कारण निर्णयले युवावस्थासम्म आइपुग्दा निक्कै एक्सपोजर पाए । यूकेजीसम्म लिटल एञ्जल स्कुल पढेका उनी १ देखि ४ कक्षासम्म सेन्ट जेभियर्स पढे भने ७ देखि ८ कक्षासम्म अमेरिकाको युटा राज्यको लोगनमा । ९ देखि १० पढ्न पुनः सेन्टजेभियर्स फर्किएका उनी ११ र १२ क्याम्पियन एकेडेमी अनि ब्यालर्स सीजेएमसी । यसरी हेर्दा उनको जीवन मोबाइल पाराको देखिन्छ । ‘म अत्यन्त अन्तर्मुखी स्वभावको मान्छे, बल्ल–बल्ल यसो साथीसँग घुलमिल सुरु हुन्थ्यो अर्को ठाउँमा सर्न परिहाल्ने । यसरी मेरो जीवन आफैंलाई अस्थिर लाग्न थाल्यो । लयबद्ध हुन पाएन ।’ संक्रमणकालीन जीवन झेलेका उनी तिनै भोगाइ नै जीवनको सिकाइ भएको बताउँदै भन्छन्, ‘मैले कलिलो उमेरमै संसारका धेरै ठाउँ देखें, विविध खाले भाषा, धर्म, संस्कृतिका मानिस भेटें । विविधताको अनुभव गर्न पाएँ । अहिले घोत्लिएर सोच्दा लाग्छ, तिनै अनुभव नै जीवन बाँच्न सिकाउने माध्यम बने ।’

अमेरिकाको युटा राज्यको लोगन एक सुन्दर र सुरक्षित स्थान हो । गाउँजस्तै झझल्को आउने यो मनै लोभ्याउने सानो र चिटिक्कको सहरले निर्णयभित्रको र्‍याप कलामा निक्कै मलजल गरेको छ । त्यहाँ बस्दा निर्णयलाई मातृभूमि, यहाँका साथीसंगी तथा आफन्तजनको यादले निक्कै सताउँथ्यो रे । मनभित्र दबिएका तिनै भावना पोख्ने माध्यम उनले र्‍यापलाई बनाए । भन्छन्, ‘आफूभित्रका रहर, इच्छा, कुण्ठा र चाहना लेख्ने सिलसिलामै कहानी बन्यो । देशबाट पर बस्दा देशभक्तिकै शब्दहरू कोरिराख्थें । त्यसपछि मैले र्‍यापलाई आर्ट अफ स्टोरी टेलिङका रूपमा ग्रहण गरें र सुरु गरें र्‍याप लेख्न र गाउन ।’

दुई वटा अंग्रेजी र तीन वटा नेपाली गरी ५ एल्बम सार्वजनिक गरिसकेका निर्णयले आफ्नै शब्द र संगीतमा ३० वटाभन्दा बढी गीत गाइसकेका छन् । राष्ट्रप्रेम र देशभक्तिका शब्द कोर्न र गाउन अब्बल निर्णयको ‘दिन पनि बित्यो, रात पनि बित्यो, तिम्लाई छोडी जाने अब दिन पनि आयो...’ बोलको गीत लभ–सङ जस्तो सुनिए पनि वास्तवमा यसलाई निर्णयले देश छोडेर जान लागेको एक युवकको देशप्रेमप्रतिको पीडा भनेर बुझाए । अमेरिका पुगेपछि र्‍यापर बनेका निर्णय भन्छन्, ‘युटास्थित लोगनको त्यो थुम्को र मेरो र्‍यापबीच अद्भुत सम्बन्ध छ । नेपालमै स्थिर जीवनयापन गरेको भए सायद म र्‍यापर नबन्न पनि सक्थें । उता गएपछि आफ्नो माटोको गन्ध, नेपालप्रेम अनि नेपालसँग जोडिएका थुप्रै यादले मलाई र्‍यापर बनायो ।’ उनका अनुसार, सुरु–सुरुमा अभिभावकले अन्य कुनै पेसा–व्यवसाय रोजे हुन्थ्यो जस्तो गर्थे, तर बिस्तारै र्‍यापको अर्थ र महत्त्वका साथै यसमा समाज परिवर्तन गर्न सक्ने शक्ति हुन्छ भन्ने बुझेपछि सम्पूर्ण परिवारले नै साथ दिन थाले ।

बुवाको विद्यावारिधि सकिनासाथ निर्णय नेपाल फर्किनुपर्‍यो । यहाँ पनि फेरि एक पटक उनको जिन्दगी अस्थिरतामै दौडियो । सन् १९९२ मा नेपाल फर्केपछि उनले १९९८ देखि इमेज एफएममार्फत ‘ब्रिङ द हाउस डाउन’ नामक अंग्रेजी कार्यक्रम चलाउन थाले । उक्त रेडियो कार्यक्रम युवापुस्तामाझ निक्कै लोकप्रिय बन्नुका साथै हिपहप तथा र्‍याप म्युजिकलाई गाउँ–गाउँसम्म पुर्‍याउने माध्यम बन्यो । त्यसपछि निर्णयले ‘ब्रिङ द हाउस डाउन’ बोलको अंग्रेजी र्‍याप गीत निकाले । ‘र्‍यापमार्फत गालीगलौज गरेर होइन, सभ्य शब्दमा सकारात्मक सन्देश तथा सूचना प्रवाह गर्न सकिन्छ भन्ने अठोट लिएर सोही अनुसार अगाडि बढे ।’

आफ्नो र्‍याप जिन्दगीको फेहरिस्ता लगाउँदै निर्णय भन्छन्, ‘मैले गाएको दिन पनि बित्यो, रात पनि बित्यो...गीतले जनजनमा र्‍याप के हो भन्ने बुझाइदियो । म नेपाली, हामी नेपाली... बोलको गीतले सन् २००५ मा बेस्ट सङ अफ नेसनल फिलिङ्सको अवार्ड पायो । तसर्थ मलाई लाग्छ, र्‍याप संगीतमा नरम र सकारात्मक शब्दले पनि परिवर्तन ल्याउन सक्छ ।’

रूपरंग, चालढाल, लवाइखवाइ, तौरतरिका भिन्न देखिए पनि निर्णयलाई आजको दिनसम्म रक्सी, चुरोटको स्वाद थाहा छैन । आध्यात्मिकतामा विश्वास गर्ने उनी दयालु देखिन्छन् । सन् २००६ देखि निर्णयले ‘एनएसके टुर फर एजुकेसन’ सञ्चालन गरिरहेका छन्, जसमार्फत आजसम्म देशभरका २ सयभन्दा बढी स्कुल–कलेजमा ‘एडुटेनमेन्ट’ कार्यक्रम सम्पन्न भइसकेको छ । उनको कर्न्सट हेर्न आउने हरेक विद्यार्थीले एउटा कपी र एउटा कलम अनिवार्य रूपमा ल्याउनुपर्छ । उक्त कपी, कलम उनले विकट तथा दुर्गम स्थानका विद्यार्थीलाई निःशुल्क प्रदान गर्ने गरेका छन् । हालसम्म उनले मुलुकभर १५ लाख स्टेसनरीलाई बाँडिसकेका छन् । त्यसबाहेक निर्णयको पहलमा सयभन्दा बढी विद्यार्थी छात्रवृत्तिका पढिरहेका छन् । आपत्का घडीमा मुलुकका लागि दिलोज्यानका साथ सदा तयार रहने निर्णयले भूकम्पका बेला आफ्नो टिमसँग मिलेर बुङमतीमा दुई सय वटा घर निर्माण गरे, उक्त समयमा ७ महिना घर नआएको पनि उनले सुनाए । कोरोनाकालमा उनले दैनिक २५ देखि ३५ जनालाई सडकमै खाना खुवाए, केही समयअघिको भूकम्पमा खाद्यान्न र ग्यास सिलिन्डर बाँड्न दैलेख पुगे । ‘दया र प्रेम नै मानव धर्म हो भन्ने मैले बुझेको छु । मरेर के नै लिएर जाने हो र ? जे सकिन्छ यहीं गरेर जाने हो,’ अरूलाई सेवा गर्दा आत्मा खुसी हुने बताउँदै निर्णयले भने, ‘आत्मा शरीरभित्र हुन्छ, पहिरन या बाहिरी आवरणमा हुँदैन तसर्थ हृदय चिन्न सक्नुपर्छ ।’

२ वर्षदेखि आफ्नै एल्बम ‘एक नेपाल’ का लागि काम गरिरहेका निर्णय अरूको गीतमा संगीत दिने, शब्द लेख्ने, २६ वर्षदेखि सञ्चालन गरेको रेडियो कार्यक्रम चलाउने, टुर फर एजुकेसनका लागि सक्रिय रहने कामकुरामै व्यस्त छन् । पछिल्लो समय र्‍याप म्युजिकमा व्यावसायिकता बढेको बताउँदै उनले भने, ‘पहिले–पहिले हामीलाई सित्तैमा गाइदेउ भन्दा गाइदिन्थ्यौं । हाम्रो मन कमलो छ, छिट्टै भावनामा बगिहाल्छौं । तर, अहिलेका भाइबहिनीहरू बिनापैसा काम गर्दैनन् । ‘प्रोफेसनालिज्म’मा यो कुरा हुनुपर्दो रहेछ । जीवन निर्वाहका लागि पनि यो आवश्यक छ । व्यावसायिकता बढ्दै गएकोमा म खुसी छु ।’ जब गल्ती गरिन्छ तब गाली खाइन्छ, बहिष्कार भइन्छ भन्ने तर्क गर्ने निर्णय आफू सही मार्गमा असल कर्म गर्दै अगाडि बढ्यो भने सबैको साथ–सहयोग मिल्ने बताउँछन् । संगीत यसै पनि जटिल विधा हो, त्यसमाथि पनि र्‍यापले त झन् हरेकको मन छुने आँट–हिम्मत हुनुपर्छ भन्ने उनको धारणा छ । परफमर्श सोसाइटी अफ नेपालका उपाध्यक्ष, क्यान्सर रिलिफ सोसाइटीका बोर्ड सदस्य तथा रातोचन्द्रसूर्य डट कमका प्रधान सम्पादक निर्णय र्‍यापमा पोखिएका जति वैराग्यता, नैराश्यता या कुण्ठा छन्, तिनलाई हाम्रो समाज कतातिर गएछ र अब के गर्न पर्छ भनेर बुझिदिन सबैलाई आग्रह गर्छन् ।

एउटा कुरामा चाहिँ निर्णय सहमत देखिन्छन्, ‘हो हामीले भर्खर र्‍याप सुरु गर्दाका बखत अलि कडा अनुशासन मात्रै नभएर हामी स्वयंमा सेल्फ–सेन्सरसिपको भावना थियो । सन् २०१० या ०११ पछि मिडिया परिवर्तन भए । पत्रिका र रेडियोबाहेक विभिन्न टी.भी. च्यानल, युट्युब, अनलाइन लगायत न्यु मिडियाको प्रभाव बढ्न थाल्यो । मिडिया निःशुल्क रूपमा आफ्नै हातमा भएपछि यसको प्रयोग आफूखुसी हुन थाल्यो । तर, जे जस्तो भए पनि देश, समाज र नागरिकको भावनालाई कदर र सम्मान गर्ने व्यक्ति स्वयं आफैंले हो ।’

उबेला शारीरिक द्वन्द्व थियो, अहिले मानसिक र भावनात्मक द्वन्द्वमा मान्छे फस्दै गएको बताउने निर्णय यसको दोष नेतालाई मात्र नदिएर ‘हामी हरेक व्यक्ति पनि त्यसको भागिदार हौं’ भन्नेमा सहमत देखिए । ‘यो सबको कारण राजनीतिक अस्थिरता हो । म त गाली आफैंलाई गर्छु । किन अरूलाई गर्ने ? लोकतन्त्र तथा प्रजातन्त्रान्त्रिक मुलुकमा हरेक उम्मेदवार छान्न पाउने अधिकार हामीलाई छ । हामीले सही व्यक्ति छान्न नजानेको वा नसकेको पो हो कि ?’

र्‍यापलाई राजनीतिसँग जोडेर उनले भने, ‘फरक बुझाइकै कारण र्‍याप संगीत पनि गलत शब्दको चंगुलमा पो परेको छ कि ? अब मनन गर्ने बेला आइसक्यो जस्तो लाग्छ । किनभने हिपहप र र्‍यापमा फ्रिडम अफ एक्सप्रेसन धेरै छ । यो ग्याङस्टर र्‍यापबाट ज्यादा प्रभावित छ ।’

प्रकाशित : श्रावण २६, २०८१ ०९:१८
×