कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

पहिलो नेसनल डे कन्सर्ट : 'यो मन त मेरो नेपाली हो...'

आश्विन ३, २०८१
पहिलो नेसनल डे कन्सर्ट : 'यो मन त मेरो नेपाली हो...'

काठमाडौँ — 'यो मन त मेरो नेपाली हो' बोलको राष्ट्रिय भावको गीत सकिएलगत्तै सुरक्षा व्यवस्था कडा बनाइए । मञ्च वरपर सुरक्षाकर्मी तैनाथ गरिए, अनि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । जसै प्रधानमन्त्री ओली मञ्चतिर मुहार फर्काउँदै मञ्च छेउको भूइँतिर उभिए पृष्ठभूमिमा गुञ्जियो 'गाउँ, गाउँबाट उठ...' ।

लोकप्रिय ब्यान्ड नेपथ्यको यो गीतसँगै मञ्चपछाडिको आकाशमा पटाका पड्काइए । बिहीबार काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट आयोजना गरिएको भनिएको पहिलो 'नेसनल डे कन्सर्ट’को दृश्य हो यो ।

प्रधानमन्त्री ओली क्याप, जिन्स पाइन्ट र ज्याकेटमा मञ्च उक्लँदा केहीबेर भीडले ‘बालेन/बालेन’ भन्दै नारा पनि लगायो । प्रधानमन्त्री ओलीले मञ्चबाट उपस्थित भीडलाई हेर्दै संविधान एवं राष्ट्रिय दिवसलाई भव्य ढंगले मनाउन आग्रह गरे । ‘संविधान एवं राष्ट्रिय दिवसको सन्दर्भमा यहाँहरु सबैमा धेरै धेरै शुभकामना ! आज कलाकार साथीहरुले संविधान दिवस तथा राष्ट्रिय दिवसको सन्दर्भमा यस भव्य कन्सर्टको आयोजना गर्नुभएको छ । र, तपाईंहरु, हामीहरु यी राष्ट्रिय गीतहरुको कन्सर्टको आनन्द लिइरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने,‘राष्ट्रिय दिवस मनाइरहेका छौं । सबैमा राष्ट्रिय दिवस र संविधान दिवसको शुभकामना । दिवस भव्य ढंगले मनाउँऔं । अब अगाडि कलाकार साथीहरुसँग इन्जोय गर्नुहोस् ।’

प्रधानमन्त्री ओलीले मञ्चमा उभिएर ‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा नेपालको झन्डा फहराउँदै गीत गुननाए । गायक दीपक लिम्बूले 'रातो र चन्द्र सूर्य' गाउँदा कलाकारहरूसँगै उभिएर प्रधानमन्त्री ओलीले गीत गुनगुनाए । कन्सर्टमा सबै गायक/गायिकाले राष्ट्र भावका गीतहरु पस्के । गायक सञ्जय तुम्रुकले 'सुन्दर देश नेपाल’मा गायन पस्कँदा गायिका देविका बन्दनाले 'नेपाली भई बाँच्न' भन्ने गीत गाइन् । हातको झन्डा फरफराउँदै भीड गीतमा झुमे ।

गायक आनन्द कार्कीले भने कृष्णहरि बरालद्वारा लिखित 'न छ स्वार्थ न छ थकाई' बोलको गीत गाए । गायिका कुन्ती मोक्तानले उद्वव लामाद्वारा लिखित शिलाबहादुर मोक्तानबाट संगीतबद्ध गीत 'जे भने नि हुन्छ' माथि गायन प्रस्तुति दिइन् । 'आजको दिनलाई सम्झेर सबै कलाकारले राष्ट्रभावका गीत गाइरहनु भएको छ । त्यसैले म पनि राष्ट्र भावको गीत प्रस्तुत गर्न आएको छु,' गीत गाउनुअघि कुन्तीले भनिन् । गायक सुगम पोख्रेलले 'नयाँ नेपाल' बोलको गीतमा गायन प्रस्तुति दिए ।

गायिका सुवानी मोक्तानले 'मेरो नेपाल' माथि गायन प्रस्तुति दिइरहँदा छोरीको पछाडी उभिएकी आमा कुन्तीले नेपालको झन्डा फहराइरहिन् । त्यसपछि गायक आनन्द कार्की र बन्दना पनि झन्डा फहराउँदै कुन्तीको छेउ उभिए । भीडले पनि कुन्तीको यो चर्चित गीतमा आवाज दिइरह्यो ।

राष्ट्रिय भावका गीतहरुको धुनसँगै दिउँसो ४ बजेबाट कार्यक्रम सुरुआत भएको थियो । कार्यक्रममा राष्ट्रिय भावनाका गीतहरु ‘पश्चिम कोही पूर्व घर’, ‘यही हो सुन्दर नेपाल’लगायतका गीतहरुमा नृत्य प्रस्तुति भए । कार्यक्रम प्रस्तोताहरुले बारम्बार संविधान दिवसलाई घरमा दिप बाल्दै मनाउन पनि अनुरोध गरिरहे ।

‘नेसनल डे कन्सर्ट’मा नेपाली फिल्म क्षेत्रलाई पनि महत्त्व दिइएको थियो । प्रदर्शनको तयारीमा रहेका फिल्मका निर्माण टिमले मञ्च उक्लँदै उपस्थित दर्शकबीच फिल्मको प्रचार गर्ने अवसर पाए । प्रदर्शनरत फिल्म ‘शाम्बाला’को निर्माण टोली पनि यो मञ्च उक्लेको थियो । निर्देशक मीनबहादुर भाम, अभिनेत्री थिन्ले ल्हामोदेखि अभिनेता कर्मालगायतको टोली राष्ट्रिय झन्डा हातमा बोक्दै मञ्च उक्लेका थिए । विश्वबजारमा बलियो उपस्थिति जनाएको यो फिल्म नेपालको तर्फबाट ओस्कर अवार्डमा प्रतिनिधि गर्ने फिल्म पनि हो ।

‘शाम्बाला’पछि अभिनेता जीतु नेपाल ‘घरज्वाइँ’ फिल्मको प्रचारका लागि मञ्च उक्लिए । यो फिल्म दसैंको फूलपातीदेखि प्रदर्शनमा आउने पनि घोषणा भयो । घटस्थापनादेखि प्रदर्शनमा आउने ‘बेहुली फ्रम मेघौली’को प्रचारका लागि निश्चल बस्नेत र स्वस्तिमा खड्कालगायतको टिम पनि संविधान दिवसको शुभकामना दिन मञ्च उक्लेको थियो । त्यससँगै निर्माता अर्जुन कुमार ‘सानो संसार’ प्रचार गर्न उपस्थित थिए । ‘छक्का पञ्जा ५’को प्रतिनिधित्व गर्दै निर्देशक दीपाश्री निरौला मञ्च उक्लेकी थिइन् । नेपाल बनाउन नेपाली फिल्म क्षेत्रले पनि योगदान दिएको हुँदा फिल्म क्षेत्रका यी कलाकारलाई मञ्च दिइएको प्रस्तोता सुगारिका केसीले बताइन् ।

कार्यक्रममा कुटुम्बले इन्स्ट्रुमेन्टल प्रस्तुति दियो । कुटुम्बसँगै कार्यक्रममा लोकप्रिय गायक स्वप्न सुमनदेखि ‘द एलिमेन्ट्स’ले पनि प्रस्तुति दियो । कुटुम्बसँगै मिलेर बनाएको गीत ‘पाखा पखेरा’बोलको गीतमा स्वप्नले प्रस्तुति दिए । त्यसपछि ‘द एलिमेन्ट्स’ले ‘चलचित्र’, ‘उर्जा’, ‘त्यसैले हिँडे म’लगायतमा प्रस्तुति दिए । कार्यक्रममा दरबारमार्गको सडक भरिने गरी भीडको उपस्थिति थियो ।

प्रकाशित : आश्विन ३, २०८१ २१:४६
×