कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

ओलम्पिकको अर्थशास्त्र

श्रावण २५, २०८१
ओलम्पिकको अर्थशास्त्र

Highlights

  • ओलम्पिक पूर्वाधार निर्माणमा ५ अर्बदेखि ५० अर्बभन्दा बढी लागत लाग्न सक्छ । धेरै देशहरूले पूर्वाधार निर्माणमा गरिएको खर्च ओलम्पिक खेलहरूपछि पनि काम लाग्ने आशा गर्छन् । उदाहरणका लागि, २०१४ सोची खेलहरूका लागि खर्च गरिएको ५० अर्ब डलरभन्दा बढी बजेटको लगभग ८५ प्रतिशत गैरखेलकुद पूर्वाधार निर्माण गर्न गरिएको थियो । 

काठमाडौँ — सन् १८९६ मा पहिलो आधुनिक ओपम्पिक खेल आयोजना गरेयता यसको नाटकीय विकास भइसकेको छ । बीसौं शताब्दी मध्यतिर आयोजक राष्ट्रहरूको काँधमा ओलम्पिकको बोझका साथै खेलबाट प्राप्त हुने रकम दुवै बढेसँगै थुप्रै विवादहरू उत्पन्न भए ।

विभिन्न अर्थशास्त्रीहरूले ओलम्पिक आयोजनाका फाइदा अतिरञ्जित भएको बताउँदै, त्यसले आयोजक देशलाई ठूलो ऋण र मर्मत दायित्व मात्रै बोकाएको तर्क गर्न थाले । उनीहरूले ओलम्पिक कमिटीलाई यथार्थपरक बजेटमा आधारित योजनालाई प्रोत्साहन गर्न, पारदर्शिता बढाउन र सार्वजनिक हितका लागि दिगो लगानी प्रवर्द्धन गर्न छनोट प्रक्रियामा नै सुधार गर्न सुझाव दिए । अझै पनि, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र यसका समर्थकहरूले ओलम्पिक आयोजना गर्ने सहरको विश्वव्यापी प्रोफाइल बढ्नुका साथै पर्यटन र पूर्वाधारमा लगानीमार्फत आर्थिक लाभ उठाउने अवस्था सिर्जना हुने तर्क गर्छन् ।

अहिले चलिरहेको पेरिस ओलम्पिकले पनि लागत र फाइदाहरूमा चलिरहेको बहसलाई पुनः सतहमा ल्याएको छ । टोकियोमा ओलम्पिक २०२० मा महामारीका कारण ढिलाइ हुँदा एक दशक लामो तयारी पछि पनि थप लागत बढ्यो । त्यो ढिलाइका कारण आयोजक राष्ट्रको अपेक्षितभन्दा बढी रकम खर्च हुन पुग्यो । त्यसको चार वर्षपछि पेरिसमा भइरहेको ग्रीष्मकालीन ओलम्पिकमा पनि आयोजकले अर्बौं डलरको बिल तिर्नुपर्नेछ । साथै ओलम्पिक खेलका पूर्वआयोजकहरू अझै पनि उनीहरूले गरेको खर्चको ऋणसँग संघर्ष गरिरहेका छन् । यही कारणले भविष्यमा ओलम्पिकको आयोजना गर्न इच्छा देखाएका केही सहरहरूले आवेदन फिर्ता लिएका छन्, नभए योजनाहरू घटाएका छन् ।

लागतको चिन्ता

बीसौं शताब्दीसम्म ओलम्पिक खेलहरूको आयोजना गर्नु विकसित सहरहरूका लागि व्यवस्थापन योग्य खर्च नै थियो । यस्ता मेगा इभेन्टहरू युरोप वा अमेरिकाजस्ता धनी देशहरूमा आयोजित भएका थिए । टेलिभिजन प्रसारणअघिको युगमा आयोजकहरूले ओलम्पिक आयोजनाबाट नाफा कमाउने आशा गरेका थिएनन् । ठूला अर्थतन्त्र र उन्नत पूर्वाधार भएका देशहरूका खेलमा लगानी गर्न सक्ने अवस्थामा थिए ।

ओलम्पिक अर्थशास्त्रका विषयमा तीनवटा पुस्तक लेखेका लेखक अर्थशास्त्री एन्ड्रयु जिम्बालिस्टका अनुसार १९७० को दशकमा ओलम्पिक आयोजनाले नयाँ मोड लिएको थियो । ग्रीष्मकालीन ओलम्पिक सहभागीहरूको संख्या बीसौं शताब्दीको सुरुदेखि लगभग दोब्बर भए र १९६० को दशकमा खेलहरूको संख्या पनि एक तिहाइले बढ्दै गए ।

तर, १९६८ मेक्सिको सहरमा आयोजित ओलम्पिकअघि सुरक्षा बलद्वारा प्रदर्शनकारीहरूको हत्या तथा १९७२ को म्युनिख ओलम्पिकमा इजरायली खेलाडीमाथि प्लालेस्टाइनी लडाकु समूह ‘ब्ल्याक सेप्टेम्बर’ ले गरेको घातक आतंकवादी हमलाले ओलम्पिकको छविलाई कलंकित बनायो । यस्तै, १९७२ मै ओलम्पिकको इतिहासमै पहिलो पटक अमेरिकको कोलोराडो राज्यको डेनभर सहरले ओलम्पिक खेलहरूको आयोजना छनोट भए पनि त्यसको आयोजना गर्न अस्वीकार गरेको थियो । कोलोराडोका मतदाताहरूले अतिरिक्त सार्वजनिक खर्च गर्न अस्वीकार गरेपछि डेनभरमा ओलम्पिक आयोजना भएन । अक्सफोर्ड विश्वविद्यालयले २०२४ मा प्रकाशित गरेको एक अध्ययनअनुसार १९६० पछि ओलम्पिक खेलको आयोजना गर्न अनुमानित लागतभन्दा तीन गुणा बढी खर्च हुने गरेको देखिन्छ ।

क्यानडाको मोन्ट्रियलमा १९७६ मा आयोजना गरिएको ग्रीष्मकालीन ओलम्पिकलाई वित्तीय जोखिमको प्रतीकको रूपमा लिने गरिन्छ । खेल आयोजनाका लागि गरिएको १२ करोड ४० लाख डलरको अनुमान वास्तविक लागतभन्दा अर्बौं कम थियो । निर्माणमा भएको ढिलाइ र नयाँ स्टेडियमको लागतमा भएको बढोत्तरीका कारण मोन्ट्रियलका करदातालाई करिब १ अर्ब ५० करोड डलरको ऋण भुक्तान गर्न लगभग तीन दशक लागेको थियो ।

लस एन्जलस (अमेरिका) १९८४ ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्नका लागि इच्छुक एक मात्र सहर थियो । जसले गर्दा लस एन्जलसले आईओसीसँग आफू अनुकूलका असाधारण सर्तहरूसहित वार्ता गर्‍यो र अनुमति पनि पायो । सबैभन्दा महत्त्वपूर्ण कुरा लस एन्जलसले आईओसी चयन समितिलाई लोभ्याउन भव्य नयाँ सुविधाहरूको वाचा गर्नुको सट्टा आफूसँग रहेको रंगशाला तथा र पूर्वाधारकै आधारमा ओलम्पिक आयोजना गर्न राजी गराउन सफल भयो । त्यसै वर्ष टेलिभिजन प्रसारण अधिकार बेचेबापत् प्राप्त हुने रकममा तीव्र वृद्धि भयो र लस एन्जलस ओलम्पिकको आयोजनाबाट नाफा कमाउने एक मात्र सहर बन्यो । त्यसबेला ओलम्पिकको आयोजनाबाट लस एन्जलस २१ करोड ५० लाख डलर अपरेटिङ सरप्लसमा थियो ।

लस एन्जलसको सफलताका कारण १९८८ ओलम्पिकका लागि दुई सहरले आयोजनाका लागि इच्छा प्रकट गरे । त्यो बढेर २००४ मा आयोजना गर्नका लागि बोली लगाउने देशको संख्या १२ पुग्यो । यसले आईओसीलाई सबैभन्दा महत्त्वाकांक्षी र महँगो योजना भएका सहरहरू छनोट गर्न छुट प्राप्त भयो । अनुसन्धानकर्ता रोबर्ट बाडे र भिक्टर म्याथेसनका अनुसार १९८८ पछि विकासोन्मुख देशहरूको बोली तीन गुणा बढ्यो । चीन, ब्राजिल र रसियाजस्ता देशहरूले विश्वस्तरमा आफ्नो प्रगति प्रदर्शन गर्न ओलम्पिकलाई प्रयोग गर्न उत्सुक देखिए ।

यी देशहरूले आवश्यक पूर्वाधार निर्माण गर्नका लागि ठूलो रकम लगानी पनि गरे । बिजनेस इनसाइडरको अनुसार २०१४ मा सोची (रुस) मा भएको शीतकालीन खेलकुदका लागि ५० अर्ब डलर, रियो दि जेनेरियो (ब्राजिल) मा २०१६ को ग्रीष्मकालीन खेलका लागि २० अर्ब डलर र बेइजिङ (चीन) मा २०२२ को शीतकालीन खेलका लागि ३९ अर्ब डलर खर्च भएको छ । यद्यपि, चीनले भने ४ अर्ब डलर मात्रै खर्च भएको दाबी गर्छ ।

यति धेरै लागत लाग्ने भएपछि केही सहरहरूले आगामी ओलम्पिक आयोजनाका लागि देखाएको इच्छाबाट पनि पछाडि हटेका छन् । २०१९ मा, आईओसीले बिडिङलाई कम खर्चिलो बनाउन, बिडिङ अवधि विस्तार गर्ने र धेरै सहर, राज्य वा देशहरूलाई सहकार्य गरेर आयोजना गर्न अनुमति दिने नीति ल्याएको छ । तर यसले पनि धेरै सहरलाई ओलम्पिकको आयोजना गर्न प्रेरित गर्न सकेको छैन । २०२१ मा अस्ट्रेलियाको ब्रिस्बेन सहर २०३२ को ग्रीष्मकालीन ओलम्पिक खेलहरूको आयोजना गर्न १९८४ मा लस एन्जलसपछि निर्विरोध छानिने सहर बनेको छ ।

आयोजना गर्न खर्च कति ?

सहरहरूले मूल्यांकन गर्न, तयारी गर्न र आईओसीमा बोलपत्र पेस गर्न लाखौं डलर लगानी गर्छन् । योजनाको लागत, सल्लाहकारहरू भर्ती गर्ने, कार्यक्रमहरू आयोजना गर्ने, र आवश्यक यात्राहरू लगातार पाँचदेखि १० करोड डलर बीचमा खर्त हुन्छ । टोकियोले २०१६ आफ्नो असफल बोलीका लागि १५ करोड डलर खर्च गरेको थियो । यस्तै २०२० को सफल बोलीका लागि भने साढे ७ करोड डलर खर्च गरेको थियो । जबकि टोरन्टोले २०२४ को बोलीको लागि ६ करोड डलर खर्च गरेको थियो ।

ओलम्पिक खेलको आयोजना गर्न छनोट भएसँगै उक्त सहरसँग खेलाडी र पर्यटकहरूको आगमनका लागि तयारी गर्न लगभग एक दशकको समय हुन्छ । ग्रीष्मकालीन खेलहरू धेरै ठूला हुन्छन् । तीन सयभन्दा धेरै प्रतिस्पर्धामा भाग लिएका दश हजार बढी खेलाडीका खेल हेर्नका लागि विश्वभरका लाखौं विदेशी पर्यटकहरूलाई त्यसले आकर्षित गर्छ । जबकि शीतकालीन खेलमा भने लगभग एक सय कार्यक्रमहरूमा तीन हजारभन्दा कम खेलाडीहरूले प्रतिस्पर्धा गर्छन् । सबैभन्दा तत्काल आवश्यक भनेको ओलम्पिक भिलेज, उद्घाटन तथा समापन समारोहहरू आयोजना गर्न उचित रंगशाला र पर्याप्त स्थानका साथै सुविधा सम्पन्न खेलकुद स्थलहरूको निर्माण वा स्तरोन्नति हो ।

यस्तै ओलम्पिक आयोजना गर्ने सहरमा अन्य सामान्य पूर्वाधारजस्तै आवास र सार्वजनिक यातायातको विकासमा पनि लगानी आवश्यकता पर्छ । आईओसीको मापदण्डअनुसार ग्रीष्मकालीन खेल आयोजना गर्ने सहरहरूमा न्यूनतम ४० हजार होटलका कोठाहरू उपलब्ध हुनुपर्छ । जसका कारण ब्राजिलको रियोले १५ हजार नयाँ होटलका कोठाहरू निर्माण गर्नुपरेको थियो । सडक, रेल र विमानस्थलको पनि स्तरोन्नति वा निर्माण गर्नुपर्ने हुन्छ ।

कुल मिलाएर, यी पूर्वाधार निर्माण गर्नका लागि ५ अर्बदेखि ५० अर्बभन्दा बढी लागत लाग्न सक्छ । धेरै देशहरूले पूर्वाधार निर्माणमा गरिएको खर्च ओलम्पिक खेलहरूपछि पनि काम लाग्ने आशा गर्छन् । उदाहरणका लागि, २०१४ सोची खेलहरूका लागि खर्च गरिएको ५० अर्ब डलरभन्दा बढी बजेटको लगभग ८५ प्रतिशत गैरखेलकुद पूर्वाधार निर्माण गर्न गरिएको थियो । बेइजिङ २००८ को ४५ अर्ब डलरको बजेटको आधाभन्दा बढी रेल, सडक र विमानस्थल निर्माणमा खर्च भएको थियो भने झन्डै चौथाइ वातावरणीय सरसफाइमा खर्च गरिएको थियो ।

ओलम्पिक बजेटको सानो तर महत्त्वपूर्ण भाग भनेको आयोजनाको सञ्चालन लागत हो । अमेरिकामा सेप्टेम्बर ११ मा भएको आक्रमणपछि सुरक्षा लागतहरू धेरै नै बढेको छ । सिड्नीले २००० मा सुरक्षाका लागि २५ करोड खर्च गरेको थियो भने एथेन्सले २००४ मा १ अर्ब ५० करोडभन्दा बढी खर्च गर्नुपर्‍यो । त्यसयता सुरक्षा खर्च करिब डेढदेखि दुई अर्ब डलरको बीचमा रहेको छ । कोभिड महामारीका कारण टोकियोले संक्रमण रोकथामका लागि मात्रै करिब ३ अर्ब डलर खर्च गर्नुपरेको थियो ।

तथाकथित ‘सेतो हात्ती’ जस्तै अत्यधिक महँगा र सुविधा सम्पन्न अधिकांश खेल स्थलहरू तिनका आकार र विशेष प्रकृतिका कारण ओलम्पिकपछि सीमित प्रयोगमा मात्रै आउँछन् । जसले गर्दा वर्षौंसम्म पनि यसका लागि लगानी गरिरहनुपर्ने बाध्यता रहन्छ । सिड्नीमा रहेका ओलम्पिक स्टेडियमको मर्मतसम्भार गर्न सहरलाई वार्षिक ३ करोड डलर खर्च लाग्छ । बेइजिङको प्रसिद्ध ‘बर्ड्स नेस्ट’ स्टेडियम निर्माण गर्न ४६ करोड डलर लागेको थियो र यसको मर्मत गर्न मात्रै वार्षिक १ करोड डलर चाहिन्छ । २००८ को खेलपछि प्रायः प्रयोगविहीन भएर बसेको सो रंगशाला सो सहरले २०२२ मा शीतकालीन खेलको आयोजना भएपछि मात्रै पुनः प्रयोगमा आयो ।

यस्तै, २००२ एथेन्स ओलम्पिकका लागि निर्माण गरिएका लगभग सबै पूर्वाधार निर्माणको ऋणले ग्रिसलाई आर्थिक संकटमा नै धकेलेको थियो । त्यसबेला निर्माण गरिएका संरचना हाल प्रयोगविहीन र अलपत्र छन् । मोन्ट्रियलमा, ‘बिग ओ’ भनेर चिनिने ओलम्पिक स्टेडियमलाई यसको ठूलो लागतका लागि हाल ‘बिग ओ (ऋण)’ का रूपमा चिनिन्छ । दुर्लभ रूपमा मात्रै प्रयोग हुने सो रंगशालाको छाना प्रतिस्थापन गर्न क्यानडाको क्युबेक राज्य सरकारले २०२४ मा त्यसको तेस्रो पटक ८७ करोड डलर खर्च गर्ने बताएको थियो । आलोचकहरूले त्यसलाई जोगाउनभन्दा भत्काउन दबाब दिइरहेका छन् ।

अर्थशास्त्रीहरूका अनुसार खेलहरूको तथाकथित निहित लागतहरूमा पनि विचार गरिनुपर्छ । किनभने कतिपय अवस्थामा अन्य प्राथमिकताहरूमा खर्च गर्न सकिने सार्वजनिक खर्चलाई पनि आयोजनाका लागि छुट्याइएको हुन्छ । । खेलहरू आयोजना गरेपछि बाँकी रहेका ऋणको भारले दशकौंसम्म सार्वजनिक बजेटलाई असर पर्न सक्छ । मोन्ट्रियले सन् १९७६ खेलको अन्तिम ऋण २००६ मा तिरेको थियो । जबकि ग्रिसको अर्बौं ओलम्पिक ऋण देशलाई टाट पल्टाउने कारक बन्यो ।

सोची २०१४ शीतकालीन खेलको ऋण र मर्मत लागतले धेरै वर्षसम्म रुसी करदाताहरूलाई प्रतिवर्ष लगभग १ अर्ब डलरको भार पर्ने विज्ञहरूको अनुमान छ । सोचीमा खेलका लागि निर्माण गरिएका कतिपय रंगशाला र अनावश्यक पूर्वाधारहरू प्रयोगविहिन भए पनि त्यहाँका अधिकांश बासिन्दाहरूका अनुसार खेलहरूका कारणले गर्दा त्यहाँ निर्माण गरिएका सडक, पानी वितरण प्रणाली र अन्य सार्वजनिक पूर्वाधारहरू अन्यथा निर्माण नै हुने थिएनन् ।

लागत र आम्दानीको तुलना

जुन रूपमा ओलम्पिक आयोजनाको लागत बढेको छ, त्यसबाट हुने आम्दानीले खर्चको एक अंश मात्रै धान्न सक्छ । बेइजिङको २००८ ग्रीष्मकालीन ओलम्पिकले ४० अर्ब डलरभन्दा बढी लागतको तुलनामा ३ अर्ब ६० करोड डलर मात्रै खर्च उठाउन सक्यो । यस्तै टोकियोमा ढिला गरी भएको ग्रीष्मकालीन खेलमा १३ अर्ब डलर खर्च भयो भने ५ अर्ब ८ करोड डलर मात्रै उठ्यो । यसबाहेक, आम्दानी भएको रकमको धेरै भाग आयोजकहरूलाई जाँदैन । आईओसीले टेलिभिजन प्रसारण अधिकारबापत प्राप्त हुने रकमको आधाभन्दा बढी हिस्सा राख्छ । सामान्यतः खेलहरूको आयोजनाबाट हुने सबैभन्दा ठूलो आम्दानी पनि त्यही नै हो ।

खेल आयोजना गर्ने राष्ट्रले आयोजनापूर्व गर्ने प्रभाव अध्ययनहरूमा त्यसले रोजगारीहरू सिर्जना गरेर, पर्यटकहरू आकर्षित गरेर र समग्र आर्थिक उत्पादन बढाएर ठूलो आर्थिक उत्थान प्रदान गर्ने दाबी गर्छन् । यद्यपि, खेलहरूपछि गरिएको अध्ययनले भने यी फाइदाहरूमा शंका गर्छन् । उदाहरणका लागि म्याथेसनले अर्थशास्त्री रोबर्ट बाउम्यान र ब्रायन एन्गेलहार्टसँगको सहकार्यमा २००२ को साल्ट लेक सिटी खेलको अध्ययनमा अधिकारीहरूले दाबी गरेभन्दा दसैं गुणा कम सात हजार थप रोजगारीहरूको छोटो अवधिका लागि वृद्धि भएको फेला पारेका थिए । यसका साथै, युरोपेली बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले गरेको अध्ययनले ओलम्पिकको पूर्वाधार निर्माणबाट सिर्जना गरिएका रोजगारी प्रायः अस्थायी हुने र आयोजना क्षेत्रमा उच्च बेरोजगारी नभए प्रायः पहिले नै रोजगारी कामदारहरूले नै काम प्राप्त गर्ने देखाएको छ ।

सुरक्षा, भीडभाड र ओलम्पिकका कारण हुने उच्च मूल्य वृद्धिले धेरै आगन्तुकहरूलाई निरुत्साहित गर्ने भएका कारण पर्यटनमा मिश्रित प्रभाव परेको पनि अर्थशास्त्रीहरूले पाएका छन् । यद्यपि १९९२ को ओलम्पिक आयोजना गरेको बार्सिलोनालाई पर्यटन तान्न सफल भएका रूपमा चित्रित गरिन्छ । ग्रीष्मकालीन खेलहरू पछि त्यो सहर युरोपको एघारौंबाट छैटौं सबैभन्दा लोकप्रिय गन्तव्यमा उक्लिएको थियो । यस्तै सिड्नी र भ्यानकुभर दुवैले पनि ओलम्पिकको आयोजनापछि पर्यटन क्षेत्रमा थोरै वृद्धि देखेका थिए । तर अर्थशास्त्री बाडे र म्याथेसनका अनुसार बेइजिङ, लन्डन र साल्ट लेक सिटीले खेल आयोजना गरेको वर्षहरूमा पर्यटनमा कमी आएको पाए ।

ओलम्पिक आयोजना गर्ने पहिलो दक्षिण अमेरिकी देश ब्राजिलमा २०१६ का खेलहरूलागतले २० अर्ब डलर नाघ्यो, रियो सहरको काँधमा मात्रै १३ अर्ब डलरको भार पर्‍यो । देशको गहिरो मन्दीमा रहेका बेला रियोले ओलम्पिक आयोजनाका लागि संघीय सरकारबाट ९० करोड डलर सापटी लिनुपर्‍यो र आफ्ना सबै सार्वजनिक क्षेत्रका कर्मचारीहरूलाई तलब दिन पनि असमर्थ भयो । सहरले पूर्वाधार निर्माणमा पनि ठूलो लगानी गर्नुपर्‍यो तर अधिकांश स्थानहरू मुस्किलले पुनः प्रयोग गरिएको छ ।

अन्ततः समग्रतामा ओलम्पिक आयोजनाको सकारात्मक आर्थिक प्रभावका प्रमाण थोरै मात्र छन् । नेसनल ब्युरो अफ इकोनोमिक रिसर्चले प्रकाशित गरेको निष्कर्षअनुसार आयोजक देशको अन्तर्राष्ट्रिय व्यापारमा भने यसले सकारात्मक प्रभाव पार्छ । तर अर्थशास्त्री स्टिफन बिलिङ्स र स्कट होलाडेका अनुसार देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा भने आयोजनाले कुनै दीर्घकालीन प्रभाव पारेको देखिँदैन ।

पेरिस ओलम्पिकको लागत

पेरिसले हाल भइरहेको ओलम्पिकका लागि २०१७ मा बोली जित्नाका लागि लगभग ८ अर्ब डलरको बजेट बनाएको थियो । सहरले त्यसपछि आफ्नो बजेट अर्बौं डलरले बढाएको छ । लागतहरू सञ्चालन खर्च र नयाँ पूर्वाधारहरू बीच तुलनात्मक रूपमा समान तरिकाले विभाजित छन् । यदि अन्तिम लागत पूर्वअनुमानित अवस्थामा नै रहन सफल भयो भने पेरिसले दशकौंपछि सबैभन्दा सस्तो ग्रीष्मकालीन खेलहरू आयोजना गर्नेछ ।

वार्षिक फ्रेन्च ओपन र २०१६ को युरोपियन फुटबल च्याम्पियनसिपका लागि बनाइएको स्थानहरूमा पूर्ण रूपमा भरपर्ने निर्णयले लागतलाई केही घटाएको आयोजकहरू बताउँछन् । खेलहरू लियोन, मार्सेली र नाइससहित अन्य फ्रान्सेली सहरहरूमा रहेका स्टेडियमहरूमा पनि भइरहेको छ । तर पेरिसले अझै पनि पूर्वाधारमा साढे चार अर्ब डलर खर्च गरेको छ । जसमा ओलम्पिक भिलेज निर्माणका लागि मात्रै १ अर्ब ६० करोड डलर खर्च गरिएको छ ।

कसरी व्यवस्थित बनाउने ?

ओलम्पिक खेल आयोजकहरूका लागि किफायती बनाउन सुधारहरू आवश्यक रहेकोमा अर्थशास्त्रीहरू सहमत छन् । धेरै अर्थशास्त्रीका अनुसार आईओसीले बिडिङ प्रक्रियामा सम्भावित आयोजकहरूले सबैभन्दा बढी महत्त्वाकांक्षी योजनाहरू प्रस्तुत गर्नुपर्ने कारणले व्यर्थ खर्चलाई प्रोत्साहन गर्छ । यसले आयोजनाको वास्तविक खर्चलाई धेरै गुणाले बढाइदिन्छ । पर्यवेक्षकहरू आईओसीले खेलहरूबाट प्राप्त हुने आम्दानीमा थप साझेदारी नगरेकोमा पनि आलोचना गर्ने गरेका छन् ।

आईओसीको भ्रष्टाचारले पनि छनोट प्रक्रियामा पनि बाधा पुर्‍याएको छ । घूस काण्डले १९९८ नागानो र २००२ को साल्ट लेक सिटी खेलहरूलाई असर गरेको थियो । २०१७ मा रियो ओलम्पिक कमिटीका प्रमुखलाई ब्राजिलमा ओलम्पिक आयोजना गर्नका लागि घूस दिएको आरोप पनि लागेको थियो ।

२०२० को टोकियो छनोटमा पनि अवैध भुक्तानीको आरोप अगाडि आयो । त्यसको प्रतिक्रियामा आईओसीका अध्यक्ष थोमस वाचको नेतृत्वमा आईओसीले ओलम्पिक एजेन्डा २०२० भनेर चिनिने सुधारका प्रक्रिया पनि अगाडि सारेको छ । त्यो सिफारिसमा लागत घटाउने, पहिले नै निर्माण भएका खेल पूर्वाधारहरूको प्रयोग गर्न दिने, बोलपत्रदाताहरूलाई दिगो योजना विकास गर्न प्रोत्साहित गर्ने लगायतका व्यवस्था समावेश छन् । यसका साथै बाह्य लेखा परीक्षण र अन्य पारदर्शी उपायहरू अवलम्बन गरिने उल्लेख छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : श्रावण २५, २०८१ १०:१०
×