कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

किन हुन्छ विजयको ‘दिमाग खराब’ ?

श्रावण ३१, २०८१
किन हुन्छ विजयको ‘दिमाग खराब’ ?

Highlights

  • गम्भीर फिल्मकर्मीसँग काम गरिरहँदा विजयले चरित्र चित्रणमा पनि निकै मिहिनेत गरे । त्यसैले त उनी चरित्र सुहाउँदो अभिनयमा जमे । विजयले अहिलेसम्म सामान्य चरित्रलाई नै पर्दामा बाँचे, भुइँमान्छे बने । ती चरित्र बनाइरहँदा पनि त्यसलाई मसालेदार बनाउनेभन्दा पनि सामान्य देखाउन उस्तै तरिकाले बोले र हाँसे । दर्शकले यी चरित्रमा आफूलाई देखे, आफूलाई भेटे । अनि विजयलाई उनीहरूले आफूजस्तै ठानें । 

काठमाडौँ — अभिनेता विजय बराललाई बाटोघाटो कहीँकतै कसैले देखे भने सोधिहाल्छन्, ‘तपाईं बिके होइन ?’ खासमा ‘बिके’ सधैं हाँसिरहन्छ, अप्ठ्यारोमा फुलेको फूलजस्तै ! आफू कमजोर भए पनि कसैका लागि केही गरौं भन्ने भावनाले ओतप्रोत ! ‘म’ मात्र भन्ने सोच्दैनन्, ‘अरू’ का लागि पनि सोच्ने उनको बानी नै हो ।

आफ्नो जीवन त्यतिकै छोडेर साथी काजीको पछाडि कुदिरहन्छन् । ठूलो सपना केही छैन । रमाइलो गर्नु छ, हाँस्नु छ, बाँच्नु छ । अभिनेता बराललाई पनि हाँसेरै जीवन बिताउनु छ । रमाइलो गर्दै जिन्दगी बाँच्नु छ । साथीभाइका लागि पनि सोच्नु छ । त्यसैले आफूसँग ठोक्किन आउने काम कहिले साथीभाइका लागि पनि सुझाइदिन्छन् । त्यसैले फिल्म ‘कबड्डी’ को यो चरित्र ‘बिके’ सँग विजयनिकट देखिन्छन् । यही चरित्रले नै हो, विजयलाई अत्यधिक दर्शकमाझ पुर्‍याएको ।

‘कबड्डी’ मा यो चरित्र नलेखिँदो हो त आज विजय बरालको पोल्टामा १५ फिल्म सायदै पर्थे । ‘कथित’ स्टारहरूले वर्षमा दुई–तीन फिल्ममा अल्झिरहँदा बर्सेनि चार–पाँच फिल्ममा बरालको अनुहार दोहोरिँदैनथ्यो होला । त्यसैले ‘बिके’ चरित्र पाउँदाको क्षण कहिल्यै बिर्संदैनन् विजय । निर्देशक रामबाबु गुरुङले ‘बिके’ चरित्रको प्रस्ताव सुनाउँदा उनी मण्डला थिएटरको प्रांगणमा इँटा धुँदै थिए । त्यतिबेला मण्डलाको हल निर्माण हुँदै थियो । बुद्धि तामाङ प्लास्टर गर्दै थिए । रामबाबुले विजयलाई भनेका थिए, ‘बिकेको रोलचाहिँ तिमीले गर्नुपर्छ ।’ रामबाबुको कुराले विजय निकै गद्गद् भए । ‘ओह्हो काम त आयो । दासढुंगा, लुट गरिसकेका दयाहाङसँगै फिल्म गर्ने,’ त्यो पहिलो अनुभवबारे उनी भन्छन्, ‘रोल पाउनु त ठूलो कुरा भइहाल्यो तर त्यही रोललाई कसरी निर्वाह गर्ने भन्ने चुनौती थियो । दर्शकले बुद्धि र मलाई त्यतिबेलासम्म चिनिसकेका थिएनन् ।’

कलाकार विजय बराल । तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

चरित्र पाइसकेपछि बुद्धि र विजयबीच कुराकानी सुरु भयो, चरित्र चित्रणमाथि । छन्त्याल र बिके चरित्रलाई कसरी फरक देखाउन सकिन्छ ? भन्नेतर्फ उनीहरू घोत्लिए अनि तयारी थाले । फेरि ‘कबड्डी’ मा यी दुईको जिम्मा अभिनय मात्र थिएन । कलादेखि पहिरन हेर्नु थियो । कलाकारलाई कतिबेला कस्तो पहिरन लगाइदिने ? एउटा दृश्यसँग अर्को दृश्यको ‘कन्टिन्युटी’ । प्रप्सदेखि सेट निर्माणसमेत गरिदिनुपर्‍यो । त्यतिबेला दलित समुदायको वीरकाजी विश्वकर्मा (बिके) बनिरहँदा विजयले त्यो चरित्रको शारीरिक हाउभाउलाई खुबै ध्यान दिएका थिए । बिके कहिले डोकोमाथि बस्थ्यो, कहिले सिलिन्डरमाथि । कहिलेकाहीँ काजी र छन्त्यालभन्दा माथि पनि बस्थे । समुदायमा दबाइएको यो चरित्रले आफूलाई समान प्रस्तुत गर्न कस्ता–कस्ता हर्कत गर्छन् त ? दृश्यभाषामा सुन्दर शैलीमा प्रस्तुत गरिएको देखिन्छ ।

‘यी दुई चरित्र बराबरकै हुँ भन्नका लागि बेलाबेला माथि बस्थें । घरभित्र जाने, काजीसँगै हिँड्ने । फ्रन्टमा बस्ने, बाइक पनि आफैं कुदाउने,’ विजय सुनाउँछन्, ‘समुदायले दबाइएकाहरूलाई म पनि यही समुदायकै हुँ, तिमीहरूजस्तै हुँ, भिन्न होइन भन्ने देखाउन ‘बडी ल्याङवेज’ मा काम गरें । ती कुरालाई सजिलै भन्न नसकिने हुँदा त्यसलाई व्यक्त गर्न ‘बडी ल्याङवेज’ मा काम गरें ।’ हुन त नेपाली फिल्ममा चरित्र निर्माणमा यस किसिमको गहिराइ भेटिँदैन । राम्रा कलाकार लिएपछि अभिनय राम्रो भइहाल्छ भन्ने भ्रममै हुन्छन्, फिल्मकर्मीहरू । तर, यही भ्रमबाट फिल्मकर्मी मुक्त हुनुपर्ने विजयको धारणा छ । ‘राम्रो कलाकारबाट निर्देशकले कथाले, चरित्रले खोजेको कुरा निकाल्न सक्नुपर्‍यो । कलाकारले त आफ्नो काम अभिनय हो, गरिदिन्छ । भावुक भएर लाउड पनि गरिदिन सक्छ । त्यसले फिल्मलाई असर पार्छ कि पार्दैन भन्नेसमेत उनीहरूले बुझ्दैनन् । राम्रा कलाकारलाई त्यसै छोडिदिन्छन्,’ विजय भन्छन् ।

नेपालमा कलाकारबाट खोजेजस्तो अभिनय निकाल्ने फिल्मकर्मी पनि कमै छन् । तर, यस मामिलामा पनि विजय विजयी बनेका छन् । स्क्रिप्टको ‘टेक्स्ट’ मा बसेर कलाकारको भावभंगी, शारीरिक हाउभाउ हेर्ने निर्देशक दीपक रौनियारसँग ‘पूजा, सर’ मा अभिनय गरे । भेनिस फिल्म फेस्टिभलमा पुगेको ‘पूजा, सर’ विजयको अभिनयको यात्रामा अन्तर्राष्ट्रिय फेस्टिभल पुग्ने पहिलो फिल्मका रूपमा दर्ज भयो । ‘कबड्डी’ का शृंखलादेखि रामबाबु गुरुङसँग अन्य फिल्ममा काम गरे । रामबाबु ब्लकिङदेखि कलाकारको अभिनयमा खुबै ध्यान दिन्छन् । कलाकारबाट ‘गुदी’ निकाल्न माहिर निश्चल बस्नेतसँग ‘दिमाग खराब’ गरे । उपेन्द्र सुब्बाले ‘जारी’ मा बराललाई लिम्बू चरित्रमा ‘कन्भिन्स’ गराइदिए । ‘निर्देशक र लेखकले आफ्नो अनुकूलताअनुसार चाहेको कुरा कलाकारबाट गराउन सक्नु उनीहरूको खुबी हो,’ विजय विश्लेषण गर्छन्, ‘सुरुमा कलाकारमाथि विश्वास गर्नु भएन । आफूलाई चाहेको कुरा निकाल्न सक्नुपर्‍यो ।’

यस्तै गम्भीर फिल्मकर्मीसँग काम गरिरहँदा विजयले चरित्र चित्रणमा पनि मिहिनेत गरिदिए । त्यसैले उनी चरित्र सुहाउँदो अभिनयमा जमे । बिके बन्दा बिकेजस्तै देखिए, ‘जारी’ मा मंगलसिंह । विजयले अहिलेसम्म सामान्य चरित्रलाई नै पर्दामा बाँचे, भुइँमान्छे बने । ती चरित्र बनाइरहँदा त्यसलाई मसालेदार बनाउनेभन्दा पनि सामान्य देखाउन उस्तै तरिकाले बोले अनि, हाँसे । विजयको यही शैलीले ‘रिल’ मा उनी ‘रियल’ देखिए । दर्शकले यी चरित्रमा आफूलाई देखे, आफूलाई भेटे । अनि विजयलाई उनीहरूले आफूजस्तै ठानें ।

पछिल्लो समय विजयको शैली फरक देखिँदै आएको छ । सधैं सकारात्मक चरित्रमा देखिँदै आएका विजय नकारात्मक पात्रमा पनि उत्तिकै जमेका छन् । सधैं प्रमुख पात्रको सहायक बन्दै आएका उनी हिजोआज उक्त चरित्रलाई नै दुःख, उक्त पात्रको लक्ष्य प्राप्तिमा अड्चन लगाउने अवतारमा देखिन थालेका छन् । हुन त थिएटरमा यस किसिमको दर्जनौं चरित्र विजयले गरिसके । उनी आफैं पनि फिल्ममा फरक चरित्रमा देखिन चाहन्थे, निश्चल बस्नेतले ‘दिमाग खराब’ मा बखते बनाइदिए ।

बले चरित्र रिसाइहाल्छ, झनक्क । त्यही रिसमा मान्छेलाई बजाउन पनि जान्दछ । समाजलाई दबाउन खोज्छ, कारण ऊसँग शक्ति छ । बखतेको चरित्र विजयको वास्तविक चरित्रभन्दा निकै फरक छ । उनी चरित्र निर्माणमा आफूभन्दा केही फरक हुनुपर्ने नै तर्क गर्छन् । अल्लारे केटाहरूसँग हिँड्ने ‘डिग्री माइला’ को ‘बले’ मान्छे कुटौंलाजसरी प्रस्तुत भइरहन्छ । यी दुई चरित्रमा गरिएको प्रयोगले पनि विजयलाई आनन्द दियो । ‘चरित्र निर्माण गर्दा आफूभन्दा केही फरक चरित्र हुनुपर्छ भन्ने लाग्छ । त्यो पात्रको मनोविज्ञान होला, समाज होला अनि संस्कृति होला । चरित्र बनाउँदै गर्दा मभन्दा केही फरक हुनुपर्ला भनेर दुई चरित्रमा प्रयोग गरियो,’ उनले भने । ‘बखते’ र ‘बले’ चरित्रमार्फत विजयले पछिल्लो समय फेरि दर्शकको प्रशंसा बटुलेका छन् ।

खासमा नाकमा नत्थी, कपाल डेडलक । यही लुक्समा केही समय पहिल्ये विजयले एउटा मुडमा फोटो खिचाएका थिए । त्यही फोटो हेर्दै निश्चलले विजयलाई भने, ‘यही मुड, यही एक्सप्रेसन चाहियो ।’ त्यतिबेला मुड त कहाँबाट ल्याउनु ? तर, ‘बखते’ को पृष्ठभूमि खोतल्न थाले । झनक्क रिसाइहाल्ने बखते किन रिसाइहाल्छ त ? त्यो पात्रले पाएको शक्तिलगायतका पक्ष हेर्दै चरित्र निर्माण गरे । ‘एक्टिङको ग्राफमा चरित्रका मुख्य कुरा खोजिँदोरहेछ । जस्तो बखते किन झनक्क रिसाउँछ किनकि ऊसँग शक्ति छ,’ चरित्रका यस्तै पाटालाई नियाल्दै अभिनय गर्दा विजयले झन्डै अर्पण थापालाई रिसमा बजाइदिएका ! मानसिक रूपले उक्त चरित्रलाई अवलम्बन गर्दै जाँदा उक्त चरित्रलाई विजयले अनुभव गरे । त्यसपछि त सेटमा त्यसै विजयको शरीर रिसले तातिन थाल्यो, टाउको दुख्ने भयो । दिमाग खराब गर्दा दिमाग नै खराब पनि भएको अनुभव छ उनीसँग । ‘आफ्नो ‘मेथड’ मा आफैंले विश्वास गर्दै जाँदा अलिकति प्रभावकारी काम भयो भने त्यसले दिमागलाई असर गर्छ,’ विजय भन्छन् ।

‘कबड्डी’ को बिके चरित्र गरिरहँदा पनि विजयलाई त्यो पात्रले पछिसम्म हानिरह्यो । ‘कबड्डी’ को तेस्रो शृंखलामा जब काजीले गाउँ छोड्दै गर्दाको दृश्यमा ‘दाजु तपाईं अब जानुहुन्छ ?’ भन्ने संवाद बोल्दा विजयलाई ज्वरो आयो । त्यो रुवाई, स्वरको कम्पन ल्याउन उनले केही दिनदेखि नै दिमागलाई तयार गर्न थाले, ‘जिन्दगीबाट अब सबै सकियो । काजीसँग छुट्टिँदै छु ।’ मानसिक रूपले यसरी तयारी गर्दा दयाहाङ राईले भनेका पनि थिए, ‘विजय यस्तो नगर है, गाह्रो हुन्छ ।’ सुटिङ सकियो, ज्वरो आयो । काठमाडौंमै आउँदासम्म मानसिक रूपले त्यो पात्रले उनलाई असर गरिरह्यो । ‘अभिनय विशेष त आँखा हो । त्यसपछि शरीर हो । मनको भाव त छँदै छ,’ विजयले अभिनयमाथि आफ्नो बुझाइ राखे ।

अभिनयका गुरु/समीक्षकहरू नेपाली फिल्मको अभिनयमाथि सधैं प्रश्न उठाइरहन्छन् । ‘अभिनयमै हामी कमजोर छौं,’ उनीहरूको ठम्याइ छ । अभिनयमा हुनेहरू ‘अल्छी’ हुँदा ‘कम्फर्ट जोन’ बाट माथि उठ्न नखोज्दा यस्तो समस्या विद्यमान रहेको विजय सुनाउँछन् । ‘हामी कलाकारले आफूलाई ट्रेन गर्नुपर्‍यो । वैचारिक बहस, चिन्तन गर्ने गर्नुपर्छ । आफ्नो ‘मेथड’ माथि छलफल गर्नुपर्छ,’ उनले भने । हरेक कलाकार नयाँ फिल्ममा, नयाँ चरित्रमा नयाँ जसरी नै काम गर्नुपर्ने पनि उनी सुनाउँछन् । उनी आफैं पनि कम्फर्ट जोनबाट माथि उठेर नै अभिनय गर्ने ध्याउन्नमा हुन्छन् ।

पछिल्लो समय नयाँ पुस्ता विजयजस्ता कलाकारहरूको सफलता हेरेर रातारात अभिनेता बन्ने होडबाजीमा यो क्षेत्रमा फाल हानिरहेका छन् । तर, ती कलाकारले विजयले गरेको संघर्ष देखेका छैनन् । यहाँसम्म आइपुग्नका लागि गरेको तयारी हेर्दैनन् । सानैदेखि क्यारिकेचर गर्दै आएका विजयलाई त्यही स्वभावले अभिनयमा तान्यो । विद्यालय हुँदा सबैले ‘क्यारिकेचर’ को वाहवाही गरे । उकासिनेहरू धेरै थिए । कक्षा ८ हुँदै विजयले क्यारिकेचर गर्न थाले । ‘तँ त ‘एक्टिङ’ गर्छस् यार, हँसाउँछस् । ‘एक्टिङ’ गर्न काठमाडौं जा,’ साथीहरू उक्साउँथे । तिनै उक्साइरहने साथीहरूका कारण काठमाडौं आइपुगे ।

सुरुमा त उनी विज्ञान पढेर डाक्टर बन्ने सपना बोकेर काठमाडौं आएका थिए । त्यतिबेला सपना थिए, डाक्टर नभए क्याप्टेन बन्ने । पढाइमा पनि अब्बल । तीन जना साथीसँग मिलेर अमृत साइन्स क्याम्पस (अस्कल) सम्म पुगे । भर्ना गर्ने मिति सकिसकेको थियो । साइन्स पढ्न काठमाडौं आइपुगेका तीनै जना लालबन्दी फर्के । १२ सकेपछि भने कमेडियन बन्छु भनेरै काठमाडौं हान्निए । तर, केही समयमै आफ्नो धरातल बुझे । ‘जुन सोचले, जुन समूहमा छिर्न चाहन्थें । त्यसमा क्यारिकेचर सामान्य थियो । मेरो तयारी अझै पुगेको छैन भन्ने लाग्यो,’ विजय सुनाउँछन् । त्यसबीच विजयले क्यारिकेचर र अभिनय फरक पाटा हुन् भन्ने बुझे अनि भारतको रंगकर्मी एमके रैनासँग अभिनय सिके । त्यसयता रंगकर्ममार्फत विजयले आफूभित्रको अभिनय हुटहुटी पूरा गर्दै आए ।

संघर्षका ती दिनहरू पनि पार गरे, जहाँ चिउरा चपाउँदै पनि अभिनय गर्नुपर्‍यो । तर, यो यात्रामा उनले अभिनयमार्फत थुप्रै चरित्र बाँच्दै आए । अनुहारभरिको दारी, झट्ट हेर्दा पनि अर्कै समुदायको चरित्रमा पनि दमदार अभिनयमार्फत त्यही चरित्रजस्तै आफूलाई उभ्याउने भए । ‘जारी’ को मंगलसिंह त्यस्तै अर्को चरित्र हो । मंगलसिंहको बुबा सुब्बा, आमा घिमिरे । यो दम्पतीमा जन्मेको सन्तान कस्तो जन्मिएला त ? विजयले खोज्न थाले । समुदायमा आफ्नो कुरा व्यक्त गर्न खोज्ने तर नसक्ने । अस्तित्वको लडाइँमा बाँचिरहेको पात्र । बाहुन हुँ भन्छ, भाषा लिम्बू बोल्छन् । संस्कार लिम्बू छ । आफूलाई लिम्बू भन्छ, तर हातभरि रौं छ । तर, यस्तै पक्ष केलाउँदै मंगलसिंह बने विजय । ‘म लिम्बू हुँ भन्ने देखाउन यो पात्रले लिम्बू बोल्छ । च्याब्रुङ बजाउँछ । दौरा, सुरुवाल, टोपीसहित सिलाम साक्मा लगाउँछ,’ उनले मंगलसिंह पात्र निर्माण गर्दाको अनुभव सुनाए ।

यो चरित्र बनाउन निर्देशक उपेन्द्र सुब्बाको बुबासँग संगत गरे । लवजका लागि दयाहाङसँग पनि सल्लाह लिए, त्यो पात्रको मनोविज्ञानमा मात्र काम गरे । अनि ‘जारी’ चल्दा मंगलसिंह पात्रले माइलेज लियो । यस्तै फरक चरित्रहरू बाँच्दाको फरक अनुभूतिमै विजयले आफ्नो अभिनयको बाटो पहिल्याएका छन् । अभिनय नबुझ्दै अभिनयमा लागे । अभिनय बुझ्नुपर्छ भन्ने लागेपछि अभिनय पढे । कुनै चरित्रमा अभिनय गर्दा त्यो चरित्रलाई घात गर्नु हुँदैन भन्ने बुझाइमा पुगे । कहिलेकाहीँ त अल्छी पनि बने । ‘बेहुली फ्रम मेघौली’ गरिरहँदासम्म विजयले बुझेको चरित्र यही हो, ‘चरित्र भनेको धेरै इनर्जी फ्लो गरेर गरिने होइन । सामान्य इनर्जीमै, सामान्य तरिकाले नै चरित्र निर्माण गर्न सकिन्छ । त्यो चरित्रको मनोविज्ञान, समाज र संस्कृति बुझ्दै अभिनय गरियो भने त्यो नै उत्कृष्ट हुन्छ ।’

प्रकाशित : श्रावण ३१, २०८१ ०९:५९
×