कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

पेजर, वाकीटकीको विस्फोट : के मोबाइल फोन सुरक्षित छ ?

आश्विन ४, २०८१
पेजर, वाकीटकीको विस्फोट : के मोबाइल फोन सुरक्षित छ ?

Highlights

  • लेबनानमा हेजबुल्लाह समूहले बोक्ने पेजर र वाकीटकी विस्फोटमा कम्तीमा ३७ जनाको ज्यान गइसकेको छ भने ३ हजार ७ सयभन्दा बढी घाइते भएका छन्, मंगलबार र बुधबार भएका विस्फोट इजरायली गुप्तचर निकाय मोसाद र इजरायली सेना (आडीएफ) ले गरेको जनाइएको छ

काठमाडौँ — करिब तीन दशकअघि सञ्चारका लागि निकै लोकप्रिय उपकरण २० औं शताब्दीको मध्यतिर नै विकसित गरिएको थियो । अल्फ्रेड जे ग्रसले सन् १९४९ मा आविष्कार गरेको पेजर अर्को वर्षदेखि न्युयोर्कका चिकित्सकलाई सञ्चारका लागि दिइएको थियो ।

पेजर सेवा लिएबापत ती चिकित्सकले मासिक १२ अमेरिकी डलर शुल्क तिर्नुपर्थ्यो । ४ सय ग्राम तौलको ‘७ ओजेड’ पेजरले ट्रान्समिटर टावरबाट ४० किमिसम्मको परिमितिमा सन्देश प्राप्त गर्थ्यो । ती पेजरहरू रिभसाउन्ड कम्पनीले उत्पादन गरेको थियो भने टेलान्सवेरफोन कम्पनीले सञ्चालन गरेको थियो ।

सन् १९६० मा जोन फ्रान्सिस मिचेलले ट्रान्जिस्टरबाट चल्ने पेजर विकसित गरेसँगै यसको प्रयोग व्यापक भएको थियो । १९६२ मा अमेरिकी टेलिफोन कम्पनी ‘बेल सिस्टम’ ले पहिलो व्यावसायिक तथा व्यक्तिगत पेजर विकास गर्‍यो । त्यसयता सार्वजनिक प्रयोगमा आएको पेजर १९८० र ९० को दशकमा भने सञ्चारका लागि अत्यावश्यक साधनजस्तै बन्यो । सँगै बोकेर हिँड्न मिल्ने ती पेजरको निजी कोड वा नम्बरका आधारमा प्रयोगकर्ताले सन्देश प्राप्त गर्न सक्छन् । पेजरबाट एकतर्फी सन्देश मात्र प्राप्त गर्न सकिन्छ भने ‘रेस्पोन्स पेजर’ मार्फत सन्देश प्राप्त गर्न वा पठाउन मिल्छ । सामान्यतः सन्देश प्राप्त गर्दा पेजरको स्क्रिनको एउटा भाग फ्ल्यास हुन्छ । ‘बीप’ आवाजसँगै लाइट फ्ल्यास हुने भएकाले यसलाई ‘बीपर’ पनि भनिन्छ । खासमा पेजर एलईडी स्क्रिन भएका साना रेडियो रिसिभर हुन् जसमा सन्देश प्राप्त गर्न र हेर्न सकिन्छ ।

१९८० र १९९० को दशकमा विद्युतीय पेजरलाई लाखौं मानिसले प्रयोग गर्ने नवीनतम प्रविधि मानिन्थ्यो । सेल (मोबाइल) फोनभन्दा पहिले कम्पनीहरूले विभिन्न स्थानमा खटिने कर्मचारीलाई छोटो सन्देश पठाउन पेजरको प्रयोग गर्थे । तर पछिल्ला दुई/तीन दशकमा स्मार्ट फोनको वृद्धिले पेजर लोप हुने संघारमा धकेलिएको छ । हाल पेजरहरू अस्पतालजस्ता ठाउँका लागि सीमित रूपमा प्रयोग हुने उपकरण हुन्– जहाँ अन्य सञ्चार उपकरण अवरुद्ध हुँदा चिकित्सक र नर्सलाई सन्देश पठाउने सस्तो र भरपर्दो माध्यम बनेका छन् ।

विश्वभर हाल करिब १३ लाख पेजर प्रयोगकर्ता छन् । तीमध्ये करिब १० प्रतिशत पेजर बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कामदारले प्रयोग गर्छन् । सन् २०१७ मा गरिएको एक अध्ययनअनुसार बेलायतका करिब ८० प्रतिशत अस्पतालमा पेजरको प्रयोग हुने गरेको छ । पेजरको नेटवर्क मजबुत हुने भएकाले पनि अत्यावश्यकीय सेवामा यसको प्रयोग अझै हुने गरेको छ । ‘एक्स–रे’ गर्दाका विकिरण छेकिने गरी बनाइएका कतिपय अस्पतालका कोठामा मोबाइल फोनको नेटवर्क नआउने भएकाले पनि पेजर प्रयोग गरिन्छ ।

१९८३ देखि मोबाइल फोनको व्यापक प्रयोगले ओझेलमा परेको पेजर फेरि एकाएक चर्चामा आएको छ । त्यसको कारण हो, इजरायल र हेजबुल्लाहबीचको युद्ध । सन् १९८० को दशकमा इजरायलविरुद्ध प्रयोग गर्न इरानको आर्थिक र सैन्य सहायतामा स्थापना भएको हेजबुल्लाह लेबनानस्थित सिया मुस्लिम समूह हो । जसका कारण दुई पक्षबीच पटक–पटक युद्ध भइरहन्छ । १९८० को दशकमा गृहयुद्धका क्रममा इजरायली फौजले दक्षिणी लेबनान कब्जामा लिएको थियो । तर, हेजबुल्लाहले लेबनानस्थित अमेरिकी र इजरायली फौजमाथि भीषण आक्रमण गरेपछि २००० मे २४ मा इजरायल दक्षिणी लेबनानबाट फिर्ता हुन बाध्य भयो । इजरायलले लेबनान छाडेसँगै हेजबुल्लाह निःशस्त्र हुनुपर्ने दबाब बढेको थियो । तर, त्यसलाई बेवास्ता गर्दै समूहले आफ्नो सैनिक संगठन ‘इस्लामिक रेसिस्टेन्स’ लाई थप सुदृढ पार्दै गयो । हेजबुल्लाहलाई अमेरिकालगायत पश्चिमा देशहरू इजरायल, खाडी–अरब देश तथा अरब लिगले आतंकवादी समूह घोषित गरेका छन् ।

दक्षिण लेबनानमा हजारौं लडाकु र ठूलो क्षेप्यास्त्र भण्डारण विस्तार गरेको हेजबुल्लाहले विवादित सीमा क्षेत्रमा इजरायली उपस्थितिलाई चुनौती दिँदै आएको छ । हेजबुल्लाहले पछिल्लो समय अमेरिका र इजरायल लक्षित आक्रमणलाई तीव्रता दिँदै आएको छ । २००६ मा ८ इजरायली सैनिकलाई मारिदिएपछि क्रुद्ध इजरायलले हेजबुल्लाहलाई समाप्त पार्ने भन्दै लेबनानमा भीषण आक्रमण गरेको थियो । ३४ दिनसम्म चलेको लडाइँका क्रममा लेबनानमा ११ सय जना र इजरायलमा १ सय १९ सैनिक तथा ४५ सर्वसाधारण मारिएका थिए । गत अगस्ट ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि गरेको आक्रमणपछि भने इजरायल र हेजबुल्लाहबीचको तनाव पनि थप चर्केको हो । अक्टोबरको आक्रमणमा १२ सय जनाभन्दा बढी इजरायलीको ज्यान गएपछि इजरायली सेनाले हमासविरुद्ध आक्रमण सुरु गर्‍यो । आक्रमणपछि हमासलाई सघाएको हेजबुल्लाह इजरायली निसानामा परेको हो ।

त्यसको पछिल्लो शृंखला हो, लेबनानमा गरिएको आक्रमण । इजरायली गुप्तचर निकाय र सेनाले हेजबुल्लाह लक्षित आक्रमणका लागि पेजर र वाकीटकी प्रयोग गरेको छ । मंगलबार र बुधबार भएका विस्फोटमा कम्तीमा ३७ जनाको ज्यान गइसकेको छ भने ३ हजार ७ सयभन्दा बढी घाइते भएका छन् । हेजबुल्लाह समूहका सदस्यले एकआपसमा सञ्चारका लागि प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा मंगलबार १२ जनाको मृत्यु हुनुका साथै ३ हजारभन्दा बढी घाइते भएका थिए । ज्यान गुमाउनेमा हेजबुल्लाह सांसद अलि अमरका छोरा र अर्का एक नेताकी १० वर्षीया छोरीसमेत छन् । एउटा विस्फोटमा बेरुतमा कार्यरत इरानी राजदूत पनि घाइते भएका थिए ।

बीबीसीका अनुसार स्थानीय समयअनुसार मंगलबार पौने ४ बजेदेखि लेबनानका विभिन्न स्थानमा ती उपकरणहरू पड्कन थालेका थिए । प्रत्यक्षदर्शीका अनुसार पहिले मानिसको गोजीबाट धूवाँ निस्कन थाल्यो र लगत्तै विस्फोटहरू भए । विस्फोटका क्रममा पटाका पड्केको वा गोली चलेको जस्तो आवाज निस्किएको थियो । इजरायलले स्थान पत्ता लगाउन नसक्ने गरी सञ्चार गर्न हिजबुल्लाहले पेजर प्रयोग गर्दै आएको छ । पेजर विस्फोटको भोलिपल्ट अर्थात् बुधबार भने हेजबुल्लाह समूहका सदस्यहरूले प्रयोग गर्ने वाकीटकी विस्फोट भए । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार विस्फोटमा कम्तीमा २५ जनाले ज्यान गुमाएका छन् । दर्जनौं स्थानमा भएका विस्फोटमा कम्तीमा ७ सय जना घाइते भएको जनाइएको छ । विस्फोटको जिम्मा हालसम्म कसैले पनि लिएको छैन ।

लेबनानका प्रधानमन्त्री नजिब मिकाती र हेजबुल्लाहले घटनाका लागि इजरायल जिम्मेवार रहेको बताएका छन् । प्रधानमन्त्री नजिबले उक्त घटना लेबनानको सार्वभौमसत्तामाथिकै आक्रमण भएको र त्यो जघन्य अपराध भएको बताएका छन् । हेजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै ‘सर्वसाधारणहरूले समेत ज्यान गुमाएको आपराधिक कार्यका लागि इजरायल पूर्ण रूपमा जिम्मेवार रहेको’ जनाएको छ । ‘देशद्रोही र आपराधिक शत्रुलाई सजाय दिइनेछ,’ हेजबुल्लाहले भनेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विभिन्न प्रतिवेदन सार्वजनिक गर्दै उक्त आक्रमण इजरायली गुप्तचर निकाय ‘मोसाद’ र इजरायली सेना (आईडीएफ) ले गरेको जनाएका छन् । कतिपय विज्ञहरू पनि घटनाको पछाडि इजरायलको हात रहेकामा सहमत देखिन्छन् । ‘हामीलाई थाहा छ कि इजरायलले आक्रमण गर्न प्रविधिको प्रयोग गरिरहेको छ । तर, यस्तो आक्रमण यसअघि कहिल्यै भएको थिएन,’ बेलायतको ल्यान्कास्टर युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक साइमन मेबानले बीबीसीसँग भनेका छन् । घटनाबारे इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन । तर, इजरायली रक्षामन्त्री योआभ गलान्टले ‘नयाँ चरणको युद्ध सुरु भएको’ बताएका छन् ।

एकैसाथ विभिन्न स्थानमा पेजर तथा वाकीटकीहरू कसरी विस्फोट भए वा गराइए भन्नेबारे अहिलेसम्म खुलेको छैन । यसबारे विज्ञहरूसमेत आश्चर्यमा परेका छन् । केही विज्ञले भने पेजरलाई ह्याक गरी ब्याट्री धेरै तताइदिएको अनुमान गर्छन् । जसका कारण पेजर फुटेको (विस्फोट भएको) अनुमान गरिएको छ । विस्फोट हुनुअघि ती पेजरहरू निकै तातेका थिए । पेजरमा प्रयोग हुने लिथिअम ब्याट्री धेरै तात्दा आगलागी हुन सक्छ । तर पेजर ह्याक गरेर त्यसलाई धेरै तातो बनाइए पनि ती विस्फोट नहुने विज्ञहरू बताउँछन् ।

एक विस्फोटक पदार्थ विज्ञले वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा भने पेजर निर्माण गर्ने बेलामा नै १० ग्राम वा २० ग्राम सैन्य प्रयोजनको अतिविस्फोटक पदार्थ ती साधनमा राखिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । केहीले भने पेजर निर्माणका क्रममा गल्ती भएको हुन सक्ने अनुमान गरेका छन् । बेलायती सेनासँग सम्बद्ध एक विज्ञले बीबीसीसँग ‘विस्फोट भएका पेजरहरूमा उच्च गुणस्तरको विस्फोटक पदार्थ गोप्य रूपमा राखिएको हुन सक्ने’ बताएका छन् । त्यस्तो सामग्री अल्फान्युमेरिक खालको सन्देशमार्फत विस्फोट गराइएको हुन सक्ने उनको अनुमान छ ।

ताइवानी कम्पनी ‘गोल्ड अपोलो’ ले बनाएका पेजर केही समयअघि मात्र हेजबुल्लाहलाई आपूर्ति गरिएको थियो । कम्पनीका संस्थापक सु चिङ–क्वाङले आक्रमणसँग आफ्नो कम्पनीको कुनै सम्बन्ध नभएको स्पष्ट पारेका छन् । उनले हंगेरीको बीएसी कन्सल्टिङ कम्पनीले उत्पादन गर्ने पेजरमा गोल्ड अपोलो नाम प्रयोग गर्नका लागि ट्रेडमार्क इजाजतपत्र दिएको समेत बताएका छन् । ‘यदि तपाईंले लेबनानका तस्बिरहरू हेर्नुहुन्छ भने विस्फोट भएका पेजरहरूमा ताइवानमा निर्मित लेखिएको छैन । हामीले त्यस्ता पेजर बनाएका होइनौं,’ उनले भनेका छन् । आफ्नो कम्पनीले बीएसी कन्सल्टिङ कम्पनीसँग तीन वर्षअघि सम्झौता गरेको र ती पेजरहरू उक्त कम्पनीले बनाएको सुको दाबी छ । सुरुमा उक्त कम्पनीले गोल्ड अपोलोले बनाएका पेजर युरोपमा बेच्नका लागि प्रस्ताव गरेको भए पनि पछि ट्रेडमार्क सम्झौता भएको बताए ।

त्यस्तै, बुधबार लेबनानमा विस्फोट भएका वाकीटकी जापानी निर्माण कम्पनी ‘आइकम’ का ‘आईसी–भी ८२’ हुन् । तर कम्पनीले एक दशकअघि नै ती उपकरणको निर्माण बन्द गरिसकेको जनाएको छ । बीबीसीका अनुसार आइकमले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ । ‘२००४ देखि २०१४ सम्म आईसी–भी ८२ को उत्पादन तथा आपूर्ति भएको हो । त्यसपछि कुनै पनि त्यस्ता उपकरण कम्पनीले आपूर्ति गरेको छैन,’ आइकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लेबनानी सञ्चारमाध्यमले बुधबार विस्फोट भएका ‘आईसी–भी ८२’ वाकीटकीहरू पुराना भएको जनाएका छन् ।

पेजर होस् वा वाकीटकी यी सबै सञ्चारका लागि प्रयोग हुने वायरलेस उपकरण हुन् । यसअघि यस्ता कुनै घटना सार्वजनिक भएका थिएनन् । जसका कारण पछिल्ला आक्रमणले वायरलेस सञ्चार उपकरण प्रयोगकर्ताको सुरक्षाका विषयमा चासो उत्पन्न भएको छ । खासगरी यस्ता उपकरण विस्फोट गराउनका लागि भने सफ्टवेयर ह्याक गरी तताउनुपर्छ । पेजर, वाकीटकी तथा मोबाइल फोनमा प्रयोग हुने लिथियम ब्याट्री धेरै तातेको खण्डमा आगलागी वा विस्फोट हुन सक्छ । तर, त्यस्तो विस्फोट लेबनानमा देखिएजस्तो घातक हुने सम्भावना भने निकै कम छ । त्यसमाथि त्यस्ता ब्याट्री तातेर पड्कन वा आगलागी हुन ५९० डिग्री सेल्सियस तापक्रममा पुग्नुपर्छ ।

यसअघि इजरायलले मोबाइल फोनको प्रयोग गरी सन् १९९६ मा हमासका बम निर्माता याह्या अय्यासको हत्या गरेको थियो । उनको हत्या गर्न विस्फोट गराइएको मोबाइलमा ५० ग्राम विस्फोटक पदार्थ भएको बताइएको थियो । यस अर्थमा लेबनानी मिडियाले दाबी गरेजस्तै हेजबुल्लाहले प्रयोग गरिरहेका पेजर तथा वाकीटकीमा इजरायलले पहिले नै उच्च विस्फोटक पदार्थ फिट गराएको त थिएन ? यसमा शंका भने कायमै छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : आश्विन ४, २०८१ ०९:२६
×